Khadya Bibhag

उपचुनावबाट डराएको लोसपाद्वारा जनप्रतिनिधिलाई मेहमानी

स्थानीय तहको उपचुनावबाट डराएर पछाडि हटेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले स्थानीय जनप्रतिनिधिहरलाई काठमाडौँमा बोलाएर होटलमा मान सम्मानसहित मेहमानी गराएको छ । उपचुनावमा भाग नलिएपछि लोसपा नेपालको टिकाटिप्पणी भइरहेको छ । यो कुराबाट २०७९ को स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरुमा असर नपरोस् भनेर काठमाडौँ बोलाएर होटलमा राखेर प्रशिक्षण दिएको छ । जब कि त्यो प्रशिक्षणको कुनै अर्थ थिएन । त्यहाँ कुनै प्रशिक्षण दिएको थिएन । काठमाडौँ ल्याएर उपचुनावबाट ध्यान अन्यत्र लैजाने यस्तो गरेको पार्टीकै कतिपय नेताहरु बताउँछन् ।
२०७९ को चुनावमा राष्ट्रिय दल बन्न समेत नसकेको लोसपा नेपालले स्थानीय तहको यो उपनिर्वाचनमा भाग लिएर एक सीट पनि जित्न सकिएन भने बदनामी हुन्छ भनि डरले उपनिर्वाचन भाग नै लिएन । बरु तराई मधेश केन्द्रीत दल जनता समाजवादी पार्टी नेपालले १२ सीटमा उम्मेदवारी दिएको भने जनमत पार्टीले १६ सीटमा उम्मेदवारी दिलाएको छ । तर लोसपा चुपचाप छ । मंसिर २ गते उम्मेदवारी दर्ता भयो १६ गते मतदान छ ।
उम्मेदवारी दर्ता भइसकेपछि लोसपा नेपालको टिकाटिप्पणी सुरु भएपछि मंसिर ५ गते स्थानीय जनप्रतिनिधिहरुको काठमाडौँमा बोलाएर रिफ्रेस गराएको छ । २०७९ को स्थानीय चुनावमा लोसपा नेपालबाट १६ जना पालिका प्रमुख, १२ जना उपप्रमुख, १०३ जना वडा अध्यक्ष, एक जना जिल्ला समन्वय समितिका सभापति र दुई जना उपसभापतिमा जितेका छन् ।
यद्यपी लोसपा नेपालका महासचिव डा.सुरेन्द्र झाले स्थानीय तहमा भइरहेको कामकाजको अनुभव, सेवा प्रवाह, शिक्षा, स्वास्थ्य, कृषिलगायत दलित, विपन्न वर्गका लागि के कस्ता काम भइरहेका छन् लगायतका विषयमा छलफल भएको बताउनुभयो । उहाँले प्राविधिक कारणले लोसपा चुनावमा भाग नलिएको दावी गर्नुभयो । उपनिर्वाचनमा पार्टीले किन भाग लिएन भनि स्थानीय तहका जनप्रतिनिधिहरुले कुरा उठाएका थिए बैठकमा तर त्यसको जवाफ पार्टीका शीर्ष नेताहरुले दिन सक्नु भएन ।
चुनावमा भाग नलिएपछि मत कहाँ दिने त्यसको जिम्मेवारी पार्टी सम्बद्ध मतदाताको भरमा नै छाडेको थियो । पार्टीका मतदाताहरुले आफूले रोजेको, आफूले बुझेको व्यक्ति तथा पार्टीलाई मत दिन पाउने जानकारी गराएको थियो । लोसपा नेपाल काँग्रेस–एमाले नेतृत्वको गठनमा रहेको छ तर त्यो गठबन्धनलाई पनि समर्थन गरेन । यो विषयमा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरसँग कुरा गरेपछि उहाँले भन्नुभयो, ‘हामीसँग कसैले मत नै मागेको छैन भने कसलाई दिन जानु, स्थानीय नेता तथा कार्यकर्तालाई निर्णय गरेर मतदान गर्न अधिकार दिएको छु ।’ तर चुनावमा किन भाग नलिएको भनि प्रश्नमा उहाँले कुनै जवाफ दिनुभएन ।
सदस्यता वितरण अभियानको समय पनि थप गरेको छ । सदस्यता वितरण अभियानलाई थप सुदृढ बनाउन मंसिरमसान्तसम्म त्यसलाई निरन्तरता दिने महासचिव झाले बताउनुभयो । गत जेठ ११ गतेदेखि सुरु भएको सदस्यता वितरण अभियान पाँच महिनासम्म सञ्चालन भएको थियो । मंसिरमसान्तसम्म एक महिना म्याद थप गरिएको छ । २०८२ बैशाखमा हुने पहिलो महाधिवेशनलाई लक्षित गरी यो अभियान सुरु गरिएको हो ।
यो अभियान अवधिमा पाँच लाख सदस्यता वितरण गर्ने लक्ष्य राखिएको छ । २०८२ को वैशाखमा महाधिवेशन गर्ने गरी लोसपा नेपालले संगठनको कामलाई तिब्रता दिएको छ । तत्कालीन तमलोपाको प्रथम महाधिवेशन २०७३ मा भएको थियो । त्यसयता महाधिवेशन भएको छैन । तमलोपाबाट राजपा र राजपाबाट जसपा हुँदै लोसपा बनेको हो । विभिन्न पार्टीहरूसँग एकता र सहकार्य गरिरहेका कारण महाधिवेशन भएको थिएन । आउने बैशाखमा हुने महाधिवेशनलाई पहिलो महाधिवेशन भनेको छ ।

तपाईको प्रतिक्रिया