Khadya Bibhag

मन्त्री प्रदीप यादवले भन्नुभयो, ‘जसपा नेपाल विभाजन हुनु अनिवार्य थियो’

पर्सा कात्तिक ९ गते । जनता समाजवादी पार्टीका उपमहासचिव एवं खानेपानी मन्त्री प्रदीप यादवले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशलाई पटक पटक धोका दिएको कारण आफूहरु बाध्य भएर सो पार्टीबाट अलग भएको बताउनुभयो ।

शुक्रवार वीरगञ्जमा आयोजित जसपा निकट सङ्घीय शिक्षक फोरमको पर्सा जिल्ला कार्यसमिति र वीरगञ्ज महानगर कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ताको लोभमा मधेससँग दर्जनौँ पटक धोका दिनुभयो, र पार्टीमाथि तानाशाह लाद्ने काम गरेको कारण जसपा नेपालबाट अलग भएको बताउनुभयो ।

उहाँले पर्सा जिल्लामा मात्र नभई मधेसभरि जसपा नेपालको छिट्टै अन्त्य हुने दावी गर्दै जसपा नेपाल विभाजन हुनु अनिवार्य थियो, किनकि वर्तमान नेतृत्वले मधेसको मुद्दालाई कमजोर बनाउँदै आएको दावी गर्नुभयो ।
मन्त्री यादवले पर्सामा शिक्षक फोरमको नयाँ नेतृत्वले जसपा पार्टीलाईपनि अझ सशक्त बनाउने विश्वास लिएको बताउनुभयो । उहाँले जनताको सेवामा जसपा अझ सकृयताका साथ लाग्ने दावी गर्नुभयो ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले पार्टीलाई सुदृढ बनाउन र जसपाको राजनीतिक रणनीतिलाई सशक्त बनाउन एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “महिला सशक्तीकरण र युवा नेतृत्व विकासमा विशेष ध्यान दिन आवश्यक छ । त्यस्तै अन्य पिछडिएका समुदायलाई पनि समेटेर सबै वर्गको प्रतिनिधित्व हुने किसिमको पार्टी हामीले स्थापित गर्नुपर्छ ।”

शिक्षक हरिन्द्र प्रसाद चौरसियाको अध्यक्षतामम संघीय शिक्षक फोरमको ५१ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको छ । जिल्ला कार्यसमितिको सहअध्यक्षमा पिंकी यादव, सचिवमा रामाधार प्रसाद साह, सहसचिवमा द्वारिका चौहान र कोषाध्यक्षमा रेणु श्रेष्ठ रहनु भएको छ ।

यस्तै कार्यक्रममा संघीय शिक्षक फोरमको वीरगन्ज महानगर कार्यसमितिपनि घोषणा गरियो।
कार्यक्रममा जसपाका केन्द्रीय सदस्य मोहन चौधरी, संघीय परिषद सदस्य विपिन यादव, जिल्ला अध्यक्ष सिंगासन साह तेली, महानगर अध्यक्ष ईश्वरचन्द्र यादव, नेताहरु तबरेज अहमद, असलम आलम, वीरगन्ज १० का वडाध्यक्ष सुशील साह कानु, वीरगन्ज ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार लगायतकाको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया