चर्चामा शिव शनि धाम

–अजयकुमार झा
सनातनी तीर्थहरु प्रायः दुर्गम पर्वतमालाहरुमा नै पाइन्छन् । त्यसको मुख्य कारण ती तीर्थस्थलहरु कुनै सन्त, सन्यासी, योगी, वैरागी, ऋषि, मुनि, महात्माहरुले निर्माण गरेको हुनुपर्छ, जो परिवार, समाज र मानिसहरुको भीडभाडबाट अलग्ग गएर विकट अन्कन्टार ठाउँमा बसेर साधना र तपस्या गर्थे त्यही भएर ठाउँहरुमा त्यस्ता तीर्थ स्थलहरु स्थापना भएको भेटिन्छ ।

जब कि सनातन धर्मका मठ, मन्दिर, देवस्थल आदि गाउँ गाउँ, टोलटोल तथा घरघरमा हुन्छ ।

तेरहौता गाउँपालिका–६ अन्तर्गत पर्ने चुरे फेदी दुधैला खोलासँगैको डाँडाको फेदमा शिव शनि धाम अवस्थित छ जो एक दशकयतादेखि चर्चामा छ । चुरिया पर्वतमालाको यस भूभागमा रुपनीमाई, अग्निसाइर, कृष्णाराम मरौटीजस्ता देवस्थल र लोकदेवस्थलहरु धेरै पहिलेदेखि नै रहेका छन् । पछिल्लो समय शिव शनि धाममा भक्तजनको भीड बढ्दै गइरहेको छ । सप्तरीको मध्य उत्तरी क्षेत्र साविकको तेरहौता गाविस–५ र हालको रुपनी पूर्व–पश्चिम राजमार्गमा रुपनीदेखि पूर्वतर्फ पाँच किलोमिटर गएपछि वीरेन्द्रबजार आउँछ ।

वीरेन्द्रबजारको पश्चिमी भाग र मध्य भागबाट गरी दुईवटा बाटो शिव शनि धामतर्फ गएको छ, जुन दुधैला खोला किनार पुगेर आपसमा गासिन्छ । दुधैला खोलालाई पटकपटक पार गर्दै वा खोलैखोला भएर तीन चार किलोमिटर हिँडेपछि शिव शनि धाम पुग्ने गरिन्छ । दुधैला खोला कहिल्यै सुक्दैन, धेरथोर पानी जहिले पनि बगिरहन्छ । शिव शनि धामको पर्यटकीय पूर्वाधारको विकासमा नेपाली सेनाले पनि योगदान दिइरहेको छ ।

शिव शनि धाम प्राकृतिक रुपमा नै धर्तीको अद्वितीय अंश हो । कैलाश सदृश्य चुरिया पर्वतको यो शृङ्खला वानस्पतिक दृष्टिले पनि महत्वपूर्ण छ ।

चुरियाको फेद र दुधैला खोला र धारा खोलाको संगममा कैलाश पर्वत जस्तो गजबको डाँडो छ । यसै टाकुरामा तलदेखि माथि टुप्पोसम्म ठाउँठाउँमा देवीदेवताका आकृतिहरु स्थापना गरिएका छन् ।

सबैभन्दा माथि शिवको प्रतिमा र बृत्ताकारमा १०८ वटा शिवलिङ्ग स्थापना गरिएका छन् भने त्यसमुनिको स्थानमा शनिदेवको प्रतिमा स्थापित छ । त्यस्तै पार्वती, गणेशसहितको पूर्ण शिव परिवार, नन्दी, भैरव, आदि देवता छन् । यहाँ पञ्चमुखी हनुमान, गोरखनाथ, प्रेतराज, नागराज, नवग्रह, महाकालेश्वर, शिव परिवार देवताहरुका मूर्ति पनि राखिएका छन् ।

राजा शलहेश, दिनाभद्रीजस्ता लोकदेवलाई पनि समावेश गरिएको पाइन्छ । तीर्थस्थलमा नियमित पूजापाठका लागि पुजारीको पनि व्यवस्था छ । शिव शनि धाममा हरेक सोमबार र शनिबार भक्तजनको भीड हुन्छ । शनिदेवको दर्शन गर्नाले ग्रहशान्ति हुने विश्वास छ । करिब २५ वर्षअघि सत्यनारायण साह नामक एक धर्मभिरुले शनिदेवको उक्त शिला स्थापना गरेको बताइन्छ । उक्त शिलाको कारणले उक्त स्थानको नाम शिव शनि धाम भनी प्रचार हुन थाल्यो ।

नव ग्रहमध्येका एक देवता शनिदेव (शनिग्रह) को उपासनाको आधार र कारणबारे पनि परिचित हुन थालेका छन् । शनिदेवद्वारा नै हाम्रो सांसारिक जीवनको कार्यक्षेत्र वा कर्मजीवन सञ्चालित भएको मानिन्छ । मानिसको जन्मकुण्डलीको दशम भावलाई कर्म, पिता र राज्यपक्षको प्रतीक मानिन्छ भने एकादश भावलाई आय र राज्यसुखको भाव मानिन्छ । त्यसैले कर्म, सत्ता र आयको प्रतिनिधि ग्रह भएका कारणले जन्मकुण्डलीमा शनिको स्थान महत्वपूर्ण मानिन्छ ।

शनिदेवलाई न्यायको देवता मानिन्छ । शनिदेवले राम्रो काम गर्नेलाई राम्रो र नराम्रो काम गर्नेका लागि नराम्रो फल दिन्छन् । दोषपूर्ण कर्मका कारण मानिसको जीवनमा शनिदोष प्रत्यक्ष हुन्छ । शनिदोष भएका व्यक्तिले शनिदेवको उपासना गरी आफ्नो जीवनलाई दोषरहित बनाउन सक्छन् । शनिदेवको पूजा पश्चात भगवान हनुमानको पूजा गर्ने चलन छ ।

जुवा खेल्ने, सट्टेबाजी गर्ने, रक्सी पिउने, ब्याज दिने, व्यभिचार गर्ने, अप्राकृतिक यौन सम्बन्ध राख्ने, झुट्टा गवाही दिने, निर्दोष मानिसलाई यातना दिने, माता, पिता र गुरुको अपमान जस्ता कार्य गर्नाले शनिदोष उत्पन्न हुन्छ । शनिदोष भएका व्यक्तिले जीवनमा दुःख, कष्ट, क्षति, विफलता आदिको सामना गर्नुपर्छ । त्यसैले आम मानिस शनिदेवसँग भयभित रहन्छन् । तर जागरुक मानिस शनिदेव प्रति श्रद्धा र विश्वास राखेर उनको उपासना गरेर आफ्नो नराम्रा कर्मप्रति प्रायश्चित गरेर दोषमुक्त भएपछि शनिदेवको कृपा प्राप्त गर्छन् । जीवन दुःख, कष्ट, पीडा, विफलताबाट मुक्त हुन्छ ।

शनि देवलाई सूर्यपुत्र एवं कर्मफल दाता मानिन्छ । शनिलाई पितृ शत्रु पनि भनिन्छ । शनि ग्रहको विषयमा अनेक भ्रम फैलिएको छ । शनिलाई मारक, अशुभ र दुःखकारक मान्नेहरु छन् । तर शनि मारक, अशुभ र दुःखकारक होइनन् । शनिदेव शत्रु होइनन्, मित्र हुन् । मोक्ष प्रदान गर्ने एक मात्र शनि ग्रह नै हो ।

 

शनिले प्रकृतिमा सन्तुलन उत्पन्न गर्दछ । प्रत्येक प्राणीका साथ उचित न्याय गर्दछ । जसले अनुचित, विषमता र अस्वभाविकतालाई आश्रय दिन्छ, शनि केवल उसैले दण्डित (प्रताडित) गर्दछ । जसले जीवनमा सद्कर्म गर्दछ, उसलाई शनिले शुभ योग प्रदान गर्दछ ।

नव ग्रहहरुको कक्ष क्रममा शनि सूर्यदेखि ८८ करोड ६१ लाख माइल दूरीमा पर्दछ । पृथ्वीदेखि शनिग्रहको दूरी ७१ करोड ३१ लाख ४३ हजार माइल छ । शनि ग्रहको व्यास ७५ हजार १०० माइल छ ।

 

शनिग्रह छ माइल प्रतिसेकेण्डको गतिबाट साढे २१ वर्षमा आफ्नो कक्षमा सूर्यको परिक्रमा पूरा गर्दछ । शनि ग्रहको सतहको तापमान २४० फÞोरनहाइट छ । शनिग्रहको चारैतिर सातवटा वलय (ग्यासका घेरा) छन् । शनिग्रहको १५ वटा चन्द्रमा छ, जसको प्रत्येकको व्यास पृथ्वीभन्दा निकै बढी छ । शनि मूल रुपमा ग्रह नै हो, जसलाई हामी भगवान मान्दछौं ।
(लेखक इतिहास, संस्कृति र समसामयिक विषयमा जानकार हुनुहुन्छ)

तपाईको प्रतिक्रिया