Khadya Bibhag

मेरो जीवन सफल कि असफल ? (फरकमत)

–रामरिझन यादव
आज म बडो दुःखका साथ यो लेखिरहेको छु । किनभने, भित्रैदेखि मन दुखेको छ । विगत २५ वर्षमा धेरैले मेरो बारेमा धेरै प्रकारका कुराहरू गरे होलान् । फलाकेको होलान् । अहिले तिमी विश्व विद्यालयमा भएको भए के न के भइहाल्थ्यौ ! प्रोफेसर, भिसी, डीन के न के ! यत्रो जेलनेल भोग्यौ ! पाँच पटक चुनाव लड्यौ के पायौ ? तिमीले एउटा सिन्कोसम्म भाच्न सकेनौ भन्ने कुरा मेरो लागि आमबात भइसकेको छ ।
अर्थात् बहुदलीय व्यवस्थामा चुनाव नै सबैभन्दा ठूलो कुरा हो । आज (बैशाख ९ गते) विहान पनि समाजका एकजना सचेत स्वनामधन्य व्यक्तिले तिनै कुरा दोहोराएपछि आज भने साह्रै चीत दुखेको छ । सामान्य सोच भएको व्यक्तिले रामरिझनले स्थायी जागिर छोडेर नराम्रो काम ग¥यो भनेपछि ममाथि त्यस्तो कुनै प्रभाव पार्दैन्थ्यो । बैलुन जस्तै त्यसलाई म हावामा उडाई दिन्छु । तर एम.ए. पास, वर्षौदेखि शिक्षण पेशामा लागेका, राजनीति पनि गरेका, लेख्न पनि जानेका व्यक्तिले पनि मेरो निर्णय गलत थियो भनेपछि मलाई त्यसले आज डिस्टर्व गरेको छ ।
त्यसमा पनि समाजका अचेत व्यक्तिको अगाडि भनेपछि त झन रामरिझन सतप्रतिशत गलत रहेको पुष्टि हुन्छ । किनकि समाजको यस वर्गका लागि जागिर नै भगवान हो, जो २०४० सालमा नै मैले पाएको थिए । जतुवाको लागि म उदाहरण थिए । हो मित्र, म अवश्य केही पढेको छु । समाजलाई बुझ्ने प्रयत्न गर्दैछु । त्यसैले प्रति महिना एउटा वा दुइटा पुस्तक पढ्नै पर्ने नियम बनाएको छु । अलिकति खेत खलिहान÷बारीझारी गरेको छु । तर, जुन समाजको लागि मैले जागिर छोडे त्यसमा स्थापित हुने प्रयास गर्दैछु । २५ वर्षमा पनि सिरहामा स्थापित हुन नसकेको तपाईंको अभिमत हुन सक्छ । तर, मलाई जुन समाजले उत्पादन ग¥यो त्यो समाजको चरित्र मलाई थाहा छ ।
त्यसैले ढिलो भएको हो । साँचो कुरा त के हो भने राजनीतिबाट मात्र त्यो समाज उभो लाग्न सकेको भए उहिले लागि सक्थ्यो । किनकि एक से एक राजनीतिक व्यक्तिको जन्म सिरहाले दिएको छ । बहुदल होस् वा मधेश विद्रोह सिरहाले राष्ट्रलाई दिएको यो मौलिक उपहार इतिहासको पन्नमा दर्ज छन् । डा. तुलसी गिरी र प्रदीप गिरीलाई नचिन्ने को नै छैन र (?) यस मुलुकमा । यी काका भतिजा पनि सिरहाकै उत्पादन हुन् । तर, पनि सिरहा धनुषाभन्दा पछाडि छ । धनुषा मात्र होइन सप्तरीभन्दा पनि पछाडी छ । कतिसम्म भने पहाडी जिल्ला उदयपुरले पनि सिरहालाई उछिन्नेको छ । सिरहाको साक्षरता मात्र होइन, समग्र शैक्षिक अवस्था पनि यी जिल्लाहरूभन्दा न्यून छ । जसको शैक्षिक अवस्थामाथि नै प्रश्नचिन्ह लागेपछि अरू कुनै पनि अवस्था र व्यवस्थाको खासै मूल्य हुँदैन ।
सिरहाको जनसंख्या सात लाख ४८ हजार ४१६ छन् । १७ पालिका छन् । जसको जनसंख्या एक चौथाई (सबैभन्दा बढी जनसंख्या भएको जात) भए पनि १० वटामा यादव जातिको नेतृत्व र बर्चश्व छ । बाँकी सात वटामध्ये चार वटामा झिनो मतले पराजित भएका छन् । विगत ६२ वर्ष (सिरहाको निर्माण २०१८ साल) देखि सिरहामा यादवको नेतृत्व छ । अन्यजात तपशीलका कुरा हुन् । तर उदेक लाग्दो पक्ष के हो भने यो जातको सबैभन्दा बढी जनसंख्या भएको क्षेत्र जिल्लाको दक्षिणी भूभाग हो । जो हुलाकी सडकको वरिपरि अवस्थित छ ।
२०२६ सालमा इन्टर कलेजको स्थापना मात्र होइन, नेपालकै दोस्रो चन्द्रहाई स्कुल (दरवार स्कूलपछि) यही भेकमा छन् । स्कूलको पियुनदेखि हेडमास्टरसम्म यस भेकमा यादव छन् । विद्यार्थी पनि ७०–८० प्रतिशत यादव नै छन । तर, पढाइ भने न्यूनभन्दा पनि न्यून खालका छन् । आठ कक्षाको विद्यार्थीलाई अँग्रेजीको नेपाली समेत शुद्ध रिडिङ्ग दिन आउदैनन् ।
यसको तुल्नामा महेन्द्र राजमार्गको छेउछाउमा स्थापित स्कूलको पढाइ दक्षिणी भागभन्दा कैयौ गुणा राम्रो छ । त्यसैले म भन्दै आएको छु । सिरहा आफैमा दुईटा जिल्ला हो । एउटा हुलाकी सडकको वरिपरि र अर्को महेन्द्र राजमार्गको छेउछाउ । दक्षिणी भागमा २०२६ सालमा स्थापित भएको कलेज सूर्यनारायण सत्यनारायण मोरवता यादव क्याम्पसको रूपमा एक्लै टिटिआइरहेका छन् भने यसबीचमा लहानमा ६, मिर्चैयामा ३, गोलबजारमा २ वटा क्याम्पस सञ्चालित छन् ।
अर्थात् जसको हातमा नेतृत्व छ उहीँ आफ्नो बालबच्चाको दुश्मन बनेका छन् । हुलाकी सडकको छेउछाउको शैक्षिक अवस्था साखापको कागारमा पुगिसकेको छ ।
त्यसैले बरियारपट्टीलाई केन्द्र बनाएर कामको थाल्नी भएको छ । हुलाकी बहुमुखी क्याम्पस निर्माण गर्न २ विगहा जग्गा खरिद भइसकेको छ भने भगवानपुरमा पनि सञ्चालनको जिम्मा गपाले लिएको छ । यदि यी दुइटा क्याम्पस हुलाकी सडकमा मैले आफ्नो जीवनकालमा निर्माण गर्न सके मेरो प्रोफेसरीभन्दा लाखौ गुणा ठूलो हुने मेरो व्यक्तिगत अभिमत छ । साथै कमला पूल बनाएर सिरहा (केवल २४ किमि तर अहिले ढल्केवर भएर ८६ किमि पार गर्नु पर्छ ) तथा राजविराजदेखि (८० किमि अहिले १४० किमि) मेरो जीवनको अर्को सफलता हुन्थ्यो ।

तपाईको प्रतिक्रिया