कहिले काहीं जीवनले नजनानिदो तरिकाले कोल्टो फेरिदिन्छन् जसले जीवनलाई गुल्जार बनाइ दिन्छ या भताभुङ गरि दिन्छ । विविशा महतोको जीवनमा पनि त्यस्तै भएको हो । विविशा महतो भन्नुहुन्छ, ‘मेरो जीवन गुल्जार भयो कि भताभुङ भयो मलाई नै थाह छैन तर गुल्जार बनाउने हरसम्भव प्रयास गरिरहेको छु ।’
विविशाको जीवन पढ्दा रोचक छ । हरेक पन्ना एउटा कथा जस्तो लाग्छ । यसरी भनौं, उहाँ आफैमा एउटा सिंगैं उपन्यास हुनुहुन्छ, जसको एउटा कुनै पन्ना पल्टाउदा त्यहाँ कथा पाइन्छ ।
विविशा महतोको नाम सुन्नै वित्तिकै तपाईको मनमा आउन सक्छ कि उही टिकटक स्टार जसले आफ्नो टिकटकको माध्यमले श्रीमान रविन्द्र महतोसँग मिलेर समाजलाई परिवर्तन गर्न हरसम्भव कोशिस गरिरहनु भएको छ । समाजमा देखिएको बिकृति, विसङ्गती, छुवाछुत, दाइजोको बारेमा उहाँहरुले टिकटकबाट सचेतना दिइरहनु हुन्छ ।
‘खुशी त तकदिरमा हुनुपर्छ, तस्विरमा हरेक मान्छे मुस्कुराउने गर्छ’
‘पैसा नभएर पढाउन नसकेकी बा आमा ऋण खोजेर प्रदेश पठाउँछन् छोराछोरीलाई’
यस्ता थुप्रै सन्देशमुलक टिकटक विविशा र रविन्द्रले बनाउनु भएको छ । तर विविशाको अर्को जीवन पनि छ, जसले समाजलाई बुझ्न विवश बनायो । आफूले भोगेको, आफूले सम्झेको, आफूले देखेको कुरा मात्र उहाँले टिकटकमार्फत व्यक्त गर्नुहुन्छ न कुनै देखावटी न कुनै बनाबटी । ‘यसरी टिकटक चलाउछु र यसैमा क्यारियर बनाउछु भनि मलाई लागेको थिएन, विविशा भन्नुहुन्छ, ‘साथी भाइले चलाएको देखेर म पनि यसो चलाउ भनि समान्य ढंगले चलाउथे नियमित चलाउने सोच पनि थिएन, विहे भएर काठमाडौँ आएपछि मात्र नियमित चलाउन थाले र यसैमा आफ्नो क्यारियर खोज्न थाले ।’
मधेशीबाट पहाडी
खासमा विविशा महतो मधेशी समुदायका हुनुहुन्छ । उहाँका आमा बुवा पनि मधेशी । तर विविशालाई हेरेपछि कसैले पनि मधेशी भन्दैन । उहाँका श्रीमानलाई धेरै जनाले सोधी सकेको छ तपाईहरुको लभ म्यारेज हो कि क्यो हो । विविशालाई पनि धेरैले यस्तै प्रश्न गरेका हुन्छन् । तर विविशा भन्नुहुन्छ ‘मलाई मधेशी हुनुमा गर्व छ ।’
एउटा परस्थितिले उहाँलाई पहाडी बनाई दियो । फेरि अर्को परस्थितिले उहाँलाई पुनः मधेशी नै बनाई दियो । मोरङ रतुवामाइ नगरपालिकाका बुवा विष्णुदेव महतो र आमा सुनिता देवी महतोका जेठी छोरीको रुपमा जन्मनु भएका विविशाको दुई जना विवेक महतो र विनेक महतो भाइ छन् । खासमा विविशाको घर मोरङकै रंगेलीमा हो, उहाँ त्यही जन्मनु भएको हो । जहाँ मधेशी समुदायको बाक्लो वस्ती छ । विविशाका आमा–बुवा त्यही बस्नु हुन्थ्यो । त्यही खेती किसानी तथा अन्य घरायसी काम गर्नुहुन्थ्यो ।
पछि विविशाका बुवा विष्णुदेवको जागिर रतुवाइमाइमा भयो । स्वास्थ्य कार्यालयमा कार्यालय सहयोगीको रुपमा जागिर गर्न थाल्नुभयो । सधैं रंगेलीबाट रतुवामाइ जान आउन गाह्रो हुने भएपछि विष्णुदेव त्यही बस्न सोच बनाउनुभयो । सुरुमा परिवारसहित डेरा लिएर बस्न थाल्नुभयो, पछि जग्गा किनेर त्यही घर बनाउनुभयो । जहाँ उहाँ बस्न थाल्नुभयो त्यो पहाडी समुदायको बाक्लो बस्ती हो । पहाडीको बिचमा विष्णुदेव जो मधेशी समुदायका हुनुहुन्छ उहाँ मात्रै एक जना मधेशी त्यहाँ हुनुभयो । खाँटी मधेशी समुदायबाट त्यहाँ बस्न थालेपछि सुरुमा विष्णुदेव र उहाँका श्रीमतीलाई भाषा र रहन सहनले गर्दा त्यहाँ घुलमिल हुन गाह्रो थियो ।
विष्णुदेव सरकारी जागिरे भएका कारणले उहाँलाई भाषाको त्यति समस्या थिएन । त्यही जागिर गर्दै आइरहेको कारण घुलमिल हुन त्यति समस्या भएन तर विविशाका आमा भारतीय मुलका हुनुहुन्छ । उहाँ एक त भारतीय अर्को मधेशी भएको कारणले रतुवामाइमा थोरै गाह्रो भएको थियो । विविशा पढाइ लेखाइ गर्दै गरेको कारण उहाँलाई त्यति समस्या भएन ।
रतुवाइमाइमा बस्न थालेपछि विविशाका परिवार पहाडी समुदायमा घुलमिल भयो । त्यहीको भाषा, त्यहीको सँस्कृति, भेषभुषा सबै अंगाल्नुभयो । चाडपर्व पनि त्यहीको मनाउन थाल्नुभभयो । यसरी भनौं, उहाँहरु सिधै मधेशीबाट पहाडीमा कन्भर्ट हुनुभयो । विविशा र उहाँका भाइहरुलाई मैथिली भाषा बोल्न त के बुझ्न पनि गाह्रो थियो । उहाँहरुको संगत, रहन सहन सबै पहाडी समुदायको भयो । पढाई लेखाइ पनि त्यस्तै भयो ।
विविशा मधेशी बाहुल्य रहेको महोत्तरी मनरा सिस्वाका रविन्द्र महतोसँग विहे गर्नुभयो । त्यसपछि मात्र उहाँ मधेशी सँस्कृति, मधेशी भाषा र रहन सहन बुझ्न थाल्नुभयो । विहे गरेर आएपछि उहाँलाई केही समय निकै गाह्रो भएको थियो । मैथिली भाषा बोल्न त के बुझ्न पनि गाह्रो थियो । त्यहाँका कतिपय रितिरिवाज पनि मन परिरहेको थिएन । जस्तो कि घुँघटमा बस्ने, घरबाट निस्किन नदिने, सासु ससुराका तथा ठूलाबडाको अगाडि जान नदिने यस्ता कुराबाट उहाँलाई दिक्दारी भइरहेको थियो ।
तर विस्तारै बुझ्दै जानुभयो । काठमाडौँ आउने देवरहरुसँग भाषा सिक्दै जानुभयो । काठमाडौँमा मधेशीहरुसँग संगत भयो । मैथिली बोल्नेहरुसँग संगत भयो । अहिले विस्तारै सजिलो भइरहेको छ । सजिलो हुनुको एउटा कारण छ, ‘उहाँ विहे गरेर आएपछि आफ्ना श्रीमानसँग काठमाडौँ नै बस्न थाल्नुभयो । यसो चाडपर्वमा मात्र उहाँ गाउँ जानु हुन्छ । अरु समय श्रीमानसँग काठमाडौमा नै बस्नुहुन्छ । श्रीमान रविन्द्र महतो पेसाले इन्जिनियर हुनुहुन्छ र उहाँ एउटा स्थानीय तहमा कार्यरत हुनुहुन्छ ।’
खाडीमुलकमा हुन्थे विविशा
समाजसँग जोडिएका विसंगती र विकृतिका कुरा विविशाले आफ्नो टिकटकमा त्यतिकै व्यक्त गर्नुहुन्न । सानै उमेरमा उहाँले विभिन्न हण्डर र पिडा भोग्नुभएको हो । उहाँ त्यतिकै राजकुमारीबाट विविशा बन्नुभएको होइन । मोरगंको रंगेलीमा जन्मनु भएका विविशाको जन्मको नाम राजकुमारी हो ।
विष्णुदेव ढिलो सन्तान पाएपछि घरमा खुशीको सीमा थिएन । त्यही भएर घरमा विविशाको हजुरबुवाले उहाँको नाम राजकुमारी राख्नु भएको थियो । उहाँ घरको र मनको राजकुमारी हुनुहुन्थ्यो तर धनको होइन । सायद त्यही भएर होला आमा सुनितादेवीले राजकुमारी नाम हटाएर विविशा राख्नुभएको थियो । विविशाको घरको आर्थिक अवस्था त्यति राम्रो थिएन । जग्गा जमिन पनि खासै थिएन । सानो पदको जागिरले घरपरिवार चलाउन गाह्रो थियो उहाँको बुवालाई । त्यतिबेला छोराछोरीलाई पढाउनु घरपरिवार चलाउनु निकै गाह्रो थियो ।
त्यसमा पनि ऋण लिएर नै रतुवामाइमा जग्गा लिएर घर बनाउनु भएको थियो । एकातिर ऋणको टेन्सन अर्कोतिर घरव्यवहार चलाउन पनि गाह्रो । विविशा घरकी जेठी छोरी हुनुहुन्छ । आमाबुवालाई सघाउन उहाँको पनि जिम्मेवारी बन्छ तर कसरी उपाय नै निस्कि रहेको थिएन । प्लस टु पास गरिसक्नु भएका विविशाले कही काम पनि पाइरहनु भएको थिएन । त्यसका लागि ट्राइ पनि गर्नुभएको थियो । घरव्यवहार चलाउनु छ, दुई जना भाइ र आफू पनि पढ्नु छ तर घरको आर्थिक अवस्थाले नधान्ने भएपछि विविशाले आफ्नो पढाई बिचैमा छाड्न विवश हुनुभयो ।
रोजगारीको खोजीमा लाग्नुभयो । तर कहीबाट कुनै उपाय निस्कि रहेको थिएन । कुनै व्यवसाय थालौ भनि उहाँहरुसँग पुँजी पनि थिएन । अन्त्यमा विदेश जाने निर्णयमा पुग्नुभयो । मधेशी समुदायबाट महिलाहरु त्यति विदेश जाँदैन तर रतुवामाइ नगरपालिकाका पहाडी समुदायका महिलाहरु पनि खाडी मुलुकमा रोजगारीका लागि जान्थे । विविशा मधेशी हुनुहुन्थेन पहाडी भइसक्नु भएको थियो । वैदेशिक रोजगारीमा महिलाहरु जानु त्यहाँका लागि समान्य कुरा थियो ।
विविशाले पनि दुबइ जान तयार हुनुभयो । पासपोर्ट बनाएर एजेन्टलाई दिनुभयो । उहाँको भिषा आयो । त्यतिबेला देशमा कोरोना माहामारी सुरु भइसकेको थियो । दुवइको सुपरमार्केटमा क्यासियरमा काम गर्ने भिसा थियो । पढे अनुसारको जागिर पाएपछि उहाँ खुशी हुनुहुन्थ्यो तर अर्कोतिर दुख पनि थियो पढाई लेखाइ तथा आफ्नो परिवारलाई छाडेर पराय देश जानु परिरहेको छ त्यो पनि यस्तो कोरोनाको माहामारीमा । तर विविशासँग विवशता थियो ।
उहाँ भन्नुहुन्छ, ‘आफ्नो घरपरिवार, समाज छाडेर कसलाई विदेश गएर श्रम गर्न मन लाग्छ तर मलाई बाध्यता थियो घरमा ऋणको भार थियो, भाइहरुलाई पढाउनु थियो घरव्यवहार पनि चलाउनु थियो त्यसैले म अब विदेश नगइकन यी सब समस्या एकैपटक समाधान हुँदैन भनि बुझेर नै विदेश जान तयार भएको थिए ।’
उहाँ सबै तयारीका साथ दुवई उड्नका लागि काठमाडौँको अन्तरराष्ट्रिय विमानस्थल पुग्नुभयो । त्यतिबेला कोरोनाको दोस्रो लकडाउन सुरु भइसकेको थियो । सोही लकडाउनका कारण अन्तराष्ट्रिय उडानहरु पनि बन्द भयो । उहाँ दुखी मन लिएर घर फर्किनुभयो । एकातिर कोरोनाको कहर, अर्कोतिर घरको आर्थिक अवस्थाको कहर । त्यसलै जीवन नै लथालिङ भएको जस्तो लाथ्यो विविशालाई । अब के गरौं छटपटि भएको थियो उहाँलाई ।
त्यति नै बेला रविन्द्र महतोको साइडबाट विहेको अफर आएको थियो । विविशा विहेको कुरा सुनेर झन झर्किनुभयो । जिन्दगी त्यतिकै बोझ भएको छ त्यसमा आमाले झन विहेको कुरा ल्याएपछि म निकै झर्केको थिए, गर्नु छैन मलाई विहे सिहे यहाँ मान्छेलाई अर्कै तनाव छ तपाईहरुलाई विहेको परेछ, विविशाले भन्नुभयो, ‘म आमासँग यसैगरि झर्केर कुरा गरेको थिए म आमासँग मात्र होइन अरुसँग पनि यस्तै कुरा गर्न थालेका थिए, किनभने मलाई ठिक लागि रहेको थिएन । म आफ्नो आमा बुवा तथा परिवारका लागि केही गर्न चाहन्थे ।’
तैपनि विविशाले आमाले केटा राम्रो छ, सरकारी जागिर गर्छन्, काठमाडौँमा बस्छन् एकपटक कुरा गर्दैमा के जान्छ, एक पटक हेर्नु न कुरा गर्नु न भन्नुभयो । विविशाको इच्छा थिएन । उहाँ आफै केही गर्ने सोचमा हुनुहुन्थ्यो । अर्काको बोझ बन्न उहाँ चाहनु हुन्थेन । त्यो सरकारी जागिर र काठमाडौँ बसाइसँग पनि विविशालाई मतलब थिएन तर विविशाका आमाबुवालाई छोरीको चिन्ता थियो ।
आमाबुवाले दबाव दिन छाड्नु भएन । फेरि रविन्द्रको साइडबाट पनि विविशासँग नै विहे गर्ने जोड थियो । त्यो कुराको म्यासेज विविशाका आमा कहाँ आइरहन्थ्यो । आमाबुवाले धेरै न कर गरेपछि विविशा पनि विवश भएर तपाईहरुलाई जे जे गर्न मन लाग्छ गर्नुस्, बोलाउनुस् हेर्नुस् भन्नुभएको थियो । तर त्यो भनाइमा हर्ष थिएन, पिडा र विवशता दुवै थियो ।
विविशा र रविन्द्रको मिलन
विविशा र रविन्द्रको मिलन पनि रोचक छ । रविन्द्रले विविशालाई इन्स्ट्राग्रामबाट मन पराउनु भएको हो । सुरुमा रविन्द्रको विहे विविशाका फुपुसँग हुने कुरा थियो । दुवै जनाको बिचमा लामै समयदेखि विहेको कुरा चलिरहेको थियो तर फाइनल भइरहेको थिएन । रविन्द्रले साइन्स अथवा कमर्श पढेको केटी खोजि रहनु भएको थियो । फुपु नेपाली लिएर आइएड पढ्नु भएको थियो । कुराकानी चल्दै थियो त्यतिकैमा फुपुको इन्ट्राग्राममा विविशाको फोटोमा रविन्द्रको ध्यान गयो । रविन्द्रलाई विविशाको फोटो मन पर्यो अर्थात विविशा मन पर्यो । त्यसपछि उहाँले विविशाको बारेमा चासो लिन थाल्नुभयो । सोधखोज गर्न थाल्नुभयो । रविन्द्रले त्यही फुपुबाट नै विविशाको घरमा विहेको लागि प्रस्ताव पठाउनुभयो ।
विविशाको आमाले दहेज (दाइजो) दिन सक्दैनौं, त्यसमा तपाईहरु सहमत हुनुहुन्छ भने मात्र विविशासँग कुरा गर्छु भनि रविन्द्रसँग कुरा राख्नुभएको थियो । विविशालाई विहे गर्ने मन थिएन, उहाँले विदेश जान्छु भनिरहनु भएको थियो । त्यसपछि रविन्द्रले पनि चासो लिन छाड्नु भएको थियो । तर कोरोनाको लकडाउन सुरु भएपछि रविन्द्र र विविशाको बिचमा एकपटक फोनमा कुरा भएको थियो ।
विविशाको घरमा रविन्द्रलाई सबैले मन पराएका थिए तर विविशा विहेको पक्षमा हुनुहुन्थेन । पछि एकपटक हेरी हालौ न त कुरा भएपछि विविशाको आमाबुवा रविन्द्रलाई हेर्न उहाँको घर पुग्नु भएको थियो । रविन्द्रलाई सबैले मन पराएका थियो । त्यसपछि रविन्द्रको घरबाट आफन्तहरु विविशाको घर पुगेका थिए । कोरोनाको कहर चलिरहेको थियो । कसो कसो महोत्तरीबाट रविन्द्र आफ्नो आफन्तलाई लिएर विविशाको घरमा पुग्नुभयो । रविन्द्रको बुवा २० वर्षदेखि वैदेशिक रोजगारीमा हुनुहुन्छ । छोराछोरीको विहेमा समेत नेपाल फर्किनु भएको थिएन तर छोरा रविन्द्रको विहेमा अवश्य आउने सोच बनाउनु भएको थियो तर लकडाउनका कारण आउन सक्नु भएन ।
विविशाका आमाले विहेमा एक रुपियाँ पनि दहेज नदिने तथा छोरी महोत्तरीमा नबस्ने शर्त राख्नुभएको थियो । त्यसको जवाफमा रविन्द्रले पहिला छोरी हेरौ कुराकानी गरौं त्यसपछि मात्र दहेज लिने कि नलिने कुरा हुन्छ । विविशाका आमाबुवालाई मधेशमा छोरीलाई विहे गर्ने मन थिएन । मधेशमा दहेजका कारण बुहारीलाई हत्या गर्ने, हिंसा गर्ने घटना भइरहेकाले त्यस्तो ठाउँमा विहे नगर्ने सोच थियो । कोशी कट्ने सोच नै थिएन उहाँहरुको । विविशाको चाहना पनि मधेशमा विहे नगर्ने नै थियो । तर रविन्द्र जागिरे तथा काठमाडौँमा बस्ने भएकाले मात्र आफ्नो छोरी दिन तयार हुनुभएको थियो ।
रविन्द्रका आफन्तहरु विराटनगरको रतुवा गएर विविशालाई हेरेका थिए । एक नजरमै सबैले मन पराएका थिए । त्यही दिन अर्थात २०७८ बैशाख २२ गते इगेंजमेन्ट पनि भएको थियो । कोरोनाको कारण यति टाढाबाट आउन जाउ गर्न गाह्रो हुने भएपछि एकदिनमै देखासुनी भएपछि सबै कुरा फाइनल गरिएको थियो । दहेज लेनदेनको कुरा भएन । विविशालाई पनि रविन्द्र मन परेको थियो । दुवै जनाले एक अर्कालाई मन पराएपछि त्यहाँ लेनादेनाको कुनै गुन्जाइस नै थिएन । किनभने विविशाको आमाले पहिला नै विहेमा कुनै पनि दहेज नदिने सर्त राख्नु भएको थियो । इगेंजमेन्ट भएको सात दिनपछि अर्थात २०७८ बैशाख २९ गते उहाँ दुवै जनाको विहे भयो । विहे पनि एक दिनमै भएको थियो ।
टिकटकमा बन्देज
विहेपछि विविशा आफ्नो श्रीमानसँग काठमाडौँमा नै बस्न थाल्नुभयो । महोत्तरीका गाउँमा बस्न मन लागेको थिएन । कारण थियो त्यहाँको रहन सहन, भेषभुषा । विविशालाई यी सबमा एड्जस्ट हुन गाह्रो भइरहेको थियो । महोत्तरीको घरमा बस्दा जेलमा बसेको जस्तो अनुभूती उहाँलाई भएको थियो । विविशा खुल्ला समाजमा हुर्किनु भएको, सोच र बुझाई त्यही अनुसारको थियो । त्यही भएर गाउँमा उहाँलाइ गाह्रो थियो । उहाँ त्यहाँ बस्न रुचाउनु भएन । श्रीमानसँग काठमाडौँमा बस्न थाल्नुभयो ।
रविन्द्र पनि टिकटकको फ्यान । विविशा आएपछि झन जोडी नै मिल्यो । पहिलादेखि टिकटकमा रुची राख्ने विविशा र रविन्द्रको जोडि मिल्ने भयो । विविशाले धमाधम टिकटक बनाउन थाल्नुभयो । त्यसमा रविन्द्रको पनि सहयोग थियो । स्क्रिप्ट नै रविन्द्रले लेख्नु हुन्थ्यो । विविशाले बनाएको टिकटक भाइरल हुन थाल्यो । महोत्तरीको घरसम्म पनि यो कुरा पुग्यो । बुहारी टिकटकमा नाच्छिन् भन्ने कुरा लगाउनेहरु पनि महोत्तरीको घरमा पुगे ।
विविशाका सासु आमा, ससुरा तथा परिवारका अन्य सदस्यलाई पनि कुरा लगाउनेहरु भए । त्यो कुरा विविशासम्म आइपुग्यो । बुहारीले यसरी समाजिक सञ्जालमा खुल्लेआमा आउनु राम्रो होइन, यो नाचगान ठिक होइन बन्द गर्नु पर्योसम्मको कुरा घरबाट आयो । विविशा टिकटकमा हुनुलाई राम्रो मानेको थिएन घरमा । दबाव आउन थालेपछि विविशाले पनि मोवाइलका सीमाहरु टोडेर फ्यालि दिए । रिस विविशालाई पनि उठेको थियो ।
विविशा भन्नुहुन्छ, ‘मैले केही नराम्रो गरेको थिएन, टिकटकमा कस्ता कस्ता रफ गतिविधि भइरहेका छन्, त्यसमध्ये मेरो केही थिएन, समाजलाई पच्ने खालको घरपरिवारसँग बसेर हेर्न खालको टिकटकहरु बनाउथे । नराम्रो केही पनि थिएन । तैपनि गुनासो आयो । मैले रिसले सीम तोडेर फ्याले ।’ एक डेढ महिना उहाँ टिकटकभन्दा टाढा रहनु भयो ।
त्यतिबेला उहाँ लाग्थ्यो कि आफ्नो जीवन यतिमा नै सकिने भयो । जीवनदेखि उहाँ निराश हुन थाल्नुभयो । यहीं कारणले मधेशमा विहे गर्न मन थिएन भन्नेसम्म सोच्नुभयो विविशाले । पछि श्रीमान रविन्द्र महतोले ‘यस्तै हो तिम्रो बारेमा कसले के भन्छ त्यसमा ध्यान नदेउ । तिमी के गर्दैछौं त्यो हेर । तिमी ठिक छौं भने अरुले के भन्छ त्यसले केही मतलब राख्दैन म तिम्रो साथमा छु तिमीलाई के गर्न मन लाग्छ गर’ भनेपछि विविशाले पुनः टिकटकमा बनाउन थाल्नुभयो ।
प्रशंसा र अवसर
जसले उहाँको विरोध गर्थे आज उसैले प्रशांसा पनि गर्छन् । जसले टिकटक चलाए पछि बुहारी बिग्रिन्छ भन्थे आज उसैले आफै टिकटक चलाउन थालेका छन् । महोत्तरीको घरमा विविशा र रविन्द्रको टिकटक सबैले हेर्छन् र तारिफ पनि गर्छन् । यहाँसम्म कि विविशा र रविन्द्रको टिकटक हेरेर घरका अन्य सदस्यले पनि टिकटक बनाउन थालेका छन् ।
विविशा र रविन्द्रको रीदम फोर यु टिकटक फ्लोअर एकलाख भन्दा बढी भइसकेका छन् । भ्युअर पनि लाखौमा छन् । तर विविशा र रविन्द्र भन्नुहुन्छ, ‘हामी यो टिकटक पैसा कमाउनका लागि बनाइरहो छैनौ, समाजलाई परिवर्तन गर्नका लागि बनाएका हौं । हामी आफ्नो तर्फबाट समाजलाई कति परिवर्तन गर्न सक्छौं त्यो प्रयास हुनेछ । र यो प्लेटफर्म प्रयोग गरेर कलाकारिता वा अन्य क्षेत्रमा पनि जाने सोच रहेको छ ।’
उहाँहरु भन्नुहुन्छ, ‘यो टिकटकले हामीलाई परिचय दिएको छ, मान्छेले चिन्न थालेको छ । मान्छेले खोज्न थालेको छ ।’ विविशाले हालै एउटा छठ गीत रिलिज भएको छ । त्यसमा विविशाको पनि अभिनय रहेको छ । ‘दउरा घाटे के लेजाई’ गीतमा विविशालगायत अन्य कलाकारको अभिनय रहेको छ । यो गीतमा रविराज शाहको स्वर रहेको छ भने गीत उमालाल यादवले लेख्नु भएको छ । संगित रौशन सिंहले दिनुभएको छ ।
विविशा महतो भन्नुहुन्छ, ‘म टिकटक चलाउन थालेपछिको यो पहिलो अवसर थियो र यसलाई मैले मिस गर्न चाहेको थिइन । रविजीबाट आफै अफर आयो मैले सहस्र स्विकार गरे ।’ विविशाको तीन महिनाको छोरी स्याविसा छिन् । छोरीलाई काँखमा बोकेर भए पनि त्यो गीतका लागि जानुभयो । त्यसमा रविन्द्र महतोको पूर्ण सहयोग छ । रविन्द्र महतो भन्नुहुन्छ, ‘उहाँ यसैमा आफ्नो क्यारियर बनाउन चाहनु भएको छ भने मेरो पूर्ण सहयोग रहने छ ।’ तर रविन्द्रले ब्याकअप पनि राख्नुभएको छ ।
विविशालाई कानुनमा अध्ययन गराई रहनु भएको छ । चक्रबति हबी एजुकेशन एकेडेमी कलेज अफ लमा एलएलबीको अहिले थर्ड इयरमा हुनुहुन्छ । कलकारितामा जम्न सकिएन वा अवसर पाइएन भने वकिल बन्ने र त्यसलाई आफ्नो पेसा बनाउने सोच विविशा र उहाँको श्रीमान रविन्द्रको छ । एउटा भएन भने अर्को पेसा अपनाउने तर प्राथमिकता कलाकारितालाई नै हो । म्युजिक भिडियोदेखि लिएर मोडलिङ तथा विज्ञापनहरुका लागि पनि अवसर आयो भने त्यसमा काम गर्ने सोच विविशाको छ । विविशाको पढाइ लेखाइ पनि राम्रै छ । उहाँको काठमाडौँमा बस्नु हुन्छ । चाहनु भयो भने अरुतिर पनि अवसर खोजेर जानु हुन्छ तर उद्देश्य नै कलाकारिता क्षेत्रमा रहने भएपछि उहाँ त्यही अनुसार तयारी पनि गरिरहनु भएको छ ।
रतुवामाइको राष्ट्रिय निर्माण सेकेन्ड्री बोर्डिङ स्कुलबाट ए जीपीए ल्याएर २०७४ मा एसइइ पास गर्नुभएका विविशा प्लस टुमा पनि ए नै ल्याउनु भएको छ । कमर्श पढ्नु भएका विविशा अहिले बीएलमा अध्ययनरहत हुनुहुन्छ । विविशा भन्नुहुन्छ, ‘विहेपछि पनि मलाई पढाउनु हुन्छ भने सर्तमा मैले विहे गरेको थिए, मलाई कमर्श पढ्ने इच्छा नै थियो, तर श्रीमानले ल पढ भन्नुभयो श्रीमानको इच्छा अनुसार ल पढिरहेको छु ।’
तपाईको प्रतिक्रिया