देवझारीलाई राजनीति चेतना उहाँकै बुवाबाट प्राप्त भएको हो । उहाँको राजनीतिक गुरु नै उहाँका बुवा रामनारायण यादव हुनुहुन्छ ।
जसको जन्म वामपन्थी विचारधारा भएको घरमा भएको होस्, जसको स्कुलिङ नै कम्युनिष्टबाट भएको होस् त्यो मान्छे आफ्नो विचार र सिद्धान्त कहिले छाड्दैनन्, । कसैबाट डराउदैनन् चाहे त्यसको लागि जस्तोसुकै बलिदानी किन न दिन परोस् त्यसका लागि पछाडि हटदैनन् । असल कम्युनिष्टको खासियत नै त्यही हो ।
कम्युनिष्टको ग्रामिण राजनीतिमा एउटा त्यस्तै महिला हुनुहुन्छ देवझारी देवी यादव । सिरहाको दक्षिण भेग हुलाकी सडकमा रहेको औरही गाउँपालिकाका देवझारी यादव कम्युनिष्ट राजनीतिका एक क्रान्तकारी महिला हुनुहुन्छ यो कुराको जानकार त्यस वरपरका गाउँलाई पनि थाह छ । देवझारी यादवको बारेमा काठमाडौँका कतिपय कम्युनिष्ट तथा गैरकम्युनिष्ट केन्द्रीय नेताहरु पनि परिचित छन् ।
बुवाको प्रेरणा
उहाँले राजनीतिमा देखाउनु भएको कतिपय साहस पुरुषले पनि आँट गर्न सक्दैनन् । त्यसको मुख्य कारण नै कम्युनिष्ट स्कुलिङ हो । बरु उहाँले घर छाडनु भयो तर कम्युनिष्ट छाड्नु भएन । उहाँको परिवार राजनीतिक पृष्ठभूमीका परिवार हो । देवझारीलाई राजनीति चेतना उहाँकै बुवाबाट प्राप्त भएको हो । उहाँको राजनीतिक गुरु नै उहाँका बुवा रामनारायण यादव हुनुहुन्छ ।
औरही वडा नम्बर ३ कडहर्वाका रामनारायण यादव पुरानो कम्युनिष्ट नेता हुनुहुन्थ्यो । पंचायतकालमा वडा अध्यक्षमा जित्नु भएका रामनारायण बहुदल व्यवस्थामा पिप्रा गाउँपालिकामा एमालेबाट उपाध्यक्षमा जित्नुभएको थियो । उहाँ कम्युनिष्ट भएदेखि अरु पार्टीमा कहिले जानु भएन, देवझारीले भन्नुभयो, ‘मैले बुझे अनुसार बुवा सुरुदेखि नै कम्युनिष्ट हुनुहुन्थ्यो, मृत्युपर्यन्त उहाँले कम्युनिष्ट छाड्नु भएन ।’
त्यसैका छोरी देवझारी परस्थितिले अरु अरु पार्टीमा पुर्याए पनि आफ्नो मनबाट कम्युनिष्ट विचार कहिले छाड्नु भएन । कतिपय अवस्था बिद्रोह गर्न नसकेर त कतिपय अवस्थामा बाध्यताबस अरु अरु पार्टीमा उहाँलाई पुर्यायो तर कम्युनिष्ट लाइन कहिले छाड्नु भएन । ४६ वर्षीय देवझारीमा अहिले पनि त्यही जोश र उमङ तथा केही गर्ने हुटहुटी रहेको देखिन्छ ।
पढाईमा अल्छि
देवझारी छ कक्षासम्म मात्र पढ्नु भएको छ । तीन कक्षासम्म आफ्नै गाउँको कडहर्बा स्कुलमा पढ्नु भएका देवझारी चार कक्षादेखि छिमेकी गाउँ देउरीपट्टीको माविमा पढ्न थाल्नुभयो । गाउँकै तीन चार जना केटी साथी विद्याथीहरुको साथमा उहाँ सधै स्कूल जानु हुन्थ्यो । छ कक्षासम्म ठिक ठाक पढ्नु भयो । सात कक्षामा गएपछि उहाँलाई पढ्नमा त्यति रुची लागेन र बिचैमा छाड्नुभयो । सातको पढाईलाई बिचै छाड्नुभयो ।
‘मेरो बुबा पंचायतकालमा वडा अध्यक्ष हुनुहुन्थ्यो, घरमा राजनीतिक गतिविधि हुन्थ्यो, मान्छेहरु भेट्न आइरहनु हुन्थ्यो । बुबा गाउँ छाडेर भागेको अवस्थामा त्यति मान्छे त आउदैन्थे तैपनि विभिन्न चहल पहलहरु भइरहन्थ्यो ती सबै सम्हाल्ने काम मैले नै गर्थे ।’
एक त स्कूल टाढा थियो । बाटमा एउटा नदी पथ्र्यो । असार साउन लागेपछि आउजाउ गर्न निकै गाह्रो हुन्थ्यो । त्यसमा पनि केटी मान्छे सधै त्यसरी उहाँलाई स्कूल जान रुचिकर भएन र बिचैमा पढाई नै छाड्नुभयो । त्यही बेला उहाँको बुवा प्रहरीको वान्टेडमा पर्नुभएको थियो । खुनी मुद्दाको आरोपमा उहाँ फरार सूचीमा हुनुहुन्थ्यो । भनिन्छ, त्यो घटनाले पनि देवझारीलाई स्कूल छाड्न बाध्य बनाएको थियो ।
बुवाको अनुपस्थितिमा देवझारी
पिप्रामा केटाकेटीको एउटा लफडामा देवझारीका बुवाहरुले पंचायत (मिलापत्र) गर्नुभएको थियो । केटालाई पाँच हजार जरिवाना गरिएको थियो । त्यतिबेलाको पाँच हजार रुपियाँ निकै थियो । जरिवानामा परेकाहरु देवझारीका बुबाको विपक्षी थिए । देवझारी भन्नुहुन्छ, ‘प्रिपा गाउँका केही व्यक्तिले ती केटालाई उचालेर आफ्नै बुबालाई हत्या गर्न लगाएका थिए र सो हत्यामा मेरो बुवालगायतका व्यक्तिलाई फँसाएको थियो ।’
खुनी मुद्दा लगाएपछि बुवाहरु गाउँ छाडेर भाग्न बाध्य हुनुभएको थियो, त्यसले अलिअलि तनाब चलिरहेको थियो त्यसले पनि पढाइलाई डिस्टर्ब गरेको बताउँदै उहाँले बुवा घर छाडेर बाहिर बस्न थालेपछि लगभग उहाँको राजनीति आफूले सम्हालेको बताउनुभयो । घरमा अलि बुझ्ने जान्ने, बाँठो देवझारी नै हुनुहुन्थ्यो । बुबाले पनि देवझारीमाथि विश्वास गर्नुहुन्थ्यो । राजनीति गतिविधिमा देवझारीलाई उहाँले लगाउनु हुन्थ्यो त्यसले गर्दा उहाँलाई धेरै कुरा थाह थियो । देवझारी आफ्नो बुवाको अनुपस्थितिमा घर सम्हाल्नुको साथै राजनीति पनि सम्हाल्नु भएको थियो ।
देवझारी भन्नुहुन्छ, ‘मेरो बुबा पंचायतकालमा वडा अध्यक्ष हुनुहुन्थ्यो, घरमा राजनीतिक गतिविधि हुन्थ्यो, मान्छेहरु भेट्न आइरहनु हुन्थ्यो । बुबा गाउँ छाडेर भागेको अवस्थामा त्यति मान्छे त आउदैन्थे तैपनि विभिन्न चहल पहलहरु भइरहन्थ्यो ती सबै सम्हाल्ने काम मैले नै गर्थे ।’ त्यतिबेला प्रहरी प्रशासनसँग पनि कुरा गर्दा देवझारीले गर्नुहुन्थ्यो । मुद्दालगायतका विषयमा पनि देवझारी नै डिल गर्नुहुन्थ्यो । त्यसले देवझारीको राजनीतिप्रति रुची बढ्दै गयो ।

बोल्ने शैली, तर्क गर्ने शैलीको विकास त्यतिबेलादेखि नै भएको थियो । राजनीतिलाई कसरी ह्याण्डिल गर्ने, संगठन कसरी निर्माण गर्ने ती सबै कुराको अभ्यास त्यतिबेला नै देवझारीले गर्नुभएको थियो । देवझारीले भन्नुभयो, ‘बुवा वडा अध्यक्ष हुँदा म बुबाको निकट थिए बुबाले त्यतिबेला देखि नै ममाथि विश्वास गर्नुहुन्थ्यो, राजनीति कुराहरु सिकाउनु हुन्थ्यो, कसै कहाँ कुनै कुरा पुर्याउनु पर्यो भने मलाई नै पठाउनु हुन्थ्यो ।’
‘म एमाले भएको कारणले सबै मत एमालेलाई नै दिएको हुँ ।’ त्यो दिन मटुक निकै रिसाउनु भएको थियो देवझारीमाथि । घरमा होहल्ला नै भएको थियो ।
घरमा बुवालाई कोही भेट्न आउँदा देवझारीले नै पानी चिया दिनु हुन्थ्यो । त्यसले कहिले काही संवाद हुन्थ्यो । कहिले काही नेताहरुको त्यही बसेर कुरा सुन्ने मौका पनि पाउनु हुन्थ्यो । यहाँसम्म कि कहिले काही देवझारीलाई कार्यक्रममा पनि लगिन्थ्यो । मुद्दा मिलेपछि देवझारीको बुवा घर फर्किनुभयो । त्यसपछि जनआन्दोलन भएको थियो । जनआन्दोलनमा देवझारीको बुवा एमाले पार्टीबाट आन्दोलनमा भाग लिनुभएको थियो । बहुदल स्थापना भएपछि भएको स्थानीय चुनावमा देवझारीको बुवा उपाध्यक्षमा चुनाव लड्नु भएको थियो ।
त्यो चुनावमा देवझारी पुरै मोर्चा सम्हाल्नु भएको थियो । चुनावमा बुबासँग निकै खट्नु भएको थियो । त्यहीबाट देवझारीमा चुनावी राजनीतिको ज्ञान आएको थियो । देवझारी आफ्नो बुवाको झन निकट हुनुभयो । घरमा देवझारी भन्दा एक जना जेठी दिदी रामझारी पनि हुनुहुन्थ्यो तर उहाँलाई यी सब कुरासँग कुनै मतलब थिएन ।
बहिनीहरु फुलझारी, सुलझारी, रञ्जु, भाइ दलिप पनि हुनुहुन्थ्यो । यी राजनीतिसँग उहाँहरुलाई कुनै मतलब हुँदैन्थ्यो । तर देवझारी घरको काम धन्दा, पढाई लेखाइका साथै राजनीति तथा समाजिक काममा चासो लिनुहुन्थ्यो । देवझारी भन्नुहुन्छ, ‘औरही थानामा एक जना राजवंशी भन्ने असइ हुनुहुन्थ्यो, राती गस्तीमा आएको बेला पानी खान मेरो घरमा आउनु भयो, मेरो बुबाले मलाई नै बोलाउनु भयो, म उठेर पानी दिँदै भनेका थिए, यो राती राती पुलिसहरु किन पानी खोज्दै घरमा आउँछन् अरु काम छैन कि क्या हो ।’
यो कुरा सुनेर राजवंशी असइले देवझारीको बुवालाई भन्नुभएको थियो, ‘प्रहरीको सामु दुई जना व्यक्ति मात्र बोल्छन् एउटा हो चोर र अर्को हो नेता । तपाईको छोरीमा नेताको गुण छ, रामनारायणजी यसलाई तपाई नेता बनाउनु होला हैं ।’ त्यही देवझारी साँच्चै नेता हुनुभयो ।
सुरेशचन्द्र दासले मटुकलाई दबाव दिन्थे देवझारीलाई एमालेबाट हटाउनका लागि । तर देवझारी टसमस हुनुहुन्थेन । को हो सुरेशचन्द्र दास मलाई काँग्रेस बनाउने, म कहाँ राजनीति गर्छु, कुन पार्टीमा राजनीति गर्छु त्यो मेरो मर्जी
ससुरबुवासँग राजनीतिक द्वन्द
देवझारी आफ्नो श्रीमान विष्णुदेव यादवको घर औरही बस्न थाल्नुभयो । उहाँको ससुरबुवा मटुक यादव काँग्रेस हुनुहुन्थ्यो भने देवझारी एमाले हुनुहुन्थ्यो । घरमै दुईटा पार्टी भएपछि घर चलाउन गाह्रो भइरहेको थियो ।
२०५६ मा भएको स्थानीय चुनावमा मटुक यादव वडा अध्यक्षमा काँग्रेसबाट चुनाव लड्नु भएको थियो । तर देवझारी एमाले हुनुहुन्छ भनि थाह पाएर एमालेका नेताहरु उहाँलाई भेट्न आउनु हुन्थ्यो जुन कुरा मटुकलाई मन पर्दैन्थ्यो । गाउँमा चुनाव लागेपछि एमालेका नेताहरुलाई देवझारीका बुवाले नै देवझारीलाई भोटका लागि भेट्नका लागि पठाउनु भएको थियो । देवझारीले सहयोग गर्नुहुन्छ भन्नुभएको थियो ।
कतियौं पटक मटुकले तिमीहरु मेरो घरमा किन आउँछौ, मेरो बुहारी हो म जे भन्छु त्यो गर्नुहुन्छ भनेर उहाँहरुलाई भगाउनु हुन्थ्यो । त्यतिबेला पल्टु, शिवजी, सुवर्ण नेताहरुले तपाईको बुहारी एमाले हुनुहुन्छ, उहाँले हामीलाई भोट दिनुहुन्छ, तपाईकै बुहारीको भोट तपाईलाई आउँदैन भन्नुभएको थियो । त्यो थाह पाएर मटुकले बुहारी देवझारीलाई घरबाट निस्किन दिइरहनु भएको थिएनन्, राजनीति सम्पर्कहरु गर्न दिइरहनु भएको थिएन । यहाँसम्म कि चुनावको दिन मत हाल्न पनि नदिन भनि घरमै रोक्नुभयो ।
मतदान केन्द्रमा काँग्रेसकै कतिपय नेताले बुहारीलाई भोट हाल्न त दिनुस् कम से कम अरु भोट एमालेलाई दिए पनि वडा अध्यक्षको भोट त तपाईलाई आउँछ नि भनि सल्लाह दिएपछि घर गएर देवझारीलाई भोट खसाल्नका लागि पठाउनु भएको थियो ।
देवझारी आफ्नो सासु आमाको साथमा औरही माविमा भोट खसाल्न जानु भएको थियो । भोट खसाएर आएपछि साँझमा मटुकले घरमा सोधेका थिए, बुहारीले कसलाई मत खसाल्नुभयो । त्यसको जवाफमा देवझारीले भन्नुभएका थियो, ‘म एमाले भएको कारणले सबै मत एमालेलाई नै दिएको हुँ ।’ त्यो दिन मटुक निकै रिसाउनु भएको थियो देवझारीमाथि । घरमा होहल्ला नै भएको थियो ।
राजनीति द्वन्दको सुरुवात त्यहीबाट भएको थियो दुवै जनाको बिचमा ।
त्यो स्थानीय तहमा औरही गाउँपालिकामा सबै वडा र गाउँपालिका अध्यक्षदेखि उपाध्यक्ष एमालेले नै जितेको थियो । मटुक चुनाव हारेपछि घरमा राजनीति द्वन्द सुरु भएको थियो । औरहीमा डेउरहीबालाको हातमा काँग्रेसको राजनीति थियो त्यतिबेला । उहाँहरुको शासन चल्थ्यो पार्टीमा ।
उहाँहरुले जे भन्नुहुन्थ्यो त्यही हुन्थ्यो । मटुक जस्तो कट्टर काँग्रेस हुनुहुन्थ्यो, त्यस्तै कट्टर एमाले देवझारी पनि हुुनुहुन्थ्यो । घरमै काँग्रेस र एमाले बिच प्रतिस्पर्धा हुन्थ्यो । त्यतिबेला काँग्रेसमा सुरेशचन्द्र दास यादवको बोलबाला थियो । सुरेशचन्द्र दास यादवलाई देवझारी एमाले भएकोमा मन परेको थिएन । मटुकलाई पटक पटक देवझारीलाई काँग्रेस बनाउन दबाव दिनुहुन्थ्यो ।
बेलाबेलामा अरुअरुले पनि सुरेशचन्द्र दास यादवलाई कुरा लगाउन जान्थे कि मटुकको घरमै एमाले छन् भने उसको राजनीति कसरी अगाडि बढ्छ । अनि त्यसपछि सुरेशचन्द्र दासले मटुकलाई दबाव दिन्थे देवझारीलाई एमालेबाट हटाउनका लागि । तर देवझारी टसमस हुनुहुन्थेन । को हो सुरेशचन्द्र दास मलाई काँग्रेस बनाउने, म कहाँ राजनीति गर्छु, कुन पार्टीमा राजनीति गर्छु त्यो मेरो मर्जी हो, कसैले भन्दैमा म पार्टी छाड्दिन भनि देवझारीले जवाफ पठाउनु हुन्थ्यो ।
त्यो कुरालाई लिएर डेउरही दरबार खास गरी सुरेशचन्द्र दास यादवले यसलाई प्रतिष्ठाको विषय बनाइसक्नु भएको थियो । देवझारीको पकड दलित खासगरी मुसहर समुदायमा राम्रो थियो ।
औरहीका मुसहरहरु करहर्बा देवझारी बुबाको खेतमा काम गर्न जानु हुन्थ्यो । त्यति बेलादेखि मुसहर समुदायसँग देवझारीको चिनजान थियो । बुहारी भएर औरही आएपछि झन ती मुसहरहरुको निकट हुनुभयो । देवझारीले जे भन्नुहुन्थ्यो, उनीहरुले त्यही गर्थे । त्यो कुराले काँग्रेसहरुलाई निकै असर गरेको थियो । त्यही भएर उहाँलाई एमाले छाडेर काँग्रेसमा आउन दबाब थियो ।
एमाले–काँग्रेसलाई लिएर घरमा पटक पटक झगडा हुन्थ्यो । उहाँको ससुरबुवा मटुकले देवझारीलाई एमाले छाड्न दबाब दिनुहुन्थ्यो । तर नमाने पछि घरमा झगडा नै हुन्थ्यो । कतियौंपटक उहाँका सुसुरबुवाले घरबाट पनि निकाल्दिनु हुन्थ्यो । अनि मुसहरीमा गएर बस्नु हुन्थ्यो पछि उहाँका सासु आमा गएर ल्याउनु हुन्थ्यो ।

एमाले छाड्नका लागि देवझारीको बुबासम्म पनि दबाब जान्थ्यो तर उहाँको बुबाले भन्नुहुन्थ्यो, ‘देबझारीको राजनीतिमा म हस्तक्षेप गर्दिन उहाँले के गर्नुहुन्छ त्यो उहाँलाई थाह हुन्छ आफ्नो निर्णय लिन उहाँ स्वतन्त्र हुनुहुन्छ ।’ यो कुराले देवझारीलाई झन हौसला बढ्थ्यो । काँग्रेससँग एउटा बुहारीले टक्कर लिइरहेको कुरा अरु अरु गाउँमा पनि चर्चा हुन थालेको थियो । त्यसले मटुकलाई झन गाह्रो बनाएको थियो ।
देवझारीले आफ्नो ससुरबुवालाई भन्नुहुन्थ्यो, ‘तपाई र म बिच कुनै झगडा नै होइन, तपाई आफ्नो पार्टीबाट राजनीति गर्नुस् म आफ्नो पार्टीबाट गर्छु यसमा अरुले टाउको दुखाउने कुरा नै होइन ।’ तर मटुकले एउटै घरमा दुई पार्टीको नेता कसरी रहन्छन्, एउटै घरमा दुईटा पार्टीको झण्डा कसरी झुण्ड्याउने त्यसैले तिमी पनि काँग्रेसमै आउ भनि पटक पटक दबाबै दिनुहुन्थ्यो तर उहाँले मान्नु भएको थिएन ।
देवझारी घरबाट निकाला
त्यसपछि मटुकले बुहारी देवझारीलाई घरबाट निकाल्दिनु भएको थियो र उहाँ बस्ने घरमा ताल्चा लगाई दिनुभएको थियो । त्यतिबेला देवझारीको पेटमा बच्चा थियो । देवझारीले एक जना मुसहरबाट आफ्नो बुवालाई खबर पठाउनु भएको थियो । उहाँको बुवाले थाह पाउने बित्तिकै बैल गाडा (गोरु गाडा) पठाएपछि देवझारी आफ्नो माइती करहर्बा जानु भएको थियो ।
तर यी ससुरा–बुहारीको राजनीति झगडामा देवझारीको श्रीमान विष्णुदेव यादवले कहिले हस्तक्षेप गर्नुभएन । पेटमा बच्चा भएको अवस्थामा घरबाट निकाल्दा पनि विष्णुले भन्नुभएको थियो, ‘उहाँहरुका राजनीतिक लडाई हो यसमा म पर्दिन उहाँहरुको झगडा हो उहाँहरुले नै मिलाओस् ।’ विष्णुले न बुबालाई साथ दिनुभयो न श्रीमती देवझारीलाई नै ।’ घर छाडेर गएका समय विष्णु एसएलसी दिने तयारीमा हुनुहुन्थ्यो । आफ्नो पढाईमा ध्यान दिनुभएको थियो ।
श्रीमती देवझारीलाई पनि ल्याउन जानुभएन । जब बच्चा जन्मने बेला भयो अनि देवझारीलाई उहाँको सासुआमाले ल्याउनुभयो । ससुरबुबा मटुकले ल्याउन चाहनु भएको थिएन तर सासुआमाको आडानमा देवझारी आउनुभयो । घरमा बच्चा जन्मियो छोरी भयो । घरमा छोरीको जन्म भएपनि मटुक र देवझारी बिच राजनीति झगडा कहिले अन्त्य भएन । मटुकको एक मात्र छोरा हुनुहुन्थ्यो विष्णुदेव तर राजनीतिक द्वन्दका कारण जग्गा जमिन पनि दिएन । मटुकले आफ्ना केही जग्गा भतिजोको नाममा पास गराइ दिनुभयो ।
देवझारी भन्नुहुन्छ, ‘हामी बिच राजनीतिक द्वन्द यसरी अगाडि बढ्यो कि मेरो ससुरबुवाले हामीलाई सम्पत्ति दिनबाट इन्कार गर्न थाल्नुभयो । जथाभावी जग्गा जमिन बेच्न थाल्नुभयो गाउँका घडेरी आफ्नो भतिजाको नामबाट पास गराई दिनुभयो ।’ देवझारीसँग घर बनाएर बस्ने घडेरी समेत थिएन । श्रीमान सानोतिनो जागिरमा हुनुहुन्थ्यो । केही रकम जोहो गरेर गाउँमा घडेरी किनेर घर बनाउनुभयो र छुट्टै बस्न थाल्नुभयो । छुट्टै बस्न थालेपनि ससुरा र बुहारी बिच द्वन्द अन्त्य भएको थिएन ।
देवझारीलाई श्रीमान्को साथ
देवझारी राजनीति लडाई लडि रहँदा भित्रभित्रै उहाँका श्रीमान विष्णुदेवले साथ दिइरहनु भएको थियो । देवझारी भन्नुहुन्छ, ‘मेरो श्रीमानले आजको मितिसम्म मलाई साथ दिनुभएको छ, उहाँले साथ नदिएको भए म राजनीतिमा आउनै सक्दैन्थे उहाँले जहिले पनि मलाई साथ दिनुभयो तर मेरो ससुरा र म बिचको राजनीति झगडामा उहाँ कहिले पर्नुभएन, उहाँ जहिले भन्नुहुन्थ्यो तपाई दुई जनाको झगडा हो तपाईहरु मिलाउनुस् ।’ ससुरासँग राजनीति द्वन्दमा भित्रभित्रै देवझारीलाई नै साथ दिनुहुन्थ्यो ।
एकपटक एमालेका तत्कालिन नेता माधवकुमार नेपाल सिरहा आएको बेला देवझारीका श्रीमान विष्णुदेव पनि पुग्नु भएको थियो । एमालेका स्थानीय नेताहरु विष्णुदेवको छातीमा ब्याच झुण्ड्याई दिएको थियो । एमालेको कार्यकर्ता जस्तै त्यो कार्यक्रममा विष्णु खटिनु भएको थियो । त्यो कुरा सुरेशचन्द्र दासले पनि थाह पाउनु भएको थियो ।
माधवकुमार नेपाल सिरहा गएको बेला आफ्ना पार्टीका नेताहरु प्रवेश गराउँछ कि भनि डरले सुरेशचन्द्र दास यादव पनि काठमाडौँबाट सिरहा पुग्नुभएको थियो । त्यतिबेला उहाँ स्वास्थ्य राज्यमन्त्री हुनुहुन्थ्यो । सिरहाको काँग्रेसमा सुरेशचन्द्र दासको राम्रो पकड थियो ।
सिरहा आएपछि उहाँले विष्णुदेवलाई एमालेको कार्यक्रममा देख्नुभएको थियो । विष्णुदेवलाई सुरेशचन्द्र दास यादवले पनि चिन्नुहुन्थ्यो । एक जनालाई उहाँले सोध्नुभएको थियो, ‘यो त मटुकको छोरा होइन ? उनी के गरिरहेका छन् यहाँ । उनी त काँग्रेस हुन् ।’ अनि सुरेशचन्द्र दासले जवाफ पाएका थिए कि विष्णुदेव मटुकको छोरा भएपनि उहाँका श्रीमती देवझारी एमाले हुनुहुुन्छ, ससुर रामनारायण यादव पनि एमाले हुनुहुन्छ त्यही भएर एमालेमा प्रवेश गर्नुभएको हो ।’
त्यसपछि सुरेशचन्द्र दासले विष्णुदेवलाई तुरुन्तै बोलाउनु भएको थियो । विष्णुलाई एमाले पार्टी छाड्न दबाब दिनुभएको थियो । अहिले राजनीतिहरु गर्नुहुँदैन, स्वास्थ्यमा कार्यालय सहयोगी पदमा विज्ञापन निस्केको छ, त्यसमा फर्म भर्न सुरेशचन्द्र दासले भन्नुभएको थियो । विष्णुदेवले फर्म भर्नुभयो । उहाँले जागिर पाउनुभयो । जागिर दिएपछि विष्णुदेव र उहाँका श्रीमती देवझारी एमाले छाडेर काँग्रेसमा बस्छन् भनि सुरेशचन्द्रलाई लागेको थियो तर त्यस्तो भएन । जागिर पाए पनि न विष्णुदेव न देवझारीले एमाले छाड्नुभयो । विष्णुदेवलाई जागिर दिएपछि सुरेशचन्द्र दासले देवझारीलाई पनि एमाले छाड्न दबाब दिनुहुन्थ्यो । देवझारी टसमस हुनुभएन ।
देवझारी राजनीति लडाई लडि रहँदा भित्रभित्रै उहाँका श्रीमान विष्णुदेवले साथ दिइरहनु भएको थियो । देवझारी भन्नुहुन्छ, ‘मेरो श्रीमानले आजको मितिसम्म मलाई साथ दिनुभएको छ, उहाँले साथ नदिएको भए म राजनीतिमा आउनै सक्दैन्थे
देवझारी भन्नुहुन्छ, ‘मेरा श्रीमान राजनीतिमा खुलेर कहिले आउनु भएन तर उहाँले मलाई साथ दिइरहनु भएको छ भने कुरा सबैलाई थाह थियो, मेरो साथ छोडाउनका लागि सुरेशचन्द्र दासले निकै प्रयास गर्नुभएको थियो तर मेरो श्रीमानले मलाई साथ दिन कहिले छाड्नु भएन, मेरो हरेक दुखसुखमा साथ दिनुभयो ।’ देवझारी आएपछि विष्णु काँग्रेसलाई कहिले मत दिनुभएन । यहाँसम्म कि आफ्नो बुवालाई समेत मत दिनुभएको थिएन ।
एमाले छाड्नुको कारण
बाल्यकालदेखि एमालेमा बस्नु भएका देवझारीले एउटा घटनाका कारण सो पार्टी छाड्न बाध्य हुनुभयो । घटना २०६४–०६५ तिरको हो । देवझारी भन्नुहुन्छ, ‘औरही गाउँपालिका एमाले तथा केही काँग्रेस तथा अरु पार्टीहरुका पनि केही नेताहरुले सोनमा दासको छोरासँग सोनफी दासका श्रीमतीको बिहे गराई दिनुभयो जब कि सोनमा र सोनफी दुवै सहोदर दाजु भाइ हुन् ।
यो त आमा–छोरा बिचको बिहे भयो भनि म लगायत अरु केही नेताहरुले यसको विरोध गरे तर कुनै सुनुवाई भएन ।’ यसको बारेमा जिल्लाका एमाले नेता लिलानाथ श्रेष्ठलगयातका नेताहरुलाई पनि जानकारी गराए पनि यो घटनाप्रति कुनै सुनुवाई नभएको गुनासो देवझारीको रहेको छ । । तत्कालिन मधेशी जनअधिकार फोरम, काँग्रेसकास नेताहरु पनि यो विषयमा बोल्नु भएन । सबैले एमालेका नेताहरुलाई साथ दिनुभएको थियो ।
यस्तो अनैतिक काम गर्ने नेताहरुको साथमा बस्न मन नलागेर एमाले पार्टी छाड्ने निष्कर्षमा पुगेको बताउँदै उहाँले भन्नुभयो, ‘सुरुमा माओवादीका जिल्ला नेता जीवछ यादव र सुरेन्द्र यादवसँग पार्टी प्रवेश गर्ने लगायतको विषयमा कुरा गरेको र उहाँहरुले कृष्णसिंह दनुवारसँग कुरा गर्न भन्नु भएको थियो हामी कृष्णसिंह दनुवारसँग भेट्न तीन चार वटा गाडी लिएर गएका थियौं तर उहाँले अहिल पार्टीको अवस्था राम्रो छैन, हामी अलग हुँदैछौ भन्नुभएको थियो त्यसपछि त्यहाँ कुरा नमिलेपछि फर्केर आयौं ।’
त्यसपछि देवझारीसहितका नेताहरु रामरिझन यादवसँग भेट्नु भएको थियो । रामरिझन यादवले सबै कुरा मिलाउनु भयो र देवझारीलगायतका नेताहरुलाई माओवादी पार्टीमा प्रवेश गराउनुभएको थियो । त्यतिबेला रामपृत यादव, रामकुमार यादव, पल्टु मण्डल, महेन्द्र सुडी, कामेश्वर सिंह, नवल यादव, शिवजी यादवलगायत थुप्रै नेताहरु माओवादी पार्टीमा प्रवेश गर्नुभएको थियो ।
जिल्लामा माओवादीका लागि औरही गाउँपालिका सबभन्दा बलियो भएको थियो । त्यतिबेला औरही गाउँमा अशोक यादव (भोला)को पनि दहसत थियो । उहाँ गाउँपालिकाका कर्मचारी हुनुहुन्थ्यो । त्यतिबेला पालिका अध्यक्ष थिएन । कर्मचारीहरु मिलेर भ्रष्टाचार गरिरहेका थिए । त्यसका थुप्रै प्रमाणहरु थिए तर पनि कोही बोलिरहेका थिएन । धेरैजसो नेताहरु अशोकसँग मिलेका थिए । त्यसको विरुद्धमा पनि माओवादीमा सबै नेताहरु गोलबन्द भएको देवझारी बताउनुहुन्छ । अशोकमाथि अख्यितारमा मुद्दा दिएर आफूहरु काठमाडौँसम्म पुगेका र आफूहरुको प्रयासका कारण उनीमाथि कारवाही भएको बताउँदै देवझारीले भन्नुभयो, ‘त्यतिबेला माओवादी निकै संगठित थियो, सबैको एउटै स्वर, एउटै बोली र एउटै भिजन थियो ।’
स्थानीय चुनावमा देवझारी
दोस्रो संविधानसभाबाट संविधान निर्माण भयो । त्यसको दुई वर्षपछि अर्थात २०७४ मा स्थानीय तहको चुनाव भयो । औरही गाउँपालिकाको उपाध्यक्षमा माओवादीको तर्फबाट उहाँ उम्मेदवार बन्नुभयो । अध्यक्षमा यादवले उम्मेदवारी दिनुभएको थियो । उहाँ डेउरही दरवारको हुनुहुन्थ्यो, सुरेशचन्द्र दास परिवारको । जसपाबाट शिवजी यादव र उपाध्यक्षमा सीतादेवी यादव उम्मेदवारी दिनुभएको थियो ।
तर देवझारी यादव चुनाव हार्नुभयो । सुरेशचन्द्र दास यादवले देवझारी यादवसँग बदला लिनुभयो । माओवादी र जसपा आपस मिले । माओवादीले जसपाका उपाध्यक्षलाई मत दियो भने जसपाले माओवादीका अध्यक्षलाई मत दियो । त्यसले गर्दा जसपाका अध्यक्ष र माओवादीका उपाध्यक्ष पराजित भए । स्थानीय तहमा गोप्य ढंगले गरेको साँठगाँठ प्रतिनिधि सभा र प्रदेश सभाका चुनावमा रह्यो । सुरेशचन्द्र दास यादव पनि चुनावको समयमा माओवादीमा प्रवेश गरिसक्नु भएको थियो । देवझारीले सुरेशचन्द्रलाई माओवादीमा ल्याउन चाहनु भएको थिएन । उहाँले त्यसको विरोध सिरहादेखि काठमाडौँसम्म गर्नुभएको थियो । तर माओवादीका जीवछ यादवलगायतका केही नेताहरु सुरेशचन्द्रलाई ल्याउन हतारिएका थिए ।
देवझारी भन्नुहुन्छ, ‘जीवछजीलाई लागेको थियो कि सुरेशचन्द्र दास माओवादीमा आएपछि उहाँको साथमा चुनाव लड्छु र चुनाव जित्छु तर सुरेशचन्द्र दास यादवको साथमा चुनाव लड्यो भने जीवछजी चुनाव हार्नुहुन्छ भनि मैले सुरुमै भनिसकेका थिए । स्थानीय तहको चुनावमा जसरी माओवादी र जसपाको गठबन्धन बनेको थियो त्यो गठबन्धन प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा हुने निश्चित छ तर मेरो कुरा कसैले सुनेनन् र सुरेशचन्द्र दास यादवलाई पार्टीमा ल्यायो । सुरेश आफै जित्नुभयो जसपाबाट विजय यादवलाई जिताउनुभयो तर जीवछ यादवलाई हराउनुभयो ।’
देवझारी यादव चुनाव हार्नुभयो । सुरेशचन्द्र दास यादवले देवझारी यादवसँग बदला लिनुभयो । माओवादी र जसपा आपस मिले । माओवादीले जसपाका उपाध्यक्षलाई मत दियो भने जसपाले माओवादीका अध्यक्षलाई मत दियो ।



तपाईको प्रतिक्रिया