Khadya Bibhag

चीन जानुअघि ओली किन भेट्नुभयो ‘रअ’ को प्रमुखलाई ?

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले बेवास्ता गरिरहेको छ । भ्रमणका लागि यतिका चर्चा भए पनि भारतले प्रधानमन्त्री ओलीलाई निमन्त्रणा लिएर भ्रमणका लागि बोलाएन । यद्यपी ओलीले अन्तिम समयसम्म भारतको भ्रमण गर्ने भनि प्रयास गरिरहनु भयो । त्यसका लागि उहाँले विभिन्न एजेन्सीमार्फत भारतलाई कुरा पनि पुर्याउनु भयो । तैपनि भारतले बेवास्ता गर्यो र प्रधानमन्त्री ओली चीन भ्रमणमा जान बाध्य हुनुभयो ।
प्रधानमन्त्री ओली चीन भ्रमणमा जानुअघि नेपालका लागि भारतीय गुप्तचर एजेन्सी ‘रअ’ को प्रमुख अंशुल शर्मासँग भेट्नुभयो । प्रधानमन्त्री ओलीले मंसिर ३ गते बालुवाटारमै बोलाएर शर्मासँग एक घण्टा लामो कुराकानी गर्नुभएको स्रोतले दावी गरेको छ । प्रधानमन्त्री ओलीले आफू भारतको अहित कहिले नचाहेको, मित्र भएर नै काम गरेको तर आफूमाथि विभिन्न शंका उपशंका गरिरहेको गुनासो गर्नुभएको थियो ।
‘हाम्रा दुई छिमेकी देश छन्, त्यसमध्ये भारतसँग हाम्रो विशेष सम्बन्ध छ, यसलाई कसैले बदल्न सक्दैन, त्यसलाई अझ हामीले विशेष बनाउन चाहेको हो तर कताबाट कसैले भाँजो हालेर सम्बन्ध बिगार्न चाहेको देखिन्छ’ प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘खुल्ला सीमाका कारण जसले जति नै गरेपनि नेपालको परनिर्भरतालाई कम गर्न सक्दैन, दुई देशको सम्बन्धलाई हटाउन सक्दैन सायद यो कुरा भारतलाई पनि थाह छ भनि उहाँले कुरा राख्नु भएको थियो ।’
नेपाल प्रमुख शर्माले नेपाल–भारत बिचको सम्बन्धलाई लिएर कसैमा कुनै प्रकारको दुई मत छैन तर कतिपय कुरामा नेपाल सरकारले केही कुरा स्पष्ट पार्नु पर्ने हुन्छ, त्यसमा कही कतै न कतै चुकेको देखिएको कुरा राखेको स्रोतले दावी गरेको छ । ‘हामी चाहन्छौं नेपाल–भारत बिचको सम्बन्ध अझै बलियो होस्, देखिएका सानातिना विवाद संवाद र छलफलका माध्यमले समाधान होस् तर कही कतैबाट केही नकेही अप्ठ्यारो पक्कै पनि छ’ स्रोतले भन्यो प्रधानमन्त्री ओलीलाई शर्माले भन्नुभएको कुरा हो यो ।’
कोरोनाको समय २०७७ कात्तिक ५ गते भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री अ‍ोलीले यसैगरि भेट्नु भएको थियो । सो भेट बारे त्यतिबेला निकै टिका टिप्पणी भएको थियो । उहाँको निकै आलोचन भएको थियो । पछि प्रधानमन्त्री अ‍ोलीका तत्कालिन प्रेस सल्लाहकार सूर्य थापाले विज्ञप्ति जारी गरेर भेटघाटको बारेमा पुष्टि गर्नुभएको थियो । त्यो भेट त्यतिबेला भएको थियो जतिबेला चुच्चे नक्सालाई लिएर नेपाल–भारतको सम्बन्धमा दरार उत्पन्न भइसकेको थियो । भारतसँग प्रधानमन्त्री ओलीको दुरी निकै बढी सकेको थियो । यता तत्कालिन नेकपामा विवाद उत्पन्न भइसकेको थियो । नेकपामा रहनु भएको तत्कालिन अध्यक्ष प्रचण्डले सरकारको कामकाज लिएर प्रधानमन्त्री अ‍ोलीमाथि पार्टीभित्र प्रश्न उठाउनु भएको थियो ।
पार्टीभित्र देखिएको विवाद भारतको इसारामा भइरहेको बुझाई प्रधानमन्त्री ओलीको थियो । भारतले प्रधानमन्त्रीबाट हटाउन चाहेको कुरा पनि ओलीले त्यतिबेला राम्रोसँग बुझ्नु भएको थियो । त्यही कुरालाई समाधान गर्नका लागि उहाँले ‘रअ’ प्रमुख गोयललाई भेट्नु भएको थियो । यसपटक पनि त्यस्तै भएको छ । चीन जानुअघि रअका नेपाल प्रमुख शर्मालाई बोलाएर आफू भारत विरोधी होइन, भारतको मित्र हो भनि सन्देश दिनुभयो । त्यो सन्देशले चीनबाट फर्केपछि भारतले कस्तो प्रतिकृया देखाउछ त्यसमा भर पर्छ ।
प्रधानमन्त्री ओलीले नेपालको गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागलाई आफू निकट राख्नु भएको छ । उहाँ यसअघि प्रधानमन्त्री भएकै बेला विभागलाई प्रधानमन्त्री कार्यालयमार्फत राख्नुभएको थियो । राष्ट्रिय अनुसन्धान विभागले देशभरबाट संकलन गर्ने सूचना सिधै प्रधानमन्त्रीसमक्ष पुग्छ । र, त्यसको आधारमा देशको सुरक्षा अवस्था, राजनीतिक अवस्था लगायतको विषयमा विश्लेषण हुन्छ र सरकार त्यो अनुसार आफ्नो एक्सनमा जान्छ । भारतको ‘रअ’ र नेपालको गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागसँग सम्बन्ध स्थापित गराउन प्रधानमन्त्री अ‍ोलीले रअका प्रमुखसँग त्यो दिन (मंसिर १३ गते) आग्रह गर्नुभएको थियो ।
सो आग्रह बमोजिम अनुसन्धानका केही गुप्तचरहरु भारतको नयाँ दिल्ली तालिमका लागि जाने तयारीमा छन् । स्रोतका अनुसार सम्भवतः पुस महिनामा भारतको दिल्ली जाने छन् । उनीहरुलाई भारतको ‘रअ’ मातहत राखेर तालिम दिन्छ । यसरी पहिला पनि तालिम दिइन्थ्यो । तर बिचमा लामो समयदेखि त्यो रोकिएको थियो । प्रधानमन्त्री अ‍ोली चीन जानुअघि यसको सहमति दिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया