जब जब पार्टीमा संकट आउछन्, त्यसबेला जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सम्झिने एक मात्र व्यक्ति हुनुहुन्छ महन्थ ठाकुर । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरप्रति जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको राम्रो धारणा छैन । आफ्नो पार्टीको दस्तावेजदेखि लिएर हरेक ठाउँमा महन्थ ठाकुरको पार्टीलाई कमजोर बनाउने र पार्टी तल्लो देखाउने काम जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले गर्नुभएको छ । लोसपालाई कमजोर बनाउन कुनै कसर बाँकी राख्नुभएको छैन ।
दोस्रो चरणको आन्दोलन गर्न
जसपा नेपाल मधेशी जनअधिकार फोरम नेपालको रुपमा हुँदादेखि नै पटक पटक महन्थ ठाकुरको सहयोग लिनु भएको छ उहाँले । मधेशी जनअधिकार फोरम नेपालले मधेशमा आन्दोलन सुरु गरेको थियो । पहिलो चरणको आन्दोलन गरेपछि सरकारसँग २२ बुँदे सम्झौता भएको थियो । सो सम्झौतापछि तत्कालिन फोरम विभाजन भएको थियो । त्यसपछि त्यो आन्दोलन अगाडि बढी रहेको थिएन ।
त्यतिबेलासम्म महन्थ ठाकुरको नेतृत्वमा तराई मधेश लोकतान्त्रिक पार्टी गठन भइसकेको थियो । भारतले त्यो पार्टी आफ्नो पार्टीको विरुद्धमा गठन गर्न लगाएको आरोप उपेन्द्र यादव र उहाँका साथमा रहेका अन्य नेताहरुले लगाउनु भएको थियो । त्यो आरोप हालसम्म पनि लगाइ रहनु हुन्छ उहाँ र उहाँका नेताहरुले । यस्तो आरोप लगाउने उपेन्द्र यादवले आन्दोलनलाई अगाडि बढाउन नसकेपछि तत्कालिन तमलोपाका अध्यक्ष महन्थ ठाकुरको साथ खोज्नु भएको थियो ।

त्यतिबेला नेपाल सद्भावना पार्टीबाट अलग भएर राजेन्द्र महतोले पनि सद्भावना पार्टी गठन गरिसक्नु भएको थियो । उपेन्द्र यादवले महन्थ ठाकुरसँग कुरा गरिसकेपछि त्यसमा राजेन्द्र महतोलाई पनि मिसाउनु भएको थियो । त्यसपछि तीन दलको मधेशी मोर्चा बनेको थियो । तीन दलले पुनः दोस्रो चरणको आन्दोलन गरेका थिए । २०६४ फागुन १६ गते सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बिचमा आठ बुँदे सम्झौता भएको थियो ।
सम्झौता भएपछि पनि मधेशी मोर्चालाई एक साथ लग्नुपर्ने भनि सहमति भएको थियो । संविधानसभाको चुनावमा समेत सहकार्य गर्ने सहमति भएको थियो । तर उपेन्द्र यादव छुट्टै एक्लै चुनावमा भाग लिनुभयो । मधेशमा सबभन्दा ठूलो पार्टी बनाउनुभयो । तमलोपा र सद्भावना पार्टी पनि अलिअलि सीट लिएर संविधानसभामा आए । त्यसपछि पनि मधेशी मोर्चालाई सक्रिय गर्ने प्रयास भयो । तर उपेन्द्र यादव अलगथलग बस्नु थाल्नुभयो । उहाँको पार्टी ठूलो भएपछि उहाँमा अंहकार भएको थियो भनि टिप्पणी हुने गरेको थियो ।
मधेशी मोर्चा सक्रिय भएपनि उपेन्द्र यादव लामोसमय टिक्नु हुन्थेन । कुनै न कुनै बहानामा मोर्चा छाडेर हिड्नु हुन्थ्यो । मधेशवादी दलहरु पटक पटक सरकारमा गए तर उपेन्द्र यादव महन्थ ठाकुर, राजेन्द्र महतोलगायत अन्य मधेशवादी दल सहभागी भएको कुनै पनि सरकारमा आफ्नो पार्टीलाई सहभागी गराउनु भएको थिएन । उपेन्द्र यादवले आफ्नो दललाई सबभन्दा ठूलो शक्तिशाली मान्नुहुन्थ्यो र अरुलाई भाव दिनुहुन्थेन ।
गच्छदार र गुप्ताले छाडेपछि
तर जब उपेन्द्र यादवको पार्टी फोरम दुई पटक (विजयकुमार गच्छार र जेपी गुप्ताले अलग अलग विभाजन गर्नुभएको थियो) विभाजन भएर कमजोर भयो । त्यसपछि उपेन्द्र यादवले पार्टी एकताकै लागि महन्थ ठाकुरसमक्ष प्रस्ताव गर्नुभएको थियो । उपेन्द्र यादव र महन्थ ठाकुरबिच मात्रै किन राजेन्द्र महतोलाई पनि साथ लिनुपर्छ भनि तीनटै दलबिच एकताका लागि प्रयास भयो । एकता बारे छलफल गर्नका लागि दलहरुो बिचमा कार्यदल बन्यो । त्यो कार्यदलले पटक पटक छलफल गर्यो ।
राजनीतिक दस्तावेज, पार्टीको झण्डा, चुनाव चिन्ह, पार्टीको नाम लगायत धेरै कुरामा सहमति भएको थियो तर नेतृत्वमा कुरा नमिल्दा एकताको प्रकृया भाँडिएको थियो । यद्यपी मधेशी मोर्चा कायमै थियो ।
२०७० सालको दोस्रो संविधान सभा चुनावमा भाग नलिने सहमति मधेशवादी दलको बिचमा भएको थियो । मधेशी मोर्चाको माग पुरा नभएसम्म चुनावमा भाग नलिने सहमति भएको थियो । अन्य मधेशवादी दलहरु त्यो सहमतिमा अडिग थिए तर उपेन्द्र यादव भित्रभित्रै चुनावको तयारीमा लागि सक्नुभएको थियो । अन्ततः सबै मधेशवादी दल चुनावमा भाग लिए । कुनै दलको बिचमा गठबन्धन हुनसकेन । चुनावमा मधेशी मोर्चा पनि एकीकृत रहन सकेन ।
त्यसको नतिजा भयो । उपेन्द्र यादव नेतृत्वको फोरमसहित महन्थ ठाकुर, राजेन्द्र महतो, राजकिशोर यादव, अनिल झा, शरतसिंह भण्डारीको दल कमजोर भए । त्यसपछि बल्ल ती दलहरुको आँखा खुलेको थियो । पुनः मधेशी मोर्चालाई बित्याउने सहमति भयो । तर त्यो सहमति धेरै दिन चलेन । उपेन्द्र यादवले आन्दोलनका लागि छुट्टै गठबन्धन बनाउनुभयो । सो गठबन्धनमा सरिता गिरी, प्रभु साहलगायत नेताहरु पनि सहभागि हुनुहुन्थ्यो ।
गठबन्धनमा महन्थको साथ
तर गठबन्धनले गति नलिएपछि उपेन्द्र यादवले महन्थ ठाकुरलगायत अन्य दललाई पनि त्यसमा सहभागी गराउनुभयो । अर्थात त्यो गठबन्धनमा मधेशी मोर्चा पनि सहभागि भयो । तर त्यो गठबन्धनमा महन्थ ठाकुर र उपेन्द्र यादवको बिचमा कहिले तालमेल मिलेन । उपेन्द्र यादवले आफ्नो तरिकाले आन्दोलनलाई अगाडि बढाउन चाहनु हुन्थ्यो जुन कुरा महन्थ ठाकुरलाई मन पर्दैन्थ्यो ।
पछि मधेशी मोर्चा गठबन्धनबाट उपेन्द्र यादव अलग हुनुभयो । उपेन्द्र यादवले आफ्नो गठबन्धन लिएर काठमाडौ केन्द्रीत आन्दोलन सुरु गर्नुभयो । त्यो गठबन्धनमा उपेन्द्र यादवले आदिवासी जनजाति नेतृत्वका संगठन तथा पार्टीलाई राख्नुभएको थियो । महन्थ ठाुकरले मधेशी मोर्चालाई लिएर छुट्टै संघर्ष गरिरहनु भएको थियो भने उपेन्द्र यादवले गठबन्धनलाई लिएर । त्यो आन्दोलन थियो संविधानसभाबाट बनिरहेको संविधानमा मधेशको अधिकार र पहिचान उल्लेख गराउनु ।
१६ बुँदे सम्झौतापछि
आन्दोलन चलिरहेकै बेला तीन दल (माआवादी, एमाले, काँग्रेस)को बिचमा १६ बुँदे सम्झौता भयो । त्यसलाई विजयकुमार गच्छदारले मधेशी मोर्चा छाडेर साथ दिनुभएको थियो । गच्छदार तीन दलसँग मिलेर १६ बुँदे सम्झौतामा सहमति जनाएपछि उपेन्द्र यादव पुनः महन्थ ठाकुर नेतृत्वको मधेशी मोर्चामा सहभागि हुनुभएको थियो ।
त्यसपछि मधेशी मोर्चाले तेस्रो चरणको मधेश आन्दोलनको घोषणा गरेको थियो । मधेशी मोर्चाबाट आन्दोलन चलिरहकै बेला तीन दलले संविधान निर्माण गरेर घोषणा पनि गर्यो । त्यसपछि मधेशमा आन्दोलन झन चर्कियो ।
नाकाबन्दीसम्मको अवस्था सृजना भयो । मधेशी मोर्चामा रहेका दलहरुले नाका बाँडफाँड गर्नुभयो । उपेन्द्र यादवको भागमा जोगवनी पर्यो भने राजेन्द्र महतोको भागमा रक्सौल पर्यो । महन्थ ठाकुरको भागमा कपिलवस्तुतिरको नाका पर्यो ।
सबै नेताहरु आआफ्नो नाकामा तैनाथ हुनुभयो । तर सबभन्दा कमजोर उपेन्द्र यादवको नाका नै थियो । त्यो देखेर राजेन्द्र महतो रक्सौलबाट जोगवनी नाका पुग्नुभएको थियो । राजेन्द्र महतो त्यहाँ पुगेपछि उपेन्द्र यादवका नेता तथा कार्यकर्ताले नाका छाडेका थिए । त्यही मौकामा त्यहाँका प्रहरीले राजेन्द्र महतोलाई घेरा हालेर कुटपिट गरेको थियो । राजेन्द्र महतो उपचारका लागि भारतको दिल्ली जानुभयो । त्यसपछि विस्तारै आन्दोलन कमजोर हुँदै गयो । मधेशी मोर्चामा आन्तरिक द्वन्द सुरु भएपछि त्यो नाकाबन्दी त्यतिकै तुहिएको थियो । तर संविधान संशोधनका लागि आन्दोलन गर्ने भनि पुनः मधेसी मोर्चालाई सक्रिय बनाइएको थियो ।
छ दलबिच एकता
संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने मधेशी मोर्चामा एउटा सहमति थियो । मधेशी मोर्चाबाट संघर्ष जारी थियो । त्यही बिचमा २०७४ बैशाख ७ गते महन्थ ठाकुर, शरतसिंह भण्डारी, अनिलकुमार झा, राजेन्द्र महतो, महेन्द्रराय यादव र राजकिशोर यादवको बिचमा एकता भयो र बन्यो राजपा नेपाल । सो एकीकरणमा सहभागी हुन उपेन्द्र यादवलाई पनि भनिएको थियो । तर उहाँले तपाईहरु गर्दै गर्नु म पछि आउछु भन्नुभएको थियो । तर उहाँ जानुभएन । उहाँ त्यसअघि नै अशोक राइ नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकीकरण गर्नुभएको थियो र संघीय समाजवादी फोरम नेपाल बनाइसक्नु भएको थियो ।
मधेशी मोर्चा कायम रह्यो । त्यसैबाट आन्दोलन गर्ने काम भइरहेको थियो । संविधान संशोधन नभएसम्म २०७४ को आम चुनावमा भाग नलिने सहमति थियो । तर उपेन्द्र यादवले भित्रभित्रै चुनावको तयारीमा लागि सक्नुभएको थियो । महन्थ ठाकुरले उपेन्द्र यादवमाथि विश्वास गरेर बस्नुभएको थियो । भित्रभित्र उपेन्द्र यादवको तयारी तिब्र थियो । उपेन्द्र यादव चुनावमा जाने भयो । तर महन्थ ठाकुरको कुनै तयारी थिएन पहिलो चरणको चुनावमा उहाँको पार्टीले भाग नै लिन पाएन । त्यही कारणले मधेश प्रदेशको चुनाव केही ढिलो भयो । त्यसमा मात्र महन्थ ठाकुरको पार्टी राजपाले भाग लिन पाएको थियो ।
चुनावपछि कुनै दलको अवस्था सन्तोषजनक थिएन । उपेन्द्र यादवले आफ्नो पार्टी राष्ट्रिय पार्टी हो राम्रै सीट आउला भनि सोचेर बस्नुभएको थियो । तर सोचे जस्तो सीट आएको थिएन । त्यसले गर्दा उहाँ निराश हुनुभएको थियो । महन्थ ठाकुरको पार्टीभन्दा उपेन्द्र यादव नेतृत्वको पार्टी ठूलो त्यो अनुपातमा सीट ल्याउन सकेन जसले पार्टी कार्यकर्तामा पनि एउटा ठूलो निराशा उत्पन्न भएको थियो ।






तपाईको प्रतिक्रिया