–जेपी गुप्ता
भदौ १० गते गौरा पर्व मनाउन टुँडिखेलमा जम्मा भएको भिडले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हुटिंग गरेको बडो चर्चा छ । देउवा बोल्न थाल्दा होहल्ला चर्किएपछि देउवा कड्किए–“लाज पनि छैन । अर्काको कार्यक्रम बिथोल्ने ? लाज नभएकाहरु, यही हो नेपालको संस्कृति ? यही हो नेपालको चलन ? यही सिकेर आएको ? बदमासहरु ।”
गौरा पर्व मनाउन आएकाहरू देख्दा देउवाको बिरोध गरेको देखिए पनि प्रत्यक्षदर्शीहरूका अनुसार भिडले आफूहरुलाई नेताहरु नचाहिने भन्दै मुर्दावादको नारा लगाएको थियो । हालका बिरक्त लाग्दो राजनीतिक परिस्थितिमा यो एक प्रतिनिधिमूलक घटना हो । केहीअघि यस्तो भएको भए काँग्रेसजनले यसलाई शायद देउवाका बिरूद्ध ओलीको षड्यन्त्र भन्न सक्थे । यहाँ ओली स्वयं मञ्चमा थिए । उनले यस हुलहुज्जतको भत्र्सना पनि गरेका छन् । प्रचण्डको प्रतिकृया ज्ञात भएन, यद्यपि प्रचण्ड समेतका बिरूद्धको घान हो यो । समग्रमा नेताहरू प्रतिको बितृष्णा भनौं ।
मेरो बिचारमा यसो हुनु हुदैन्थ्यो, भयो । यसअघि स्वयं प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल आदि सबैसँग यस्तो भइसकेको छ । शायद फेरी फेरी हुँदै जाने होला । अहिलेको साल–सम्वत्को दिशा यस्तै देखिन्छ । आज देउवा रिसाए । स्वभाविक पनि हो । सबै पालैपालो रिसाउछन् । टुँडिखेल धेरै कुराको साक्षी छ, भलै यसको अभिलेख कतै न होला । कुनै समय जनमत संग्रहको परिणामलाई बीपी कोईरालाले स्वीकार्दा यस्तै भएको थियो । पहिलो जनआन्दोलन पछि गिरिजा प्रसाद.कोईरालाले “यो सबैको जित हो, राजाको पनि” भनि बोल्दा उनि तारो बनेका थिए । त्यसअघि बि.स. २०३६ को विद्यार्थी आन्दोलन पश्चात “जनमत संग्रहको घोषणा” स्वीकार्दा त्यस बेलाका विद्यार्थी नेताहरू बलबहादुर केसी तथा शरण बिक्रम मल्ललाई तेही टुँडिखेलमा जम्मा भई निस्केका भीडले जुत्ताको माला, कालोमोसो दली ठेलामा घुमाएका थिए ।
स्वयं बिपी कोईरालाले त्यही आयोजित सभामा शेरबहादुर देउवा, जो त्यस बखत थोरै नाम चलेका नेपाल विद्यार्थी संघका सभापति थिए–उनलाई “शेरे सुदूरपश्चिमाञ्चल” भनेका थिए । बीपीको त्यस बेला देउवालाई राष्ट्रिय राजनीतिको परिदृश्यमा पुर्याउने एक बिचारित पहल थियो त्यो । उही शेरबहादुर आज सुदूरपश्चिमेहरूकै घानमा परेर संयमता गुमाएको देखियो ।
तर, चुरो कुरो त के हो भने–यो जनताको रोष हो । यसको विवेक भनेकै ‘रोष’ हो । यस्ता रोषहरूले बदलाव ल्याई दिन्छ । राजाहरूलाई फ्याकिदिन्छ । राष्ट्रपिता भनिनेहरूको सालिकलाई ढालिदिन्छ । विश्वयुद्धका बिजेताहरूलाई चुनावमा सोत्तर पारिदिन्छ । हजारौं हजार उदाहरणहरू छन् यसका । हिजो अस्ती नै काठमाण्डौंमा कतै बालेन शाहको ठूलो क्रेज देखिएको थियो । जनताले बिशाल समर्थन जनाएको चर्चा सेलाएको पनि छैन । एक पटक वसन्तपुर दरबारको बार्दलीमा राष्ट्रपति समेतको उपस्थितिमा बालेन बालेन भएको थियो। बिचरा राष्ट्रपतिलाई हिनताबोध भयो होला । यस्तो भइरहन्छ । जबकि, यस्तो भइरहनु हुदैन । यसका सन्देश तथा संकेत बुझ्नु पर्दछ ।
यस्तो नाराबाजी गर्ने तथा देउवाले भनेका ‘बदमासहरु’ कम शक्तिशाली होईनन् । अब देउवा, ओलीहरू बुजुर्ग भए । उनिहरूलाई लाग्दो हो–“बुजुर्गहरूले समाजलाई दिशा दिन्छ । काँग्रेस वा कम्युनिष्टको बलको मियों हुन् समाजका बुजुर्गहरू । हुल्लडबाजहरूले केही गर्न सक्दैनन् ।” यसो सोच्दा त हुन्छ, जबकि यस्तो सोचाई उनीहरूका लागि घाटाको कुरो हुनेछ । नेपालको जनसंख्यामा ६५ वर्ष नाघेकाहरूको जनसंख्या ५.९० प्रतिशत छ । यस्ता बुजुर्गहरू आज त्यहाँ थिएनन् होला ।
उनीहरू यसो गर्दैनन् होला । यसो गर्ने त १५–४४ उमेर समूहका युवाहरू हुन्छन् । जसको जनसंख्या कूल जनसंख्याको ५०.३७ प्रतिशत छन् । यो सत्य तथ्यांक हो । सरकारहरू त चुनाव जित्न निर्वाचनको आचार संहिताले बन्देज न लाउन्जेलसम्म सचिवहरू, प्रहरीका महानिरीक्षकहरू, अख्तियारका आयुक्तहरू, यस्तै यस्तैले सरकार बनाउन, आफ्ना पार्टीलाई विजयी बनाई दिन मद्दत गर्नेछन् भनेर यस्तै राजकीय उपक्रम तिर लागेका हुन्छन् । अनि यो बारूदको गोलो, १५–४४ उमेर समूहका ५०.३७ प्रतिशतकाहरूले चालै न दिईकन् दलहरूको स्थितिलाई उल्टोपुल्टो बनाई दिन्छ । किन भने यिनीहरूलाई टुँडिखेलबाट जे भनिए पनि तिनीहरू ‘भोटर’ हुन् । मतदाता हुन् ।
यिनका पनि त केही कुरा होलान ? जस्तो कि आज टुँडिखेलमा देउवाले बोल्दा तलबाट आवाज आयो–“हामी नेताहरूलाई सुन्न आएको होईन ।” बस्, यति नै हो नेताहरूले बुझ्नु पर्ने कि तिनीहरूले किन यसो भने कि “हामीहरू नेतालाई सुन्न आएको होईनौं ।” बस् यति बुझ्नुस् । आश जगाउनुस् अनि पुर्पुरोमा लेखी ल्याएको अझैं ५÷७ चोटी प्रधानमन्त्री भइ रहनुस् ! यिनैले हिजो, कुनै समय “शेरे सुदूर पश्चिम जिन्दावाद” भनेका थिए । (जेपी गुप्ताको फेसबुकबाट सम्पादनसहित सभार)
तपाईको प्रतिक्रिया