Khadya Bibhag

निगरानीमा मुख्यमन्त्री

‘ठूला ठूला झुटा र निराशाजनक कुरा गर्नुभन्दा पनि गर्न सक्ने कामहरु हामी गर्छौ, यदि मधेशलाई थितीमा ल्याउन सकिन भने सरकार छाडेर जुनसुकै बेला बाहिरिनेछु ।’ मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको अभिव्यक्ति हो यो । जनमत पार्टीबाट मुख्यमन्त्री भएका सतिश सिंहले मात्र होइन सो पार्टीका अध्यक्ष डा.सिके राउतलगायत नेताहरुले पनि यस्ता अभिव्यक्ति पटक पटक दिने गर्नुहुन्छ ।
जनमत पार्टीका अध्यक्ष राउतले आफ्ना पार्टीका मुख्यमन्त्री र मन्त्रीहरु राजिनामाको पत्र आफ्नो गोजीमा लिएर हिड्नुहुन्छ, आवश्यक परेमा जुनसुकै बेला राजिनामा दिने भन्ने गर्नुहुन्छ । हुन त संघीय सरकारको पहिलो अनुभव बारे उहाँले २०२२ डिसेम्बर २५ मा यसरी लेख्नु भएको थियो, ‘पहिलो क्लासमै यति धेरै ज्ञान र वितृष्णा होला जस्तो लागेको थिएन । काँधमा लाखौं जनताको अपेक्षा र जिम्मेबारी नभइ दिने हो भने म कतिखेर राजनीतिबाट पनि सन्यास लिइसक्थें होला । तर आफैं जलेर, कालो खरानी बने पनि, उज्यालो पार्नु छ रे ! मेरो नियति ।’
यसरी हेर्दा पार्टीका अन्य मन्त्री तथा सांसद मात्र होइन, मुख्यमन्त्री सतिशकुमार सिंह कति दबावमा काम गरिरहनु भएको छ भनि पुष्टि भएको छ । पार्टीका संघीय समानुपातिक सांसद गोमालाभ सापकोटा त अध्यक्ष राउतबाट आजित भइसक्नु भएको छ । पार्टीले भनेको स्विकीय सचिव नराखेको कारण सांसदबाट नै हटाउन संसदीय सचिवालयलाई पटक पटक पत्र पठाउनु भएको छ । तर सचिवालयले हटाउन मानेको छैन । सिके राउतका कारण सांसद सापकोटा डिप्रेसनमा जानु भएको स्रोतले जनाएको छ ।
अध्यक्ष सिके राउत दबदवा पार्टीमा धेरैले झेल्न सकेको छैन । यस्तै भएको पार्टीका उपाध्यक्ष अब्दुल खानलाई । मन्त्रीमा सपथग्रहण गर्न लगाएर पदभार गर्न दिनुभएन । मन्त्रालय पाएपनि धेरै दिनसम्म मन्त्रालय नै जान दिनुभएन । मन्त्रालय गए पनि सरकारबाट कतिखेर बोलाइ हाल्ने हो भनि तनावमा काम गरिरहनु भएको थियो । बारामा भएको उपचुनावको समयमा उहाँलाई सरकारबाट फिर्ता बोलाउनु नै भयो ।
अनिता साह पनि संघीय मामिला मन्त्री बन्नुभएको थियो । उहाँले कुन दबावमा मन्त्रालय चलाउनु भएको थियो त्यो कुरा पनि बाहिर आइसकेको थियो । मधेश प्रदेशमा संजय यादव, वसन्त कुशवाहा, चन्दन सिंहले पनि सिके राउतको दबाव झेल्नुभयो । मुख्यमन्त्री सतिशकुमार सिंह पनि झेलिरहनु भएको छ । तर उहाँ धेरै दिनसम्म झेल्न सक्नु हुन्न भनि उहाँ निकट नेताहरु बताउनु हुन्छ । किनभने पार्टी उहाँलाई पुरै निगरानीमा राखेको छ ।
पार्टीका एक जना कार्यकारिणी सदस्यले भन्नुभयो, ‘सतिशकुमार सिंह नामले मात्र मुख्यमन्त्री बन्नुभएको छ, अरु सबै काम सिके राउतका दाइ जयकान्त राउतले गर्नुहुन्छ । मधेश प्रदेश सरकारको रेखदेख र सञ्चालन गर्ने जिम्मेवारी जयकान्त राउतलाई दिएको छ । उहाँ सतिशकुमार सिंहमाथि मात्र होइन पुरै सरकारमाथि हावी हुन खोज्नु भएको छ ।’ यहाँसम्म कि सचिवालयमा आफूले चाहेको व्यक्ति पनि सतिशकुमार सिंहले राख्न पाउनु भएको छैन ।
सतिश कुमार सिंह कति दबावमा काम गर्नुहुन्छ त्यसको पुष्टि हालसालै राज्यमन्त्री नियुक्त गरेर त्यसलाई पुनः बर्खास्त गर्नुले पुष्टि भएको छ । मुख्यमन्त्री सिंहले साउन २२ गते पाँच जना राज्यमन्त्री नियुक्त गरेर २० सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको थियो । त्यसअघि तीन राज्यमन्त्रीसहित १५ सदस्यीय मन्त्रीपरिषद् गठन भएकै थियो ।
तर उहाँले सिके राउतको दबावलाई सात दिन पनि झेल्न सक्नु भएन र सबै राज्यमन्त्रीलाई बर्खास्त गर्न बाध्य हुनुभयो । २० सदस्यीय मन्त्रीमण्डल मुख्यमन्त्री सिंह आफ्नै मनले गठन गर्नुभएको थिएन । उहाँले पार्टीका अध्यक्ष सिके राउतदेखि लिएर जयकान्त राउत र अन्य शीर्ष नेताहरुसँग छलफल गरेर नै गठन गर्नुभएको थियो । काँग्रेस, एमाले, लोसपासँग पनि अध्यक्ष राउतले आफै डिल गर्नुभएको थियो । सबैसँग सल्लाह गरेरै बनाएको मन्त्रीमण्डलको जब विरोध हुन थाल्यो अनि अध्यक्ष राउत आफू त्यसबाट बच्नका लागि सारा दोष सतिशकुमारमाथि थुपार्दिनु भयो ।
मुख्यमन्त्रीमाथि आरोप
साउन २५ गते नै मुख्यमन्त्री सिंहलाई स्पष्टिकरण सोध्नुभयो । के कति कारणले यत्रो जम्बो मन्त्रीमण्डल बनाउनु भएको, मन्त्रिमण्डल बनाउँदा पार्टीसँग सल्लाह किन नगरेको भनि मुख्यमन्त्रीलाई लिखित जवाफ दिन स्पष्टिकरण सोध्नु भएको थियो । जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले मिडियालाई दिनुभएको प्रतिकृया अनुसार पार्टीसँग बिना समन्वय गरी मुख्यमन्त्री सिंहले मन्त्रालय बाँडफाँड गरेको र राज्यमन्त्रीको संख्या थप गरेको विषयमा स्पष्टीकरण सोधिएको थियो ।
प्रवक्ता यादवले सिंहलाई मन्त्रालयको काममा भन्दा उद्घाटन समारोहमा बढी समय दिएको आरोप पनि लगाएका प्रतिकृया सञ्चारमाध्यमलाई दिनुभएको छ । मुख्यमन्त्री सिंहले सांसदहरूका लागि पाँच करोड रुपियाँको बजेट दिने निर्णय किन गरेको पनि पार्टीले स्पष्टिकरण माग गरेको छ । यस्तो क्रियाकलापले जनमत पार्टीको छविमा आँच पुगेको पार्टीले गम्भीर आरोप मुख्यमन्त्री सिंहमाथि लगाएको छ । मुख्यमन्त्री बनेको चार महिना पनि पुगेको छैन, सिके राउतले उहाँमाथि आरोपको चाँङ नै थुपार्नु भएको छ । यसले पुष्टि हुन्छ कि मुख्यमन्त्री सिंह सिके राउतको दबदबाले कसरी थिचिनु भएको छ ।
मुख्यमन्त्रीको बचाउ
तर त्यही अध्यक्ष राउतले यस्ता आरोप लगाउनुभन्दा पहिले आफ्नो फेसबुकमा मुख्यमन्त्री सिंहको बचाउमा लेख्नुभयो, ‘बुझ्नुपर्छः यो मधेश सरकार गठबन्धनको हो, जनमतको होइन, गठबन्धन र खासगरी दुई ठुला पार्टीले निर्धारण गरेको हो कि कति मन्त्रालय कसले राख्ने, कति राज्यमन्त्री राख्ने, कुन कुन मन्त्रालय कसले राख्ने यसमा हाम्रो केही चल्दैन किनकि जनमत पार्टीको सीट संख्या मधेश प्रदेशमा पनि निर्णायक होइन, अहिलेकै गठबन्धनमा पनि हामी बिना नै मधेश सरकार बन्छ्र त्यसैले हामीले चाहेर मात्र हुँदैन् ।’
२० सदस्यीय मन्त्रीमण्डल गठन गरेको भोलीपल्टै अध्यक्ष सिके राउतको यस्तो प्रतिकृया आएको थियो तर दुई दिनमै के भयो कि मुख्यमन्त्री सिंहमाथि सारा दोष थुपारेर स्पष्टिकरण नै सोध्नुभयो । स्पष्टिकरण सोधेपछि त्यसको जवाफै न दिइ मुख्यमन्त्री सिंहले सबै राज्मयमन्त्रीलाई हटाउनुभयो । तर खतराको तरबार सिंहमाथिबाट अझै हटेको छैन ।
यसरी हात पार्नुभयो मुख्यमन्त्री
एमाले–माओवादी गठबन्धन बनेपछि जनमत पार्टीले महेश यादवलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । तर जब मुख्यमन्त्री बन्ने समय आयो अनि जनमत पार्टीले सतिशकुमार सिंहलाई मुख्यमन्त्री बनायो । महेशको बारेमा निर्णय गर्ने अनि अनि मुख्यमन्त्री सतिशलाई बनाउने भनि जब टिप्पणी हुन थाल्यो अनि जनमत पार्टीका नेताहरुले महेशलाई मुख्यमन्त्री बनाउने पार्टीमा निर्णय नै नभएको प्रतिकृया दिएका थिए । ठूलो आर्थिक लेनदेनमा सतिशलाई मुख्यमन्त्री बनाएको कुरा आमरुपमै टिप्पणी हुने गरेका छन् ।
गत जेठ २५ गते सतिशकुमार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । जब कि उहाँ संसदीय दलका नेता पनि थिएन । मुख्यमन्त्री बनाउनका लागि नै महेश यादवलाई संसदीय दलको नेता बनाइएको थियो । नेकपा एमालेसहित ६ दलका ५५ जना सांसदको समर्थनमा ४२ वर्षीय सतिश सिंह मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
सप्तरीको तिलाठी कोइलाडी तिलाठी निवासी मुख्यमन्त्री सिंह २०७९ को स्थानीय तहको निर्वाचनमा कोइलाडी गाउँपालिका अध्यक्षमा लोसपाबाट उम्मेदवार भई पराजित हुनुभएको थियो । तर २०७९ भदौमा जनमत पार्टीमा प्रवेश गरी सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ (१) बाट प्रदेशका तात्कालीन अर्थमन्त्री शैलेन्द्रप्रसाद साहलाई पराजित गर्दे प्रदेशसभा सदस्यमा उहाँ विजय हुनुभएको थियो । सिंहले १६ हजार ७३४ मत प्राप्त गर्नुभएको थियो ।
२०५२ मा राजविराजस्थित राजदेवी माध्यमिक विद्यालयमा अध्ययनकै क्रममा मुख्यमन्त्री सिंह तात्कालिन सद्भावना पार्टीको विद्यार्थी संगठन विद्यार्थी मञ्चको सदस्यता लिनुभएको थियो । अध्ययनका लागि उहाँ सन् २००१ देखि २००४ सम्म भारत गएपछि नेपालमा उहाँको राजनीतिक यात्रामा विराम लागेको थियो । दोस्रो संविधानसभाको निर्वाचनपूर्व उहाँ शरतसिंह भण्डारीको नेतृत्वको तत्कालिन राष्ट्रिय मधेश समाजवादी पार्टीमा प्रवेश गरेर जिल्ला अध्यक्ष हुनुभएको थियो । पछि तत्कालिन राजपा नेपालको पनि जिल्ला अध्यक्ष नै रहनु भयो ।
राजपाबाट उहाँ सप्तरीको तिलाठी कोइलाठी गाउँपालिकाको अध्यक्ष पदमा २०७४ को स्थानीय तहमा उहाँ चुनाव जित्नुभएको थियो । तर पालिका अध्यक्षमा उहाँले दोस्रो पटकको यात्रा अगाडि बढाउन सक्नु भएन । कांग्रेसका अरुणकुमार मण्डलबाट उहाँ पराजित हुनुभएको थियो । त्यसपछि उहाँ सिके राउत पार्टीमा प्रवेश गर्नुभएको थियो । अहिले त्यही जनमत पार्टीबाट मुख्यमन्त्री बन्नुभएको छ तर पार्टी निगरानीमा रहेर काम गरिरहनु परेको छ उहाँलाई ।

तपाईको प्रतिक्रिया