–विजय यादव
जनता समाजवादी पार्टी नेपाल गत बैशाख २३ गते विभाजन भयो । अप्रत्याशित ढंगले पार्टी विभाजन हुँदा जसपा नेपालका कार्यकर्तामा एक खालको निराशा त देखिएको थियो नै पछिल्लो समय जसपा नेपाल चारैतिरबाट घेराबन्दीमा पनि पर्यो । त्यसले झन निराशा थपियो । केन्द्रमा काँग्रेस, एमाले, माअोवादीहरुले पनि जसपा नेपाललाई एक्ल्याउने कोशिस गरे । र, अहिले पनि त्यो कोशिस जारी राखेका छन् । मधेशमा जनमत पार्टीदेखि लिएर लोसपा नेपाललगायत अन्य दलहरु पनि जसपा नेपाललाई घेरबन्दीमा पार्ने कोशिस गरि रहे । यसले प्रष्ट हुन्छ कि जसपा नेपाल देशकै शक्तिशाली पार्टी हो जो सबैको आँखाको तारो बनेको छ । जसपा नेपाललाई समाप्त गरे मात्र मधेशमा ठाउँ पाइन्छ भनि सबै दलको बुझाई रहेको छ ।
अरु कुरामा नसकेपछि ती शक्ति दलहरुले जसपा नेपाललाई विभाजन गर्ने काम गरे । जसपा नेपाल विभाजनमा एमाले र माओवादीको हात रहेको प्रष्ट छ । एमाले र माओवादी खुलेर नै जसपा नेपाल विभाजनमा लागेको कुरा ती दलका शीर्ष नेताहरुले नै स्विकार गरेका छन् । जसपा नेपाल विभाजन गर्न सरकारले नै आफ्ना सम्पूर्ण शक्ति लगाएको थियो । रातारात यसरी नयाँ पार्टी दर्ता हुनु अहिलेसम्म नेपालको पहिलो घटना हो सायद । त्यो शक्ति त्यतिबेला लगायो जतिबेला जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव मुलुक बाहिर हुनुहुन्थ्यो । यो त भयो घरमा कोही नभएको बेला चोरी हुनु । यसबाट प्रष्ट हुन्छ कि यो देशमा जसपा नेपाल शक्तिशाली पार्टी हो नै । जसलाई विभाजन गर्न देशका ठूला दल र सरकारले आफ्ना सम्पूर्ण शक्ति लगाएको थिए ।
घेराबन्दीमा जसपा
पार्टी विभाजन भएपछि पनि जसपा नेपाललाई घेराबन्दी गरेको छ । जसपा नेपाललाई कसरी कमजोर बनाउन सकिन्छ । कसरी समाप्त गर्न सकिन्छ विभिन्न शक्ति केन्द्रहरु अझै पनि लागेका छन् । संघदेखि प्रदेशसम्म सरकारभन्दा बाहिर राख्यो । जसपा नेपालका अध्यक्षलगायत अन्य नेताहरुमाथि विभिन्न मुद्दा लगाउने प्रपञ्च भइरह्यो । यस घेरबन्दीबाट जसपा नेपालले आफूलाई निकाल्न अहिलेलाई सफल भएको छ । अब जसपा नेपाल फरक ढंगबाट फरक सोचका साथ जनतामा जानुपर्छ । जसपा नेपालमाथि जुन भ्रमहरु सृजना गरेका छन्, त्यसलाई चिर्न जसपा नेपाल योजनाबद्ध तरिकाबाट अगाडि बढ्नुपर्छ ।
पार्टीभित्र र पार्टी बाहिर देखिएको घेरबन्दीलाई पार्टीका अध्यक्ष उपेन्द्र यादवले तोड्न सक्नुपर्छ । पार्टीभित्र को असल को खराब, को पार्टीप्रति प्रतिवद्ध, को धोखेबाज । यी सब कुराको ख्याल पार्टी अध्यक्षबाट हुनुपर्छ । कतिपय यस्ता नेताहरु छन् जो अध्यक्ष उपेन्द्र यादवकै वरिपरी रहेर पार्टीलाई क्षति पुर्याई रहेका हुन्छन् । ती त्यही व्यक्ति हुन् जो पार्टीबाट पटक पटक फाइदा लिएका छन् र लिइ पनि रहेका छन् तर मौका पाएमा पार्टीलाई धोका दिने गरेका छन् । र, त्यो अवस्था अझै पनि पार्टीमा कायम छ । त्यस्ता व्यक्तिलाई पार्टीका अध्यक्षज्युले पहिचान गर्नुपर्छ ।
पिठ्युमा छुरा घोप्नेहरु
पार्टीभित्र कतिपय यस्ता नेताहरु छन् जो मुखमा रामराम र बगलीमा छुरा राखेका छन् । मौका आउने बित्तिकै पिठमा छुरा घोप्न बेर लगाउदैनन् । त्यस्ता नेताबाट पार्टी सचेत रहनुपर्छ । बाहिरका दुश्मनसँग जित्न सकिन्छ तर घरका दुश्मनसँग जित्न सकिदैन । बाहिरका घेरबन्दीलाई तोड्न सकिन्छ , घरका घेरबन्दीलाई तोड्न सकिदैन । त्यसैले यस्ता कुरामा पार्टी नेतृत्वले समयमा ख्याल गर्नुपर्छ ।
जसपा नेपालको इतिहास मधेशी जनअधिकार फोरमदेखि नै केलाउँदा के देखिन्छन् भने पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई त्यही व्यक्तिले धोका दिँदै आएका छन् जो उहाँको सबैभन्दा निकट हुन्छन् । अध्यक्ष उपेन्द्र यादवको आडमा पटक पटक फाइदा लिएका हुन्छन् त्यही व्यक्तिले धोखा दिएर भाग्छन् । त्यसलै अध्यक्ष उपेन्द्र यादवले अब पनि त्यस्ता व्यक्तिबाट सचेत रहन सक्नु भएन भने बाहिरको दुश्मनसँग जति लडेपनि अन्त्यमा घरमा नै हार्नुपर्छ ।
केही समयदेखि जसपा नेपाललाई भएको क्षतिको ‘ड्यामेज कन्ट्रोल’ भएको छ । अध्यक्ष उपेन्द्र यादवले फेरि आफूलाई कुशल संगठक प्रमाणित गर्नुभएको छ । घेराबन्दीलाई तोड्दै अगाडि बढ्नुभएको छ । पार्टीको महाधिवेशन गराउन पनि सफल हुनुभयो । पार्टीको महाधिवेशन सम्पन्न भएपछि चार दिनसम्म सानदार तरिकाले पार्टीको केन्द्रीय समिति चल्यो । र, सो बैठकबाट जसपा नेपालले सचेत र योजनाबद्ध तरिकाले कदम चालेको देखिन्छ । अध्यक्ष उपेन्द्र यादवले पार्टीको केन्द्रीय पदाधिकारी पनि चयन गर्नुभएको छ । केन्द्रीय समिति तथा कार्यकारिणी समिति पनि विस्तार गर्नुभएको छ ।
संगठनका यी महत्वपूर्ण कामहरु यो बिचमा भएको छ । जसले पार्टीलाई नयाँ रुपमा देखिएको छ । पार्टीको ‘रिकन्ट्रक्सन’ भएको जस्तो देखिन्छ । पार्टीका नेता तथा कार्यकर्तामा एउटा उर्जा थपिएको छ । नयाँ जोशका साथ आआफ्नो क्षेत्रमा जुटेका छन् । केन्द्रीय समितिले भुगोलमा दिएका जिम्मेवारी लिएर नेताहरु आआफ्नो भुगोलमा खटि सकेका छन् । जसले पार्टीभित्र नयाँ जोशको सञ्चार भएको छ । जसपा नेपालले चार महिने ‘जनतासँग जसपा नेपाल अभियन्ता अभिमुखीकरण’ कार्यक्रम प्रारम्भ गरेको छ । जसको उद्घाटन भदौं ९ गते विधिवत रुपमा भयो । त्यस्तै त्यस्तै कार्यक्रमहरु अन्य प्रदेशमा पनि हुने पार्टीले निर्णय गरेको छ ।
सरकार नो म्याण्डेट
पार्टीका सम्पूर्ण अंग अहिले क्रियाशिल छ । यो क्रियाशिलतालाई २०८४ सम्म कायम राख्नुपर्छ । २०८४ सम्म जसपा नेपालले दयाँ बयाँ हेर्नु हुँदैन । सरकारको बारेमा त सोच्नै हुँदैन । विकास र संगठन चलाउनका लागि सरकार चाहिन्छ तर त्यसले पार्टीलाई दीर्घकालिन फाइदा नभएको इतिहास छ । जब जब जसपा नेपाल (फोरमदेखि) सरकारमा गएको छैन, तब तब पार्टी बलियो भएको छ । संगठन क्रियाशिल हुन्छ । जब सरकारमा जान्छ अनि संगठन कमजोर हुन्छ । पार्टी विभाजन हुन्छ । पार्टीभित्र असन्तुष्टि बढ्छ । यसरी बुझ्दा जसपा नेपाललाई मधेश आन्दोलनले सरकारमा जाने म्याण्डेट दिएको होइन ।
२०८४ सम्म जसपा नेपाल सरकारमा गएन भने मधेश प्रदेशमा एक नम्बरको पार्टी बन्छ नै संघमा पनि राम्रो स्थान ल्याउछ । मधेश प्रदेशमा जसपा नेपाल सात वर्ष नेतृत्व गर्यो तर त्यसको फाइदा पार्टीले लिन सकेन । जसपा नेपाल नेतृत्वको सरकारले केही महत्वपूर्ण कामहरु पनि गरेका छन् तर त्यसको स्वामित्व लिन सकेन । पार्टीको तर्फबाट त्यसको प्रचार प्रसार नै भएन । त्यसले गर्दा पनि जसपा नेपालप्रति सरकारलाई लिएर राम्रो सोच देखिएको छैन ।
त्यसले गर्दा केही दिन सरकारबाट परहेज गर्दा नै राम्रो हुन्छ । यो चार महिने अभियानले पार्टी संगठन बलियो हुने अपेक्षा गरिएको छ । धेरैभन्दा नयाँ सदस्य बनाउने उद्देश्य पार्टीले राखेको छ । ८४ सम्म पाँच लाख क्रियाशिल सदस्य बनाउने अठोटका साथ यो अभियान सञ्चालन भएको हो । यो पार्टीका नेता तथा कार्यकर्ताका लागि निकै चुनौतीपूर्ण कुरा हो । तराई मधेशमा राजनीतिमा निकै प्रतिस्पर्धा छ । रणनीतिक ढंगबाट अगाडि बढेन भने लक्ष्य प्राप्त गर्न गाह्रो हुन्छ ।
के के हुन्छ अभियानमा ?
यो अभियानको क्रममा टोल, बुथ, गाउँ÷नगर÷पालिका, प्रदेश÷संघीय निर्वाचन क्षेत्रमा समिति गठन÷पुर्नगठन, संगठन विस्तार, प्रशिक्षण, अन्तरक्रिया, गोष्ठी, जनसभा लगायत अन्य कार्यक्रमहरु गर्ने र सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरण गरी पार्टी सदस्य संख्या कम्तिमा ५ लाख सम्म पुरÞ्याउने पार्टीले केन्द्रीय समितिबाट निर्णय गरेको छ ।
अभियानको क्रममा सबै स्थानीय तह अन्तर्गतका टोल, बुथ, वडा, गाउँ÷नगर, प्रदेशसभा र संघीय निर्वाचन क्षेत्र स्तरसम्म संगठनको सञ्चालन गर्ने, पार्टी नेता तथा कार्यकर्ताको सैद्धान्तिक, वैचारिक र राजनीतिक क्षमताको अभिवृद्धी गर्ने, वैचारिक रुपले वैकल्पिक र सांगठनिक रुपले मजबुत पार्टी निर्माण गर्ने कार्य हुन्छ । अभियान्ताहरुले जनसरोकारका विषय र जनसमुदायले दिएका उचित सुझावहरु संकलन गर्नुको साथै पार्टी, नेता, कार्यकर्ता र जनता बिचको सम्बन्धलाई मैत्रीपूर्ण एवंम सुमधुर बनाउने प्रयास अभियानको क्रममा हुने पार्टीले उद्देश्य तय गरेको छ ।
अभियानको क्रममा पार्टी सदस्यहरुको तथ्याङ्क संकलन गर्नुको साथै उनीहरुको टोल, वडा, पालिका तथा निर्वाचन क्षेत्रको अवस्था बारे यथार्थ र वस्तुनिष्ठ जानकारी संकलन गर्ने काम पनि हुन्छ । त्यस्तै, पार्टीमा उत्पन्न हुने सक्ने या भएका अन्तरविरोधको पहिचान गरी भएका समस्याहरुको समाधानमा ठोस पहलकदमी लिनुको साथै आम जनता बिच पार्टीको विचार, सिद्धान्तलाई लोकप्रिय बनाउन अभियन्ताहरुले भूमिका खेल्नुपर्ने पार्टीले निर्देशन दिएको छ ।
अभियान्ताहरुले तोकिएको क्षेत्रमा ठोस रुपले पार्टीको मुद्दा, विचार र सिद्धान्तलाई बहसको विषय बनाउने, पार्टी समिति प्रणालीको अभ्यास गराउँदै टोल÷बुथ समितिदेखि नै पार्टी अनुशासन, विधि आदिको ज्ञान सञ्चार गराउने काम गर्नुपर्ने हुन्छ ।
जसपा नेपाल सरकारमा रहँदा वा नेतृत्वमा रहँदा सरकारले गरेका राम्रा कामहरुको प्रचार प्रसार गर्ने काम पनि अभियानको क्रममा गर्नुपर्ने हुन्छ । यदि सरकारमा रहेको बेला नराम्रो काम भए वा गरेको भए त्यसको जानकारी पार्टीलाई गराउन भनेको छ । पार्टीबाट चोईटिएर गएका केही लोभी, स्वार्थी र अवसरवादीहरुले आम समुदायमा छरेको भ्रमलाई चिर्ने र उत्पिडित समुदायको नेतृत्व गरेको एकमात्र पार्टीलाई क्षति पुर्याउनेहरुको भण्डाफोर गर्ने काम पनि अभियानको क्रममा हुन्छ ।
जसपा नेपालको केन्द्रीय समितिमा पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्तावलाई नै मुल आधार मानेर अभियान चलाउने भएको छ । संघीयता कार्यान्वयन सम्बन्धमा, संविधान संशोधन, समाजिक न्यायको हक, निर्वाचन क्षेत्र निर्धारण, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, बहुभाषिक नीति, हवाइ सुरक्षालगायत एजेण्डाहरु लिएर अभियन्ताहरु जनता समक्ष गएका छन् ।
संघीयता र संविधान संशोधन
जसपा नेपालले संघीयता कार्यान्वयनका लागि पनि केही सुझाव दिएको छ । प्रहरी कर्मचारी समायोजन ऐन, २०७६ बमोजिम प्रदेश सरकारहरूलाई प्रहरी हस्तान्तरण गर्न जसपा नेपालले गरेको छ । संघीय निजामती ऐन संसदबाट पारित गरी कर्मचारी समायोजन सम्बन्धी कार्यहरू सम्पन्न गर्न, प्रदेश सरकारमा मन्त्रालयहरूको संख्या घटाउन, संविधानको अनुसूची ६ र ७ को अधिकार सूचीअनुसार प्रदेशहरूलाई क्षेत्राधिकार प्रदान गर्न पनि जसपा नेपालले प्रस्ताव गरेको छ ।
संघीय सरकारमा मन्त्रालयको संख्या घटाउने र प्रदेश मामिला सम्बन्धी विषयहरू प्रदेश सरकारलाई नै जिम्मेवारी दिने र अनावश्यक फिजुल खर्च कटौती गर्ने जसपा नेपालको जोडदार माग रहेको छ ।
संविधान बमोजिम प्रदेशलाई हस्तान्तरण गर्न बाँकी रहेका विभिन्न मन्त्रालय मातहतका निकायहरू प्रदेशलाई तुरून्त हस्तान्तरण गर्न भन्दै संविधानको धारा ५६ (५) मा व्यवस्था भए बमोजिम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र कायम गरी त्यसको क्षेत्राधिकार निर्धारण गर्न पनि जसपा नेपालले भनेको छ ।
जसपा नेपालले संविधान संशोधनका लागि समावेशी, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधान संशोधन गरी परिमार्जन गर्नका लागि संविधान विज्ञहरू सम्मिलित ‘संविधान पुनरावलोकन आयोग’ गठन गर्न प्रस्ताव गरेको छ । स्थानीय तहलाई प्रदेश सरकारको क्षेत्राधिकारभित्र रहने गरी राख्न आवश्यक संवैधानिक तथा कानूनी व्यवस्था गर्न पनि जसपा नेपाले भनेको छ ।
संविधानमा आवश्यक संशोधन गरी जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख÷राष्ट्रपतीय प्रणाली, समावेशी तथापूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गर्न पनि जसपा नेपालले प्रस्ताव गरेको छ । त्यसका साथै प्रदेशहरूको नामाङ्करण गर्दा पहिचान झल्कने गरी गर्नुपर्ने जसपा नेपालले भनेको छ । यी एजेण्डका साथमा अभियन्ताहरु चार महिनासम्म बुथसम्मकै कार्यकर्तामाझ रहनेछ ।
जसले जसपा नेपाललाई जरैदेखि माथि उठाउने अपेक्षा गरिएको छ । यसका लागि पार्टीका सबै नेता तथा कार्यकर्ता इमान्दारीपूर्वक लाग्नुपर्ने देखिन्छ । यो चार महिना जसपा नेपालका नेता तथा कार्यकर्ताका लागि अग्नीपरीक्षा हुनेछ र यसबाट नै नेताहरुको मूल्यांकन हुने भनिएको छ । (लेखक विजय यादव जसपा नेपालका नेता हुनुहुन्छ)
तपाईको प्रतिक्रिया