दक्षिणी छिमेकी भारतको १८औं लोकसभाका लागि विभिन्न सात चरणमा चुनाव हुने क्रम जारी छ । अहिलेसम्म दुई चरणका चुनाव सम्पन्न भई तेस्रो चरणको चुनाव पनि सम्पन्न हुन लागेको छ । मत परिणाम जेष्ठ २२ गते सार्वजनिक हुनेछ । अधिकांश चुनावी विश्लेषकहरु र सञ्चार माध्यमहरुले चुनावअघि गराएको सर्वेक्षणमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी आफ्ना सहयोगी दलहरु सहित सजिलै बहुमत हासिल गरी अर्को ५ वर्ष सरकार चलाउने आंकलन गरेका छन् ।
स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरु पछि लगातार तेश्रो पटक प्रधानमन्त्री बन्ने दिशामा अग्रसर मोदी आफ्नो आकर्षक, ओजस्वी एवं प्रभावकारी भाषणका कारण पनि निकै लोकप्रिय मानिन्छन् । विगत १० वर्षदेखि सत्तामा विराजमान रहेर पनि आफ्नो लोकप्रियतालाई यथास्थितिमै कायम राख्नु सामान्य सफलता होइन ।
मोदीको लोकप्रियता कायम हुनुमा उनको सरकारद्धारा गरिब वर्ग, महिला, किसान एवं युवाहरुको हितमा चालिएका लोककल्याणकारी योजनाहरु तथा आन्तरिक एवं बाह्य सुरक्षाका क्षेत्रमा सरकारको कठोर एवं प्रभावकारी नीतिलाई पनि मानिन्छ ।
सन् २०१९ मा भएको लोकसभा निर्वाचनमा भारतीय जनतापार्टीले ३७.७ प्रतिशत मत सहित ३०३ सिट जितेको थियो जबकी २०१४ मा यसले ३१.३ प्रतिशत मत सहित २८२ सिट जितेको थियो । पाँच वर्षसम्म सरकारको नेतृत्व गरेर पनि मोदी नेतृत्वको भारतीय जनता पार्टीले ६ प्रतिशत भन्दा बढी मत र २१ सिट बढी जित्नु सामान्य उपलब्धि होइन ।
जारी चुनावको निम्ति पार्टीले आफ्नो निम्ति एक्लै ३७० र गठबन्धनका सहयोगी दलहरुसित ४०० सिट हासिल गर्ने लक्ष्य राखेको छ । साथै मत प्रतिशत पनि ५१ प्रतिशत हासिल गर्ने लक्ष्य राखेको छ ।
४०० सिटको संख्या कतिपय विश्लेषकहरुलाई शुरुमा असम्भव जस्तो लागेको थियो तर पश्चिम बङ्गाल तथा दक्षिणका प्रान्तहरु तामिलनाडु, केरल र आन्ध्रप्रदेशतिर पार्टीको सिट संख्या बढ्ने सम्भावना देखिन्छ । राजनीतिमा लक्ष्य भने ठुलो नै राख्नु पर्दछ, फेरी भारतीय जनता पार्टी जस्तो अनुशासित, विशाल संगठन भएको र राष्ट्रिय स्वयंसेवक संघको संरक्षण प्राप्त पार्टीको निम्ति यस्तो लक्ष्य निर्धारण हुन अस्वभाविक पनि होईन ।
विपक्षी राजनीतिक दल र तिनका नेताहरुको आक्षेप र आरोपलाई पनि आफ्नो राजनीतिक अस्त्र बनाई, त्यसै अस्त्रमार्फत विपक्षी दलहरुलाई चुनावमा परास्त गर्ने कलामा मोदीलाई महारथ हासिल छ ।
सन् २०१४ को आम निर्वाचनमा आफ्ना विपक्षी दलहरुले लगाएको जाति अपमान सूचक शब्दलाई हतियार बनाएर चुनावी जनमत आफनो पक्षमा पार्नु र सन् २०१९ को आम निर्वाचनमा विपक्षी दलका नेता राहुल गान्धीले मोदीमाथि लगाएको भ्रष्टाचारको आरोप (चोकीदार नै चोर) भन्ने नारालाई आफनो प्रमुख राजनीतिक मुद्दा बनाउँदै मोदीसहित तिनका समर्थकहरुले “म पनि चौकीदार” भन्ने नारालाई प्रमुखताका साथ जनतामा लग्ने काम गरे । सन्तानविहिन र घर परिवार भन्दा दशकौंदेखि टाढा रहदै आएका मोदीले भ्रष्टाचार पनि गर्न सक्दछन् भन्ने तिल बराबर विश्वास पनि भारतीय मतदातालाई हुन सकिरहेको छैन ।
मोदी सरकारले राजस्वको अपचलन गर्ने माथि छानविन गर्न गठित प्रवर्तन निर्देशनालय (इडी) र भारतको सर्वोच्च अनुसन्धान विभाग सिबिआईले भ्रष्टाचारमा संलग्न विपक्षी नेताहरु माथि कारवाही गर्दा जनताले यसलाई मोदी सरकारको भ्रष्टाचार विरोधी अभियानको रुपमा दायर गरेका छन् जबकी मोदीका विरोधीहरु भने यसलाई विपक्षी नेताहरुलाई हिरासतमा राखी लोकतन्त्र सिद्धयाउने कार्यको रुपमा परिभाषित गरिरहेका छन् ।
भारतीय काँग्रेसका नेता राहुल गान्धीका प्रमुख सल्लाहकार तथा ओभरसिज काँग्रेसका प्रमुख सैम पित्रोदाले गत जनवरी २५ मा इलेक्ट्रोनिक भोटिङ मेसिन (इभिएम) को निश्पक्षतामा प्रश्न गर्न भर्चुअल प्रेस सम्मेलन गरे । तथापि उनले हिमान्चल, कर्नाटक र तेलंगाना चुनावमा आफनो पार्टीको जितबारे सोधिएको प्रश्नलाई बेवास्ता गरे, जहाँ इभिएम प्रयोग गरिएको थियो ।
तिनै सैम पित्रोदाले आफ्नो पार्टी सरकारमा आए पैत्रिक सम्पति माथि ४५ प्रतिशतसम्म कर लगाउने प्रस्ताव राखेको र यसरी जफत गरिएका सम्पतिहरु जनसंख्याका आधारमा बान्छित व्यक्तिलाई उपलब्ध गराउने सुझाव दिएकोलाई पनि यस चुनावमा भाजपाले प्रमुख चुनाव हतियार बनाएको छ ।
प्रधानमन्त्री मोदी स्वयंले पनि काँग्रेसको सरकार सत्तामा आए व्यक्तिको सुन चाँदी, नगद, गहना र जग्गा जमीन खोसेर विदेशी अवैध अप्रवासीमा वितरण गर्ने भन्दै जनतालाई विपक्षी दलहरुवाट टाढा बस्न आग्रह गरिरहेका छन् । विपक्षी दलहरुको मोर्चामा सामेल विभिन्न दल बिचको वैचारिक द्धन्द्ध, विभिन्न दल भित्रको आन्तरिक द्धन्द्ध र टुटफुट साथै प्रष्ट एजेण्डाको अभाव र आफनो नेताको नाम सार्वजनिक गर्न असफल भईरहेको विपक्षले मोदीलाई चुनौती दिने सम्भावना देखिदैन ।
पश्चिम बङ्गाल, उडिसा, उत्तर प्रदेश, केरल, आन्ध्र प्रदेश, तेलङ्गाना, पञ्जाव र हरियाणा जस्ता राज्यका करिव साढे दुई सय स्थानमा त्रिकोणीय अथवा बहुकोणीय प्रतिस्पर्धा हुने निश्चित छ ।
उत्तर प्रदेशमा रहेका ८० सिटलाई सर्वाधिक महत्वपूर्ण मानिन्छ तर दलित नेतृ एवं पूर्व मुख्यमन्त्री मायावती बहुजन समाज पार्टीले एक्लै चुनाव लड्ने घोषणाले विपक्षी गठबन्धनको ढाडलाई नै भाँचि दिएको छ । पश्चिम बङ्गालमा पनि त्यहाँकी मुख्यमन्त्री ममता बनर्जीले काँग्रेस र कम्युनियष्टलाई वास्ता नै गरिनन् । विभाजित विपक्षले बलियो मोदीलाई चुनौति दिने अवस्था देखिदैन ।
प्रधानमन्त्री मोदी भारतीय जनता माझ लोकप्रिय हुनुका कारण पनि छन् । महिला, गरिब र सहरी मध्यम वर्गीय, मतदातालाई प्राथमिकतामा राखेर सरकारले नीति निर्माणको काम गर्दै आएको छ । महिलालाई ३३ प्रतिशत आरक्षणको सुविधा प्रदान गरी तिनको मनोबललाई बढाउने काम गरिएको छ ।
गरिबहरुको निम्ति निर्माण गरिएको पक्की घरको साँचो पनि महिला गृहिणीलाई नै हस्तान्तरण गरिएको, महिलालाई धुवाँवाट जोगाउन प्रत्येक घरमा खाना पकाउने ग्यास चुलो सिलिण्डर उपलब्ध गराइएको छ । सुशासन, सुरक्षा र शान्तिको अनुभुति गराएर शहरी वर्गका तथा व्यापारी पृष्ठभुमिका मतदातालाई आकर्षित गर्ने काम गरेको छ । पछिल्ला दुई चुनावमा भ्रष्टाचार निर्मुल गर्ने, व्यापारिक वातावरण सुधार्ने, पूर्वाधारमा सुधार ल्याउने र राष्ट्रिय छवि पुनः स्थापित गर्ने वाचा गरेर भाजपाले यस वर्गको समर्थनलाई हासिल गर्न सफल भएको छ ।
त्यसबाहेक सुरक्षाकर्मीको मनोबल बढाउन आवश्यक सर सामग्री, अत्याधुनिक अस्त्र र सुविधाहरुवाट युक्त बनाइएको छ भने चीनसितको सिमावर्ती क्षेत्रमा वार्ता भन्दा पनि प्रतिकारको नीति अख्तियार गर्ने, पाकिस्तानको भूभागभित्र प्रवेश गरेर लक्षित ठाउँमा प्रहार गर्ने र समुद्री क्षेत्रमा पनि सदैव प्रतिकार गर्न तयार रहने अवस्थामा भारतीय सैन्य बल रहेको देखिन्छ । अन्तरिक्ष अनुसन्धानको क्षेत्रमा भारतले निरन्तर रुपमा गरेको प्रगतिले पनि मोदीलाई लोकप्रिय बनाएको छ । मुस्लिम महिलामा रहेको तीन तलाक सम्बन्ध विच्छेद प्रावधानको खारेजी, जम्मु काश्मिर राज्यका लागि विशेष प्रावधान रहेको धारा ३७० मा संशोधन र झण्डै ६ सय वर्षको प्रतिक्षा पश्चात अयोध्यामा राम मन्दिरको निर्माण कार्यले मोदी सरकारलाई भारतीय मतदाता माझ लोकप्रिय बनाएको छ ।
सनातन धर्म संस्कृति माथि गर्व गर्नु, यसको संरक्षण गर्नु र यसभित्र निहित मानव जाति र विश्व कल्याणका भावनालाई विश्वमाझ प्रसार गर्नमा पनि मोदी सरकार सफल रहेको छ । भारतीय जनताले यसलाई सांस्कृतिक पुनर्जागरणको अवसरको रुपमा पनि लिएका छन् । मोदी सरकारले आयुष्मान भारत योजना अन्तरर्गत प्रत्येक नागरिकको स्वास्थ्य उपचारका लागि पाँच लाख भारतीय रुपैयाँसम्मको विमा गरि दिएको छ भन्ने किसानहरुको खातामा वार्षिक १२ हजार रुपैयाँ जम्मा गरी मल र बिउको खरिदमा सहयोग गर्दै आएको छ ।
कोरोना कालदेखि नै करोडौ भारतीयलाई निशुल्क खाद्यान्न उपलब्ध गराउँदै आएको छ । सन् २०२९ को लोकसभा निर्वाचन देखि ३३ प्रतिशत सिट महिलाहरुका लागि आरक्षित रहनेछन् । मोदीले कम्युनिष्ट मतदाताहरुको चाहनालाई सम्वोधन गर्दै आफुतिर आकर्षित गर्न सफल भएका छन् ।
दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने बाचा गरेर सत्तामा आएको भाजपाले कोरोनाको महासंकटका वावजुद देशलाई आठ प्रतिशतको आर्थिक वृद्धिदरमा कायम राख्न सफल भएको छ । विश्वको पाँचौ ठुलो अर्थ व्यवस्था बनेको भारत सन् २०३० सम्म विश्वको तेश्रो ठुलो अर्थ व्यवस्था बन्ने प्रक्षेपण गरिएको छ । अहिले विश्व राजनीतिमा अमेरिका, चीन र भारतकै चर्चा सर्वाधिक हुने गरेको पाईन्छ । केहीअघि मात्रै अमेरिकी प्रतिष्ठित पत्रिका “टाईम म्यागजीन” ले अनस्टपेबल मोदी भन्ने शीर्षकमा मोदीको बढ्दो लोकप्रियता र प्रभाव बारे सविस्तार लेखेको छ । साँच्चिकै मोदी अनस्टोपेबल नै छन् त ? भारतीय मतदाताको रुझान त यस्तै देखिन्छ ।
तपाईको प्रतिक्रिया