–जीवछ यादव
लहान नगरपालिका देशैभरीमा सबैभन्दा बढी २४ वडा भएको नगरपालिका हो । यो नगरपालिका अब उपमहानगरपालिका बन्नुपर्छ भने आवाज उठिरहेको छ । उपमहानगरपालिकाको लागि चाहिने मापदण्ड पुग्नै लागेको लहान नगरपालिकाको विकास र समृद्धिको लागि हरेक राजनीति दलहरुको जन प्रतिनिधिहरुको र सामाजसेवीहरुको योगदान रहेको छ ।
त्यसमा विकासप्रेमी मेयरको रुपमा मुनि साहको नाम अग्रपक्तिमा आउने गर्दछ । सम्पन्न परिवारमा हुर्किनु भएको पूर्व नगरप्रमुख साह युवा अवस्थामा एक सफल व्यवसायी हुनुहुन्थ्यो । लहानको मुख्य चोकमा विशाल होटेल सञ्चालनमा ल्याउनु भएको थियो ।
दुई छोरा दुई छोरीको पिता रहनु भएको उहाँ कम बोल्ने काम बढी गर्ने र लिएको अडानबाट पछि नहटने उहाँको मुख्य चरित्र नै रहेको छ । उहाँ २०५४ र २०७४ सालको स्थानीय चुनावमा दुई पटक निर्वाचित नगरप्रमुख हुनुहुन्छ ।
२०४९ सालको निर्वाचनमा नगरप्रमुखमा स्वतन्त्र उम्मेदबार भएर सम्मानित मत ल्याउनु भएका उहाँ २०५४ मा नेकपा एमालेबाट निर्वाचित नै हुनुभएको थियो । २० वर्षपछि निर्वाचन हुँदा पनि उहाँले गरेको कामलाई मूल्याङकन गरेर २०७४ सालमा उहाँ फेरि लहान नगरपालिकाको नगरप्रमुखमा निर्वाचित हुनुभयो । २०७९ को निर्वाचनमा नेकपा एमाले बाहेक अरु दलहरु गठबन्धन गरेपछि पराजित हुनुभयो । पराजित भए पनि जनताको सेवामा राजनीति यात्रामा एक अथक नेताको रुपमा मुनि साहको अलगै पहिचान रहेको छ ।
उमेरले ७० वर्ष पुगेको पूर्व नगरप्रमुख मुनि साह लगभग एकवर्ष अस्वस्थ्य रहेर सघन उपचारमा रहनुभयो । उहाँ अस्वस्थ्य भएर स्वास्थ्य लाभको लागि उपचार गराइरहँदा उहाँको समर्थकहरुले कति ठाउँमा भाकल गरे । उहाँको स्वास्थ्यलाभको कामना गर्नेहरुको लर्को हेर्दा उहाँ जनसमुदायमा कति भिज्नु भएको नेता हुनुहुन्छ भने प्रष्ट देखियो । उहाँको निवास लहान–५ मा पुगेर वर्तमान नगरप्रमुख महेश प्रसाद चौधरीदेखि लिएर सर्वसाधारण नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समेत स्वास्थ्य लाभको कामना गर्न उहाँको निवाससम्म आइपुग्नुभयो । अहिले उहाँ पूर्ण रुपमा स्वस्थ भएर राजनीति र आफ्नो व्यसायमा सक्रिय रहनु भएको छ ।
रुटिनमा हिड्ने बानी
भनिन्छ दृढ विचार र समयलाई सदुपयोग गर्ने व्यक्ति आफ्नो जीवनमा सफल हुने गर्दछ । यही पात्रको रुपमा उहाँलाई लिन सकिन्छ । विहान नियमित व्याम समयमा चिया नस्ता र विहानको समयमा आफ्नो निवास लहान –५ मा सर्वसधारण दलका नेता कार्यकर्तालाई भेट्ने कार्यालय नै सञ्चालन गर्दै आइरहनु भएको छ । कसले के भन्छ भन्दापनि आफूले के गर्नुपर्छ भने मान्यतामा सधैं अडिग रहनु हुने नेताको रुपमा छवि बनाउनु भएको छ ।
नगरप्रमुख हुँदा विहान आफ्नो निवासमा भेटघाट गर्ने उहाँको नियमित रुटिनमा पर्दथ्यो भने नगरपालिकामा कर्मचारी भन्दा पनि पहिले पुग्ने कार्यालय समय सकेपछि घर पर्किने फेरि बेलुका एक दुई घण्टा नेता कार्यकर्ता तथा नगरवासीसँग भेट्ने विहानदेखि बेलुकासम्म नगरपालिकाकै कार्यमा समय बिताउनुहुन्थ्यो । आफ्नो पेशा र व्यवसायमा खासै समय दिन सक्नुहुन्थिएन । २०७९ सालको निर्वाचनमा पराजित भएपछि उहाँ लहान–९ मा एकिकृत कृषि फार्म सञ्चालन गरेर राजनीति र कृषि फार्मलाई सञ्चालन गरिरहनु भएको छ । जे गर्दापनि लगनशील भएर गर्ने अरुभन्दा फरक किन नगर्ने धारणा राख्नु हुने पूर्व नगरप्रमुख सार्वजानिक कार्यहरुमा नगरवासीसँग सधैं पहिलेपनि भन्ने गर्नुहुन्थ्यो अहिलेपनि भन्नेगर्नुहुन्छ ।
सही मन बचनले आफ्नो समाज र देशको विकास गर्न संकल्प लिएर संकल्पलाई कसरी व्यवहारमा उतार्ने ? यसतर्फ सदा तत्पर रहनुपर्छ । उहाँसँग यतिवेला पत्रकारहरु भेट्दा भन्नुहुन्छ, ‘आफू निर्वाचनमा पराजित भएपनि वर्तमान नगरप्रमुखले लहानको समृद्धि र विकासको लागि राम्रो कार्य गर्दा मेरो साथ छ । तर भएका कामहरुलाई पछि बिगारेर बजेटलाई जथाभावी खर्च गर्दा मैले खुल्लेआम सडकमा आएर विरोध नगरे पनि मन पोलिरहेको हुन्छ ।’
उहाँले भनिरहने एउटा कुरा बहुत घतलाग्दो भनाई जो आफू कर्म गर्दैन, उसले अर्काको निन्दा गर्नुलाई नै धर्म ठान्छ । तसर्थ, आफू आत्मनिर्भर केही न केही उत्पादनमुलक कार्यमा रुटिन अनुसार समयको सदुपयोग गर्नुपर्छ । दुई दर्जन गाई, बाख्रा कुखुरा परेवा र माछा पालन गरेर नमूना फार्म सञ्चालन गरेर फार्ममा काम गर्ने कामदारहरुसँग नियमित मध्यान्ह दुई बजेदेखि पाँच बजेसम्म समय बिताएर फार्मलाई ब्यवस्थित र राजनीतिलाई मजबूत बनाउने योजनामा लागि रहनु भएकोछ पूर्व नगरप्रमुख मुनि साह ।
मुटुमा लहान
झण्डै तीन दशकदेखि लहान नगरपालिकाको राजनीतिमा सक्रिय पूर्व नगरप्रमुख मुनि साह नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषदको सदस्य हुनु भएको छ । दुई पटक नेकपा एमालेबाट नगरप्रमुखमा निर्वाचित हुनु भएको साह एक पटक दोस्रो संविधान सभामा नेकपा माओवादी केन्द्रबाट संविधानसभामा उम्मेदबार हुँदा थोरै मतले पराजित हुनु भएको थियो । फेरि नेकपा एमालेमै फर्किएका पूर्व नगरप्रमुख साहको अहिलेपनि नेकपा माओवादीका केहि केन्द्रीय नेताहरुसँग सुमधुर सम्बन्ध रहेको छ । उहाँ संघ र प्रदेशको लागि उम्मेदबार बन्ने चाहना राखे सजिलै उम्मेदबार बन्न सक्ने प्रबल संभावना भएपनि उहाँ लहान नगरपालिकाको नगरप्रमुख बाहेक अर्को पदको लागि चाहना नै गर्नुहुन्न । उहाँ भन्नुहुन्छ ‘१० वटा वडा भएको लहान नगरपालिकाको नगरप्रमुख भएर पाँच वर्षमा गरेको विकासले लहानले बल्ल विकासको लींक पक्रियो । बीस वर्ष स्थानीय चुनाव नै भएन ।
२०७४ सालमा थप १४ वटा वडाहरु थपिएर २४ वटा वडा भएको लहान नगरपालिका चुरे क्षेत्रदेखि दक्षिणमा समतल मैदानसम्म फैलिएको लहान नगरपालिकाको विकासको लागि ‘हाम्रो लहान समृद्ध लहान’को नारा तय गरेर विकासको गति अगाडि बढाएपनि २०७९ मा पराजित भएपछि उहााले गरेका शिक्षा स्वास्थ्य कृषि पर्यटन र पूर्वाधारको क्षेत्रमा चाहे जस्तो काम हुन नसकेकोले लिएको सुन्दर सम्पन्न लहान बनाइ छाड्न एक पटक अझै लहान नगरपालिकाको नगरप्रमुख हुने धोको रहेको बताउनुभयो ।
समृद्धिको आधार
पूर्व नगरप्रमुख साह लहानको शहरी र ग्रामीण क्षेत्रको सन्तुलित विकासको लागि ग्रामीण क्षेत्रमा रोजगार सृजना गर्न नमूना कृषि फार्म सञ्चालन गरेर आफ्नै गाउँ ठाउँमा रोजगारी सृजना गर्न सकिन्छ भने सन्देस आफैबाट दिनको लागि पनि एकिकृत कृषि फार्म सञ्चालनमा ल्याएको बताउनुहुन्छ । लहान नगरपालिकाको उत्तरी भेगमा रहेको १५, १६, १७ र १८ नम्बरमा नमूना पशुपालन गर्न सकिने संभावना छ ।
यसको लागि आफू नगरप्रमुख हुँदा कृषि शाखालाई सक्रिय बनाएको उहाँ अनुभव सुनाउनुहुन्छ । गप गरेर समाजको समृद्धि संभव छैन । स्थानीय सरकारले किसानहरुको जीवनमा खुसी ल्याउन कृषिलाई आधुनिकीकरण गर्न आवश्यक छ । ‘बजारीकरणको लागि आफू नगरप्रमुख रहेकोबेला ल्याएको नीति र कार्यक्रमहरुलाई निरन्तरता दिन लहान नगरपालिकाले काम गर्न नसकेकोमा आफूलाई चिन्तित बनाएको छ’, उहाँले भन्नुभयो । आफूले सञ्चालन गरेको कृषि एकिकृत कृषि फार्म जस्तै समूहमा कृषिकहरुलाई फार्म सञलन गर्नपनि प्रेरित गरिरहनु भएको नगरप्रमुख पदमा रहँदापनि नरहँदापनि चर्चामा रहनु भएको छ ।
कृषि क्षेत्रमा चर्चा अनुसारको काम भएन
कृषि क्षेत्रको चर्चा बढी हुने तर काम त्यस अनुसारको नहुने बिडम्बना रहेको आम चर्चालाई पूर्व नगरप्रमुख साहको बुझाईमा पनि त्यहि नै रहेको छ । सरकारले कृषकहरुको लागि दिएको सेवा सुविधा कृषकहरु समक्ष नपुग्नु, कृषि बैंकले अनुदानमा आएका सहुलियत ऋणहरु वस्तविक किसानहरुले पाउन नसकेर बिचौसलयाको माध्यमबाट अन्यत्र नै दिइने गरेको ठूलो समस्या छ । माछा पालन तरकारी खेति र कृषि फार्म सञ्चालनको लागि गर्नुपर्ने लगानी र निगरानी दुबै फितलो रहेको, कृषि ज्ञान केन्द्र , पालिकाहरुमा रहेको कृषि शाखाले आवश्यकताको आधारमा योजना निर्माण र बजेट व्यवस्थापन गर्नमा देखिएको निरासालाई अन्तय गर्नुपर्ने पूर्व नगरप्रमुख साहको सुझाव रहेको छ ।
तपाईको प्रतिक्रिया