Khadya Bibhag

मधेशमा माओवादी यसरी हुनसक्छ ‘कमब्याक’

–भोलाप्रसाद यादव
सञ्चार माध्यममा आएका रिर्पोर्ट अनुसार मधेश प्रदेशमा माओवादी केन्द्रको संगठन राम्रो छैन । कतिपय सञ्चारमाध्यममा बढाइ चढाइ पनि लेखेका छन् भने कतिपयले यथार्थ कुरा पनि लखेका छन् । मधेश प्रदेशमा माओवादी कमजोर भएको होइन । माओवादी केन्द्रलाई कमजोर बनाइएको हो । माओवादीलाई कमजोर बनाउनका लागि पार्टी भित्रबाट र पार्टी बाहिरबाट पनि षड्यन्त्र भएका छन् । माओवादी पार्टीभित्रै कतिपय यस्ता नेताहरु हुनुहुन्छ जो एक अर्काको खुट्टा तानेर आफूसमेतलाई समाप्त गरिरहनु भएको छ ।
त्यो कसको इशारामा, कसको उक्साहटमा गरिरहनु भएको छ त्यो थाह भएन तर आफ्नै पार्टी र पार्टीका नेतालाई कमजोर गर्ने अनेक षड्यन्त्र भइरहेका छन् भनि कसैबाट लुकेको छैन । त्यस्तै षड्यन्त्र पार्टी बाहिरबाट पनि भइरहेका छन् । माओवादी केन्द्रलाई मधेश प्रदेशमा कसरी कमजोर बनाउन सकिन्छ भनि षड्यन्त्र अन्य पार्टी तथा एजेन्सीबाट भइरहेका छन् । मधेशमा माओवादी बलियो भएपछि काँग्रेस, एमाले, जसपा पनि कमजोर हुन्छ । विगतमा त्यस्तो देखिएकै हो । त्यही भएर माओवादीलाई बलियो हुन नदिनका लागि यी दलहरुबाट बेला बेलामा षड्यन्त्र भइरहेका हुन्छन् । त्यो षड्यन्त्रलाई माओवादी केन्द्रले चिर्न सकेको छैन । विगतमा माओवादी केन्द्र मधेशमा बलियो हुँदा सबै दल कमजोर भएका थिए ।
मधेशमा माओवादीको योगदान
मधेशको अहिलेको जुन अवस्था छ, त्यो माओवादीकै कारण भएको हो भने कुरामा दुई मत छैन । यो कुरा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि स्विकार गर्नुभएको छ । २०७८ पुसमा भएको माओवादी केन्द्रको महाधिवेशनमा जसपाका अध्यक्ष उपेन्द्र यादवले शुभकामना दिँदै भन्नुभएको थियो, ‘माओवादी जनयुद्ध र मधेश विद्रोह नभएको भए देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आउने थिएन ।’ देशमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन सिर्फ माओवादी र मधेशवादी दलको योगदान छ । काँग्रेस, एमालेलगायतका दलहरु गणतन्त्रको विरोधमा नै थिए ।
तर यो कुरा पनि बिर्सिनु हुँदैन कि मधेश विद्रोह पनि माओवादी केन्द्रकै देन हो । माओवादी केन्द्रले गठन गरेको मधेशी जनअधिकार फोरमले मधेशमा आन्दोलनको सुरुवात गरेको थियो । मधेशी जनअधिकार फोरमले मधेशमा आन्दोलन गर्नका लागि जे जे गरेको थियो, त्यो माओवादीको निर्णयको आधारमा भएको थियो किनभने त्यतिबेलासम्म मधेशी जनअधिकार फोरम माओवादीको शुभेच्छुक संगठन थियो ।
माओवादीले मधेशको अधिकार, पहिचान र मानव अधिकार रक्षाका लागि काम गर्न उपेन्द्र यादवको नेतृत्वमा मधेशी जनअधिकार फोरम गठन गरेको थियो । मधेशमा काम गर्नका लागि एउटा स्वतन्त्र संस्था बनाएर उपेन्द्र यादवलाई मधेश पठाएको थियो । त्यसमा माओवादी केन्द्रको हरेक प्रकारको लगानी छ ।
माओवादी केन्द्रले आन्दोलन गरेकै कारण मधेशमा जनतामा चेतनाको विकास भएको थियो । आफ्नो अधिकारका लागि कसरी लड्नुपर्छ भनि प्रशिक्षण माओवादी केन्द्रबाट पाएको थियो । यदि उपेन्द्र यादव माओवादी नभएको भए मधेश विद्रोह सम्भव नै थिएन । माओवादी शैलीमा उहाँले मधेशी जनअधिकार फोरममार्फत आन्दोलनको तयारीमा लाग्नु भएको थियो । अनि मात्र त्यो आन्दोलन सफल भएको थियो ।
अहिले पनि उपेन्द्र यादव आफूलाई माओवादी नभने पनि उहाँको पार्टी दस्तावेज, पार्टीमा कार्यविभाजन, पार्टीको काम गर्ने शैली सबै माओवादीसँग मिल्दा जुल्दो छ । मधेशले अहिले आफ्नो अधिकारका लागि अवाज उठाउछन् र त्यसका लागि लड्छन् ती सबै माओवादी जनयुद्धकै परिणाम हो ।
मधेशी जनतलाई माओवादी केन्द्रले बोल्न सिकायो, आफ्नो आवाज उठाउन सिकायो, त्यसलाई स्विकार गर्न कसैले हिचकिचाहट मान्नु हुँदैन । नभए यसअघि बाबा रामजनम तिवारी, गजेन्द्रनाराययण सिंह, भद्रकाली मिश्र, रामराजा प्रसाद सिंह, जयकृष्ण गोइत, रामनारायण मिश्रलगायत थुप्रै व्यक्ति तथा नेताले मधेशमा आन्दोलन गर्ने प्रयास नगरेको होइनन् तर कसैबाट सम्भव भएको थिएन । यद्यपी यी जति जना नेता हुनुहुन्छ ती सबै आदरणनीय व्यक्तित्व हुनुहुन्छ ।
मधेशका लागि केही नकेही सबैको योगदान छ । तर उहाँहरुले मधेशमा आन्दालन गर्न सक्नु भएन भने कुरा सत्य हो ।
माओवादीबाट अलग भएर मधेशी जनअधिकार फोरम पार्टी बनाउनु भएका उपेन्द्र यादव मात्र आन्दोलन गर्न सफल हुनुभयो । त्यो माओवादीकै देन हो । चाहे उपेन्द्र यादवले मानुन् या नमानन् । उहाँका नेता कार्यकर्ताले मानुन् या नमानुन् । यसमा कुनै चित्त दुखाइ हुने छैन । हुन त बेलाबेलामा उपेन्द्र यादवले आफू माओवादी कहिले पनि नबनेको भन्ने पनि गर्नुहुन्छ । उहाँले माओवादीलाई खाओवादी पनि भन्ने गर्नुभएको छ । तर यथार्थ त्यो होइन । एउटा पार्टीका अध्यक्षले कुनै अर्को पार्टीलाई प्रतिपक्षी नै मान्छन् । उपेन्द्र यादवले माओवादी केन्द्रको बारेमा त्यस्तो धारणा राख्नु कुनै आश्चर्यको कुरा होइन । झुठो बोल्नु, ठग्नु नेपाली राजनीतिका लागि समान कुरा भइसकेको छ ।
माओवादी मधेशमा कमजोर
आज माओवादी मधेश प्रदेशमा कमजोर भएको छ । माओवादी गणितीय हिसाबले कमजोर भए पनि सांगठनिक रुपमा कमजोर भएको छैन । अहिले पनि माओवादीका धेरै यस्ता नेता छन् जो माओवादी छाडेर कही गएका छैनन् । माओवादीकै प्रतिक्षामा चुपचाप बसेका छन् । कतिपय यस्ता व्यक्ति छन् जो आफूलाई माओवादी भन्छन् तर बाहिर खुल्न चाहदैनन् । क्याडर भएको पार्टी माओवादी हो । त्यहाँ थुप्रै प्रतिवद्ध नेताहरु छन् जो कही गएका छैनन् । दुई चार जना यताउती भएका होलान् तर पार्टी अझै संगठित र बलियो छ ।
तर समस्या पार्टीभित्रै छ । हरेक क्षेत्र, हरेक स्थानीय तहको रिर्पोर्ट हेर्दा आफ्नै पार्टीका उम्मेदवारलाई आफ्नै पार्टीका कुनै नकुनै नेता हराउन भूमिका खेलेको प्रष्ट देखिन्छ । जो कोही पनि यो कुरा थाह पाउन सक्छन् । मधेश प्रदेशमा माओवादी आफ्नै कारणले हारेको हो । अहिले पनि मधेश प्रदेशमा जति जना नेता छन् त्यति वटा गुट छन् । कुनै पनि नेताले कसैको नेतृत्व स्विकार गर्न तयार देखिदैन । एउटा नेता पूर्वतिर फर्किनु भएको छ भने अर्को नेता पश्चिमतिर फर्किनु भएको छ । नेताहरुको बिचमा बोलचाल पनि छैन । एउटै जिल्लामा रहेका माओवादीका नेताहरुको बिचमा बोलचाल देखिएको छैन ।
माओवादी पार्टीकै कतिपय यस्ता नेताहरु छन् जो कतिपय नेताहरु यो पार्टीमा नरहोस् भनि चाहन्छन् । र, कुनै नकुनै उपद्रोह गराएर पार्टीबाट निस्कन बाध्य बनाएका हुन्छन् । सप्तरीका महेश यादवलाई माओवादी छाड्न कसले बनाउनु भएको थियो, धनुषाका रामचन्द्र मण्डललाई माओवादी छाड्न कसले बाध्य बनाउनु भएको थियो । यो कसैबाट लुकेको छैन । मधेशमा यस्ता धेरै उदाहरणहरु छन् जो कुनै न कुनै नेताकै कारण नेताहरु पार्टी छाडेर अन्य पार्टीमा गएका छन् ।
यस्ता रिर्पोटिङ माओवादी पार्टीभित्र नभएको होइन । लिखित र मौखिक दुवै किसिमले पार्टीमा यस्ता रिर्पोटिङहरु भइरहेका छन् । तर त्यसप्रति पार्टीले कुनै सुनुवाई गरेको छैन । पार्टीमा कुनै सुनुवाई नभएको कारण यसको निराकरण भएको छैन । गल्ती गर्नेलाई दण्ड र राम्रो गर्नेलाई पुरस्कृत गर्ने व्यवस्था पार्टीमा नभएको कारणले यस्तो भएको हो जस्तो लाग्छ । मधेश प्रदेशमा माओवादीका नेताहरुले पार्टीका हित विपरित, पार्टीको अनुशासन विपरित गतिविधिहरु गरिरहेका छन् । त्यसको निगरानी, अनुगमन गर्ने कोही भएन ।
जसले जे गरे पनि हुने अवस्था मधेश प्रदेशमा देखिएको छ । यसमा माओवादी केन्द्रको नेतृत्वको असक्षमता हो । माओवादी केन्द्रले मधेश प्रदेशको पार्टीभित्र डण्डा नचलाएको कारण यो हालत भएको हो । हुन त माओवादीमा यो खालका अराजकता देशैभर देखिएको हो तर मधेशमा ज्यादा देखिएको छ । प्रतिनिधि सभा अन्तरर्गत मधेश प्रदेशमा माओवादी शुन्यमा झर्नु लाजमर्दो कुरा हो । के साँच्चै माओवादी केन्द्र यति कमजोर भइसकेको छ जो एक सीट पनि जित्न सकेन ?
माओवादी कमजोर भएको होइन, कमजार बनाइएको हो । माओवादीका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री प्रचण्ड पनि एकपटक मधेशवाट चुनाव जित्नु भएको हो । माओवादीका मधेशमा रहेका नेताहरु पनि मधेशबाट पटक पटक चुनाव जित्नु भएको हो । मधेशको अधिकार र पहिचानका लागि माओवादीले जति काम गरेको छ त्यति काम त मधेश केन्द्रित दलहरुले पनि गरेका छैनन् । मधेशी, आदिवासी जनजाति, मुस्लिमको समस्या होस् सबैको लागि माओवादीले अवाज उठाएर त्यसलाई कुनै कुनै रुपमा समाधान गरेकै हो ।
समावेशी कुरा माओवादीले नै ल्याएको हो, अरक्षणको व्यवस्था माओवादीले नै गारेको हो । मधेशमा नागरिकताको समस्या थियो, माओवादीको सरकारले त्यसको समाधान गरेको हो । मधेशी, मुस्लिम, थारु, आदिवासी
जनजातिलगायतका लागि आयोग गठन गर्ने काम माओवादी नेतृत्वको सरकारले नै गरेको हो । मधेशले हालसम्म जति पनि अधिकार पाएको छ ती सबै माओवादी नेतृत्वको सरकारको पालामा भएको हो । तैपनि मधेशमा माओवादी किन कमजोर भयो त यसको समिक्षा हुनु एकदमै आवश्यक छ । मधेशमा देखिएको समस्या समाधान गर्नका लागि तत्काल कुनै कदम चालिएन भने पछि माओवादीलाई बचाउन निकै गाह्रो हुन्छ ।
एमाले र काँग्रेसको रणनीति
मधेशमा बलियो भएपछि देशैभर बलियो हुने कुरा अन्य दलले थाह पाइ सकेका छन् । माओवादीले थाह नपाउने कुरा नै हुँदैन । काँग्रेस जब जब मधेशमा बलियो भयो, देशैभर बलियो भएको थियो, मधेशमा कमजोर भएपछि देशैभर कमजोर भएको थियो । अहिले एमाले पनि काँग्रेसकै बाटोमा हिडेको छ । एमालेले थाह पाइसकेको छ कि मधेशमा बलियो भए मात्र देशमा शक्ति निर्माण गर्न सकिन्छ ।
त्यो थाह पाएर मधेशमा संगठन बनाउनका लागि एमाले पुरै शक्ति लगाई सकेको छ । अब माओवादीले ढिलो गर्नु हुन्न । अहिले पनि केही बिग्रेको छैन । माओवादीले मधेशमा थोरै संरचनागत सुधार गर्दै निष्पक्ष तरिकाले संगठन बनाउने काम भयो भने संगठन बन्न र बनाउन समय लाग्दैन । माओवादीले अलिकति थोरै मेहनत गर्यो भने अहिले पनि मधेशमा ठूलो दल बन्न सक्छ तर त्यसका लागि निर्मम ढंगले समिक्षा गर्दै कसैलाई काँखा, कसैलाई पाखा नगरी समान ढंगले जिम्मेवारी दिएर अगाडि बढ््यो भने मधेशमा माओवादीलाई ‘कम ब्याक’ हुन समय लाग्दैन ।

तपाईको प्रतिक्रिया