–सुजीतकुमार झा
नेपाल एसिया देशमध्येको पुरानो देश मानिन्छ । यस क्षेत्रको अस्तित्व अढाई हजार वर्ष पुरोनो रहेको देखिन्छ । महाभारत, स्कन्द, गरुड, बराह पुराण आदिमा पनि नेपालको उल्लेख पाइन्छ । प्राचीन कालदेखि नेपालको भारत र चीनसित राजनीतिक सम्बन्ध र कारोबार रहँदै आएको इतिहासका तथ्यहरुले बताउँछन् ।
अतः नेपाल–भारत सम्बन्ध प्राचीन छ । अंग्रेजहरूको उपनिवेश हुनुपूर्व भारतीय उपमहाद्वीपमा पनि विभिन्न स्वतन्त्र राज्य थिए । ती राज्यबिच आपसी तिता–मीठा, युद्ध–शान्ति र संघर्ष–सम्झौतापूर्ण सम्बन्ध रहेको तथ्य इतिहासको कालखण्डमा भेटिन्छ । नेपालको पनि भौगोलिक विशिष्टता तथा समान आर्थिक–सामाजिक परिवेशका कारण भारतका प्रायः सबै राज्यसँग कुनै न कुनै प्रकारको सम्बन्ध थियो । नेपालका शासकहरूमा किराँतबाहेक सबै राजवंशले पुख्र्यौली थलो भारतका विभिन्न ठाउँमा भएको देखाएका छन् ।
नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण छन् । स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूले सबै राष्ट्रहरूसँग उच्चस्तरीय संवादको संस्कृतिको प्रारम्भ गरेका थिए । वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले संवादको उक्त संस्कृतिलाई निरन्तरता दिइरहेका छन् । यो परम्परा अक्षुण्ण रहँदै अहिले अझै व्यापक र बलियो बन्दै गएको छ । प्रधानमन्त्री मोदीले पटक–पटक गरेका नेपाल भ्रमण र ती अवसरमा नेपालसँगको सम्बन्धबारे व्यक्त गरेका विचारहरूले सम्बन्धलाई उचाइमा पु¥याउन मद्दत गरेका छन् ।
भारतको सहयोगअन्तर्गत शैक्षिक पूर्वाधार, अस्पताल, विमानस्थल, सडक सञ्जाल, रेलवे, बिजुली प्रसारण ऊर्जा विकाससहित आधुनिकीकरणका सबै क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएका छन् । नेपालले पनि भारतको विकासमा ठूलो योगदान दिएको छ । चाहे भारतको स्वतन्त्रताको लडाइँमा होस् वा भारतीय सीमाको सुरक्षामा, नेपालीद्वारा दिइएको बलिदान अभूतपूर्व छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन राजमार्ग, पूर्व–पश्चिम राजमार्ग, हुलाकी सडक, कोसी ब्यारेज, कर्णाली पुल, जनकपुर–जयनगर रेल, एकीकृत भन्सार चौकी, नेपाल–भारत पेट्रोलियम पाइपलाइन, नेपाल–भारत विद्युत् प्रसारण लाइन, अरुण तेस्रो परियोजना, ट्रमा सेन्टर, बीपी कोइराला चिकित्सा विज्ञान संस्थान, नेपाल–भारत पुस्तकालय, पशुपति धर्मशाला, जयनगर–कुर्था (जनकपुरधाम) रेल आयोजना आदि नेपालको विकासमा भारतले लगानी गरेका केही उल्लेखनीय परियोजना हुन् ।
विद्यालय तथा अस्पताल भवन, खानेपानी प्लान्ट, लघु ऊर्जा परियोजना, सडकखण्ड निर्माणसहितका सामुदायिक विकास परियोजनाअन्तर्गत नेपालमा अहिलेसम्म ४६४ पूर्वाधारको निर्माण सम्पन्न भइसकेको छ भने ६८ वटा आयोजनाहरू निर्माणाधीन छन् । नेपाली जनताको सुविधाका लागि भारत सरकारद्वारा सयौ एम्बुलेन्स र दर्जनो स्कुल बस नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
कोभिड तथा भुकम्प
‘छिमेकी देशको’ नीतिअन्तर्गत भारतले सधैँ नेपाललाई प्राथमिकतामा राखेको एउटा नेपालीको हैसियतले आफूहरुले पनि देखि रहेको, चाहे त्यो २०१५ को विनाशकारी भूकम्पका समयमा आएको भारतको तत्काल प्रतिक्रिया होस् वा कोभिडसिल्ड खोपको सहयोग, भारतले नेपालका नागरिकको स्वास्थ्य सुरक्षामा प्राथमिकता दिएको छ । भारत नेपालको एक असल साथीका रूपमा सधैँ रहिरहनेछ । भारत सधैँ नेपाललाई सहयोग गर्न तम्तयार हुने गरेको छ । भारतले गोरखा र नुवाकोट जिल्लामा ५० हजार सुरक्षित घर निर्माणका लागि ९३ करोड ७० लाख बराबरको अनुदान प्रदान गरेको थियो । क्षतिग्रस्त विद्यालय, अस्पताल र नेपालका विभिन्न जिल्लामा सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माणका लागि पनि भारत सरकारले अनुदान दिँदै आएको छ ।
कोभिड–१९ महामारीको बेला नेपाल र भारतबीच असल छिमेकीका रूपमा अभूतपूर्व समन्वय देखियो । जसकारण, कोभिडको उच्च प्रभाव भएको समयमा पनि अति आवश्यक दैनिक उपभोग्य सामानको सहज आपूर्ति हुन सक्यो । विनाकुनै अवरोध काम सञ्चालन हुन सकेका छन् । पहिलो चरण र दोस्रो चरणको लकडाउनमा भारतबाट नेपाल प्रवेश गर्ने सबै उपभोग्य वस्तु, स्वास्थ्य सुरक्षाको मापदण्डअनुरूप विनाकुनै बाधा नियमित उपलब्ध भए । यसबाहेक भारतले कोभिड–१९ सँग लड्न आवश्यक अन्य सामग्री पनि प्रदान गरेको थियो ।
राजनीतिक शुभेच्छा
नेपाल र भारतका बीच धार्मिक, सांस्कृतिक, पर्यावरणीय सम्बन्ध छ । नेपालका पवित्र नदीहरू भारततर्फ प्रवाहित हुन्छन् । राजनीतिक हिसाबले नेपाल राजनीतिक परिपक्वताको मार्गमा छ । यो क्रममा नेपालले जे जति उपलब्धि हासिल गरेको छ, त्यसका लागि भारतीय सहृदयता र शुभेच्छा रहेको छ । नेपाल अहिले पनि राजनीतिक स्थायित्वको खोजीमा छ । नेपालमा राजनीतिक स्थायित्व भारतका लागि मात्रै होइन, दक्षिण एसियाकै लागि अनिवार्य छ ।
नेपाल र भारत बिचको सम्बन्ध नेपालले भारतलाई के दियो, बदलामा भारतले नेपाललाई के दियो भन्ने प्रश्नका आधारमा तौलिने सम्बन्ध भने होइन । नेपाल र भारतको सम्बन्ध सदियौँको परम्परामा निरन्तर चलिरहेको छ । यी दूई देश बिचको खुला सिमानाले पनि यी मुलुकको सम्बन्धको अविच्छिन्नता र मौलिकतालाई स्पष्ट पार्छ । छिमेकीका बिचमा सानातिना विवाद सधैँ नै हुन्छन्, जुन नौलो होइन । तर, ती विवादले स्थायी र दीर्घकालीन सम्बन्धमा खासै असर पार्दैनन् ।
नेपाल र भारतका बीचको सौन्दर्य नै सु–सम्बन्ध हो । दुई देशका बीच विश्वासको वातावरण भएको खण्डमा विकासका प्रयास सफल हुनेछन् । अहिलेसम्म नेपाल र भारतका बीच कटुता देखिएको छैन । नेपाल र भारतबीच सहअस्तित्व र विश्वासको सम्बन्ध रहोस् भन्ने चाहना राख्नेहरू स–साना विषयमा दुवै देशका नेतृत्वले आफ्नो समय खेर नफालून् भन्ने चाहन्छन् ।
राजनीतिक सम्बन्ध
आधुनिक नेपाल–भारत सम्बन्धलाई परिभाषित गर्ने सन् १९५० को शान्ति तथा मैत्री सन्धी हो । उक्त सन्धि सन् १९४७ मा ब्रिटिस शासनबाट भारत स्वतन्त्र भएपछि नेपालसितको सम्बन्धलाई नयाँ आधार तयार गरी निर्देशित गर्न तयार गरेको छाता सन्धि हो । मुलतः तत्कालिन दुई ध्रुवीय विश्वको शीत युद्धकाल कम्युनिष्ट चीनविरुद्ध सामरिक मामलामा सहयोग र नीतिगत समन्वय गर्न तयार गरिएको हो । नेपालमा भारतीयहरुलाई व्यापार व्यवसायमा भित्र्याउन र भारतीय एकाधिकार बजार सुदृढ गर्ने मनसायबाट प्रेरित रहेको केहीले आरोप लगाएपनि जुनबेला समस्या आउँछन भारत सबै अगाडी आउने गरेको छ । त्यो बेला ती आरोप निराधार हो छर्लङ्ग हुन्छ ।
राजनीतिक सम्बन्धको आधारको मूल्याङ्कन गर्ने हो भने कुनै राजनीतिक परिवर्तन हुँदा दुबै देशका शासन प्रमुखले एक अर्को देशको भ्रमण गर्ने गरेको छ । दुबै देशमा भएको आन्दोलनमा दुबै देशका नागरिक सहभागि भएका छन् । जननेता बीपी कोइरालाले भारतीय स्वतन्त्रा संग्रामको बेला जेलसम्म बसेका थिए । गौरवपूर्ण सम्बन्धको इतिहासलाई निरन्तरता दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०१४ मा प्रधानमन्त्री बनेयता चारपटक नेपालको भ्रमण गरिसकेका छन् । भ्रमणको क्रममा उनले पशुपतिनाथ, जानकी मन्दिर र मुक्तिनाथ समेतको दर्शन भ्रमण गरे । नेपाल र भारत दुबैका निम्ति धार्मिक एवं सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण यी तीर्थस्थलहरूले दुबै देशको सम्बन्धलाई थप प्रगाढ रूपमा जोड्न सक्छन् भन्ने सन्देश पनि उनका भ्रमणले दिएका छन् ।
यता केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि भारतको मध्यप्रदेशको उज्जैनस्थित महाकाल मन्दिरमा पूजागर्न पुगेका थिए । मोदीले शुरु गरेको धार्मिक यात्राकै निरन्तरताको रुपमा त्यसलाई देखिएको छ । नेपालले आफ्नो स्वतन्त्र अस्थित्वका लागी अनवरत संघर्ष गरेको देखिन्छ । त्योबेलाको विश्वशक्ति नम्बर १ व्रिटिश साम्राज्यसित नेपालले १८१४–१५ मा युद्ध लडेको र शान्ति सम्झौता गरेको थियो । त्यसबेला एसियाको नम्बर १ शक्ति चीनसित १८५६ मा युद्ध लडेको र शान्ति संम्झौता गरेको थियो । आफ्ना छिमेकीसँग सम्बन्ध बढाउन नेपालले सन् १८५६ मा ल्हासामा दुतावास (लीगेशन) स्थापना र १९३४ मा लण्डनका दुतावास स्थापना गरेको थियो ।
राणाकालमा बिशेषत जङ्गबहादुर राणाले उत्तरी छिमेकीसँग आर्थिकसंगै अन्य सम्बन्ध कम गर्दै भारतमा शासन गरेको ब्रिटिश शासनको एकतर्फी गुलामी नगर्ने नीति लियो र नेपाल आर्थिकसंगै अन्य गतिबिधिका लागि भारतसँग मात्रै निर्भर रहने वतावरण बन्यो । त्यो स्थितिले अहिलेसम्म पनि निरन्तरता पाइरहेको छ ।
सामाजिक–संस्कृतिक सम्बन्ध
नेपाल–भारत बीचको सबै भन्दा मजबुत सम्बन्ध भनेको सामाजिक सम्बन्ध नै हो । जसलाई नेपाल–भारत बीचको जनस्तरको सम्बन्ध भन्ने गरिन्छ । यसभित्र पारिवारिक, आर्थिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय, कामदारहरु आदान प्रदानका सम्बन्धहरु पर्दछन् । खुला सीमा भएकै कारण नेपाल–भारत बिच यो सम्बन्ध निकै मजबुत छ । यदा कदाको आर्थिक उतार–चढावबाहेक यो सम्बन्ध सधैँ स्थिर छ । नेपाल वा भारतमा कुन सरकार बन्यो वा कस्तो राजनीतिक व्यवस्था छ भन्ने कुराले यो सम्बन्धमा कुनै फेरबदल गर्दैन ।
अझ कतिसम्म भने कतिपय यी सम्बन्धका पक्षहरुलाई नेपाल वा भारतमा कसको सरकार छ र सरकारको परराष्ट्रनीति कस्तो छ भन्ने कुरा समेत थाहा हुँदैन । न त दुई देश बीचको परराष्ट्र नीतिले नै यी कुराहरुमा ठूलो फरक पार्दछ । नेपाल–भारत बीच खुला सीमाना भएकाले पनि दिल्ली–काठमाडौं बीचको सम्बन्धमा उतार–चढावले सीमामा धेरै ठूलो असर नपरेको हो । रोटी बेटीको सम्बन्ध भन्ने गरिएको यो सम्बन्ध कुनै सरकारले निर्माण गरेको नभइ स्वतः स्फूर्त सम्बन्ध हो र यो स्थिर पनि छ ।
सामाजिक–सांस्कृतिक दृष्टिले घनिष्ठ मानिने नेपाल–भारत परम्परागत सम्बन्ध समान धर्म, संस्कृति तथा खानपानका विकास भएको मानिन्छ । त्यस्तै खुला सीमा तथा ठूलो संख्यामा जनताको काम गर्ने, व्यापार गर्ने, पढ्ने पढाउने एकअर्को देशमा निर्भर, बिहे– वारी आदिले पनि प्राचीन समय देखिनै नेपाल भारत सम्बन्धलाई सामाजिक–संस्कृतिक पहिचान दिएको छ । ‘कुनै पनि राष्ट्र बलियो र समृद्ध बनाउन उक्त देशको विदेश नीति बलियो हुन आवश्यक छ’–‘सिंगापुरका पूर्वप्रधानमन्त्री ली क्वान युले कुनै सन्दर्भमा पत्रकारसँग भनेको यो कुरा नेपालको सन्दर्भमा सरोकारवालाहरूले बुझ्न जरुरी छ । नेपाल–भारत सम्बन्धलाई राजनीतिक तहमा प्रवेश गराउन नेपालले नै बढी चासो दिनु देशका लागि हितकर हुनेछ । आफ्नो भू–राजनीतिक र रणनीतिक अवस्थिति विचार गर्दै नेपालले विदेश नीति निर्माणमा ध्यान दिए बदलिँदो परिस्थितिमा भारतसँगको सम्बन्धले हार्दिकता ग्रहण गर्नेछ ।
आर्थिक सम्बन्ध
नेपालको व्यापारिक नाका तथा ‘हब’ का रुपमा नेपालको पहिचान ऐतिहासिक काल देखि नै व्यापार तथा आर्थिक क्रियाकलापमा नेपालको महत्वपूर्ण स्थान रहेको छ । नेपाली मुद्राको तिब्बतमा बोलबाला रहेको तथ्य समेत हामीले पढ्न पाउछौ । नेपालको लिच्छवी तथा मल्ल कालमा नेपालको जुन वैभव थियो, त्यसको मुख्य आधार नै त्यही आर्थिक तथा व्यापारिक क्रियाकलाप थियो । तर बिशेषत् गोर्खा फौजको नेपाल एकीकरण पछि नेपालले बाहिरी संसारसँग सिमित सम्बन्ध राख्ने नीति लियो र लगत्तै राणाकालमा तिब्बतसँग आर्थिक संगै अन्य सम्बन्ध कम गर्दै भारतमा शासन गरेको ब्रिटिश राजको एकतर्फी सम्बन्ध राख्ने नीति लियो र नेपाल आर्थिकसंगै अन्य गतिबिधिका लागि भारतसँग मात्रै निर्भर रहने वतावरण बन्यो । त्यो वतावरणलाई ब्रिटिशले भारत छोडेर गए पछि पनि वर्तमान भारतले निरन्तरता दियो । सन् १९५० को सन्धिले झन् संस्थागत गर्यो नेपाल व्यापार, लगानी तथा अन्य आर्थिक गतिविधिका लागि एकतर्फी रुपमा भारतमा निर्भर रहनु पर्यो ।
अर्कोतिर नेपाल भुपरीवेष्ठित देश भएकाले सहज र छोटो दुरीमा अन्तर्राष्ट्रिय व्यपारका लागि भारतमै निर्भर रहने स्थितिले समेत त्यो वातावरण बलियो बन्दै गएको हो । हालको आवस्था भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार हो । विदेशी लगानीको सबैभन्दा ठूलो स्रोत पनि हो । साथै नेपालको लगभग तेस्रो देश व्यापारका लागि ट्रान्जिट प्रदान गर्दछ । सीमा क्षेत्रका अधिकांश नेपाली उपभोक्ताले सहज रुपमा भारतीय बजारबाट आफ्ना दैनिक उपभोग्य सामान आपूर्ति गरिरहेको अवस्था छ । आफ्ना उत्पादन पनि सहजै रुपमा भारतीय बजारमा बिक्री गरिरहेको अवस्था छ ।
नेपालले भारतबाट हार्डवेयर, कोइला, कपडा, चुरा, टीका, तेल, मार्वल–टायल्स, मोटरेवल तथा इलेक्ट्रोनिक्स सामान आयात गरिरहेको छ । नुन लगायतका अन्य खाद्य पदार्थको स्थान समेत आयातमा उच्च छ । भारतको बाटो भएर इन्धन, सोलार व्याट्री, सुपारी, पेय पदार्थ, गार्मेन्ट, प्लाष्टिकका सामान आयात गरिरहेको अवस्था छ । त्यस्तै नेपालबाट स्थानीय उत्पादित सुपारी, चिया, कुचो, अदुवा, जडिबुटी जस्ता सामान भारत निर्यात भइरहेको छ । नेपालबाट भारतको बाटो हुँदै तेस्रो मुलुकतर्फ जस्तापाता, दाललगायतका सामान निर्यात भइरहेको पाइन्छ । सीमावर्ती क्षेत्रमा बनेका सुख्खा बन्दरगाहका कारण दुई देश बिचको सीमा व्यापारमा थप सहजता भएको मेची भन्सार कार्यालयका अधिकारीहरुको अनुभव रहेको छ । मेची भन्सार कार्यालयले मात्र सीमा व्यपार अन्तरर्गत वार्षिक तीन अर्ब बढी राजश्व असुली गर्दै आएको छ ।
भारतीय रुपियाँ र नेपाली रुपियाँ बिचको अन्तर, निर्यातभन्दा आयात बढी हुनु तथा कतिपय सामान तेस्रो मुलुकबाट आयात गरी भारत निर्यात गर्नुपर्ने अवस्था नेपालका लागि चुनौती रहे पनि सम्भावनाको खोजी गरी व्यापार प्रवद्र्धन गर्नुपर्ने देखिन्छ । नेपालमा उत्पादन भएको विद्युत भारत निर्यात भइरहेको छ ।
भारतीय कम्पनीका गाडी आयात गर्दा नेपाली भन्सारमा दोब्बर कर तिर्नुपर्ने बाध्यता हटाउन भारतीय कम्पनीलाई प्रोत्साहित गरी नेपालमै गाडी उत्पादनका लागि साझा लगानीकर्ता आकर्षित गर्न सके अझ राम्रो हुने देखिन्छ । अझ नेपालका कृषि उत्पादनलाई स्तरीय बनाउन भारतीय व्यापारीको लगानी उत्तिकै आवश्यक छ । किनकि यहाँका कृषि उत्पादनको बजार भारत नै हो । खेती गर्ने समयमा पर्याप्त मल उपलब्ध नहुँदा कृषक समस्यामा पर्दै आएका छन् ।
यो समस्या हटाउन संयुक्त लगानीमा कारखाना खोल्न सके कृषि उत्पादनमा महत्वपूर्ण टेवा पुर्याउन सकिन्छ । सीमा व्यापारका सन्दर्भमा सन् १९९६ को नेपाल–भारत वाणिज्य सन्धीको स्थान महत्वपूर्ण छ । सन्धीको परिमार्जन विश्व व्यापार र क्षेत्रीय व्यापारको अवधारणामा आएको परिवर्तनको आधारमा हुनुपर्ने माग उठिरहेका बेला समय–समयमा परिमार्जन भइरहेका छन् ।
जस अन्तर्गत २००९ अक्टोबर २७ मा भारतका वाणिज्य तथा उद्योगमन्त्री आनन्द शर्मा र नेपालका वाणिज्य तथा आपूर्ति मन्त्री राजेन्द्र महतोले हस्ताक्षर गरेको नेपाल–भारत वाणिज्य सन्धी र अनाधिकृत व्यापार नियन्त्रण सहयोग सम्झौताले १९९६ को सन्धीलाई परिमार्जन गरेको छ ।
नेपालका साना उद्योगद्वारा उत्पादित वस्तुहरुले भारतमा एसएसआइ सरह कर छुटको सुबिधा पाउने । २००९ को सन्धी नेपाली वस्तुको भारतमा पहुँच उकास्न र दुई देशबीचको दुई पक्षीय व्यापार अभिवृद्धि गर्नको लागि अघिल्लो सन्धीमा आधारित रहेको छ ।
पछिल्लो समय व्यापार सहजीकरणमा भारतीय पक्ष लचिलो र उदार बन्दै गएको छ । दुई देशबीचका उद्योग वाणिज्य संघ, सरकारी निकाय, व्यापारीबीचको समय–समयको संवाद र बैठकले सीमा व्यापार प्रवद्र्धनमा टेवा पुर्याएको पाइन्छ । यस्ता बैठक सीमा व्यापारका समस्या र चुनौती हल गर्न महत्वपूर्ण बन्दै आएको बताइन्छ । तसर्थ सीमा व्यापारबाट द्विपक्षीय हितका लागि यसका चुनौती, समस्या, पहिचान गरी निराकरणतर्फ लाग्नु अनि बैठक र संवादलाई निरन्तरता दिनु आवश्यक छ । कुनै समस्या आए संवादबाटै हल गर्ने संस्कृतिलाई अझ नियमित र प्रभावकारी बनाउन सके सीमा व्यापार नेपाल–भारतको आर्थिक समृद्धिमा कोशेढुंगा बन्ने निश्चित छ ।
नेपालमाथि भारतको प्रभाव
दुवै देशबीच देखिएको मनोवैज्ञानिक पक्ष सुसम्बन्ध विकास गर्न केही हदसम्म अवरोधका रूपमा देखिएका छन् । नेपाल कहिले पनि पराधीन रहेन, सधै स्वतन्त्र र स्वाभिमान कायम गरेको देश हो । भारतलगायत दक्षिण एसियाका धेरै देश ब्रिटिस उपनिवेशमा रहिरहेका बखत भारतलाई उपनिवेश बनाई शासन गरिरहेको बेलायतसँग सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र र सम्मानित हैसियतमा नेपालले दौत्य सम्बन्ध कायम गरेको थियो । यो सम्बन्धले दुई शताब्दी पूरा गरिसकेको छ । भारत सन् १९४७ मा मात्र ब्रिटिस उपनिवेशबाट स्वतन्त्र हुनसकेको हो ।
त्यसैले विश्व संस्थालगायतका सबै प्रकारका अन्तर्राष्ट्रिय संस्था र मञ्चमा नेपालले भारतसरहको अधिकार र सम्मान प्राप्त गरिदै आएको छ । समुन्द्रसम्मको पहुँच भारत भएर मात्र उपयोग गर्न सकिने, दैनिक उपभोगका सामान भारतसँग बढी निर्भर रहनुपर्ने, जनसंख्या र क्षेत्रफलका हिसाबले नेपालभन्दा धेरै ठूलो, लामो समयदेखि लोकतन्त्रको अभ्यास भएको शक्ति सम्पन्न राष्ट्रका हिसाबले हामीले पनि बडे भाइ मान्दै आएको छौ । त्यसकारणले पनि होला नेपालका सानातिना व्यवस्थापनमा समेत भारतको प्रभाव र हस्तक्षेप विभिन्न समयमा देखिँदै आएको छ ।
राणाको शासन इस्ट इन्डिया कम्पनीकै समर्थनमा १०४ वर्षसम्म निरन्तरता प्राप्त गरेको, राणा शासनलाई समाप्त गर्न भारतले नै राजा त्रिभुवनलाई भारतमा शरण दिई सहयोग गर्नु, नेपालको प्रशासन सुधारका विषयमा सरकारलाई सुझाव दिन भारतबाटै विज्ञहरू नेपालमा आई काम गर्नु, नेपालको मन्त्रीपरिषद् भारतका राजदूत उपस्थिति हुने चलन कुनै कालखण्डमा रहनु, नेपालको लोकतान्त्रिक आन्दोलनमा भारतले नै समन्वय र सहयोग गर्दै आउनु, आदि केही उदाहरणहरू हुन्, जसले गर्दा नेपालका उच्च पदस्थ राजनीतिज्ञ पनि भारतप्रति आदर भाव राख्दै आएको छ ।
नेपालका अधिकृत दर्जाका सैनिकलाई भारतको सैनिक तालिम केन्द्रले प्रशिक्षण प्रदान गर्नेदेखि नेपालका सेना प्रमुखलाई मानार्थ भारतीय सेनाको जनरलको उपाधिसम्मले स्वत विभूषित हुने व्यवस्था छ । भारतीय सेनामा थुप्रै नेपालीले उच्च स्तरको सेवा प्रदान गरि आएका छन् । दुवै देशका नागरिक राहदानीबिना नै दुवै देशमा आवागमन गर्ने, बसोबास गर्ने र रोजगारीसमेत प्राप्त गरिरहेका छन् ।
सीमामा सुरक्षाकर्मीको ज्यादती
नेपाल भारतको सीमामा खटिएका सुरक्षाकर्मीको व्यवहारका कारण दूबै देशका जनतालाई बढी समस्या हुने गरेको छ । बोर्डरदेखि नै सुरक्षाकर्मीले टर्चर गर्ने गरेको स्थानीयवासीहरु बताउँछन् । पहिला भारतीयहरु गाडी लिएर जनकपुरधाम वा जलेश्वर आउँदा चेकजाँचको नाममा नेपाली प्रहरीले समस्या गथ्र्यो अहिले पनि त्यस्तै भइरहेको छ । केही वर्ष यतादेखि भारतीय एसएसबीले पनि नेपालीलाई त्यस्तै दुरव्यवहार गर्न थालेका । जोडले कराएर बोल्ने, होच्याउने प्रवृति नै एसएसवीको देखिएको छ । एसएसवीको यो व्यवहारका कारण कतिले सीमा क्षेत्रमा आउजाउ गर्न छाडि सकेका छन् ।
धनुषाको जटही सीमामा सबै भन्दा बढी एसएसवीले समस्या गर्ने गरेको देखिएको छ । विहेको बेला चेकजाँचको नाममा जन्तीहरुलाई गाडीबाट तलसम्म ओराल्ने गरेको प्रवृति देखिन्छ । बेहुला सम्मलाई मानसिक टर्चर गर्ने गरेको पीडितहरु वताउँछन् । सीमामा खटिएका सुरक्षाकर्मीका कारण दूबै देशको पर्यटन क्षेत्र प्रभावित हुँदा पनि तिनीहरु आफ्नो बानी सुधार्न तर्फ उत्सुक नदेखिएको नेपाल उद्योग वाणिज्य मधेश प्रदेशका पूर्व अध्यक्ष शिवशंकर साह ‘हिरा’ को बुझाई रहेको छ । नेपालको सीमा बिहारसँग करिब ६०१ किलोमीटर जोडिएको छ भने उत्तर प्रदेशको कÞरीब ६५१ किलोमीटर रहेको छ । नेपालको सीमा भारतको उत्तराखण्ड, सिक्किम र पश्चिम बङ्गाल राज्यसँग पनि रहेको छ ।
नेपाल र भारत बिच केही समस्या छ भने त्यसका लागि बृहत् सम्वाद हुनुपर्छ । दक्षिण एशियामा एक अर्ब ८० करोड जनसंख्या छ । यहाँको करिब ३४ खर्ब डलर अर्थतन्त्र छ । छिमेकको आवश्यकताका आधारमा सहयोग गर्ने भारतको चाहना देखिँदै आएको छ । भारतको अपेक्षा उसको सुरक्षा चासो सम्बोधन होस् भन्ने हो । यसमा नेपालले भारतलाई थप आश्वस्त बनाउनुपर्छ । पूर्वी भारत अहिले विकासको द्रुत गतिमा छ । त्यसबाट नेपालले फाइदा कसरी लिने, यसमा ध्यान दिनुपर्ने आवश्यकता छ । नेपालले एशियन राजमार्गबाट बहुपक्षीय प्लेटफर्म पाउँदैछ । तेस्रो मुलुकको सामुद्रिक बन्दरगाहमा नेपालको पहुँच स्थापित हुन्छ । थाइल्यान्ड, म्यानमार, भियतनाम, बंगलादेशको बन्दरगाह पाउँछ । यो पहुँच नेपालले शून्य लगानीमा पाउनेवाला छ ।
कुनै समय नेपाली शीर्ष नेता बिपी कोइरालाले चिन्ता व्यक्त गरेका थिए कि यदि नेपाली र भारतीयले एक–अर्कालाई नबुझ्ने हो भने दुई देशको सम्बन्ध अघि बढ्न सक्दैन । अफ्रिका, युरोपदेखि विश्वका किनारालाई बुझ्ने भारतीय जनमतले छिमेकी नेपाललाई नबुझ्ने, नेपालको पनि यही हालत हुने हो भने हामी भविष्यमा कहाँ पुग्छौँ ? भारतसँग सम्बन्धको गुरुत्व मापन गर्ने बेलामा नेपाली नेतृत्वले यो यथार्थलाई गम्भीरतासाथ लिनुपर्छ ।
आजको भारत फरक छ । भारतीय राजनीति गतिशिल छ । नेपालले यसलाई आत्मसात गर्नुपर्छ । नेपालको कतिपय वृत्तले चाहिँ भारत शक्तिशाली हुँदै गएपछि दुई देश बिच ऐतिहासिक, पुरानो सम्बन्ध छ भनिरहेका छन् । यद्यपि, भारत शक्तिशाली हुँदै गर्दा दुई देशको सम्बन्धमा के फरक पर्छ ? यो भन्दा पनि नेपालले लाभ कसरी लिन सक्छ भन्नेमा चिन्तन मनन आवश्यक छ । युरोपियन युनियन बन्नुभन्दा पहिल्यै नेपाल र भारत बिच खुला सिमाना थियो । युरोपियन युनियनका मुलुक एक–अर्काबीच खुला हुँदा केही नहुने, नेपाल र भारतबीच लामो समयदेखि रहँदै आएको खुला सीमानालाई सम्पत्ति (एसेट)का रूपमा हामीले किन प्रयोग नगर्ने ? यसमा विहंगम बहस जरुरी छ ।
(खुल्ला सिमा संवाद समूहले आयोजना गरेको एक कार्यक्रममा प्रस्तुत गरिएको कार्यपत्रको आधारमा तयार पारिएको)
तपाईको प्रतिक्रिया