Khadya Bibhag

तरकारी परीक्षणका लागि प्रयोगशाला

धनुषाको ढल्केवरस्थित कृषि उपज बजार बिषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइ स्थापना गरिएको छ । हरियो तरकारी र फलफूलमा बिषादीको मात्रा जाँच गर्न प्रयोगशालाको स्थापना गरिएको हो । नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाले इकाइको स्थापना गरेको कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष बुधेश्वर महतोले बताउनुभयो । उहाँले आउँदो सोमबारदेखि परीक्षण सुरु गरिने बताउँदै मापदण्डभन्दा बढी बिषादी प्रयोग गरिएको पाइएमा तरकारी तथा फलफूल नियन्त्रणमा लिएर नस्ट गर्ने जानकारी दिनुभयो ।

अध्यक्ष महतोले परीक्षण सुरु गर्नुअघि किसान भेला गरेर कति खेतबारीमा कति मात्रामा बिषादी छर्कन र बिषादी छर्केको कति दिनपछि तरकारी तथा फलफूल टिप्न मिल्छ भन्नेबारे जानकारीमुलक कार्यक्रम गरिने बताउनुभयो । ढल्केवरस्थित कृषि उपज बजार सस्तो मूल्यमा हरियो तरकारी तथा फलफूल पाइने बजारका रुपमा प्रसिद्ध छ ।

आइतबार, बुधबार र शुक्रबार गरी हप्ताको तीन दिन लाग्ने यस बजारमा काठमाडौँ, पोखरा, सिन्धुली, जनकपुरलगायत ठूल्ठूला सहरका व्यापारी यहाँ तरकारी तथा फलफूल खरिद गर्न आउने गरेका छन् भने मिथिला, क्षिरेश्वरनाथ, धनुषाधाम नगरपालिका र बटेश्वर गाउँपालिकाका किसानले उत्पादन गरेको तरकारी तथा फलफूल बिक्रीका लागि ल्याउने गरेका छन् ।

तपाईको प्रतिक्रिया