देशका प्रधानमन्त्री केपी शर्मा ओली जस्ता व्यक्ति समाजिक सञ्जालबाट तर्सिनु भएको छ । यतिसम्म तर्सिनु भयो कि उहाँले समाजिक सञ्जालमा फ्लोअर्स देखाउन रोक लगाउनुभयो । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह र प्रधानमन्त्री ओली बिच समाजिक सञ्जालमा द्धन्द भएको थियो । सो द्धन्दपछि फेसबुकमा ओलीको फ्लोअर्स घट्न थाले । ओलीलाई डिसलाइक गर्ने अभियान नै चलाइएको थियो । एकातिर ओलीको फ्लोअर्स घटिरहेको थियो भने अर्कोतिर माओवादीका अध्यक्ष प्रचण्डको बढी रहेको थियो ।
उहाँ अमेरिकाबाट फर्किने बित्तिकै पहिलो काम उहाँले फेसबुकमा फ्लोअर्स नदेखाउन लगाउनुभयो । एमालेका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री सबभन्दा बढी समाजिक सञ्जाललाई सदुपयोग गर्नेमा पर्नुहुन्छ तर बालेनसँगको द्धन्दपछि समाजिक सञ्जालमा उहाँको क्रेज घट्न थाल्यो । प्रधानमन्त्री ओली समाजिक सञ्जालका कारण तनावमा रहेकै बेला जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि आफ्नै पार्टीमा समाजिक सञ्जाल प्रयोगमा कडाइ गर्नुभयो ।
अध्यक्ष यादवले पार्टीको विरुद्ध समाजिक सञ्जाल तथा सञ्चारमाध्यमा लेख्न तथा बोल्न रोक लगाउनु भएको छ । र, यो कुरा उहाँ कार्यकारिणी समितिको बैठकबाट नै निर्णय नै गराउनु भयो । पार्टीको कार्यकारिणी समितिको बैठकपछि जसपा नेपालका महासचिव लालबाबु राउतले जारी गर्नुभएको परिपत्र अनुसार पार्टी वा पार्टीसँग आवद्ध संगठनका पदाधिकारी एवं सदस्यहरुद्वारा पार्टी हितलाई आघात पुग्ने गरी फेसबुक, ट्वीटरलगायतका समाजिक सञ्जाल वा सार्वजनिक सञ्चारमाध्यमका लेख्न र बोल्न रोक लगाइएको छ ।
जसपा नेपालको परिपत्रमा भनिएको छ, ‘पार्टी वा पार्टीसँग आवद्ध संगठनका पदाधिकारी एवं सदस्यहरुद्वारा पार्टीहितलाई आघात पुग्ने गरी वा पार्टी अनुशासन एवं आचारसहिंता विपरित फेसबुक, ट्वीटरलगायतका समाजिक सञ्जाल वा सार्वजनिक सञ्चार माध्यममा लेख्ने, बोल्ने वा पार्टीहित विपरित कार्य गर्नेलाई मातहतका पार्टी समितिले पार्टी विधान बमोजिम कारवाही गर्ने निर्णय गरियो ।’
पार्टीको केन्द्रीय समिति बैठक चलिरहँदा पनि अध्यक्ष यादवले समाजिक सञ्जला प्रयोगमा कडाइ गर्नुभएको थियो । बैठकको बारेमा जथाभावी लेख्न, फोटोहरु सेयर गर्नमा रोक लगाउनु भएको थियो । पार्टीको विरोध लेख्नै हुँदैन भनि कडाइका साथ बैठकमै भन्नुभएको थियो । फेसबुकमा पार्टीका अध्यक्ष उपेन्द्र यादवका तीन वटा आइडी देखिन्छन् । एउटामा १४ हजार फ्लोअर्स, अर्कोमा साढे ६ हजार फ्लोअर्सं र तेस्रोमा २६ हजार फ्लोअर्स छन् ।
यी तीन वटै फेसबुकमा राख्ने कुनै पोस्टमा लाइक, कमेन्टस् एकदमै कम हुन्छ । जसपा नेपालले आफ्नो पाँच लाख सक्रिय सदस्य रहेको दावी गरेको छ । पाँच लाखमध्ये एक हजारले पनि लाइक, कमेन्टस् वा सेयर गरेको देखिदैन । पार्टीका अध्यक्ष उपेन्द्र यादव चिल्ली भ्रमणमा जानु भयो । त्यसो समाचार एउटा अनलाइनले छापेको छ । त्यो समाचार उपेन्द्र यादवले आफ्नो २६ हजार फ्लोअर्स रहेको फेसबुकमा राख्नु भएको छ ।
त्यसमा २५ जनाले लाइक गरेका छन् भने नौ जना कमेन्टस् र दुई जनाले सेयर गरेका छन् । नेपाली राजनीतिको लामो इतिहास बोक्नु भएका र मधेश आन्दोलनबाट स्थापित उपेन्द्र यादवको समाजिक सञ्जालको अवस्था यस्तो छ । उहाँका अरु पोस्टहरुको अवस्था त्यस्तै छन् । तर उहाँले पार्टीमा समाजिक सञ्जाल प्रयोगमा कडाई गर्नुभएको छ ।
तपाईको प्रतिक्रिया