Khadya Bibhag

पुजाहरुको रजगज कहिलेसम्म ? (फरकमत)

  • सुनैनाकुमारी यादव,,
माघ ११ गते राष्ट्रिय सभा सदस्यका लागि हुने चुनावमा जनता समाजवादी पार्टी नेपालले मधेश प्रदेशमा रौतहटका पुजा चौधरीलाई उम्मेदवार बनाएको छ । एउटा महिला उम्मेदवार बन्नु हामी महिलाका लागि निकै खुशीको कुरा हो । तर महिलामा पनि कस्तो महिलाले पाए त्यो मुख्य प्रश्न हो । हाम्रो मधेशमा एउटा भनाइ छ, ‘ककरो धोकरी धोकरी नुन, ककरो रोटियो प ने नुन ।’ अर्थात कसैलाई पोकाको पोका नुन कसैलाई रोटीमा पनि छैन नुन ।
पुजा चौधरीले आफ्नो क्षमता र योगदानले राष्ट्रिय सभा सदस्यको टिकट पाएको भए, यसमा महिलाहरुले गर्व गर्थे र कसैले प्रश्न उठाउने थिएन तर उहाँले आफ्नो क्षमता र योगदानले टिकट पाउनु भएको होइन । उहाँको बुवा गोविन्द चौधरी (रौतहट)ले पार्टीमा अडान लिएपछि उहाँले सो पद पाउनु भएको हो ।
यदि राष्ट्रिय सभा सदस्यको त्यो सीट पुरुषको भएको भए गोविन्द चौधरीको दावी थियो । पार्टीमा उहाँले जवर्जस्त रुपमा उहाँले आफ्नो लागि बार्गेनिङ गरिरहनु भएको थियो तर जब पार्टीले महिला कोटा पायो अनि गोविन्द चौधरीले आफ्नो छोरीको नाम अघि सार्नुभयो । उहाँको छोरीले यसअघि पनि यस्तै अवसर पाउनु भएको थियो । २०७९ को प्रदेश सभा चुनावमा मधेश प्रदेशको प्रदेश सभा सदस्यका लागि चुनाव लड्न टिकट पाउनु भएको थियो त्यो पनि बुवा गोविन्द चौधरीको बलमा मात्र । गोविन्द चौधरीले नै टिकट खोज्नु भएको थियो तर उहाँले टिकट पाउने अवस्था नआएपछि छोरीलाई टिकट दिलाउनु भयो ।
गोविन्द चौधरी जसपाको कार्यकारिणी सदस्य हुनुहुन्छ । पछिल्लो समय पार्टीमा उहाँको प्रभाव बढ्दै गएको छ । बार्गेनिङ पावर पनि बढ्दै गएको छ उहाँको । उहाँ महन्थ ठाकुरको साथमा जसपामा आउनु भएको थियो । जसपा विभाजन गरेर महन्थ ठाकुरहरु निस्किनुभयो तर गोविन्द चौधरीलगायत केही नेताहरु उपेन्द्र यादवकै साथमा बस्नुभयो । त्यसले गर्दा उहाँको केही बार्गेनिङ पावर बढेको हो ।
आफू कुनै पदका लागि दावी गर्ने, यदि सो पद आफू नपाएपछि आफ्नो परिवारका कुनै सदस्यलाई दिलाउने परिपाटी हरेक दलमा देखिन्छन् । कुनै लाभको पद छ भने पहिला आफ्नो परिवारका सदस्यलाई हेर्छन्, आफ्नो परिवारमा भएन भने आफन्तलाई हेर्छन् आफन्त कोही भेटिएन भने मात्र अरुतिर हेर्छन् । जसपा नेपाल मधेश आन्दलोलनबाट जन्मेको पार्टी हो । यो गणतन्त्र ल्याउनमा न गोविन्द चौधरीको कुनै योगदान छ न पुजा चौधरीको । देशमा जनआन्दोलन–२ को तयारी भइरहँदा गोविन्द चौधरी तत्कालिन राजा ज्ञानेन्द्र शाहलाई पर्सामा स्वागत गरिरहनु भएको थियो । जनआन्दोलन सुरु भएपछि उहाँ ज्ञानेन्द्र शाहले कु गरेर गठन गर्नुभएको शाही सरकारको कृषि राज्यमन्त्री हुनुहुन्थ्यो ।
मधेश आन्दोलन सुरु हुँदा पनि उहाँ राजतन्त्र पक्षधर नै हुनुहुन्थ्यो । उहाँ कहिले आन्दोलनमा आउनु भएन । आन्दोनल सफल भएपछि संविधानसभा चुनावको तयारी चलिरहेको बेला उहाँ तत्कालिन तमलोपामा प्रवेश गर्नुभएको थियो र संविधान सभा चुनाव जित्नु भएको थियो । त्यसपछि उहाँले पटक पटक पार्टी फेर्दै चुनाव लड्दै हार्दै जसपासम्म पुग्नुभयो ।
२०७९ को चुनावमा उहाँ आफै चुनाव लड्ने तयारीमा हुनुहुन्थ्यो तर उहाँको क्षेत्र एमालेको भागमा परेपछि जसपाका अध्यक्ष उपेन्द्र यादवलाई दबाव दिएर आफ्नो छोरी पुजा चौधरीलाई प्रदेश सभा सदस्यको टिकट दिलाउनु भएको थियो । तर पुजा चौधरी चुनाव जित्नु भएन । गोविन्द चौधरीको पारिवारीक पृष्ठभूमी घनघोर राजतन्त्र पक्षधर हो । उहाँका बुवा रामसुरत चौधरी तीन दाजु भाइ हुनुहुन्थ्यो ।
गोविन्द चौधरीका ठूलो बुवा केवल चौधरी राजपरिवारसँग सिधै सम्बन्ध राख्ने व्यक्ति हुनुहुन्थ्यो । र, राज्यसाभको आजिवन सदस्य पनि हुनुहुन्थ्यो । अर्का माइलो बुवा करिऔत चौधरी गाउँपंचायतका मुखिया (गाउँपालिका अध्यक्ष) हुनुहन्थ्यो । उहाँ गाउँमा चुनाव हारेको कुनै इतिहास छैन । उहाँ चुनाव लड्न सुरु गरेदेखि पञ्चायती व्यवस्था रहेसम्म गाउँको मुखिया हुनुहुन्थ्यो ।
गोविन्द चौधरी पनि तत्कालिन गाउँपञ्चायतका सदस्य हुनुहुन्थ्यो । पछि उहाँ तत्कालिन जिल्ला पञ्चायतको पनि सदस्य बन्नुभएको थियो । २०४२ मा राष्ट्रिय पञ्चायतको चुनाव पनि लड्नु भएका थियो तर उहाँ हार्नुभएको थियो । द्रोण शम्शेरले २४ हजार मत ल्याउँदा गोविन्द चौधरीले १६ हजार मत ल्याउनु भएको थियो जब कि राजाले नै गोविन्दलाई द्रोणको विरुद्धमा चुनाव लडाउनु भएको थियो ।
देशमा बहुदल आइसकेपछि २०४८ मा भएको चुनावमा उहाँ रौतहट–३ बाट स्वतन्त्र उम्मेदवार भएर चुनाव जित्नु भएको थियो । २०५१ मा भएको मध्यावधि चुनावमा उहाँले काँग्रेसबाट टिकट लिएर चुनाव लड्न खोज्नुभएको थियो तर उहाँलाई त्यतिबेला टिकट नै दिएन । टिकट नपाए पनि उहाँ काँग्रेस बन्नुभयो । २०५६ मा भएको चुनावमा पनि काँग्रेसले टिकट नदिएपछि उहाँ स्वतन्त्र नै चुनाव लड्नु भएको थियो तर पराजित हुनुभएको थियो । उहाँ काँग्रेससँग सम्बन्ध तोड्नु भयो । पछि राष्ट्रसभा सदस्य बनाउँछु भनि गिरीजाप्रसाद कोइरालाले भनेपछि उहाँले काँग्रेस नजिक हुनु भएको थियो तर त्यो सदस्य पनि पाउनु भएका थिएन । राष्ट्रिय सभा सदस्य नपाएपछि उहाँ राजतन्त्रको पक्षमा जानु भएको थियो ।
ज्ञानेन्द्रले कु गरेपछि त्यसलाई उहाँले समर्थन गर्नु भएको थियो र त्यसको बदलामा उहाँले कृषि राज्यमन्त्री पाउनु भएको थियो । अर्थात सारा परिवार सारा जीवन दरवारको सेवामा बिताउनु भएका गोविन्द चौधरी मधेशवादी दलमा आएपछि पनि त्यस्तै हाबी हुनुभयो । उहाँ आफू राष्ट्रिय सभा सदस्य बन्न नपाएपछि आफ्नो छोरीलाई बनाउनुभयो । मधेश आन्दोलनको यो भन्दा अर्को के अपमान हुनसक्छ । जुन महिलाले मधेश आन्दोलनमा आफ्नो श्रीमान, छोरा, दाजु, भाइ गुमाउनु भयो, के उनीहरुलाई पुजाको ठाउँमा ल्याउन सकिदैन्थ्यो ?
दिनरातको प्रवाह नगरी मधेश आन्दोलनमा कुदेका कतिपय महिलाहरु अवसरबाट बन्चित छन् । त्यसलाई पुजाको ठाउँमा दिँदा केही बिग्रिदैन्थ्यो । सिरहाका निर्मला यादव होस् या महोत्तरीका निर्मला यादव मधेश आन्दोलनमा उहाँहरुको योगदान कम्ती छैन तर उहाँहरु जहिले पनि अवसरबाट बन्चित रहनुभयो । धनुषाका सीता मण्डल जो जनकपुरमा हुने कुनै पनि आन्दोलन, सभा जुलुसमा कहिले पनि पछाडी रहनु भएन तर पार्टीलाई पुजा चौधरी नै मन पर्यो ।
यस्ता पुजा चौधरीहरुका रजगज रहेसम्म ममता मण्डल, जानकी यादव, त्रिपुरा झा, निभा ठाकुर, चन्द्रकाला साह, सलमा खातुनहरु जस्ताले कहिले मौका पाउनु हुने छैनन् । मधेश आन्दोलनमा रगत बगाउने, बलिदानी दिने, परिवार गुमाउने ममता चौधरीहरुले यस्ता पुजा चौधरीहरुको रजगज रहेसम्म मधेशी राजनीतिमा कहिले मौका पाउनेछैन । यिनै पुजा चौधरीहरुको रजगजका कारण विद्या सिन्हा, आशा चतुर्वेदी, अनिता साह, दुर्गादेवीहरु पलायन भइसक्नु भएको छ ।
जसपा, लोसपा, जनमतमा एक जना मात्र पुजा चौधरी हुनुहुन्न । थुप्रै पुजा चौधरीहरु हुनुहुन्छ जो पारिवारिक विरासत वा पैसाको बलमा राजनीतिको रसपान गरिरहनु भएको छ । र मधेश आन्दोलनमा रगत बगाएका, बलिदानी दिएकाहरु बेकार हुनुभएको छ ।

तपाईको प्रतिक्रिया