Khadya Bibhag

मैथिलीमा नयाँ स्वाद भर्दै प्रवेश मल्लिक

रे छौरा बजर खसतौ…..इ छै जनकपुर जस्ता गीत गाएर चर्चा कमाएका प्रवेश मल्लिक नेपालमा मात्र होइन भारतमा पनि धुम मचाएका छन् । धनुषाको जनकपुरमा जन्मिनु भएका प्रवेश मल्लिकको कार्यक्षेत्र भारतमा रहेको छ । गीत संगितमा सानैदेखि रुची राख्नु भएको प्रवेश विगत २४ वर्षदेखि भारतमा आफ्नो पहिचान स्थापित गराउनमा लागि पर्नुभएको छ ।
बलिउडको हिन्दी संगीत क्षेत्रमा स्थापित हुँदै जानु भएका प्रवेश गीत संगितकै लागि भारतको मुम्बई शहरमा बस्दै आउनु भएको छ । उहाँ भारतको मुम्बईमा बसे पनि आफ्नो मातृभूमीलाई सधै माया गर्नुहुन्छ । उहाँ बेलाबेलामा जनकपुर आइरहनु हुन्छ र केही नकेही गरिरहनु हुन्छ । उहाँले मैथिली गीत संगितलाई अन्तराष्ट्रिय जगतमा विभिन्न रुपमा चम्काइ रहनु भएको छ । उहाँको मैथिली गीत संगितमा जनकपुरको गन्ध तथा सुवास हुन्छ ।
पारिवारिक माहोल
प्रवेशलले गीत संगितमा सानैदेखि माहोला पाउनु भएको थियो । सानैदेखि त्यस्तो माहोलमा जन्मे हुर्केका प्रवेशले आफ्नो ठूलो दाइ सुनिल मल्लिकबाट धेरै कुरा सिक्नु भएको हो । भनिन्छ, उहाँकै प्रेरणाले प्रवेश संगितिक यात्रा तय गर्नुभएको छ । सुनिल मिल्लिक मैथिलीको प्रसिद्ध संगीतकार एवं गायक हुनुहुन्छ । प्रवेशको घरायसी वातावरण नै संगीतमय भएको हुनाले प्रवेश बाल्यकालदेखि नै संगीतमय माहौल पाएको कारणले यसमा स्थापित हुन धेरै समय लागेन । प्रवेश मल्लिकलाई सानैदेखि गीत संगितमा रुची भएको कारण त्यसमा नै रमाइ रहनु भएको थियो । त्यसलाई नै आफ्नै क्यारियर बनाउन चाहनु भएका थियो तर, उहाँका बुवा कामेश्वर मल्लिकले उहाँलाई डाक्टर वा इन्जिनियर बनाउन चाहनु भएको थियो ।
सांगितिक नसा
धनुषाको वभनगामा विद्यालयबाट विद्यालय शिक्षा हासिल गर्नुभएका प्रवेश जनकपुरको मोनाष्टिक विद्यालयबाट उच्च माध्यमिक तहको पढाइ पूरा गर्नुभएको थियो । बुवाकै इच्छा अनुसार उहाँले कक्षा १२ को पढाइ सकाएर डाक्टर बन्नका लागि एमबीबीएस अध्ययन गर्न बंगलादेशसम्म पुग्नुभएको थियो । परीक्षाका लागि बंगलादेश पुगेपनि सांगीतिक नसाले प्रवेश पछ्याउन छाडेनन् । अवस्था यस्तो आयो कि त्यो संगीतको लगावले प्रवेशलाई पढाइतर्फ आकर्षित नै हुन दिएन । प्रवेशका लागि गीत संगित ड्रग्स जस्तै भइसकेको थियो ।
बुवाले गाली गर्न थालेपछि त्यसमा उहाँ लुकीलुकी लाग्न थाल्नुभयो । बुवाको गालीको बावजुद पनि संगीतकै छायामा उहाँ रमाउन थाल्नुभयो । उहाँ डाक्टरी पढ्न छाडेर संगितमै रमाउन थाले पनि उहाँका बुवाको दबाव कायमै थियो । डाक्टरी नै पढ्न बुवाको दबाव थियो ।
गीत, संगितमा प्रवेशको लगाव देखेर साहित्यकार एवं संगितकार अशोक दत्तलगायतका व्यक्तिहरु समेत उहाँको बुवासँग कुरा गर्नुभएको थियो । प्रवेशलाई संगितमै रहन दिन उहाँहरुले आग्रह गर्नुभएको थियो । प्रवेशले एक दिन तपाई हामी सबैको नाम चम्काउने छन् भनेर उहाँको बुवालाई कन्भिन्स गर्नुभएको थियो । त्यसपछि मात्र प्रवेशले औपचारिक रुपमा सांगीतिक यात्रामा निस्किनु भएको थियो ।
साथीको संगत
प्रवेशले संगीतको माहोले घरबाटै पाए पनि गीत, संगितको यात्रा यात्रा इष्टमित्रहरुको संगतबाट सुरुवात भएको थियो । उहाँका साथी कृष्णा सिंह, घनश्याम मिश्र, ललित कामत लगायतका हुनुहुन्थ्यो । उहाँहरुले गीत लेखेपछि त्यसमा संगित भर्ने काम प्रवेशले गर्नुहुन्थ्यो । त्यति नै बेला उहाँले मैथिली भाषाका गीत ‘छौरा तोरा बज्जर खसतौ’, ‘मैयाँ भवानी बिन्ती सुनु’, ‘हम्मर ध्क्क धक्की बढैया’ बनाउनु भएको थियो । उहाँले नेपाली गीति एल्बम ‘मुटुभरी माया’सहित दर्जनौं एल्बममा संगीत तथा आवाज दिनुभएको थियो ।
घरपरिवार तथा साथी भाइबाट गीत संगितको माहोल पाउनु भएका प्रवेश सन् २००० मा थप अध्ययनका लािग भातरको दिल्ली पुग्नुभयो । त्यहाँ उहाँले गन्धर्व विश्वविद्यालयमा संगीतको बारेमा पढाई गर्नुयभो । सो विश्वबिद्यालयबाट संगीत शिरोमणी र स्नातकोत्तर समेत गर्नुभयो । दिल्लीमा अध्ययनरत रहेका बेला प्रवेश खर्च जुटाउन धार्मिक जागरणमा जानु हुन्थ्यो । त्यहाँबाट हुने आम्दानीले प्रत्येक पटक उहाँले किबोर्ड किन्नका लागि १०० रुपियाँ बचाउनु हुन्थ्यो ।
पछि उहाँको बुवाले नै किबोर्ड किन्दिनुभयो । किबोर्डका लागि जम्मा गरेको रकम पछि उहाँ आफैलाई काम लाग्यो । दिल्लीमै रहँदा उहाँले सानिध्य बैण्ड स्थापना गर्नुभएको थियो । सानिध्य बैण्डकै माध्यमबाटै प्रवेशले देश विदेशमा कार्यक्रम, कन्सर्टहरु गर्न थाल्नुभयो । संगीतसँगै प्रवेशको आवाजले समेत धेरैलाई आकर्षित गर्न थाल्यो । यससँगै उहाँ थप आय आर्जनका लागि दिल्लीको स्टेप बाइ स्टेप स्कुलमा संगीत शिक्षकको रुपमा काम समेत गर्न थाल्नुभयो ।
अमृतासँग विहे
सांगितिक क्षेत्रमा रमाइ रहनु भएकै बेला प्रवेश मिल्लिकको विहे अमृता मल्लिकसंग भयो । बिहेपछि श्रीमती अमृताको साथमा दिल्ली नै बस्न थाल्नुभयो । अमृता मल्लिक पहिलादेखि नै प्रवेशको संगितको प्रशंसक हुनुहुन्थ्यो । प्रवेशको सांगितक यात्रालाई अझै निखार्न उहाँले प्रवेशलाई मुम्बाई जान सुझाव दिनुभयो । श्रीमती अमृताकै सुझावमा उहाँ मुम्बइ पुग्नुभयो । प्रवेशले भन्नुभयो, ‘दिल्लीमा स्थापित जीवन र काम भएपछि बिहे गरें । त्यो कसरी छोडेर मुम्बई जाउँ भन्ने कुराले पनि सताइरहेको थियो । यसै कनफ्युजनको बीच अमृताको कुरा मानेर मुम्बई प्रस्थान गएको थिए ।’
शुरुमा मुम्बई बस्न आफूलाई निकै कठिनाइ भएको बताउँदै उहाँले भन्नुभयो, ‘त्यहाँ चिनजानको कसैसँग थिएन त्यही बेला मेरो भेट बलिउडका स्थापित निर्देशक प्रकाश झाको नजिक रहेर काम गरिरहनु भएको सन्तोष मण्डलसँग भयो उहाँले नै मलाई प्रकाश झासँग भेटाउनु भयो ।’ त्यस समयमा प्रकाश झा गंगाजल फिल्मको दोस्रो भाग ‘जय गंगाजल’ बनाइ रहनु भएको थियो ।
प्रकाशको होमवर्क
पहिलो भेटमा नै प्रवेशबाट प्रकाश झा प्रभावित हुनुभएको थियो र त्यही दिन उहाँलाई काम पनि दिनुभयो । भेटघाटपछि प्रकाश झाले प्रवेशलाई तीन दिनको समय दिई छ वटा गीत बनाउन दिनुभएको थियो । प्रवेशले छ वटा मात्र होइन तोकिएको समयमा १८ वटा गीत बनाएर दिनुभएको थियो । उहाँको १८ वटा गीतमध्ये १२ वटा गीत छनौट भएको थियो । प्रवेशले दिएका गीत ‘डन्का उसका बाजेगा’, ‘सैया धिरे धिरे’ लगायतका गीत बलिउडको पर्दामा हिट भएको थियो । त्यो गीतसंगै प्रवेशको बलिउड यात्रा आरम्भ भएको थियो । त्यसपछि प्रवेशले ‘बरेलिकी बर्फी’, ‘जावरिया जोडी’, ‘तानाशाह’, ‘तकलेश्वर’मा काम गरे ।
मैथिलीमा नयाँ टेस्ट
मैथिली गीत संगीत समृद्ध रहेपनि यसले बजार भने अहिलेसम्म आशा गरे अनुरुप पाउन सकेको छैन । त्यसैले मैथिली गीत संगितलाई देश बाहिर र भित्रै पनि प्रचार प्रसार गर्ने उद्देश्य राख्नु भएको छ प्रवेश मल्लिकले । आफ्नो माटोको संगीतमा आधुनिकता थप्ने जिम्मेवारी सहित । उहाँले पछिल्लो समय मैथिलीका लोकगीतहरुलाई नयाँ धुनमा ढालेर श्रोता एवं दर्शक समक्ष ल्याउँने जमर्को गर्नुभएको छ ।
मैथिलीको लोक नृत्य एवं गीत ‘जटजटिन’ लाई मल्लिकले नयाँ धूनमा ढालेर आफ्नो संगीत र स्वर दिँदै सार्वजनिक गर्नुभएको थियो । जटजटिन नृत्य एवं गीत पहिल्यैदेखि नै मिथिला समाजमा प्रसिद्ध भएपनि सो गीतलाई जीवन्त बनाउने उद्देश्यले निर्माण गरिएको नयाँ गीत युवा पुस्ताले समेत रुचाई रहेका छन् ।
नयाँ धूनमा तयार पारिएको सो गीतमा प्रवेश मल्लिक एवं नेहा प्रियदर्शनीले स्वर दिनुभएको छ । यसअघि तयार पारिएको जटजटिन गीतमा मैथिलीका प्रसिद्ध गायक सुनिल मल्लिक, आभाष लाभ र रश्मी झाले स्वर दिनु भएको थियो सो गीत पनि उत्तिकै हिट भएको थियो । यसअघि मल्लिकले परदेशिया, जुलुम करे ना लगायतका मैथिलीका लोकगीतहरुलाई नयाँ धून दिएर युट्युवमा सार्वजनिक गरिसकेका छन् ।
‘ई छै जनकपुर’ भन्ने बोलको भिडियो गीत तराई मधेशमा निकै चर्चा पाएको थियो । मैथिली गीत संगीतलाई विश्वस्तरमा नै स्थापित गर्ने उद्देश्यसहित लोकगीतहरुलाई नयाँ धून दिएर आफूले सजाउने कार्य गरिररहेको मल्लिकको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘युवाहरु अहिले वेस्टर्न संगीतमा रमाई रहनु भएको छ । यस अवस्था मैथिली गीतप्रति पनि युवाहरुको झुकाव बढाउन आफूले यी गीतहरुलाई नयाँ स्वरुप दिएको हुँ ।’ मैथिली लोकगीतहरु युवा पुस्ताहरुबाट टाढिँदै गइरहेको समयमा युवा पुस्तालाई मैथिली लोक गीतसँग जोड्नका आफ्ना अधिकांश गीतहरु लोक गीतमै केन्द्रित रहेको बताउँदै उहाँले आफ्नो माटो पानीको आभाष दिलाउन तथा अपनत्व महसुस गराउनका लागि लोकभाकाहरुमै केन्द्रित हुने स्पष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया