Khadya Bibhag

समृद्धिका लागि दशैँ, राजनीतिका लागि दशैं

–धर्मेन्द्रकुमार कर्ण
दशैँ र दशमी वा दुर्गा पूजा विश्वभरिका हिन्दूहरूले मनाउने महानतम् चाड हो । औपचारिकरूपमा कोजाग्रात पूर्णिमामा सकिने गरी दशंैमा विशेषगरी दश दिनको पुजा गरी विजया दशमी हिन्दूहरूले मनाउने गर्छन् । दश दिन देवी दुर्गाको पूजा गरी यो पर्व मनाइने भएकाले दशैँ वा दशमी भनिएको हो । अन्यथा दुर्गापूजा नै प्राचिनतम बुझाइको आधार रहेको पाइन्छ ।
मानव समाजको उपलब्ध ऐतिहासिक सम्पदाहरूमा वर्णित पुरातात्विक र शाब्दिक प्रमाणहरूका अनुसार दुर्गा हिन्दू धर्मको एक प्राचीन देवी हो । तर पनि ऐतिहासिक तथ्य प्रमाणका आधारमा दुर्गा पूजाको उत्पत्ति फलानो मितिबाट भएको भन्न अस्पष्ट र अप्रमाणित नै छ । दुर्गाको नाम र सम्बन्धित शब्दहरू वैदिक साहित्यमा पाइन्छन् । ऋग्वेद स्तोत्र ४.२८, ५.३४, ८.२७, ८.४७, ८.९३ र १० र अथर्ववेदको खण्ड १०.१ र १२.४ मा पाइन्छन् भने दुर्गी नामको देवता तैत्तिरीय आरण्यकको धारा १०.१.७ मा देखिन्छ ।
वैदिक साहित्य दुर्गा शब्दको उपयोग भईरहँदा दुर्गा पूजाका बारेमा पुराणलगायतका हिन्दू साहित्यहरूमा उल्लेख पाइन्छ । दुर्गा पूजासँग सम्बन्धित मुख्य रचना देवी महात्म्य हो । देवी महात्म्यको रचना काल ईशाको ४०० देखि ६०० को बिच रहेको मानिन्छ । दुर्गाले दुष्टशक्ति क्षणक्षणमा रूप फेरेर दुःख दिने असुर महिषासुरको अन्त्य गरेको सर्वाधिक लोकप्रिय कथाको व्याख्या दुर्गा महात्म्यमा गरिएको छ । महाभारतमा युधिष्ठिर र अर्जुन दुवैले दुर्गाको भजन स्तुति गरेको प्रसङ्ग छ । देवी–भागवत पुराण र अन्य दुई शक्ति पुराणहरूमा पनि दुर्गा पूजाबारे उल्ल्ेख छन् ।
रामायणहरूमा पनि छन् । रावणलाई पराजित गर्नु अघि रामले दुर्गाको आशीर्वाद लिनको लागि पूजा गरेको प्रसङ्ग छ ।
ऐतिहासिक तथ्य प्रमाणका लागि उपलब्ध जीवित पाण्डुलिपिहरूमा दुर्गा पूजाका विषयमा अभिलेख नहुनु अस्वाभाविक हुने भएन् । ११ आँै १२औँ शताब्दीमा जैन ग्रन्थहरुको कथा पनि दुर्गा पूजाको विषेशता र विवरणहरू उपलब्ध छन् ।
दशैँ कृषि फसल भित्र्याउने बेला गरिने चाड पर्वको रुपमा पनि हेरिन्छ भने दोस्रो ठुलो चाड तिहार पनि बाली भित्र्याउने बेला गरिन्छ । यसरी पहिलो ठुलो चाड १० दिन र दोस्रो ठुलो चाड ५ दिनसम्म मनाइने अझ भनौँ दशैँ, कोजाग्रात तिहार छठसम्मको पर्वहरूलाई डेढ महिनाको हिन्दूहरूको चाडपर्वको समय रहेको देखिन्छ ।
हिन्दूहरूका यी चाडपर्वहरू समृद्धि र समृद्धिको कामनासँग जोडिएका चाडपर्वहरू हुन् । समग्रमा कृषिसँग जोडिएको अर्थतन्त्रको साम्राज्य रहेका बेला, भूमी र अन्नबाली मूख्य सम्पत्ति रहेको र तिनको रक्षाका लागि अस्त्रलाई सम्पत्तिको रूपमा लिने गरेको पाइन्छ । भूमी र अन्नबालीका लुटेराहरूसँग लड्न अस्त्रको निर्माण र आक्रमणकारीसँगको प्रत्याक्रमणका लागि विभिन्न अस्त्र र शक्तिको निर्माणको कथा नै दशैँ तिहारलगायतका चाडपर्वहरूको कथा हो ।
समृद्धिको कामना
समृद्धि र समृद्धिको कामनाका लागि गरिने देवी शक्तिका विभिन्न रूपको पूजा आराधना दशैँमा गरिन्छ । ऋग्वेदबाट शुरु भई विस्तार हुँदै आएको देवी शक्तिको विभिन्न रूपको वर्णन मात्रले शत्रुको पराजयको कामनालाई प्रष्ट पार्दछ । समृद्धि र समृद्धिको कामनाको विवेचनालाई अहिलेको समयमा राजनीतिको विवेचनासँग जोडिन पुग्छ । विपन्नताको विरुद्ध समृद्धिको कामना हो भने समृद्धिको सुरक्षा गर्नु विपन्नताको निषेध गर्नु हो । विपन्नता र सम्पन्नताका गहिरो र गम्भीर अर्थ खोज्न जाँदा अर्थात विवेचना गर्न खोज्दा कम्तीमा आठ अर्ब पाना खर्चिनु पर्ने हुन्छ ।
विपन्नताका दुई अर्थमा निर्धनता, गरिबी, पछौटेपन दोस्रो विपन्न हुँदाको स्थिति वा लक्षण । विपन्नको अर्थ निर्धन, गरिब, पछौटे अर्को विपत्तिमा परेको , संकटग्रस्त । निर्धन धन नभएको, कुनै जायजेथा नदेखिएको, गरिब दीनहीन दुःखी, धन केही नभएको, निर्धन, निर्धो, दरिद्र, कङ्गाल सम्पन्नताको अर्थ सम्पन्न हुँदाको स्थिति, समृद्धि, पूर्णता, सम्पन्नका तीन अर्थ चाहिँदो मात्रामा धन आदि भएको, भरिभराउ, समृद्ध दोस्रो पूर्ण समाप्त र तेस्रो सहित, युक्त रहेका छन् । धनका आठ अर्थ छन् ।
कुनै वस्तुसँग विनिमय गर्न सकिने वा लगानी गरिने र लोकव्यवहारमा प्रचलित मुख्य रुपले चाँदी, तामा, पित्तल, सुन आदिको सिक्का, रुपियाँ पैसा । गणितमा जोड्ने वा मिलाउने चिन्ह, जोड । जन्मकुण्डलीमा जन्मलग्नबाट दोस्रो स्थानमा । जीवन निर्वाहमा सहायता पु¥याउने र कमाउने वा प्राप्त गर्न परिश्रम, पुँजी, समय लगाउनुपर्ने मूल्यवान पदार्थ, सम्पत्ति ( खेत जमिन घर रुपियाँ पैसा इ) प्राणसमान परमप्रिय व्यक्ति । यथेष्ट मात्रामा रहने उक्त प्रकारको कुनै चिज ( गोधन, अश्वधन इ) ।
विद्या, बुद्धि, धर्म कर्म आदि । हिसाबकिताबमा कसैका नाउँमा जम्मा भएको रकमकलम( क्रेडिट)
माथि विपन्नता र सम्पन्नताको अर्थ पाठकहरूलाई आउँदैन भनेर प्रस्तुत गर्न खोजिएको होइन् । माथि विपन्नता र सम्पन्नताको गहिरो र संवेदनशील विवेचना गर्न खोज्दा आठ अर्ब पाना खर्च गर्नुपर्ने विषयको पुष्ट्याइँका लागि प्रज्ञा नेपाल बृहत शब्दकोषमा अर्थका रुपमा प्रविष्ट गरिएका शब्द समूहको न्यूनतम अर्थको खोजी गर्दा यतिधेरै गहिराइमा पुगिएयो अझ झन् खोज्दा अन्यत्र पुगिन्थ्यो सहजै भन्न गाह्रो हुन्छ ।
धर्म र राजनीति
सहजरूपमा भन्नुपर्दा मानव समाजमा आएको असन्तुलनलाई सन्तुलनमा ल्याउन गरिएको प्रयास आधुनिक अर्थमा राजनीति हो । धर्मसँग राजनीतिको अन्योन्याश्रित सम्बन्ध कम्तीमा मानव समाज सभ्यताको युगमा प्रवेश गरेदेखि रहेको पाइन्छ । सबै धर्मले मानव समाजमा दुष्टशक्तिको पराजयका लागि दैवी शक्तिको एक सत्ता निर्माण गर्दै आएको ऐतिहासिक प्रागएतिहासिक कथा प्रसङहरूबाट एक किसिमको ज्ञान प्राप्त हुन्छ । हिन्दुले मनाउँदै आएको दशैँ र पूजा गर्दै आएका देवीका विभिन्न रुपहरूबाट दुष्टशक्तिको समाप्तिबाट आफ्नो समृद्धि प्राप्त गर्न सकेको सफलता पाएको र पाउँदै आएका छन् । देवी दुर्गाको क्रमबद्ध अध्ययनबाट देवी दुर्गा कोमलबाट कठोरतम, उग्रबाट उग्रतम रूप धारण गरी दुष्ट शक्तिको विनाश गरेकी छिन् ।
दशैँमा विपन्नताको विनाश र सम्पन्नताको आस र पुनर्वासका लागि भक्तिभावबाट पूजा गरिन्छ । आधुनिक समयमा दशैँ पूजाका विधि विधानमा परिवर्तन हुँदै आएका छन् । समय समयमा हिन्दुमाथि भएका आक्रमणबाट यसका समृद्धि लुटिएको देवी दुर्गाको कथा प्रसङबाट नै पुष्टि हुने गर्छ । आधुनिक समयमा पण्डित पुरेतहरूलाई सबै यजमानको आफै गएर पूजा सम्पन्न गराउन सक्ने अवस्था नहुँदा पण्डित पुरेतहरूले दूरसञ्चारको प्रत्यक्ष सेवा लिएर टाढैबाट पनि एक साथ पूजा गराउने गरेको पाइन्छ । यजमानहरूले पनि सूचना प्रविधिको विकासबाट पूजा विधि प्रक्रिया मोबाइल फोन वा ल्यापटप कम्प्युटरको मदतबाट दुर्गा देवीको पूजा आफै गर्ने गरेका छन् ।
पण्डित पुरेतका लागि हिन्दू वर्णव्यवस्था अनुसार ब्राहमण जाति विशेषलाई जिम्मा दिइयो । पण्डित पुरेतले विभिन्न जाति विशेषलाई विभिन्न विधि प्रक्रिया अनुसार पूजा गराउँदै आएका छन् । हिन्दू वर्णव्यवस्था अनुसार विभिन्न जाति विशेषलाई विभिन्न किसिमको विधि प्रक्रिया अनुसार पूजा गराउने विधिलाई कतिपयले विभेदकारी र शोषणमा आधारित विधि भनी आलोचना गरेको पाइन्छ ।
दशैँमा विभिन्न देवीको उपासना गर्नु शक्तिको उपासना हो । शक्तिको प्राप्ति सबैको चाहना हो । समृद्धिको चाहना सबैको चाहना हो । त्यसैले आलोचकहरूले भनेजस्तो शोषण र विभेदकारी आधारित विधि भने होइन् । विपन्नले सम्पन्नताको खोजीमा यत्रतत्र भौँतारिनु भनेको शक्तिको खोजी हो । शक्तिको उपासना हो । हिन्दुहरूले शक्तिको खोजीका लागि एक सामूहिक समय निर्धारण गरेका छन् । शक्ति शक्ति हो त्यो सज्जनको हातमा होस वा दुष्टको हातमा होस । फरक यसको प्रयोगमा निर्भर हुन्छ ।
सज्जनले मानव समाजको हितमा गर्छ भने दुष्टले आफ्नो हितमा अन्य मानव समाजको अहित हुनेसम्मको हदसम्म गर्न सक्छ । ठिक त्यसैगरी राजनीतिक शक्तिको दुरुपयोग भइरहेको छ ।
राजनीतिमा लाग्नेहरूबाट भइरहेका अलोकप्रिय कार्य तथा व्यवहारले शक्ति दुष्टको हातमा गइरहेको छ । राजनीति विपन्न र सम्पन्नहरूको समूहमा भएका विपन्नहरूको कल्याणका लागि राजनीतिक शक्तिको विशेष उपयोग हुनुपर्छ र पर्ने हो । तर त्यसो नभई राजनीतिमा लागेकाहरूले व्यक्तिगत हितमा लाग्ने गरेका छन् ।
दशैँमा देवीहरूलाई भ्रम दिएर असुरहरूले हैरान पार्ने राजनीति गरेजस्तै मौजुदा राजनीतिमा यसका चालक शक्ति त्यस्तै चालबाज आसुरी शक्तिको हातको कठपुतली बनेको आम जनतालाई परेको छ । दशैँमा देवीको उपासनाका लागि गरिएको विधि विधान र महत्वलाई आधुनिक आलोकमा रुपान्तरण गर्न सक्ने साधनाको विकास हिन्दूहरूको धार्मिक राजनीति शक्तिको उपदेश हो ।
शक्तिको खोजी मात्र दशैँको उपदेश होइन । शक्तिको सञ्चय, शक्तिको भण्डारण, शक्तिको संरक्षण, शक्तिको प्रवाह, शक्तिको प्रहार र शक्तिको रुपान्तरण त्यतिकै महत्वपूर्ण हुन्छ । साम, दाम, दण्डभेद राजनीतिका पुराना नीति हुन् । अहिले पनि चलिरहेको छ । रुप फेरिएको छ । नीति पनि शक्ति हो । शक्तिको प्रवाह र प्रहारका लागि उचित माध्यमको आवश्यकता हुन्छ । समृद्ध हुनेहरूसँग माध्यम धेरै बलिया हुन्छन् । विपन्नसँग माध्यम थोरै र कमजोर हुन्छन् । शक्ति वा ऊर्जा प्रवाहको माध्यमबारे सबै जानकार छौँ ।
तापशक्ति र विद्युत शक्तिको प्रवाहको माध्यम त हामीले फलामको एक शिरा आगोमा हालेर अर्को शिरा समातिरहँदा पोलेको अनुभव गर्छौँ । ध्वनि पनि शक्ति हो । उर्जा हो । उर्जाको क्रमबद्ध पद्धतिबाट अर्को शक्तिमा रुपान्तरण शक्तिको निर्माण र खोजी हो ।
दशैँमा उपासकहरूले यन्त्र, मन्त्र र तन्त्रको साधना गर्ने गर्छन् । कसैले जानेर गर्छन् । कसैले नजानेर गर्छन् । तर गर्ने दुवैको चाहना साधारण चाहना एउटै हो । शक्तिको प्राप्ति । शक्तिको रुपान्तरण ।
दशैंमा बदलिँदो विधि
दशैँमा बदलिँदो विधि विधान अहिले मौजुदा अर्थतन्त्रको हिस्सा बन्न गएको छ । दशैँमा देवीका मन्दिरमा पूजा गर्नुको सट्टा बाहिर माटोबाट बनेका प्रतिमाहरूको पूजा हुने गर्छ । यसका सजावट हरेक वर्ष फेरिँदै गएका छन् । यसका सजावटका लागि चाहिने सामानहरूको उत्पादकहरू यसका हिस्सा बनिसकेका छन् । यसका अवसरमा नाचगानलगायतका विभिन्न कार्यक्रमको आयोजना गरिन्छ । दशैँका महिमाका बारेमा बखान र आख्यान प्रस्तुत हुने गर्छ । यसैको अवसर पारेर सिनेमाहरूको निर्माण हुने गर्छ ।
अर्थतन्त्रको ठुलो धन वर्ष भरिमा मनाइने दशैँका लागि व्यवस्था गरिन्छ । दशैँको अर्थतन्त्रबारे छुट्टै अभिलेखीकरण नभएको भएपनि विश्व अर्थतन्त्रकै ठुलो हिस्सा दशैँसँग जोडिएकोमा शंका छैन् । हिन्दुले मुख्य रूपले वर्षभरि कमाउने भनेको दशैँका लागि नै हो । भलै कोही दशैँ मानोस् वा नमानोस् । नमान्नेहरूले दशैँको बेला भव्य रूपले दशैँ मनाइने ठाउँ र देशहरूको भ्रमणको समय निकालेर बिदामा निस्कने गर्छन् भने हुनेखाने हिन्दुहरू विभिन्न शक्तिपीठको विशेष भ्रमणमा जाने गर्छन् । त्यतिमात्रै होइन दशैँमा राम्रो लाउने मिठो खाने भनाइ पनि छ । ऋणगरी भएपनि भएसम्म आम हिन्दूले दशैँमा राम्रो लाउने मिठो खाने प्रयास गर्छन् । यो सबै राजनीतिको हिस्सा होइन यो राजनीति नै हो ।
दशैँ उहिले पनि राजनीति नै थियो । दशैँ अहिले पनि राजनीति छ । ठिक त्यसैगरी धर्मको उपयोग उहिले पनि राजनीतिका लागि थियो । अहिले पनि छ त्यस्तै भइरहेको छ । शक्तिको उपयोग उहिले पनि राजनीतिले गर्दथ्यो । अहिले पनि राजनीतिले शक्तिको उपयोग गर्छ । धर्म शक्ति थियो र उपयोग भयो । धर्म बझ्नेले उपयोग गर्छन् नबुझ्ने गर्दैन् ।
संविधान सभाबाट उदाएका तीन शक्तिहरू एक आपसमा हातेमालो गरी अघि बढ्नुपर्नेमा त्यसो नहुनुमा उनीहरूले दशैँलाई लिनुपर्ने रूपमा लिएनन् । उनीहरूमाझ विद्यमान आसुरी शक्तिले बल पायो र शक्ति खण्डखण्ड भए । नयाँ भनिएका शक्तिको पनि ल्याकत नाङिएर गएको छ । नयाँ शक्ति भन्दैमा हुने होइन् । जनता माझ रहेको शक्तिलाई उचित माध्यम दिनुपर्ने छ । जसले जनताको शक्ति एकाकार हुन सकोस् ।
त्यसो गर्न शक्तिको खोजी गर्नुपर्छ । फगत राजनीतिक एजेन्डाको परिमार्जन र संशोधनले केही हुने होइन् । संविधानको पुनर्लेखन गर्ने होउन वा संविधानको खारेजी गर्ने होउन उनीहरूले के गर्न खोजेक हुन त्यसको सानो नमूना प्रदर्शन गर्न सक्दैनन भने त्यो सम्भव छैन् । यसका लागि मन्थन गर्न देश र मधेशका राजनीतिक शक्तिका लागि दशैँ उचित अवसर हुन्छ ।
दशैँमा विपन्नहरू मौजुदा समयमा धर्म, राजनीति र देवी शक्तिको पहिचान गर्न पाउन र थोरै कमजोर माध्यमहरूको प्रयोग गरी शक्ति बलियो बनाउने अद्वितीय शक्ति प्राप्त गर्न पाउन् भन्ने शुझकामना ।

तपाईको प्रतिक्रिया