काठमाडौँ साउन १६ गते । जनमत पार्टीका उपाध्यक्ष इं.दीपक साहले नेपालका लागि चिनियाँ राजदुत चेन सोङलाई देश निकाला गर्न माग गर्नुभएको छ ।
बारम्बार कूटनीतिक मर्यादाविपरीत नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै आएका राजदूत सोङलाई तत्कालै ‘पर्सोना नन ग्राटा’ घोषणा गर्नुपर्ने माग गर्दैं उहाँले नेपालको हरेक सुखदुःखमा सधैं सहयोग र सद्भाव राख्ने छिमेकी राष्ट्र भारतप्रति कटाक्ष गर्ने चिनियाँ रणनीतिलाई सम्बन्धित सरोकारवालाले समयमै बुझ्नुपर्ने धारणा आफ्नो फेसबुकमा राख्नु भएको छ ।
चिनियाँ राजदूत सोङलाई नेपालमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न पठाइएको स्पष्ट देखिएको दावी गर्दै उपाध्यक्ष साहले भन्नुभयो, ‘कुनै पनि राजदूतले आफ्नो कूटनीतिक मर्यादाको ख्याल नगरी अर्को देशको आन्तरिक मामिलामाथि खुलेआम टिप्पणी र आलोचना गर्न पाउँदैनन्।’
राजदूत सोङको भूमिका नेपाल र नेपालीविरुद्ध देखिएकाले, सरकारले उनलाई तत्कालै पर्सोना नन ग्राटा घोषणा गरेर नेपाल छोड्न निर्देशन दिनुपर्ने उहाँले माग गर्नुभएको छ । यसअघि पनि उहाँले नेपालका एक प्रतिष्ठित सञ्चारकर्मीलाई धम्की दिनुभएको बताउँदै उहाँले कुनै पनि देशको राजदूतले आन्तरिक मामिलामा हस्तक्षेप गर्नु नेपालको सार्वभौमसत्ता विरुद्ध हो र नेपाली जनताले यस्तो हस्तक्षेप सहन नसक्ने चेतावनी दिनुएको छ ।
यसअघि सो पार्टीका अर्का उपाध्यक्ष अब्दुल खानलले राजदुत चेन सोङको बारेमा संसदमै कुरा उठाउनुभयो
तपाईको प्रतिक्रिया