Khadya Bibhag

सम्बन्ध विच्छेद गरौं भनेकोमा मेरो मञ्जुरी छैन

–सोनी सिन्धु रानी
विपक्षी फिरादी मेरो पति (डा.सिके राउत) हुनुहुन्छ । त्यो सत्य हो र हाम्रो दाम्पत्य जीवनबाट तीन जना सन्तानको जायजन्म भएको छ । त्यसबाहेक फिराद दावी लिएका अन्यहरु सबै कपोलकल्पित र असत्य हुन् । मिति २०६४ असार २५ गते समाजिक परम्परा अनुसार विवाह भएको हो । हाम्रो दाम्पत्य सम्बन्धबाट ११ वर्षको छोरा योगेशानन्द राउत, १० वर्षकी रेवा राउत र ७ वर्षकी छोरी आभा राउतको जन्मभएको हो । विवाह पश्चात केहि महिनासम्म पारिवारिक अवस्था राम्रै थियो ।
मेरो जन्म भारतमा भएको हो । विवाह नेपालमा भयो । हाम्रो धेरै संस्कृति एक अर्कामा मिले पनि धेरै कुराहरुमा मलाइ शुरुको दिन अप्ठ्यारो नै पर्दथ्यो तापनि एक बुहारी भएको नाताले मैले घरायासी कार्यहरु राम्रोसँग गर्दै आएर विपक्षी पतिको राजनैतिक कार्यक्षेत्र सफल बनाउनका लागि आफूले सक्दो प्रयास र सहयोग गर्दै आएको छु । विपक्षी पति इङ्गल्याण्ड मा पिएचडिको अध्ययन पुरा भइ नसकेकोले पतिको साथ विवाह भएको केही समयपश्चात इङ्गल्याण्ड गए ।
पिएचडिको अध्ययन सकिएलगत्तै विपक्षी पतिले अमेरिकाको वोस्टनमा रहेको बीबीएन टेक्नोलोजी अफिसमा कामको लागि आवेदन दिनु भएको थियो र आवेदन दिए लगत्तै विपक्षी पतिलाई अमेरिका जानु पर्यो । साथमा म पनि गए । बिबिएन कम्पनीमा काम राम्रै चल्दै थियो ।
त्यतिबेला म गर्भवती थिए । अमेरिकामा बस्दै गर्दा २०६८ वैशाख ९ गते अर्थात सन् २०११ अप्रिल २२ का दिन ठूलो छोरा योगेशानन्द राउतको जन्म भयो । म विपक्षीसँगै बस्दा मलाई पतिले विभिन्न गाली गलौज गर्ने, बचन लगाउने कुटपिट गर्ने कार्य गर्न शुरु गर्नुभएको थियो । नयाँ ठाउँ कोही चिनेको थिएनन् । आफूले सहेर बस्नुको विकल्प केही थिएन निज विपक्षीले चिनेका जानेको कोही व्यक्ति चिनाई दिनहोस् न भन्दा तिम्रो माइती नै उठाएर अमेरिका ल्याइदिउ भन्ने जस्तो शब्द प्रयोग गर्नुहुन्थ्यो र म पनि मेरो पति भन्दा बाहेक को नै चिन्नु छ र भन्ने ठानी आफ्नै काममा व्यस्त रहन्थे ।
राजविराजमा यातना
त्यसरी नै दिनचर्या राम्रै चल्दै थियो । अचानक विपक्षी पतिले उक्त कम्पनीबाट राजिनामा दिनु भयो । त्यस लगत्तै हामी नेपाल आयौ । त्यति बेला ठुलो छोरा ६ महिनाको थियो । सन् २०११ को अक्टुबरमा हामी नेपाल आयौ । नेपाल आएपछि हामी सप्तरी जिल्लाको राजविराज घरमा बस्यौ । नेपाल आएको केही दिनपछि विपक्षीपतिले ममाथि शारिरीक र मानसिक याताना दिन शुरु गर्नु भयो । सासु, ससुरा र नन्द मिलेर मलाई यो कामचोर ठग हो, घरको केहि काम गर्दिन, विरामी भएको नाटक गर्ने जस्ता शब्दहरु बोलेर मलाइ मानसिक, याताना दिन शुरु गरे ।
त्यो यातनाले हर्दै पार गर्यो । विपक्षी पतिले नै बिभिन्न गाली गलौज गर्ने, वचन लगाउने, कुटपिट गर्ने जस्तो व्यवहार देखाएपछि घरका सबै सदस्यले मलाइ असाध्यै हेला होच्याउने, विभिन्न अपशव्द वोली मानसिक र शारिरीक याताना दिने गर्न थाल्नुभयो । मेरो बच्चा सानै थियो । सुत्केरी अवस्थामा पनि मैले आराम र स्याहार पाइन, शरीर दुखी रहने जस्ता समस्या आइरहन्थ्यो । यतिसम्म हुँदा पनि विपक्षीपतिले मलाइ कहिले राम्रो गर्नुभएन मलाई सधै घरमा काम गर्ने नोकरको रुपमा हेर्ने र सोही वमोजिमको व्यहार गर्नुहुन्थ्यो । आफ्नै पतिले राम्रो व्यवहार नगरे पछि घरका अरु सदस्यले पनि कहिले राम्रो व्यवहार गर्नु भएन ।
परिवारबाट पाइरहेको मानसिक र शारिरीक यातनाको शिकारबाट आजित भएर मैले डिर्भोसको कुरा उठाएको हो नत्र घरमा राम्रो भएको भए एउटा नारीले बच्चा भईसके पश्चात सम्बन्ध बिच्छेद गर्छु भन्न कसैले चाहदैन । किनकी म शारिरीक र मानसिक यातनाबाट पटक–पटक शिकार भइरहेको कारणले त्यसबाट छुटकारा पाउन डिभोर्स मागे तर विपक्षीपतिले तलाई घरको काम गर्न लिएर आएको हो, तँ घरको काम गर अरु बढी कुरा गर्ने होइन धम्कियाउने गाली गलौज र अपशब्द बोलेर मलाई डिभोर्स नदिने कुरा गर्नुभयो । यसरी दिन दिनको कलह बढ्दै गएता पनि मैले आफूले गर्ने कर्तव्यप्रति सदा पालना गर्दै आएको छु ।
आत्महत्याको प्रयास
म अचेत भइसकेकोले त्यस लगतै म पुनः गर्भवती भए । दोस्रो गर्भ भएको ६ महिनामा मैले आत्महत्या गर्ने सोच बनाएकी थिए । मैले धेरै मात्रामा स्लिपिंग ट्याबलेट खाए । राजविराजको सगरमाथा अञ्चल अस्पतातमा भर्ना भइ निकै बेर पछि मेरो होस आयो र भोलिपल्ट मलाई अस्पतालले डिस्चार्ज गर्यो । बच्चाको लागि बाँच्नु पर्ने बाध्यता पनि थियो । मेरो गलत निर्णयको शिकार बच्चा नबनोस् भन्ने ठानी मेरो गर्भको बच्चालाई कुनै हानि गरेन र बच्चा सकुसल पैदा भयो ।
विपक्षी पतिले फिरादमा मैले सुसाइड नोट लेखेको भन्ने फिरादमा उल्लेख गरेता पनि सो कुरामा कुनै सत्यता छैन । मैले घरेलु हिंसाबाट आजित भएर मर्ने योजना बनाउन बाध्य भएकी थिए तर कहिकतै सुसाइड नोट लेखेकी थिइन् । विपक्षीले ममाथि फिराद पत्रमा लगाएको आरोपहरु निराधार छ । मलाई मानसिक यातना शारिरीक यातना दिनुमा विपक्षीकण्ै ठूलो भूमिका छ । दाम्पत्य सम्बन्धको परिभाषा नाघेर विपक्षी पतिले ममाथि ज्यादति काम विपक्षी पतिले गर्नुभएको छ । मसँग दिन रात निहुँ खोजि कुटपिट, झगडा गर्ने गर्नुभएको र सधै तिमी बुहारी मान्छे हो बुहारीको सीमा भित्र बस्नु पर्छ, मैले जे भन्छु त्यो मान्नै पर्छ भनी अति नै दवावमा राख्ने गर्नुहुन्थ्यो ।
विपक्षी पतिले फिरादको बुदा नम्बर च मा उल्लेख गरेको कुरा केही अंशसम्म साँचो हो । सन २०१८ को कुरा हो, ममाथि विपक्षी पतिका परिवारका सदस्यहरुले ज्यादती गरि नै रहेका थिए । आफ्नो सुरक्षाको लागि हार गुहार गर्नु मेरो बाध्यता थियो । आफ्नै परिवारबाट सुरक्षित नभएपछि मैले राष्ट्रिय मानवअधिकार आयोग, भारतीय राजदुतावासमा गुहार मागेकी थिए । तर मलाइ कहि कतैबाट सुरक्षाको ग्यारेन्टी भएन । परिवारको यातनाबाट बच्न म माइती भारत गए । म माइतीमै भएको बेला विपक्षी पति माइतीमा गएर गाली गलौज गरेकोले तथा निजको घरबाट मलाई तनावहरु उत्पन्न भइरहन्थ्यो ।
तत्पश्चात हामी राजविराजबाट जनकपुर बस्न आएका थियौ । सोही बखत विपक्षी पतीले मलाइ पटना लिएर जानुभयो र त्यहाँको पारस अस्पतालमा मेरो उपचार गराउने बहानामा मलाइ तिमिलाई डिप्रेसन छ भन्दै डिप्रेसनको औषधी खुवाउनुभयो । त्यस बखत उपचारको प्रेसकिप्सन प्रमाणको रुपमा पेश गरेकी छु । त्यसपछि पुनः पटना घुम्न भनेर मुम्बई लगि त्यहाँपनि डिप्रेसनको औषधी खुवाउन लगाउनु भयो ।
यसरी मलाइ त्यस्तो मानसिक रोग डिप्रेसन नभए पनि डिप्रेसनको औषधी खाँदा मलाई स्वास्थयमा समस्या हुदै गयो । मसँग झगडा हुँदा तिमीलाई डिप्रेसन छ धेरै नबोल भन्नु हुन्थ्यो । दिन बित्दै गएता पनि तनाव र यातनाको कमी भएन । यी सबै पारिवारिक कारणले गर्दा नै लगातार पाँच वर्षसम्म डिप्रेसनको औषधी खाए । हाल मैले उक्त औषधी खान छोडेकी छु र आफुलाई आराम भएको महसुस गरेकी छु ।
२०८० फाल्गुन महिनामा मैले परिवार नियोजनको शल्यक्रिया गरेकी थिए । त्यो बखत पनि राम्रो स्याहार नपाएर मेरो शरिर अत्यन्तै कमजोर भयो । मलाई त्यो अवस्थामा स्वास्थ्यमा अति नै समस्या भएता पनि पतिले गर्ने माया ममताको सट्टामा झन् शारिरीक र मानसिक यातना दिनु भएकोले २०८१ वैशाख ३१ गते सानी छोरीलाई लिएर म तीन महिनाको लागि माइत गए । ठूलो छोरा र छोरीलाई छोडेर म माइत गएको बखत बच्चाहरुलाई समेत तेरो आमा पागल हो तिमीहरुले उसलाई पागल भन्नु भनि मेरो विरुद्धमा नकारात्मक भ्रम फैलाई मबाट बच्चाहरु टाढा गराउनका लागि भन्नु भएको रहेछ जसको परिणाम स्वरुप अहिलेसम्म पनि बच्चाहरु मसँग धेरै बोल्दैन्न ।
म एक जिम्मेवार आमा
मसँग मेरो बच्चाहरु खुलेर नबोले पनि बच्चाहरुप्रति आमा भएको नाताले गर्नु पर्ने सम्पूर्ण दायित्व पूरा गर्दै आएकी छु । यति धेरै शारिरीक र मानसिक याताना दिएका विपक्षी पतिले अहिले सम्मानित जिल्ला अदालतमा मेरा विरुद्ध अंश सहित सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्नु भएको रहेछ । म सम्बन्ध विच्छेद गर्दिन । किनकी म एक जिम्मेवार आमा हुँ । मेरो नावालक बच्चाहरुको भविष्य निर्माण गर्ने कुरामा मेरो भूमिका असाध्यै महत्वपूर्ण रहन्छ । बच्चाहरुलाई वास्तविक कुरा के हो केही थाहा छैन र म सम्बन्ध विच्छेद गरेर बिचल्ली बनाउन चाहदिन ।
जुन समयमा मलाई घरेलु हिंसा व्यापक मात्रामा दिएका थिए त्यो बखत डिभोर्स माग्दा नदिने विपक्षी पतिले अहिले के कारणले आफै अंशसहित सम्बन्ध विच्छेद माग दावी राखि दर्ता गर्नु भएको छ उक्त कुरा मैले बुझ्न सकेको छैन । मलाइ पेट दुख्ने टाउको दुख्ने लगायत अन्य स्वास्थयमा गडवड भएको अवस्थामा डिप्रेसनको औषधि खाउ भनी दिने जस्ता अस्वभाविक कार्यहरु गर्नु भएकोले र मलाइ सधै दुख दिने मात्र नियत राखेकोले विपक्षीको नै मानसिक समस्या छ जस्तो लागेकोले निज विपक्षीको मानसिक अवस्था जाँच गरी पाउने आदेशका लागि सम्मानित अदालत समक्ष निवेदन गर्दछु ।
मेरा पति जुन सुकै पार्टीको नेता भए पनि मेरो योग्यता क्षमताले भ्याएसम्मको सहयोग गर्नलाई मेरो साथ सहयोग सदाको लागि रहेकै थियो र रहने नै छ । विपक्षी पतिले दिएको यातना जतिसुकै दिएता पनि मैले सहेर आएको छु । तापनि विपक्षीले मेरो विरुद्धमा विभिन्न आरोप लगाई मुद्दा दायर गरेकोले मैले खुलेर बोलेको हुँ । मेरो जन्मघर भारत भएको कुरा स्वीकार गरेर नै विवाह गर्नुभएको हो ।
मेरो विषयमा केही नबुझि विवाह गरेको भन्ने आरोपमा निजका आफन्त बिश्वास पात्रहरुले पक्कै पनि सवै कुराहरु भन्नु नै भएको थियो होला, १७ वर्ष पछि यस्ता विभिन्न आरोप लगाई जेठाजु जयकान्त राउत र जेठानी उषा राउत समेतको उक्साहटमा म प्रति एकदमै गलत कार्य गर्नुभएको छ । जिन्दगीभरको मेरो उर्जासिल समय घरपरिवारलाई नै सर्वश्रेष्ठ ठानी आफ्नो भविश्य तहस–नहस बनाइ परिवार प्रति समर्पित भइ बसेको अवस्था रहेको छ । भारतमा स्कुलमा अध्ययन गर्दै गर्दा विवाह भएको हो र तत्पश्चात म आफ्नो अध्ययनलाई अगाडि बढाउछु भन्दा मलाई अध्ययन गर्न पाउदैन, पढेलेखेका महिलाहरुले पतिले भनेको मान्दैनन्, मैले जे भन्छु त्यो मान्नै पर्छ ।
भनि दवावमा राख्ने गर्नु भएकोले आफ्नो भविष्यप्रति समयमा सोच्नै सकिन । पतिले सम्बन्ध विच्छेद गर्न सक्ने कानुनी व्यवस्था मुलुकी देवानी संहितामा उल्लेखित आधारहरु विपरितका कुनैपनि कार्यहरु मैले गरेको छैन । विपक्षी पतिले सम्पूर्ण सम्पत्ती आफ्नो तथा निजको परिवारको अन्य सदस्यको नाममा राख्नुभएको हुँदा मलाइ के कति सम्पत्ति छ भन्ने कुरा केही थाहा छैन, विपक्षीले मलाई एउटा कामदारको रुपमा भन्दा पनि तल्लो दर्जामा राख्नु भएको र मलाई व्यहारका कुराहरु सबै लुकाइ मसँगको सम्वन्ध विच्छेद गर्न चाहानु भएकोले उक्त सम्बन्ध बिच्छेद गर्न मेरो सहमती नभएको कुरा सम्मानित अदालत समक्ष जाहेर गर्न चाहन्छु । मेरो बच्चाहरु तथा विवाहित पत्नीप्रति एक पिता पतिले गर्नु पर्ने दायित्व पूरा गर्नबाट पछि हट्दै विपक्षीले सम्बन्ध विच्छेदको फिराद दायर गर्नु आफैमा अन्यायपूर्ण कार्य गर्नुभएकोले उक्त फिराद बदरभागी रहेको छ ।
विपक्षीले सम्बन्ध विच्छेद गरौं भनेकोमा मेरो मञ्जुरी छैन । विपक्षी जस्तो एउटा नेपालको सम्मानित राजनितिक दलको मुख्य नेता तथा सांसद भएर मजस्तो एक अवला विवाहित पत्नीप्रति अत्यन्तै अन्यायपूर्ण व्यवहार गर्नुभएको र मेरो कुनैपनि आयस्रोत समेत केही पनि नभएकोले सम्मानित अदालतवाट निजको नाममा रहेको तथा निज विपक्षीको परिवारसँग अंशवण्डा नभइ सगोलमा नै रहेको र मबाट लुकाएर परिवारको अन्य सदस्यका नाममा राखेको सम्पूर्ण सम्पत्तिबाट मेरो वच्चाहरुसगै खाने लाउने बस्ने उपचार गर्ने व्यवस्था समेत विपक्षीबाट दिलाइ भराई पाँउन सम्मानित अदालतवाट न्याय दिलाइ उक्त मुद्दा खारेज गरी मेरो प्रतिउत्तर जिकिर बमोजिम इन्साफ दिलाई पाउँ ।
(सम्बन्ध विच्छेदको माग गर्दै ललितपुर जिल्ला अदालतमा जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले दायर गरेको मुद्दामा सानी सिन्धु रानीले लगाउनु भएको प्रतिउत्तरबाट सभार)

तपाईको प्रतिक्रिया