Khadya Bibhag

काम गर्न दिने भन्दा कामलाई डिस्टर्ब गर्ने धेरै छन्

–दिनेशकुमार यादव
अध्यक्ष, रुपनी गाउँपालिका
रुपनी गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवले आफ्नो पालिकालाई नमुना पालिका बनाउन लागि पर्नुभएको छ र यो कुराको दावी उहाँ स्वयंले गर्नुभएको छ । रुपनी गाउँपालिका पूर्वपश्चिम राजमार्ग र हुलाकी सडकमा पर्छ । यो गाउँपालिका राजमार्गमा भएको कारण यसलाई नमुना बनाउन धेरै समय नलाग्ने उहाँको दावी छ । त्यतिकै पनि रुपनी गाउँपालिका सुविधा प्राप्त गाउँपालिकामध्येको एक हो । यसलाई जिल्लाकै नमुना गाउँपालिका बनाउने गरी उहाँले काम थाल्नु भएको छ । तर जनतामाझ उहाँको गुनासो पनि छ । काममा अनियमितता गरेको आशंकामा बेलाबेलामा आख्तियार पनि त्यहाँ पुगेको हुन्छ । बेलबेलामा उहाँ विवादमा पनि आउनु गर्ने भएको छ । चुनाव जितको खुशीमा उत्सव मनाउन पालिकाभित्र उहाँले सार्वजनिक विदा दिएको कुरा पनि चर्चाको विषय बनेको थियो । २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट चुनाव लड्नु भएका उहाँले चार हजार २६९ मतले विजय हुनुभएका थियो । प्रस्तुत छ, चुनाव जितेपछि रुपनी गाउँपालिकामा भएको विकास निर्माण, अगामी कार्ययोजना लगायतका विषयमा रुपनी गाउँपालिका अध्यक्ष दिनेशकुमार यादवसँग गरिएको कुराकानीको सम्पादीत अंशः
चुनावको समयमा जनतासँग थुप्रै प्रतिवद्धताहरु गर्नुभएको थियो, चुनाव जितेको दुई वर्ष भइसक्यो के के प्रतिवद्धता पुरा गर्नुभएको छ त ?
–मैले चुनाव लडेको बेला जनतासँग गरेको प्रतिवद्धता एक–एक याद छन् । र, म आज तपाईँको सञ्चारमाध्यममार्फत यो प्रतिवद्धता दोहोर्याउन चाहन्छु कि मैले ती सबै प्रतिवद्धता पुरा गर्छु जो चुनावको समयमा गरेको थिए । दुई वर्षको अवधिमा धेरै कुरा पुरा पनि भएको छ । धेरै कुराको सुरुवात पनि भएको छ । विस्तारै विस्तारै सबै पुरा हुन्छ । मैले चुनावको समयमा सबभन्दा बढी कृषि, त्यसपछि शिक्षा र स्वास्थ्यमा जोड दिएको थिए । तीनटै कुराको काम अगाडि बढी सकेको छ । म आफ्नो कार्यकालमा सबै पुरा गर्छु भनि मलाई विश्वास छ । तपाई हेर्नुभयो भने यहाँको किसानको जीवनस्तर सुधार आएको छ । किसानका लागि कृषि विद्युतीकरणको काम सुरु भएको छ । सिँचाइमा सुविधान दिनका लागि किसानको खेत खेतमा विद्युत् जडान हुन्छ । एक परिवार एक बोरिङ किसानलाई उपलब्ध गराउने तयारी पनि छ र त्यो चाँडै हुन्छ । त्यस्तै महिलालाई सीप दिएर रोजगारी सृजना गर्ने हाम्रो तयारी रहेको छ । तराई मधेशमा महिलाहरु घरमै बस्छन् । पुरुषकै काममा निरर्भर हुन्छन् । धेरै गरे भने खेतीपातीसम्म गर्न जान्छन् । ग्रामीण महिलाहरुलाई सीपयुक्त बनाउनका लागि विभिन्न तयारी चलिरहेको छ । शिक्षा, स्वास्थ्य र पूर्वाधारको विकासमा पनि थुप्रै कामहरु भएका छन् । र योजनाहरु पनि बनिरहेको छ । आउने आर्थिक वर्षमा अझ थप र नयाँ नयाँ कार्यहरु हुन्छ ।
तपाईले शिक्षाको कुरा गर्नुभयो । तराई मधेशको शिक्षाको गुणस्तर त्यति राम्रो छैन । तपाई आफ्नो पालिकामा शिक्षाका लागि के के गरिरहनु भएको छ ?
–म आफ्नो पालिकामा शिक्षालाई प्राथमिकतामा राखेको छु । तपाई विद्यालयको अनुगमन गरेर हेर्नुस् पहिलाभन्दा पक्कै पनि फरक पाउनु हुन्छ । विद्यालय सुधार, विद्यालयलाई टिनको छानामुक्त बनाउने विषय उच्च प्राथमिकतामा राखिएको छ । विद्यालय नै नआई हाजिर गरेको भरमा तलब खाने दिनलाई मैले अन्त्य गराएको छ । शिक्षकमा पनि अनुशासन र आफ्नो कामप्रति जिम्मेवार बनाएको छ । अहिले शिक्षकहरु पनि विद्यालयमा नियमित उपस्थिति हुन थाल्नुभएको छ । विद्यालय वरिपरिका पसलहरुमा सुर्तिजन्य सामग्री बेचविखनमा रोक लगाएको छु । कुनै पसलमा बिक्रि वितरण भइरहेको छ भने तयहाँ १८ वर्षमुनिका बालबालिकालाई खरिद गर्नमा समेत प्रतिबन्ध लगाएको छु । म आफैँ नियमित रुपमा विद्यालयको अनुगमन गरिरहेको छु । तपाईहरुले सुन्नु नै भएको होला कि पहिला दिवा खाजामा चरम भ्रष्टाचार हुन्थ्यो । अहिले त्यसमो पुरै अन्त्य भएको छ । विद्यार्थीहरुले नियमित खाजा खान पाएको छ । रिजल्टहरु पनि पहिलाभन्दा निकै सुधार भएको छ । अर्को कुरा, विद्यार्थीहरु स्कूलमा टिक्दैन्थे । टिपिनको समयमा विद्यार्थीहरु स्कूल छाडेर भाग्थे अहिले ती सबै रोकिएको छ । गाउँपालिकाभित्रका १३ वटै सामुदायिक विद्यालयमा नियमित पठनपाठन हुन्छ । यो नै सबभन्दा ठूलो उपलब्धी हो भनि मान्न सकिन्छ ।
गाउँघरमा सबभन्दा बढी झैझगडा हुन्छ, पालिकाका प्रतिनिधिहरुलाई त्यसलाई मिलाउनमै सबभन्दा बढी समय खर्च भइरहेको हामी देखिरहेका हुन्छौं त्यो कुरालाई तपाईले कसरी मिलाउनु भएको छ ?
–हो खासगरि तराई मधेशको ग्रामिण क्षेत्रमा यो धेरै नै ठूलो समस्या हो । कही नकहीं प्रत्येक दिन पंचायत भइरहेका हुन्छन् । त्यहाँ जानै परेको हुन्छ । तर प्रत्येक पालिकामा न्याय समिति निर्माण भएको छ । त्यो समितिले पनि केही हदसम्म समस्याको समाधान गरेको छ । सामाजिक न्यायका लागि उपाध्यक्षको नेतृत्वमा रहेको न्यायिक समिति बनेको छ । त्यसले पनि प्रभावकारी रुपमा काम गरिरहेको छ । न्यायिक समितिमा आएको उजुरीमा अधिकांश मेलमिलापतर्फ गएका छन् । केही मेलमिलाप हुन नसकेका उजुरी अदालत जाने गरेका छन् । हालसम्म कुनै ठुलो समस्या आइपरेको छैन । न्यायिक समितिमा आइपुगेका थुप्रै मुद्दाको छिनोफानो गरेर सामाजिक न्याय दिलाउनमा पनि हामी सफल भएको छौं । तैपनि गाउँघरमा पंचायतीको परम्पार हटेको छैन । गाउँ घरमा हुने कतिपय झैझगडा समितिसम्म आइपुग्दैन । कतिपयले त उजुरी पनि दिन मानिरहेका हुँदैन । तैपनि समाजमै त्यसलाई मिलाउने प्रयास भइरहेको छ । यद्यपी सामाजिक माहोल बनाउन शान्तिपूर्ण समाज निर्माणकमा लागि हामीले ठोस रुपमा आफ्नो काम गरिरहेका छौं । भौतिक विकास र सामाजिक न्याय भएको नमुना गाउँपालिका बनाउने हाम्रो साझा लक्ष्य हो यसमा सबैको साथ र सहयोग चाहिन्छ ।
स्वास्यको क्षेत्रमा के कस्तो काम गरिरहनु भएको छ ?
–स्वास्थ्य क्षेत्रमा पनि राम्रै काम भइरहेको छ । वडा नं. ६ तेरहोता, वडा नं. १ रुपनीमा बर्थिङ सेन्टर स्थापना गरेर प्रसूति सेवा दिइरहेको छ । स्वास्थ्य संस्थाबाट ज्येष्ठ नागरिकको लागि महिनाको पाँच दिन घुम्ती शिविर, गर्भवती तथा सुत्केरीका लागि जटिल प्रकारका अवस्थामा निःशुल्क एम्बुलेन्स सेवा प्रवाह लगायतका काम गरिरहेका छौँ । विपन्न दलितलाई स्वास्थ्य उपचारका लागि स्वास्थ्य शाखाबाट सहयोग भइरहेको छ । स्वयंसेविकाहरूलाई सव्रिmय बनाउने, उच्च मनोबलका साथ काम गर्न स्रोतसाधनले भ्याएसम्म परिणाम दिइने गरी काम भइरहेको छ । हाम्रो लक्ष्य भनेको उपचारबाट कोही पनि बन्चित नहोस् । सानातिना उपचारका लागि पालिकाभन्दा बाहिर जान नपरोस् भने रहेको छ । पालिकाका सबै जनता निरोगी रहोस् भनि हाम्रो लक्ष्य रहेको छ । ज्येष्ठ नागरिक र गर्भवती महिलाको स्वास्थ्यमा हामी विशेष ध्यान दिएका छौं । त्यसका लागि घुम्ती सेवा तथा एवुलेन्सको पनि व्यवस्था गरेका छौ ।
तराई मधेशमा सबभन्दा बढी गुनासो हुने गरेको क्षेत्र सडक तथा बाटोघाटो हो, तराई मधेशको ग्रामिण क्षेत्रमा बाटो नै हुँदैन भएपनि साँघुरो गल्ली जस्तो हुन्छ भनि टिप्पणी भइरहेका हुन्छन् त्ययसका लागि पालिकाले के गरिरहेको छ ?
–यसका लागि दुई वर्षमा धेरै काम भएका छन् । हामी निर्वाचित भएर आएपछि संघ, प्रदेश र पालिकाको समेत बजेटबाट सडक ढलान, नयाँ सडक निर्माण गरेका छौँ । सडक साँघुरो हुने, कुनै मापदण्ड नहुने र सडकमै बस्तुभाउ बाँध्ने, घाँस, दाउरा, गोबर र अन्य सरसामग्री थुपार्ने मधेशको चलन नै हो । सडक चौडा पार्न ठूलो चुनौती छ तर पनि हामी सडक चौडा पार्ने कामको सुरुवात गरेका छौँ । चेतनाको कमीले गर्दा सडकमा फोहोर गर्ने गरेको छ । चेतना अभिवृद्धि गर्दै त्यस्ता समस्या समाधान गर्दैछौं । गाउँपालिका क्षेत्रका मुख्य सडकदेखि सहायक सडकलाई फराकिलो गर्दा पालिकावासीको घरटहरा, बार टाटी हटाउन केही ठाउँमा समस्यालाई समाधान भएर गएको छ । घरटहरा, टाटी हटाउन वादविवाद तथा कार्य अवरोधलाई व्यवस्थापन गर्दै अगाडि बढेका छौं । सबैसँग समन्वय गरेर सबैलाई सम्झाएर, बुझाएर सडकलाई फराकिलो गरिएको छ ।
तपाईले यतिका कामहरु गर्नुभएको छ तर जनताले त्यो कुराको अनुभूती गरेको छ कि छैन ?
–यो कुरा त तपाईहरुले भन्नुपर्ने हो । जनताले कामको कति अनुभूती गरेको छ । त्यो कुरा सञ्चारकर्मीले अनुगमन गरेर, बुझेर हामीलाई जानकारी गराउनु पर्ने हो । म आफै भनियो भने अलि बढी नै हुन्छ । जनतालाई प्रत्यक्ष अनुभूति हुने काम गर्न प्रत्येक कर्मचारीलाई समय समयमा निर्देशन दिँदै आएको छु । जनताले सेवा पाएन भनि गुनासो आउनु हुँदैन भनि कर्मचारीलाई बेलाबेलामा भन्दै आएको छु । जनताको कामकाज सहज, सरल तथा नियमानुसार छिटोभन्दा छिटो गर्न विषयगत कर्मचारीलाई सचेत गराउँदै आइरहेको हुन्छु । कुनै पनि बहानामा जनतालाई दुःख दिने काम गाउँपालिकाबाट हुँदैन । गाउँपालिकाको वडावासीलाई सामाजिक सुरक्षा भत्ता पाउने वृद्धवृद्धालगायतलाई नजिक पर्ने बैंकबाट पनि भत्ता पाउने व्यवस्था गरेको छु । ज्येष्ठ नागरिकहरुलाई उपचारको व्यवस्था घरघरमै गरेको छु । गर्भवत्ती महिलालाई नियमित जाँचका लागि शिविर चलाएको छु । जनताले प्रत्यक्ष अनुभूती गर्ने यस्ता थुप्रै कामहरु अगाडि बढाएको छु ।
कर्मचारीहरुबाट कस्तो सहयोग पाउनु भएको छ, पालिकाहरुमा सबभन्दा ठूलो समस्या भनेको कर्मचारीले सहयोग नगर्ने हो । अध्यक्ष र कर्मचारीबिचको विवादले जहिले समस्या हुने गरेको देखिन्छ तपाईको पालिकामा कस्तो अवस्था छ ?
–हो तपाईले भनेको कुरा सही हो । धेरैजसो स्थानीय तहमा कर्मचारी र जनप्रतिनिधिबिच खटपट हुने गरेको समाचार सुनिन्छ र पढिन्छ । तर मेरो पालिकामा त्यस्तो समस्या छैन । मैले पालिकास सम्हालेदेखि त्यस्तो कुनै समस्या छैन । कर्मचारीबाट त्यस्तो कुनै गुनासो छैन । कर्मचारीले पनि आफ्नो इमान्दारिता र अनुशासनमा रहेर काम गर्दै आउनु भएको छ । मेरो काम प्रति पनि उहाँहरुको कुनै गुनासो छैन । सबै काम परदर्शी ढंगबाट भयो भने कुनै मनमुटाव हुँदैन । मैले गाउँपालिकाको कामकाज सञ्चालन गरिरहँदा अहिलेसम्म कुनै मनमुटाव र विवाद हामीबिच आएको छैन भन्ने कुरा तपाईहरु पनि पालिकामा आएर बुझ्न सक्नु हुन्छ । हालसम्म कर्मचारी र हामी जनप्रतिनिधि मिलेर काम गरिरहेका छौँ । सायद रुपनी त्यो एउटा उदाहरण नै हो ।
तपाईले पालिका सम्हाल्दा र यतिका कामरु गर्दा कतिको चुनौतीहरु सामना गरिरहनु परेको छ ?
–पहिलो कुरा त देशमा तीन तहको सरकार छ । ती तीन तहमध्ये जनताले सबभन्दा बढी अपेक्षा स्थानीय सरकारसँग गरेका छन् । जनताले हरेक समस्या लिएर पालिकामा नै आउने गरेको छ । संघीय र प्रदेश सरकारको कुनै काम नै छैन जस्तो लागि रहेको छ । हामीसँग जनताको असाध्यै अपेक्षा रहेको छ । त्यो अनुसारको काम हामीले गर्न पाएका छौ कि छैनौ त्यो मूल्यांकन गर्ने काम तपाईहरुको हो । तर जनताले हामीसँग धेरै ठूलो अपेक्षा गरेको छ । तर बजेटको सीमितताले गर्दा माग र योजना अनुसारको कार्य गर्न नसकिने त्यो पनि वास्तविकता हो । जनताको चाहना र माग धेरै छन् तर त्यो अनुसार हामीसँग बजेट नै हुँदैन । यस बाहेक राजनीतिक आस्थाका आधारमा ससाना विषयमा नागरिकलाई भ्रममा पारेर गलत सन्देश प्रवाह गर्न खोजिन्छ । विपक्षीहरुले जनतालाई अनाहकमा उचालिरहेका हुन्छन् । कतिपय नेताहरुले निजी स्वार्थका लागि अनावश्यक घुसपैठ गरिदिँदा काम गर्न अप्ठ्यारो पर्छ । जसले गर्दा थुप्रै काम प्रभावित भइरहेका हुन्छन् । मधेशमा काम गर्नेलाई राजनीतिक हिसाबले हातखुट्टा बाँधेर कामै गर्न नदिने र अरूलाई असफल पारेर आफू सत्तामा पुग्ने प्रपञ्च पनि हुन्छ । मैले यी सबै कुराको पर्वाह नगरी काम गरिरहेको छु । यसमा आम जनताको साथ र सहयोग छ ।

तपाईको प्रतिक्रिया