बाँकेको नेपालगञ्जमा ऐतिहासिक रामलीला महोत्सवको संरक्षण गर्दै १५७औँ संस्करणको तयारी सुरु भएको छ । प्रत्येक वर्ष दसैँका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा रामलीला महोत्सव मञ्चन हुँदै आएको छ । यो वर्ष रामलीलाको १५७औैँ संस्करणका लागि आवश्यक तयारी सुरु गरिएको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले जानकारी दिनुभयो । विगतका वर्षमा जस्तै यस वर्ष पनि रामलीला महोत्सव सञ्चालन गर्ने तयारी भइरहेको बताउँदै अध्यक्ष कनोडियाले यसवर्ष भारतको बृन्दावनबाट कलाकार ल्याउने गरी तयारी गरिएको जानकारी दिनुभयो । आगामी वर्षका लागि स्थानीयस्तरमा कलाकार उत्पादन गर्न तालिम सञ्चालन गर्ने योजना बनाइएको अध्यक्ष कनोडियाले उल्लेख गर्नुभयो । उहाँका अनुसार एउटा आयोजनामा कम्तीमा १५ लाख रुपियाँ खर्च हुने गर्दछ ।
ऐतिहासिक विरासतलाई निरन्तरता दिन र जीवन्त राख्न स्थानीय कलाकार उत्पादनलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढ्ने बताउँदै कनोडियाले यसमा स्थानीय सरकारको सहयोग आवश्यक पर्ने उल्लेख गर्नुभयो । १५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला महोत्सवको १५३ र १५४औँ वर्ष प्रवेशको कार्यक्रम कोरोना महामारीका कारण स्थगित गरिएको थियो । चासो र उत्साहका साथ रामलीला महोत्सवमा सयौँको सँख्यामा स्थानीयका साथै भारतका दर्शक पनि मध्यरातसम्म सहभागी हुने अध्यक्ष कनोडियाले जानकारी दिनुभयो । उहाँका अनुसार धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक भएर रामलीला महोत्सव समापन हुने गर्दछ ।
यसक्षेत्रको परिचय बनेको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगञ्जलाई चिनाएको सञ्चालक समितिका अध्यक्ष कानोडियाले बताउनुभयो । उहाँका अनुसार विश्वनाथ टण्डन, बद्रीनाथ टण्डन, पाटनदिन गुप्ता, जगदिशप्रसाद वैश्य, पन्नालाल गुप्ता, जयेन्द टण्डन, भाइलाल हल्वाईलगायतले नेपालगञ्जमा रामलीला महोत्सवको सुरुवात गर्नुभएको थियो ।
नेपालगञ्जको परम्परालाई जोगाइ राख्न सहयोग संकलन गरेर महोत्सव गर्दै आइएको स्थानीय अगुवा द्वारिकाप्रसाद वैश्यले बताउनुभयो । उहाँका अनुसार विसं १९२५ देखि नेपालगञ्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हँुदै आएको यो कला नेपालीका साथै सीमावर्ती भारतीयबीच लोकप्रिय छ । भारतको उत्तरप्रदेशबाट हजारौँ श्रद्धालु रामलीला दर्शनका लागि आउने गरेका उहाँले जानकारी दिनुभयो ।
तपाईको प्रतिक्रिया