–सीताराम अग्रहरी –प्रेस सल्लाहकार, मधेश प्रदेश सरकार
लामो समय मुलधारको पत्रकारिता गर्नुभएका सीताराम अग्रहरी जनता समाजवादी पार्टी नेपाल नेतृत्वको मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवको मात्र प्रेस सल्लाहकार होइन मधेश सरकारकै प्रेस सल्लाहकार हुनुहुन्छ । उहाँलाई नियुक्ति दिँदा त्यही भनिएको छ । तर मधेश सरकारले उहाँसँग कहिले कुनै सल्लाह लिएन । उहाँ आफैले पनि सल्लाह दिँदा त्यो कहिले स्विकारोक्ति भएन । गोरखापत्र जस्तो पुरानो पत्रिकाको प्रधानसम्पादक तथा व्यवस्थापकीय भूमिकामा रही सक्नु भएका सीताराम अग्रहरी भन्नुहुन्छ, ‘मधेश सरकारले मबाट फाइदा लिन सकेन ।’ जसपा नेपाल विभाजन भएको छ । उहाँ यसमा उपेन्द्र यादवको पनि कमजोरी देखाउनु भएको छ, सामाजिक सञ्जालमार्फत आलोचनात्मक टिप्पणी गर्दै आउनु भएका वरिष्ठ पत्रकार सीताराम अग्रहरीसँग जसपा नेपाल विभाजन, मधेश सरकारको काम कारवाहीलगायतको विषयमा प्रस्तुत छ, सहारा टाइम्सले गरेको कुराकानीको सम्पादीत अंशः
तपाई मधेश प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहकार हुनुहुन्छ, राजनीति कुरा गर्न मिल्छ कि मिल्दैन थाह छैन तैपनि हाम्रो एउटा जिज्ञासा जसपा नेपालमा विभाजनको घटना कसरी हुन गयो त्यो घटनालाई तपाईले कसरी लिनुभएको छ ?
–एउटा कुरामा स्पष्ट के हुनुहोस् भने म मुख्यमन्त्रीको प्रेस सल्लाहकार होइन, मधेश सरकारकै प्रेस सल्लाहकार हुँ । त्यसमा मुख्यमन्त्री पनि आउनु हुन्छ । अर्को कुरा, म पार्टीमा आवद्ध छैन, पार्टीमा कही कतै संलग्नता छैन । जसपा विभाजनको घटना मसँग रिलेटेड छैन । यो घटना हुनुको पछाडि शक्ति केन्द्रहरुको हात रहेको कुरा तपाईहरुले पनि थाह पाइसक्नु भएको छ । त्यसबाहेक पार्टीभित्र केही आन्तरिक समस्याहरु छन् । समस्या जसपा नेपालमा मात्र पनि होइन, अन्य पार्टीहरु पनि छन् । काँग्रेसमा गिरीजाप्रसाद कोइरालाको पालामा गणेशमान सिंह, शेरबहादुर देउवासँग राम्रो थिएन । त्यही भएर पार्टी विभाजन भएको थियो । एमालेमा पनि केपी शर्मा अोली र माधवकुमार नेपालको राम्रो थिएन । पार्टी नै विभाजन भयो । पार्टी विभाजन भए पनि अझै त्यो पार्टीमा विवाद देखिन्छ । अर्थात हरेक पार्टीमा आन्तरिक विवाद देखिन्छन् । हरेक पार्टीमा गुट उपगुटहरु छन् । समस्याहरु छन् । जसपा नेपालमा पनि केही समस्या छन् तर कतैबाट निर्देशित भएर त्यो पार्टी विभाजन भएको हो । कसैको निर्देशनमा त्यो पार्टी विभाजन भएको हो । म त पार्टीको आधिकारिक व्यक्ति त होइन तर पार्टीभित्र असन्तुष्टिहरु थिए, ती असन्तुष्टिलाई समयमा सम्बोधन गरिएन र त्यसका फाइदा अरु दलले उठाए र पार्टी नै विभाजन गर्दिए ।
तपाईले भन्नुभयो पार्टीमा केही आन्तरिक समस्या र असन्तुष्टिहरु छन्, पार्टीमा कस्तो खालको समस्या र असन्तुष्टिहरु छन् जस्तो लाग्छ तपाईलाई ?
–पार्टीको समस्या भनेको ‘राइट म्यान इन राइट प्लेस’को समस्या हो । जो उपयुक्त व्यक्ति छन् उसले ठाउँ पाउदैनन् जो अनुपयुक्त व्यक्ति छन् जहाँ त्यही ठाउँ पाइरहेका छन् । अवसर पाएकाहरु सबै अनुपयुक्त नै छन् भने होइन । तर कतिपय अवस्थामा अवसर नपाउनेहरु अवसर पाएका छन् । जसले गर्दा पार्टीमा तलदेखि माथिसम्म एक खालको भित्रभित्रै असन्तुष्टि भएको मैले पाए । म मधेश प्रदेशमा बस्छु । म त्यहाँका सरकारलाई हेर्छु जनतासँग इन्ट्रयाक्ट कसरी गर्ने, उसको समस्या कसरी समाधान गर्ने त्यतातिर ध्यान दिएको देख्दिन म । पार्टीको समस्या एकातिर छ तर समस्या समाधान गर्ने गरी काम भइरहेको छैन । यसमा जसपा नेपाल मात्र दोषी होइन, सत्ता गठबन्धनका अन्य दलहरु पनि दोषी छन् । मधेशी जनताले मधेश सरकार गठन भयो अब हाम्रो समस्या समाधान हुन्छ भनि अपेक्षा गरेको थियो । तर समाधान भएन । अहिलेको कुरा गर्ने हो भने पार्टी विभाजन एउटा विचार, सिद्धान्त तथा नीतिको कारणले भन्दा पनि व्यक्तिगत स्वार्थका कारण विभाजन भएको हो ।
मधेश सरकारले डेलिभरी दिन सकेन भन्ने कुरासँग पार्टी विभाजनको के तारतम्य छ ?
–होइन, तारतम्य भन्दा पनि जनताले खोज्ने, पार्टीभित्र उठ्ने, यसको नाममा निहुँ खोज्ने कारण बन्न सक्छ भनेको मात्र हुँ । मधेश सरकारले डेलिभरी दिन नसकेको कारणले मात्र पार्टी विभाजन भएको हो भने होइन । तर अशोक राइजीहरुको अभिव्यक्ति सुन्दा मधेश सरकारमाथि पनि औंला उठाउनु भएको छ, प्रश्न उठाउनु भएको छ । मधेश प्रदेश मात्र कारण नहोला । नहुन पनि सक्छ । तर यो विभाजन डेलिभरको कारण विभाजन भएको हो जस्तो मलाई लाग्दैन । पार्टीले यो वा त्यो फलानो, चिलानो गर्न सकेन भनेर उहाँहरुले भन्न सक्नु भएको छैन । पार्टी विभाजनको स्पष्ट कारण देखाउन उहाँहरुले सक्नु भएको छैन । पार्टी विभाजनको सैद्धान्तिक आधार देखाउन सक्नु भएको छैन उहाँहरुले । उहाँहरुले पार्टी अध्यक्षमाथि हैकमवादीको आरोप लगाएको कुरा मिडियाहरुमा आएका छन् । यो आरोप होइन । यो आत्मरोदन मात्र हो । सैद्धान्तिक तथा वैचारिक धारातलमा उभिएर उहाँहरुले भन्नुपथ्र्यो, ‘पार्टीमा यो यो गर्नुपर्ने थियो गरेन, हामीले पटक पटक भन्यौ, अवाज उठायौं तर गर्नुभएन ।’ तर उहाँहरुसँग आरोप लगाउने कुनै आधार नै थिएन ।
अशोक राइहरुको खासमा असन्तुष्टि केमा थियो ?
–उहाँहरुको असन्तुष्टि के थियो भने कुरा बाहिर आएको छैन । उहाँहरुले पनि आफ्नो असन्तुष्टिको बारेमा भन्नुभएको छैन । पार्टी नेतृत्वसँग उहाँहरुको केही चाहना होला, केही डिमाण्ड होला त्यो कुरा बाहिर आएको छैन । सांसद बन्ने, मन्त्री बन्ने, पार्टीमा पद पाउने आकाँक्षा सबैमा हुन्छन् । तर सानो पार्टी, एउटा दुईटा मन्त्री पाउँछ एक जनालाई दिँदा अर्कोको चित्त दुख्छ, अर्कोलाई दिँदा फेरि अर्कोको चित्त दुख्छ । चित्त बुझाउन गाह्रो छ । पार्टीका अध्यक्ष उपेन्द्र यादव सरकारमा आफै पटक पटक जाने गर्नुभएको छ, त्यसको पनि आलोचना छ । तर म भन्छु यो कुनै ठूलो कुरा होइन । यस्ता खालको कुनै असन्तुष्टि वा गुनासो छ भने सिधै नेतृत्वसँग कुरा गर्न सकिन्थ्यो तर उहाँहरु पार्टी नेतृत्वको अनुपस्थितिमा रातारात पार्टी विभाजन गर्नुभयो । पार्टी नै विभाजन गर्नु थियो भने पार्टी नेतृत्वसँग टेबल टक गरेर आफ्नो कुरा राखेर अलग हुँदा पनि हुन्थ्यो । पार्टीका अध्यक्ष मुलुक बाहिर हुनुहुन्छ जसलाई कार्यवाहक अध्यक्ष दिइएको छ त्यही व्यक्ति पार्टी विभाजनमा लाग्नुभयो । यो ठूलो अपराध हो । उहाँहरु गए पनि अहिले पनि पार्टीका ठूलो पंक्ति पार्टीका अध्यक्ष उपेन्द्रजीको पक्षमा छन् । अहिले पनि उहाँका साथमा रहेका सबै जना सन्तुष्ट छन् त्यो म भन्न सक्दिन । जो जो पार्टी छाडेर जानु भएको छ, यो पार्टी बनाउनमा उहाँहरुको पनि लगानी छ । तर कसैको लहै लहैमा तत्कालिन लाभका लागि कसैबाट निर्देशित भएर पार्टी विभाजन गरेर जानु भएको छ ।
उहाँहरु कहाँबाट निर्देशित हुनुभएको छ ?
–यो कुरा सबैलाई थाह भएकै कुरा हो । सबै कुरा छर्लङ भएका छन् । मधेश प्रदेश सरकारबाट माओवादी र एमालेले समर्थन फिर्ता लिएको छ । त्यसबाट पनि बुझ्न सकिन्छ कि कहाँबाट कसले के गरेका छन् । एमालेका अध्यक्ष केपी शर्मा अोलीसँग के कुरामा डिफरेन्सेज भयो थाह छैन तर जसपा नेपाल विभाजन गर्नमा उहाँको मुख्य भूमिका रहेको छ । माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले पनि सहकायक भूमिका खेल्नु भएको छ । पहिला पहिला त भारत र चीन लागेर पार्टी विभाजन गर्थे तर यसपटक एमाले र माओवादीका शीर्ष नेताहरु लागेर पार्टी विभाजन गर्नुभएको छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवजी अमेरिकाबाट फर्केपछि प्रधानमन्त्री प्रचण्डलाई भेट्न जानु भएको थियो । त्यहाँबाट सकारात्मक प्रतिकृया आएको थिएन । अहिले अदालतमा पनि मुद्दा विचाराधिन छ । अहिलेको गठबन्धन बनाउनमा उपेन्द्रजीको मुख्य भूमिका रहेको थियो । गठबन्धन बनाउनका लागि उहाँले जे भूमिका खेल्नुभयो । त्यसलाई बचाउन तथा बलियो बनाउन पनि त्यही भूमिका खेल्नु भएको छ ।
जसपा नेपाल विभाजन गर्नुमा केपी शर्मा ओली र प्रचण्डको स्वार्थ के हो जस्तो लाग्छ तपाईलाई ?
–मैले जे सुनेको छु, जो मार्केटमा आएको छ, एउटा एजप्सन के बनेको छ भने उपेन्द्र यादव प्रधानमन्त्री बन्न चाहनु भएको थियो रे त्यो रोक्नका लागि जसपा नेपाल फुटाइएको हो रे । त्यो कुरामा कति सत्यता छ त्यो थाह छैन । तर राजनीतिमा कोही पनि जोगी बन्न आएका होइनन् । राजनीतिमा आएपछि सांसद, मन्त्री, प्रधानमन्त्री नै बन्ने हो अरु के नै गर्नु छ र । यदि कुरा सही हो भने के उपेन्द्रजी प्रधानमन्त्री बन्नु हुँदैन र ? यदि उपेन्द्रजी प्रधानमन्त्री बन्नका लागि प्रयास गर्नुभएको छ भने सही गर्नुभएको छ । ओली, प्रचण्ड, देउवा, नेपालहरु आफू प्रधानमन्त्री बन्नका लागि सबै थोक गर्न मिल्ने, उपेन्द्र यादवले किन गर्न नमिल्ने ? प्रधानमन्त्रीका लागि ट्राइ गर्दैमा पार्टीयै फुटाई दिने यो कहाँको न्यायसंगत कुरा हो । यसका लागि ओली र प्रचण्डले उपेन्द्रसँग कुरा गर्दा पनि हुन्थ्यो । तर कुनै सल्लाहै नगरकीन पार्टी फुटाउने काम भएको हो । एमाले र माओवादीले शक्तिको दम्भ देखाएका हुन् ।
यो दम्भ देखाउने काम जसपा नेपालमाथि नै किन त अरु अरु पार्टी पनि थिए जसपा नेपाललाई मात्र किन टार्गेट गर्यो त ?
–एमाले र माओवादीलाई लागेको होला कि उपेन्द्रजीले हाम्रो गद्दी (राज्यसत्ता) खोस्न लाग्नुभएको छ । नयाँ समिकरण बनाएर आयो भने हामीलाई गाह्रो बनाउन सक्छ भनेर नै मधेशमा सबभन्दा शक्तिशाली पार्टी जसपा नेपाललाई नै हिर्कायो भने त्यसको असर मधेशसम्म पनि पुग्छन् र त्यसै उहाँहरुले गर्नु पनि भयो । उपेन्द्रजी प्रधानमन्त्रीका लागि प्रयास गर्नुभएको हो जस्ता मलाई लाग्दैन । त्यसको गाँइगुँइ पनि सुनेको थिइनन् । यदि कुरा सही हो भने म त्यसलाई अन्यथा पनि मान्दिन ।
भन्नाले उपेन्द्रजीलाई प्रधानमन्त्री बन्नेबाट रोक्नका लागि पार्टी फुटाइएको हो ?
–यसको बारेमा कतैबाट आधिकारिक कुरा आएको छैन । प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबाट पनि यसको बारेमा कुनै चर्चा भएको छैन । बाहिर बजारमा आएको हल्लाको आधारमा सबैले चर्चाको विषय बनाइएको हो । विवाद त अहिले एमालेभित्र पनि छ, माओवादीभित्र पनि छ । यस्तै रह्यो भने माओवादी फट्दैन भनि भन्न सकिदैन । एमालेमा पनि असन्तुष्ट नेताहरु आफ्नो ग्रुप बनाइ रहेका छन् । सीशाको घर हुनेहरुले अरुको घरमा इट्टाले हिर्काउनु हुँदैन ।
जसपा नेपाल विभाजन भएकै दिनदेखि तपाईले आफ्नो फेसबुकमार्फत कतै नकतै तपाईले उपेन्द्र यादवलाई दोषी
देखाइरहनु भएको छ, तपाईको नजरमा उपेन्द्रजी दोषी कहाँ हुनुहुन्छ ?
–मैले दोषी नै भनेको छैन । मैले कमजोरी मात्र देखाइ रहेको छु । दोषी र कमजोरी फरक कुरा हुन् । कमी कमजोरी त हुन्छ नै । पार्टी सञ्चालन गर्ने कुरामा केही लापरवाही भएको हो जस्तो लाग्छ । पार्टीको नाममा कोही कतै पदमा पुगेका छन्, मन्त्री भएका छन् सांसद भएका छन् अर्थात विभिन्न पदमा छन् तर उनीहरुले के गरिरहेका छन्, जनताको भरोसा जित्न के कति काम गरिरहेका छन् । ती कुरामा नजर अन्दाज गरेको मैले पाएको छु । कहाँ के भइरहेका छन्, ती कुराको बारेमा कही न कहीबाट पक्कै थाह पाउनु भएको होला तर त्यसप्रति कुनै सुनुवाई नै गर्नुभएन । सात प्रदेशमध्ये सबभन्दा ठूलो ल्याब मधेश प्रदेशमा छ तर त्यसको अवस्था हेर्दा रुन मन लाग्छ ।
यसको दोषी उपेन्द्र यादव हुनुहुन्छ त ?
–उपेन्द्र यादव होइन, जो मान्छे त्यहाँ खटेका छन् ती दोषी हुन् । सरकारको संयन्त्र छ नि त्यसलाई परिचालन गर्नुपर्छ । त्यसलाई निगरानी राख्नुपर्छ । यसमा म उपेन्द्र यादवलाई मात्र दोषी देख्दिन । अरु जो पनि हुनसक्छन् । तर मधेश उहाँको बेस हो । मधेशको विद्रोहबाट जन्मनु भएका कारणले उपेन्द्र यादवले त्यहाँको जस अपजस लिनुपर्छ । २०६५ मा आउँदा सबभन्दा ठूलो पार्टी आज किन यस्तो कमजोर भयो त्यसको बारेमा समिक्षा आवश्यक छ । त्यसको दोषी कतै न कतै उपेन्द्र यादवजी हुनुहुन्छ । म पनि मुलधारको पत्रकारिताबाट आएको व्यक्ति हुँ । म पनि एउटा सोच लिएर मधेश प्रदेशमा गएको हुँ । तर त्यहाँ अधिकारबाट बन्चित गराइयो । काम गर्ने मौका नै दिएन । यस विषयमा उपेन्द्रजीसँग पनि कुरा गरेको थिए त्यसमा उहाँलाई सकारात्मक नै पाएको थिए म । म अहिले समाजिक सञ्जालमा जे लेखिरहेको छु त्यो कुरा उपेन्द्रजीलाई पनि थाह छ होला । पार्टी र संगठनलाई सहयोग पुग्ने गरि नै लेखिरहेकोछु । म त के चाहन्छु भने मधेशका सारा शक्ति एक ठाउँमा आउनुपर्छ । पार्टी एकता नभए पनि गठबन्धन वा मोर्चाबन्दी गर्नुपर्छ । मधेशी शक्तिहरु अलग अलग भएको कारणले यो अवस्था भएको हो एक ठाउँमा आयो भने एउटा शक्ति बन्छ जसलाई हतपत कसैले छुन सक्दैनन् ।
तपाई त मधेश सरकारको प्रेस सल्लाहकार हुनुहुन्छ तर तपाईले नै सरकारबाट डेलिभरी भएन भने भन्नुहुन्छ तपाईले यसरी भन्न सुहाउँछ त ?
–मेरो चालिस वर्षको पत्रकारिताको क्यारियर छ ती सबैलाई दाउमा लगाएर मधेश प्रदेश गएको हुँ । कतिपय शुभचिन्तकहरुले भन्नुभएको थियो कि दाजु तपाईका लागि त्यो ठाउँ राम्रो होइन, त्यहाँ नजानुस ।’ मलेसियाका लिक्वान जस्तो मान्छे छोराको क्याविनेटमा मिनिस्टर बस्नुभएको थियो । मलेसिया कसरी बनाउने भनि रुनु भएको थियो । म पनि केही सोचेर नै मधेश प्रदेशमा गएको हुँ । उपेन्द्रजीले मलाई सम्मान गरेर त्यहाँ पठाउनु भएको हो । मेरो काम एडभाइजरी हो, मेरो पोष्ट कार्यकारी होइन । मधेश प्रदेशको जो हर्ताकर्ता हुनुहुन्छ उहाँले मबाट कसरी काम लिनुहुन्छ, कस्तो सल्लाह लिनुहुन्छ त्यसमा भर पर्छ । तर मलाई दुख लाग्छ । म सारा क्यारियर दाउमा लगाएर त्यहाँ गए तर म केही गर्न सकिन । म त बिचमा उपेन्द्रजीलाई भेटेर नै ‘सरी म यसलाई कन्टिन्यु गर्न सक्दिन म फर्किन चाहेको छु’ भनेको थिए । तर उहाँले होइन, तपाई त्यहाँ बस्नपर्छ भन्नुभयो । यद्यपी म त्यहाँ बस्नुको कुनै औचित्य देखिन किनभने मबाट मधेश प्रदेश सरकारले फाइदा लिन सकेन । म मेहनत गर्ने मान्छे हुँ, यो उमेरमा काम गर्न चाहन्छु । खट्न चाहन्छु । मधेशप्रति मेरो माया छ । मधेश मेरो मुटुमा छ ।
मधेश सरकारले डेलिभरी दिन नसक्नुको कारण के हो, कमिशनको खेल हो कि पैसाको खेल हो कि कतैबाट हस्तक्षेप छ कि अरु दलहरुले सहयोग नगरेको हो कि के छ तपाईको बुझाईमा ?
–हाम्रो देशको निर्वाचन प्रणाली यस्तो भयो कि गरिबका छोराछोरी, इमान्दार मान्छे चुनाव नै लड्न सक्दैन । एउटा वडाको चुनावमा १०–१० लाख, २०–२० लाख रुपियाँ खर्च हुँदो रहेछ । त्यही मान्छे चुनाव जितेपछि काम गर्नुभन्दा बढी आफ्नो खर्च उठाउनतिर लाग्छन् । मन्त्री, सांसदहरु पनि त्यही गर्नुहुन्छ । अर्को कुरा, मैले त्यागको भावना कसैमा पाउन सकिन । म यो पदमा छु, यो मेरो दायित्व हो, म जनताका लागि केही गरेर जानुपर्छ भने सोच कसैमा देखेको छैन । धनुषा–सिरहाको बिचमा रहेको कमलापुलको हालत हेर्नुस् न । यो त अन्तराष्ट्रिय बदनामी हो । तर कसैलाई मतलब छैन । त्यहाँ गएपछि जो कोहीको आँखामा आँसु आउँछ तर नेता तथा मन्त्रीलाई कहिले पोलेन ।
यो समस्या मधेश प्रदेशमा मात्र देख्नु भएको छ कि अरु प्रदेशमा पनि छन् ?
–कतै बढी, कतै कम तर सबै प्रदेशको अवस्था उस्तै छ । म त कोशी प्रदेशको मान्छे हुँ नि । त्यहाँको समस्या पनि उस्तै उस्तै छ । त्यहाँको समुदाय वा जनताले आफ्नो पहिचान समेत पाउन सकेन । कोशी किराँत प्रदेश नाम राख दिएको पनि हुन्थ्यो । विकास र नीतिको कुरा धेरै टाढाको कुरा हो । देशप्रति कोही गम्भीर छैनन् । राजनीतिमा व्यक्तिगत स्वार्थ पुरा गर्न मात्र आएको हो जस्तो लाग्छ । देश नराम्री गरी फँसिरहेको छ । कसैलाई कुनै कुरासँग मतलब छैन । केन्द्रले पनि त्यही सडक बनाउने, प्रदेशले पनि त्यही सडक बनाउने, स्थानीय तहले पनि त्यही माटो खन्याउने आखिर गर्न के खोजेका हुन्, यो के भइरहेको छ ? ब्युरोक्रेसीमा झन भ्रष्टाचार छ, अख्तियारमा पनि भ्रष्टाचार भइरहेको छ, देशको प्रणाली नै ड्यामेज भएको हो जस्तो लाग्छ । सम्पत्ति शुद्धिकरण इमान्दारीपूर्वक लगाउनुपर्छ ।
तपाईको प्रतिक्रिया