काठमाडौं मंसिर १८ गते । खानेपानीमन्त्री प्रदीप यादवले नेपाल सरकार हरेक डोल्पाबासी नागरिकका आधारभूत आवश्यकता पूरा गर्न कटिबद्ध रहेको बताउनु भएको छ ।
नेपालको उच्च हिमाली जिल्ला डोल्पाको ठूलोभेरी नगरपालिका–६ दूरगाउँ काएखोलीमा निर्माण गरिएको खानेपानी तथा सरसफाइ योजनाको शनिबार उद्घाटन गर्दै मन्त्री यादवले डोल्पाबासी आम नागरिकका हरेक आवश्यक्ता पुरा गर्नका लागि नेपाल सरकार सधै तत्बर र कटिबद्ध रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सरकारले हरेक डोल्पाली नागरिकको आधारभूत आवश्यकता पूरा गर्न कटिबद्ध छ, खानेपानीका यस्ता योजनाहरुले डोल्पा सहितका नेपालका अन्य दुर्गम क्षेत्रका जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने छ ।”
उद्घाटन गरिएको उक्त खानेपानी आयोजनाले स्थानीयवासीको दीर्घकालीन आवश्यकता पूरा गर्दै स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्न महत्वपूर्ण कोसेढुँङ्गा साबित हुने मन्त्री यादवले बिश्वास व्यक्त गर्नुभयो ।
मन्त्री यादवले डोल्पाबासी आम नागरिकहरुको सहकार्य एवं सहयोगबाट डोल्पा जिल्लामा खानेपानी आयोजनाका कामहरुमा राम्रो उपलब्धि सम्भव भएको भन्दै धन्यबाद समेत व्यक्त गर्नुभयोे ।
यसैगरी मन्त्री यादवले डोल्पाको ठूलीभेरी नगरपालिकामा खानेपानी मन्त्रालयको समन्वयमा स्थापित ठूलीभेरी नगरपालिका–७ जुफालमा रहेको ग्रामिण खानेपानी सेवा सहायता केन्द्रको समेत उद्घाटन गर्नु भएको छ ।
स्थानीय समुदायको जीवनस्तर सुधार गर्न, स्वास्थ्य समस्याहरु कम गर्न र पानीको दिगो व्यवस्थापनमा शुद्ध र स्वच्छ खानेपानीका आयोजनाले महत्वपूर्ण योगदान दिने मन्त्री यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालका ग्रामीण क्षेत्रका जनतालाई स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउने सरकारको पहिलो प्राथमिकता छ, सोही अनुसार मन्त्रालय अगाडि बढेर काम गरिरहेको छ ।”
खानेपानी तथा सरसफाइ योजना तथा ग्रामिण खानेपानी सेवा सहायता केन्द्रको परियोजनाले डोल्पाबासीको शुद्ध र स्वच्छ खानेपानीका लागि थप सुदृढ बनाएको मन्त्री यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “यस परियोजनाको सफल सञ्चालनले खानेपानी तथा सरसफाईको विकासमा नयाँ इतिहास रच्नेछ भन्ने मैले विश्वास लिएको छु ।”
डोल्पा जिललामा निर्माण गरिएका खानेपानीका आयोजना निर्माण सम्पनन कार्यलाई सफल पार्न एवं सहायता केन्द्र स्थापना गर्न सहयोग गर्ने स्थानीयवासी, जनप्रतिनिधि, कर्मचारी, सरोकारवालाहरु, स्थानीय तह, फिनल्याण्ड सरकार र युरोपियन युनियन प्रति समेत मन्त्री यादवले धन्यवाद व्यक्त गर्नु भएको थियो ।
उक्त कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेबी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार थापा लगायतको टोली डोल्पामा पुगेको थियो ।
तपाईको प्रतिक्रिया