नेपाल सद्भावना पार्टीको अध्यक्ष रहकै बेला पूर्व राजा ज्ञानेन्द्र शाहको ‘कु’लाई समर्थन दिएर शाहीकालमा मन्त्री भइसक्नु भएका बद्रीप्रसाद मण्डल यतिबेला पुनः सक्रिय हुनुलाई रहस्यमय रुपमा हेरिएको छ । राजतन्त्र पुनः फर्किने, राजा पुन आउने चर्चा चलिरहेको बेला बद्री मण्डल अचानक नेपालको राजनीतिमा आफ्नो उपस्थिति देखाउनुलाई कतिपयले अनौठो रुपमा लिएको छ । जनतामा लोकतान्त्रिक शक्तिहरुको आलोचना हुनु, राप्रपालगायत राजतन्त्र निकट संगठनहरु सक्रिय हुनु, पूर्व राजा ज्ञानेन्द्र शाह स्वयं आफै पनि सक्रिय हुनुभएको बेला बद्री मण्डल मधेशमा आफ्नो शक्ति आर्जन गर्न पुनः सक्रिय हुनुभएको छ ।
सक्रिय पनि त्यो पार्टीबाट हुनुभएको छ जुन पार्टीको अध्यक्ष विगतमा रही सक्नुभएको छ । सोही पार्टीलाई लिएर राजा ज्ञानेन्द्र शाहको कदमलाई समर्थन गर्नुभएको थियो । हो, त्यो पार्टी हो नेपाल सद्भावना पार्टी । मंसिर ३ गते सम्पन्न नेपाल सद्भावना पार्टीबाट उहाँ सक्रिय हुनुभएको हो ।
महाधिवेशनले रामचन्द्र कुशवाहाको अध्यक्षतामा गठन भएको २९ सदस्यीय राष्ट्रिय कार्यकारिणी समितिमा बद्री मण्डललाई वरिष्ठ नेताको रुपमा राखिएको छ । अर्थात पार्टीको कार्यकारी रामचन्द्र कुशवाहा भए पनि पार्टीको कमाण्डर बद्री मण्डल नै रहने स्रोतको दावी छ । स्रोतले भन्यो, ‘आफू शक्तिशाली रहेको भनि कसैलाई बद्री मण्डललाई देखाउनु छ, त्यही भएर सक्रिय हुनुभएको छ ।’
कार्यकारिणी समितिको सहअध्यक्षमा गोविन्द चौधरी र उपाध्यक्षहरुमा सहजाद मियाँ मिकरानी र दशरथ यादव रहनु भएको छ । त्यस्तै, महासचिवमा रामबाबु सिंह र सुरेन्द्रकुमार पटेल रहनु भएको छ । सहमहासचिवमा मञ्जु चौधरी, वैद्यनाथ पासवान तथा कोषाध्यक्षमा चन्द्रिकाप्रसाद कुशवाहा र प्रवक्तामा रामपृत यादव रहनु भएको छ ।
केन्द्रीय सदस्यहरुमा जिपी सिंह, दिनेश राउत, रामबाबु साह, रामनरेश प्रसाद कुशवाहा, राजकुमार राजवंशी, सुनिलकुमार यादव, भोलानाथ सिंह, ओम थनेत, सत्यनारायण प्रसाद रौनियार, जगनाथ महतो कोइरी, प्रभा चौधरी, ह्रदयानन्द मेहता, नमिता चौधरी, जयदेव चौधरी, सञ्जु चौधरी, मञ्जु देवी, सावित्री देवी राम र सुनिता मेहता रहनु भएको छ ।
नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंहको निधनपछि त्यसको अध्यक्ष बद्री मण्डल हुनुभएको थियो । उहाँ अध्यक्ष रहेकै बेला नेपाल सद्भावना पार्टी विभाजन भएको थियो । ज्ञानेन्द्र शाहले ‘कु’ गरेपछि बद्री मण्डल त्यता लाग्नु भएको थियो । त्यसपछि लक्ष्मणलाल कर्ण सो पार्टीको अध्यक्ष हुनुभएको थियो । पछि आनन्दी देवी अध्यक्ष रहेको नेपाल सद्भावना पार्टीसँग एकीकरण भएको थियो ।
त्यसपछि पनि सो पार्टी पटक पटक विभाजन भयो । पार्टीका नेताहरु अरु अरु पार्टीमा गए । नेपाल सद्भावना पार्टी त्यतिकै हराई सकेको थियो । पछि रामकुमार महतोले त्यसलाई जिवित गर्नुभएको थियो । पछि उहाँ पनि त्यो पार्टी छाडेर रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा जानु भयो । त्यसपछि बाँकी रहेका नेताहरुले रामचन्द्र कुशवाहाको अगुवाईमा पर्सामा मंसिर ३ गते महाधिवेशन सम्पन्न गरेका छन् । त्यही महाधिवेशनबाट बद्री मण्डल सक्रिय हुनुभएको हो ।
देशमा गणतन्त्र आएपछि बद्री मण्डल निस्कृय हुनुहुन्थ्यो । उहाँ केही समय राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीमा पनि लाग्नु भएको थियो । पछि जसपा नेपालसम्म अलिअलि पार्टीहरुको राजनीतिक गतिविधिमा देखिनु भएको थियो । जसपा नेपाल विभाजन भएपछि उहाँ निस्कृय भएर घर बस्नु भएको थियो । अहिले नेपाल सद्भावना पार्टी सक्रिय भएसँगै उहाँ पनि राजनीतिमा आफ्नो उपस्थिति देखाउनु भएको छ ।
रामचन्द्र कुशवाहा महन्थ ठाकुर नेतृत्वको तत्कालिन तमलोपाबाट मन्त्री समेत भइसक्नु भएको हो । तत्कालिन तमलोपा टुटफुट हुन थालेपछि उहाँ निस्कृय भएर बस्नु भएको थियो । केही नेताहरुले नेपाल सद्भावना पार्टीलाई पुनर्जिवित गरी सक्रिय बनाउने भएपछि कुशवाहा त्यसमा लाग्नु भएको हो । उहाँकै अध्यक्षतामा नेपाल सद्भावना पार्टीको सातौ महाधिवेशन पर्सामा सम्पन्न भएको छ ।
सहअध्यक्ष गोविन्द चौधरीको राजनीति पनि नेपाल सद्भावना पार्टीबाट नै सुरु भएको थियो । पछि त्यसलाई छाडेर उहाँ तमलोपामा लाग्नु भएको थियो । तमलोपा टुटफुट हुँदै गएपछि उहाँ विभिन्न पार्टीमा जानुभयो । तर अहिले नेपाल सद्भावना पार्टी पुनर्जिवित भएपछि उहाँ महाधिवेशनबाट सहअध्यक्ष हुनुभएको छ ।
तपाईको प्रतिक्रिया