Khadya Bibhag

चीनको पहलमा माओवादीको विवाद थामथुम

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्मकमल दाहाल ‘प्रचण्ड’ सरकारबाट हटेपछि पार्टीमा नेतृत्वलाई लिएर विवाद उत्पन्न भएको छ । पार्टी विभाजनको संघारमा नै पुगेको छ । यो यस्तो यसपटक मात्र भएको होइन, विगतमा पनि माओवादीका अध्यक्ष प्रचण्ड सरकारबाट निस्केपछि पार्टी विभाजन भएको उदाहरणहरु छन् । यसपटक पनि त्यही अवस्था सृजना भएको छ । उपमहासचिव जनार्दन शर्माले पार्टी विभाजन गर्न लागेको आरोप पार्टीभित्र नै लागि रहेको छ । पार्टीको नेतृत्व नै गर्ने वा अर्को पार्टी बनाउने अभ्यास जनार्दन शर्मा गरिरहेको आरोप धेरै पहिलादेखि पार्टीमा लाग्दै आइरहेको छ ।
पार्टीको बैठकमा जनार्दन शर्माले राखेको फरकमतमा पनि पार्टी अलग गर्ने संकेत गर्नुभएको छ । नेतृत्व सुध्रिनुपर्छ भनि धारणा प्रतिवेदनमा राख्नुभएको छ । आफूले पार्टी विभाजन गरेको कुरा पार्टीको नेतृत्वबाट नै दबाब झेल्नु भएको छ । पार्टीको बैठकमा पार्टी विभाजनको कुरा छताछुल्ल भएपछि नेपालका लागि चिनियाँ राजदुत चेन सोङ सक्रिय हुनुभएको छ । उहाँले माओवादीका विभिन्न शीर्ष नेताहरुलाई उहाँहरुको घरघरमा गएर भेट्नु भएको छ । साउन ३१ गते राजदुत चेन सोङले प्रधानमन्त्री प्रचण्डलाई उहाँको निवास खुमलटारमा गएर भेट्नु भएको थियो । र, उहाँले पार्टी विभाजन हुनुबाट रोक्न प्रचण्डलाई दबाव दिनुभयो ।
अध्यक्ष प्रचण्ड निकट एक नेताका अनुसार बरु जनार्दन शर्मालाई पार्टीमै व्यवस्थापन गर्नुस् तर पार्टी विभाजन हुनबाट रोक्नुस् भनि दबाव दिनुभएको थियो । त्यसअघि पूर्व प्रधानमन्त्री प्रचण्डले जनार्दन शर्मालाई बोलाएर पार्टीमा विवाद नगर्नुस् सक्नुहुन्छ भने पार्टी विभाजन गरेर जानुस् भन्नुभएको थियो । त्यसपछि पार्टीमा विवाद झन चुलिएको थियो । विवाद चुलिएपछि राजदुत चेना सोङ सक्रिय हुनुभएको माओवादी स्रोतहरुको दावी छ ।
अध्यक्ष प्रचण्डले नै सक्नुहुन्छ भने पार्टी विभाजन गरेर जानुस् भनेपछि जनार्दन शर्माले एउटा सार्वजनिक कार्यक्रममा अध्यक्ष प्रचण्ड सामु भन्नुभएको थियो, ‘तपाईंहरुले मलाई दलाल जस्तो देख्नुहुन्छ ? म यो पार्टी फोर्ने जस्तो देख्नुहुन्छ ? तर, त्यो आरोप मैले आज खेपिरहेको छु । पार्टीको उच्च तह र नेतृत्वको वरिपरिबाट देशभरि मैले पार्टी फुटाउँदैछ भनेर बदनाम गरिँदैछ ।’ नेता शर्माले आफूलाई मनोगत ढंगले आरोपित गरेर सत्यलाई उल्ट्याउने प्रयत्न गरेको आरोप लगाउनु भएको थियो । उहाँले भन्नुभएको थियो, ‘मैले उहाँलाई भनेको छु तपाईंलाई हटाएर मलाई अध्यक्ष हुनुछैन, तर यो पार्टी आन्दोलन बनाउने हो भने छलफल चाहिन्छ भनेर छलफलको विषय राखेको हो । प्रस्तावमा छलफल हुँदैछ । नेतृत्वलाई स्थापित गर्न कुरा राख्दा मैले अनेक आरोप खेप्नुपर्ने ?’
राजदुत सोङले अध्यक्ष प्रचण्डलाई भेटेपछि माओवादी पार्टीभित्रको विवाद हाललाई साम्य भएको देखिन्छ । अध्यक्ष प्रचण्डले उपमहासचिव शर्मालाई बोलाएर कुरा गर्नुभएको छ । अर्कासँग कुरा माझामाझ भएको छ । पार्टीको नेतृत्व लगायत अन्य सबै विषयमा पार्टीको महाधिवेशनबाट टुगों लगाउने कुरा भएको छ । उहाँ दुई जना बिचमा कुराकानी भएपछि तत्कालका लागि विवाद साम्य भए पनि खतराको घण्टी टरेको छैन ।

तपाईको प्रतिक्रिया