नेपालको सबभन्दा महान चाड दशैंलाई भन्ने गरेको छ । यो थेगो जस्तो नै भइसकेको छ । जसले पनि महान चाड दशैं भन्ने गरेको सुनिन्छ । यसलाई राष्ट्रिय चाडको रुपमा पनि ब्याख्या हुने गरेको छ । तर यो चाड महान कसरी भयो, राष्ट्रिय पर्व कसरी भयो, कसले बनायो, यसको मापदण्ड के हो । कही कतै उल्लेख छैन । अरु पर्वहरुको जस्तै यसमा पनि देवीको पुजा हुन्छ । पुजाका विभिन्न विधि र प्रकृयाहरु छन् । त्यही विधि र प्रकृयाबाट परम्परादेखि हुँदै आएको पुजापाठलाई महान पर्वको दर्जा दिएको छ जस्तो लाग्छ । दशैं पर्व साँच्चै शक्ति दाहिनी पर्व हो ।
दशैं नेपालीहरूको सबैभन्दा विशेष पर्व हो । नेपाली हिन्दु पात्रो अनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ गरी उत्सवका साथ मनाइने पर्व भएको हुनाले यसलाई दशैं वा ‘विजया दशमी’ का पनि भन्ने गरिन्छ । हिन्दु चन्द्र मासिक पञ्चाङ्ग गणनाको तिथि अनुसार पर्ने भएकाले नेपाली चाडहरू निश्चित गते र तारिखमा नपर्ने हुनाले दशैं पनि अंग्रेजी वा ग्रेगरियन क्यालेण्डर अनुसार सेप्टेम्बर महिनाको अन्त्यदेखि अक्टोबर महिनाको मध्य बिचमा पर्छ । दशैं आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुन्छ र यो पहिलो दिनलाई घटस्थापना भनिन्छ ।
दशैँ प्रतिपदा घटस्थापनादेखि पूर्णिमा (कोजाग्रत)सम्म १५ दिनको हुने भएता पनि पहिलो ९ दिनलाई नवरात्रि र दसौँ दिनलाई दशमी तथा दसैँ भनिन्छ । यो तिथिमा माता दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान् रामले रावणलाई वध गरेर मानवजातिको कल्याण गरेको भन्ने किंवदन्ती छ । प्रतिपदा (घटस्थापना), सप्तमी (फूलपाती), महाअष्टमी, (कालरात्री), महानवमी, विजयादशमी र पूर्णिमा (कोजाग्रत) दशैंका प्रमुख तिथिहरू हुन् ।
यतिका महान पर्व दशैं पछिल्लो समय कुसंस्कृत, कुसंस्कारको रुपमा परिणत हुँदै गइरहेको छ । धार्मिक अनुष्ठानको पर्व भएपनि यसलाई खर्चिलो र भड्किलो बनाइ दिएको छ । दशैं पुजापाठ भन्दा बढी यसमा देखावटी र खर्च गर्ने पर्वको रुपमा दर्ज हुन थालेको छ । दशैंमा को सबभन्दा बढी खर्च गर्ने, को सबभन्दा लुगाफाटा किन्ने, खसी काट्ने, रक्सी खाने भनि प्रतिस्पर्धा हुने गरेको देखिन्छ ।
दशैंमा धनी र गरिबको बिचमा खाडल देखाइ रहेको हुन्छ । धनीहरु शान शौकत प्रदर्शन गरेका हुन्छन् भने गरिबले पनि सकि नसकी त्यस्तै त्यस्तै गर्न खोजेका हुन्छन् । आर्थिक अवस्था कमजोर हुनेहरुले देखाउनका लागि पनि अरुबाट ऋण लिएर पनि दशैं मनाउन बाध्य छन् । पवित्र महान दशैं पर्वका लागि यो कुरिती हो, कुसंस्कार र कुसंस्कृति हो । जसलाई समाजले अस्विाकर गर्न सक्नुपर्छ, त्यसलाई समाजले बाहिष्कार गर्न सक्नुपर्छ । पर्वलाई पर्व जस्तै मनाउनुपर्छ । भड्किलो र खर्चिलो बनाउनु हुँदैन । अरुको देखासिखी गर्नुहुँदैन । आफ्नो क्षमताले भ्याएसम्म मात्र गर्ने हो । घाँटी हेरेर हाड निल्नु त्यतिकै भनेको होइन ।
समाजका व्यक्तिले आआफ्नो क्षमता अनुसार मात्र खर्च गर्दिए वा दशैं मनाइ दिए भने धेरै कुराको समाधान आफै हुन्छ । चाड पर्व कसरी मनाउने त्यो समाजमा निर्भर पर्छ । आधुनिकताका नाममा परम्परादेखि चल्दै आएको चाडपर्वलाई बिकृत बनाउनु हुँदैन । भर्खर तीज सकिएको छ । नारीहरुको लागि तीज महत्वपूर्ण पर्व हो तर पछिल्लो समय त्यसको मर्म समाप्त भइसकेको छ । त्यही अवस्था दशैंको छ ।
यो पर्वलाई किन महान भनेको छ, तर त्यसको असली मर्म नै समाप्त भइसकेको छ । दशैंलाई जाँड पाटीको रुपमा मनाउन थालेको छ । दशैं आउनै लाग्दा कुन ब्राण्डको रक्सी खाने, कहाँ खाने कसरी खाने त्यसको योजना बन्न थाल्छन् । यसखालको विकृतिमा सरकारले पनि ध्यान दिनुपर्ने अवस्था छ । सरकारले पनि यसखालको कुसंस्कार र कुसंस्कृतिलाई रोक्ने प्रयास गर्नुपर्छ ।
तपाईको प्रतिक्रिया