Khadya Bibhag

उपेन्द्र, महन्थ, राजेन्द्रहरुले अब राजनीतिबाट विश्राम लिनुपर्छ

–देवेन्द्र मिश्र
–राजनीतिक समिति सदस्य, जनमत पार्टी
२०४० मा हर्कबहादुर गुरुङको प्रतिवेदन जलाउदा प्रकाउ परेपछि गजेन्द्रनारायण सिंहका साथमा नेपाल सद्भावना परिषद् गठन गर्नुभएका ६६ वर्षीय देवेन्द्र मिश्र सद्भावना, राजपा, जसपा नेपाल हुँदै अहिले डा.सिके राउत नेतृत्वको जनमत पार्टीमा राजनीतिक समितिका सदस्य र प्रचार प्रसार विभागका संयोजक हुनुहुन्छ । नेपाल सद्भावना पार्टी गठन हुँदा सहअध्यक्ष बन्नुभएका देवेन्द्र मिश्र १५ वर्षसम्म सो पार्टीको महासचिव पदमा रहेर काम गर्नुभयो । ६ वर्षअघि प्रध्यापक पेसाबाट रिटायर्ड हुनुभएका देवेन्द्र मिश्रसँग मधेश राजनीतिमा ठूलो योेगदान र अनुभव छ । तर राजनीतिमा के ट्रनिङप्वाइन्ट आयो जसले उहाँलाई जनमत पार्टीमा पुर्यायो । प्रस्तुत छ, उहाँले त्यहाँ कसरी काम गरिरहनु भएको छ, जनमत पार्टीको सोच के हो, मधेशमा राजनीति कसरी अगाडि बढी रहेको छ लगायतका विषयमा सहारा टाइम्सले जनमत पार्टीका राजनीतिक समितिका सदस्य देवेन्द्र मिश्रसँग गरिएको कुराकानीको सम्पादीत अंशः
तपाई नेपाल सद्भावना पार्टीमा रहेर लामो समय राजनीति गर्नुभयो, पछि जसपा नेपाल हुँदै जनमत पार्टीमा प्रवेश गर्नुभयो । जनमत पार्टीसम्मको यात्रा कस्तो रह्यो ?
–यात्राको वर्णन गर्न यहाँ साध्य छैन समयले भ्याउदैन । मधेशको अधिकार र पहिचानका लागि स्व.गजेन्द्रबाबुले सदभावना परिषद् गठन गर्नुभएको थियो । त्यसको म पनि संस्थापक हुँ । त्यो परिषद् गठन गर्दा गजेन्द्रबाबुलाई विभिन्न आरोप लागेको थियो । बिखण्डनकारीसम्मको आरोप लाग्यो । तैपनि गजेन्द्र बाबु र हामी आफ्नो अभियानमा अगाडि बढी रहियौं । उहाँले २०४६ को जनआन्दोलन पश्चात २०४७ मा सद्भावना परिषद्लाई नेपाल सद्भावना पार्टीमा परिणत गर्नुभयो । मधेशको विचार र सिद्धान्तलाई आत्मसात गर्दै गजेन्द्रबाबु अगाडि बढ्नुभयो । उहाँको प्राथमिकतामा जहिले पनि मधेश रह्यो । उहाँ संसदीय राजनीति पनि गर्नुभयो, सत्ताको राजनीति पनि गर्नुभयो तर मधेशलाई उहाँले कहिले छोड्नुभएन ।
उहाँको निधन भएपछि ती सबै मुद्दा छिन्नभिन्न भए । पार्टी पनि छिन्नभिन्न भयो । टुक्रा टुक्रा भयो । म पनि एउटा टुक्राको नेतृत्व गरेको थिए । पछि सर्वोच्चमा मुद्दा गयो । विभिन्न लफडाहरु भए । नेपाल सद्भावना पार्टी निकै कमजोर बन्यो । विभिन्न पार्टी खुल्यो । मधेश आन्दोलन भयो । त्यो आन्दोलनको एउटा हिस्सा सद्भावना पार्टी पनि बन्यो । आन्दोलन पश्चात विभिन्न दलहरु बनेर राजपा नेपाल बन्यो । सद्भावना पार्टी पनि त्यसैमा विलिन भयो । पछि राजपा नेपाल र उपेन्द्र यादवको नेतृत्वमा रहेको समाजवादी पार्टीसँग एकीकरण गरेर जसपा नेपाल बन्यो । जसपा नेपाल केही दिन चल्यो । त्यही व्यक्तिगत टक्रावका कारण जसपा नेपाल विभाजन भयो । म केही समय जसपा नेपालमै बसे । त्यहाँ मैले के पाए भने उपेन्द्रजी मधेशको भन्दा पनि राष्ट्रको कुरा गर्न थाल्नुभयो । उहाँका लागि मधेश प्राथमिकतमा थिएन । अर्को कुरा, त्यहाँ कम्युनिष्ट नेताहरुको हावी थियो । मधेशको हितभन्दा अरु अरु कुरा हुन थालेपछि म त्यहाँ निस्कृय भए । पछि जनमत पार्टीका नेताहरुले सम्पर्क गर्नुभयो । सिके राउतसँग भेट्दा उहाँले गजेन्द्रनारायण सिंहको कुरा गर्नुभयो । उहाँले गजेन्द्रबाबुले उठाउनु भएकोे मुद्दा र विचारको कुरा गर्नुभयो । गजेन्द्रनारायण सिंहको राजनीतिबाट प्रभावित भएर आफू राजनीतिमा लागेको समेत उहाँले भन्नुभयो । गजेन्द्रनारायण सिंहको सिद्धान्तमा नै आफू अगाडि बढेको समेत उहाँले कुरा राख्नुभयो । मैले उपेन्द्र यादव र महन्थ ठाकुरसँग पनि काम गर्ने मौका पाएको थिए तर त्यो पार्टीमा गजेन्द्रनारायण सिंहको चर्चा समेत मैले सुन्न पाएको थिएन । सिके राउतले मधेशलाई प्राथमिकतामा राखेर राजनीति गर्नुहुन्छ । गजेन्द्रनारायण सिंहको विचार र सिद्धान्तलाई अँगाल्नुभएको छ । मलाई चाहिएको त्यही थियो । म त्यो पार्टीमा प्रवेश गरे ।
तपाईले नेपाल सद्भावना पार्टीमा गर्नुभएको राजनीति र अहिले जनमतमा गरिरहनु भएको राजनीतिमा कतिको फरक छ ?
–वैचारिक तथा सैद्धान्तिक हिसाबले केही फरक छैन । काम गर्ने शैली, विषयवस्तुको प्रस्तुतीमा केही फरक भएको छ । पहिला मधेशमा पहिचान, समावेशी र आरक्षणको कुरा हुन्थ्यो । अहिले सिके राउतजीले मधेशलाई प्राथमिकतामा राखेर राष्ट्रिय कुरा पनि उठाउनु भएको छ । विचारलाई परिमार्जन गर्नुभएको छ । अब मधेशको कुरा गरेर मात्र हुँदैन राष्ट्रियको समस्या पनि समाधान गर्नुपर्छ । र सिके राउतजीले त्यो कुरा उठाउनु भएको छ तर मधेशलाई कहिले छाड्नु भएन । मधेशलाई जहिले पनि प्राथमिकतमा राख्नुभयो । अहिले जनमत पार्टीले ल्याएको नौलो गणतन्त्रको कुरा पनि त्यही हो । गजेन्द्रनारायण सिंहमा जो जोश र रुतवा थियो त्यही जोश र रुतवामा सिके राउतमा पनि देखेको छु । काम गर्ने शैली मात्र फरक हो । समय सन्दर्भ अनुसार फरक पनि हुनुपर्छ । गजेन्द्रनारायण सिंहले गरेको राजनीतिको समय एउटा थियो अहिले त्यो कुरामा नै परिवर्तन आएको छ । लोकतान्त्रिक दल भनाउदाहरुमा नै तानाशाही हावी भएको छ । त्यही दलहरुसँग लड्ने अवस्था आएको छ ।
काम गर्न गजेन्द्रनारायण, महन्थ, राजेन्द्र, उपेन्द्रसँग सजिलो थियो कि सिके राउतसँग ?
–गजेन्द्रनारायण सिंहसँग लामो समय काम गरे । विभिन्न मोर्चामा संघर्ष गरे । सिके राउतसँग एक वर्षदेखि काम गर्दैछु । उहाँलाई बुझ्ने प्रयास गरिरहेको छु । अहिलेसम्म उहाँ आफ्नो लाइनमा हुनुहुन्छ । मधेशलाई प्राथमिकतमा राखेर राष्ट्रिय मुद्दाहरुलाई उठाउनु भएको छ । सिके राउत कहिले सत्तालाई प्राथमिकतमा राख्नुभएन । आफू कहिले सरकारमा जाने कुरा गर्नुभएन । अहिले उहाँ नौलो गणतन्त्रको कुरा गर्नुभएको छ । पक्कै पनि त्यहाँ नयाँ कुराहरु छन् । तर ती सबै कुरामा मधेश छ । मधेशलाई उहाँले कहिले छोड्नु भएको छैन । जो गजेन्द्रनारायण सिंहले गर्नुहुन्थ्यो । तर उपेन्द्र र महन्थमा मैले ती कुराहरु कहिले पाइनन् । उहाँहरु मधेशलाई धेरै पछाडि छोडिसक्नु भएको छ । उहाँहरु आफूलाई राष्ट्रिय नेता भन्नुहुन्छ । ओली, प्रचण्ड, देउवाका हारहारीमा आफूलाई हेर्न थाल्नुभएको छ । सत्ताको कुरा गर्न थाल्नुभएको छ । उहाँहरुको विचारधारमा अस्पष्टता छ ।
गजेन्द्रनारायणले सिधा कुरा गर्नुहुन्थ्यो । पहाडी शासकले हामीमाथि शासन गरेको छ । हामीमाथि विभेद गरेको छ । हाम्रो अधिकार तथा हिस्सा दिएको छैन । मधेशप्रति जुन एकाग्रता गजेन्द्रनारायण सिंहमा थियो त्यो महन्थ र उपेन्द्र यादवमा छैन । सिके राउतले मेधशलाई अगाडि राखेर अरु कुरा गर्नुहुन्छ । गजेन्द्रनारायण सिंहको विचार र सिद्धान्तलाई मोडरेट गर्नुभएको छ । त्यसैले म सिके राउतमा सम्भावना देख्छु । मधेशका लागि केही गर्ने उहाँमा जुनुन देख्छु । जो उपेन्द्र यादव र महन्थ ठाकुरमा कहिले देखिनन् ।
त्यही उपेन्द्र र महन्थहरुले सिके राउतमाथि आरोप लगाउनु हुन्छ कि हामी मधेश आन्दोलनमा हुँदा उहाँ अमेरिकामा जागिरे हुनुहुन्थ्यो, मधेश आन्दोलनमा उहाँको कुनै योगदान छैन तर आज त्यसको फल खाइरहनु भएको छ के यो सही हो ?
–सिके राउतको उमेर नै कति हो र ? हामी आन्दोलनमा हुँदा सिके राउत केटाकेटी हुनुहुन्थ्यो । उपेन्द्र, महन्थ, राजेन्द्रहरुले आफ्नो उमेरसँग सिके राउतको तुलना गरेर कही हुन्छ त । जुनबेला उपेन्द्र, महन्थ, राजेन्द्रहरु आन्दोलनमा थिए त्यतिबेला सिके राउत सायदै बच्चै थिए । पढ्ने लेख्ने उमेर थियो । आफ्नो पढाईमा हुनुहुन्थ्यो । आफ्नो ठाउँबाट संघर्षरत हुनुहुन्थ्यो । उमेरको हिसाबले उपेन्द्र, महन्थ, राजेन्द्रहरुसँग सिके राउतको तुलना नै गर्न मिल्दैन । सिके राउतले आन्दोलन गर्नुभएको छैन भने होइन । उहाँ पनि लामो संघर्ष गरेर आउनु भएको हो । अरुभन्दा फरक ढंगको आन्दोलन गरेर आउनु भएको हो । सिके राउत फरक पहिचान बनाएर आउनु भएको हो । नेपालको राजनीतिमा उपेन्द्र, महन्थ, राजेन्द्रहरुभन्दा सिके राउतको पहिचान अलग छ । त्यसैले उहाँहरुले लगाएको आरोप गलत छ । समाजलाई कसरी परिवर्तन गर्ने, मधेशलाई कसरी परिवर्तन गर्ने भनि सिके राउतले सोच्नुभएको छ तर यो कुराको बारेमा उपेन्द्र, महन्थहरुले कहिले सोच भएन । एमाले–काँग्रेस गठबन्धन बनेपछि तानाशाही भयो भने कुरा सिके राउतले भन्नुभएको छ तर त्यसको बारेमा महन्थ, उपेन्द्रहरुले केही बोल्नुभएको छैन । बरु उनीहरुको काँधमा काँध मिलाएर हिडिरहनु भएको छ । सिके राउत सबभन्दा कान्छो नेता हुनुहुन्छ । तर उहाँको सोच सबभन्दा जेठो र परिपक्क छ ।
मधेश प्रदेशमा जनमत पार्टी नेतृत्वको सरकार छ, अरु सरकारभन्दा केही फरक पाउनु भएको छ ?
–सोच्न त फरक नै सोचिरहेको छ । त्यो कार्यान्वयन कति हुन्छ त्यो फरक कुरा हो तर कार्ययोजना तथा तयारी विगतको सरकारभन्दा पक्कै पनि फरक छ । तर काममा अरु भन्दा फरक केही गर्ला जस्तो मलाई लाग्दैन किनभने त्यो अनुसारको बहुमत नै छैन । त्यो अनुसारको शक्ति नै छैन । एक जना मुख्यमन्त्रीले केही गर्न सक्दैनन् । त्यहाँको कर्मचारीतन्त्र पनि त्यस्तै छ । कमिशन तथा भ्रष्टाचारको जालो पनि त्यस्तै छ । त्यही भएर अरु सरकारभन्दा जनमतको सरकारले केही फरक गर्ला जस्तो मलाई लाग्दैन । सतिश सिंहजी वा जो सिंहजी आए पनि त्यसको आफ्नो बहुमत भएन भने उसले सोचेको अनुसार काम गर्न सक्दैनन् । राम्रो गर्ने कोशिस भइरहेको छ । २०८४ को चुनावमा मधेश प्रदेशमा बहुमत ल्याएर आफ्नै बलबुत्तामा सरकार गठन गरी मधेशका लागि काम गर्नुपर्छ भनि सोच हो जनमतको ।
२०८४ मा जनमत पार्टी कसरी पहिलो पार्टी बन्छ, त्यसको योजना के छ ?
–जनमत पार्टीले योजना अनुसार काम गरिरहेको छ । देशमा भ्रष्टाचार अन्त्य गर्न जनमतले संघर्ष गरिरहेको छ । युवालाई पार्टीमा आकर्षित गरिरहेको छ । बेरोजगारलाई कसरी रोजगारी दिलाउने त्यसका लागि योजनाहरु बनाइ रहेको छ । काँग्रेस, एमाले, माओवादीलगायतका दलबाट नेता कार्यकर्ताहरु पार्टीमा प्रवेश गरिरहेका छन् । जनमत पार्टीले बुथदेखि नै पार्टी संचरचना बनाउन सुरु गरेको छ । र, अर्को मुख्य तथा महत्वपूर्ण कुरा जनमत पार्टीको नेतृत्वको एउटा युवाले गरेको छ । त्यसले धेरैको आकर्षण यो पार्टीमाथि रहेको देखिन्छ ।
त्यसो भए जनमतले बहुमत ल्याएन भने मधेशमा परिवर्तन हुँदैन ?
–मलाई सोध्नु हुन्छ भने परिवर्तन हुँदैन किनभने म मधेशका सबै नेता तथा दलसँग काम गरिसकेको छु । मधेशमा परिवर्तन ल्याउने भिजन सिके राउतभन्दा अरु कोहीमा मैले पाइनन् । अबको मधेश पुरानो सोच र पुरानो शैलीले परिवर्तन हुँदैन किनभने टेस्ट भइसकेको छ । त्यसका लागि लामो समयदेखि प्रयास भएको हो तर भएन अब सिके राउत नेतृत्वको पार्टीले एउटा भिजन दिएका छ । त्यसलाई आत्मसात गर्यो भने मधेशमा परिवर्तन सम्भव छ । तर त्यसका लागि जनमत पार्टीलाई बहुमत प्राप्त हुनुपर्छ । प्रदेश सभा तथा संघमा बढीबढी भन्दा बढी जनप्रतिनिधि पुर्याउनुपर्छ किनभने अहिलेको संसदीय राजनीतिमा सँख्याले धेरै महत्व राख्छ । जनमत छ भने परिवर्तन सम्भव छ ।
दुई दल (काँग्रेस–एमाले गठबन्धन)ले जे क्रियाकलाप गरिरहेका छन् त्यो हिसाबले जनतमत पार्टी मधेश प्रदेशमा एक नम्बरको पार्टी बन्ला जस्तो लाग्छ तपाईलाई ?
–हामीले त्यही दुई दलीय तानाशाहीको कुुरा उठाइरहेका छौं । हाम्रो लागि झन फाइदाको कुरा भयो । जनतालाई त्यही तानाशाहबाट बचाउँछौं र नौलो गणतन्त्रको स्थापना गर्छौ । जतिजति दुई दलको तानाशाही अगाडि बढ्छ त्यति त्यति हामीले उठाएको नौलो गणतन्त्रको बलियो हुँदै जान्छ । अहिलेको दलहरु जति तानाशाह बन्छन् त्यति नै जनमत पार्टीलाई फाइदा हुन्छ । अहिले बनेका दुई दलीय गठबन्धनले संविधान संशोधन गरेर के के गर्न लागेको कुरा बाहिर आएका छन् । साना दललाई समाप्त गर्ने र देशमा दुई दलीय व्यवस्था कायम गर्ने भनेको छ । प्रतिनिधि सभाबाट समानुपातिक व्यवस्था हटाउने जस्ता कुरा पनि बाहिर आएको छ यद्यपी आधिकारिक कुरा बाहिर आएको छैन । यदि त्यस्तो हो जनमतले उठाएको नौलो गणतन्त्र छिट्टै स्थापित हुन्छ र यसलाई लिएर देशमा धेरै ठूलो विद्रोह हुन्छ ।
तपाई फरक आन्दोलनबाट स्थापित नेता, सिके राउत फरक मिसन र आन्दोलनबाट स्थापित नेता । तपाईलाई काम गर्न त्यहाँ कतिको सहज भइरहेको छ ?
–मैले अघि नै भने कि गजेन्द्रनारायण सिंहपछि मलाई अहिले जनमत पार्टीमा काम गर्न कम्फर्टेबल भएको छ । मधेशका लागि काम गरिरहेको छु जस्तो लाग्छ । सिके राउत कुन मिसनबाट आउनु भएको छ त्यो मलाई थाह भएन । विगतमा उहाँले के गर्नुभयो त्यो पनि मलाई थाह भएन तर अहिले यति भन्छु कि उहाँ मधेशका लागि इमान्दारीपूर्वक लाग्नुभएको छ । नौलो गणतन्त्रको कुरा गर्नुभएको छ । देशमा नयाँ विचारको प्रवाह गर्नुभएको छ । जनताको कुरालाई उहाँले सदैव उठाइ रहनु भएको हुन्छ । त्यसले मलाई यहाँ काम गर्न कुनै गाह्रो वा असहज छैन । बरु मलाई जसपा र राजपामा काम गर्न असहज जस्तो थियो । त्यहाँ के भइरहेको छ, कसले के गरिरहेका छन् केही पनि थाह हुँदैन्थ्यो । कुन विचार र सिद्धान्तमा काम गरिरहेको छ केही पनि स्पष्ट थिएन । तर यहाँ सबै कुरा स्पष्ट छ ।
तपाई सबै नेताको साथमा काम गरिसक्नु भएको छ एउटा कुरा बताइ दिनुस् त मधेशमा नयाँ गठबन्धन वा मोर्चाको सम्भावना कति छ ?
–मधेशमा गठबन्धन त्यतिबेला मात्र बन्छ जतिबेला मधेशवादी दलका बजुर्ग नेतारुले विश्राम लिनुहुन्छ । अब ती नेताहरुबाट मधेशको कल्याण छैन । अब उहाँहरुले विश्राम लिएर पार्टीको नेतृत्व युवालाई दिनुपर्छ । काँग्रेस, कम्युनिष्टमा लामो समय काम गरेर मधेश राजनीतिमा आउनु भएका उहाँहरु मधेशको मुद्दामा कन्फ्युज हुनुहुन्छ । उहाँहरुको प्राथमिकतामा मधेश छैन । अब राजनीतिमा नयाँ जेनरेशन आइसकेका छन् । पार्टी त्यसलाई हस्तान्तरण गर्नुपर्छ । पार्टीमा सम्मानित नेताको रुपमा उहाँहरु बस्नुपर्छ । यो कुरा ममा पनि लागु हुन्छ । म पनि अब त्यो दौडमा छैन । म पनि युवालाई अगाडि बढाउन चाहन्छु । म जुन सोचका साथ राजनीति गरेका थिए त्यो सोचले अबको राजनीति हुँदैन भनि बुझेको छु । त्यसैले अबको राजनीतिमा नयाँ पुस्ता अगाडि आउनुपर्छ । त्यसलाई हामीले सहयोग गर्नुपर्छ ।
यसको मतलब उपेन्द्र, महन्थ, राजेन्द्रहरु हुँदा मधेशमा मोर्चाबन्दी हुँदैन होइन ?
–उहाँहरुको बिचमा इगो टक्राव छ । तपाईले अघि सोध्नु भएको थियो नि कि सिके राउत मधेश आन्दोलन गर्नुभएको छैन अहिले त्यसमा हाम फाल्नु भएको छ भनि आरोप छ । हो, त्यो इगोका कारण मधेशमा एकता भइरहेको छैन । उहाँहरु पटक पटक उपप्रधानमन्त्री, मन्त्री, सांसद बन्नुभएको छ । नेपाली राजनीतिमा लामो योगदान छ भन्नुहुन्छ । जेलनेल भोगेको छु भन्नुहुन्छ । देश र विदेशले चिनेको छ भन्नुहुन्छ । आफूले आफूलाई कोही कसैभन्दा कम ठान्नु भएको छैन । र त्यही इगोका कारण कसैको कसैसँग कुरा मिलेको हुँदैन । त्यसैले मधेशमा अब नयाँ जेनरेशनलाई राजनीति नेतृत्व हस्तान्तरण गर्नुपर्छ । त्यसपछि मात्र केही नयाँ हुन्छ नत्र अब पुरानै दल, पुरानै नेता, पुरानै सोचले मधेशमा केही सम्भव छैन । किनभने जनताको सोचमा पनि धेरै परिवर्तन आइसकेको छ ।

तपाईको प्रतिक्रिया