Khadya Bibhag

चीनसँग लुकीछिपी भारतसँग खुलमखुला

जनता समाववादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई एउटा आरोप लाग्ने गरेको छ त्यो हो ‘चाइनिज प्रो’ । मधेशी दलमा चीनको नजिक कुनै दल छ भने त्यो जसपा नेपाल र त्यसका अध्यक्ष उपेन्द्र यादव भनि आरोप लाग्ने गरेको छ तर त्यो कुराको पुष्टि गर्ने आधार कहीबाट देखिदैन ।
जसपा नेपालका अध्यक्ष यादवले आफ्नो मधेशी जनअधिकार फोरम नेपालको पहिलो महाधिवेशन वीरगञ्जमा आयोजना गरेको बेला चीनका डेलिगेटस् बोलाएपछि उहाँ चीन निकट रहेको चर्चा सुरु भएको हो । त्यो बेलादेखि उहाँलाई जहिले पनि चीनतिर देखाइ रहेका हुन्छन् । भारतले पनि उहाँलाई त्यही नजरले हेर्ने गरेको छ । तर विभिन्न खोजीनीति गर्दा पनि फेला नपरेको कुरा के हो भने उहाँ हालसम्म चीन भ्रमणमा पनि जानु भएको छैन ।
कहिले काही विभिन्न भ्रमणमा आफ्नो पार्टीबाट नेताहरुलाई पठाए पनि उहाँ चीनको कुनै भेटघाट वा गतिविधि वा भ्रमणमा संलग्न भएको फेला परेको छैन । यद्यपी स्रोतहरु भन्छन्, उहाँ नभेट्ने होइन तर चिनियाँ प्रतिनिधिलाई भेटेको कुरा त्यति बाहिर आउदैन । उहाँ चिनियाँ प्रतिनिधिलाई मात्र होइन, अन्य कसैलाई भेट्दा हतपत सूचना बाहिर ल्याउनु हुन्न । यद्यपी भेटघाट र कुराकानी पक्कै हुने गरेको स्रोतहरु बताउछन् । चीनसँग लुकीछिपी भेटेपनि भारतसँग उहाँ खुलमखुला भेटिरहनु भएको छ ।
सायद पछिल्लो समय उहाँले विदेश भ्रमण गर्ने देशहरुमध्ये सबभन्दा बढी भ्रमण गरिएको देश भारत नै हो । तैपनि उहाँमाथि चिनियाँ भएको आरोप लाग्दै आएको छ । उहाँ मौका पाउने बित्तिकै भारत गइरहनु हुन्छ । भारत भ्रमणमा गएपछि उहाँ दिल्लीमा त्यति इगेंज रहनु हुन्न । उहाँ विभिन्न राज्यको भ्रमण गर्दै नेताहरुसँग भेटघाट गरिहनु हुन्छ । कहिले कुनै कार्यक्रममा भाग लिन जानुहुन्छ भने कहिले आफ्नो नीजि भ्रमणमा जाने गर्नुहुन्छ ।
२०८० भदौंको पहिलो हप्ता निजी भ्रमणमा भारत जानु भएको उपेन्द्र यादव लामो समय उतै रहनुभयो । त्यतिबेला प्रचण्ड नेतृत्वको सरकारले गौर घटनाको फाइल खोलेको थियो । झण्डै दुई हप्ताभन्दा बढी समय भारतमा रहेर विभिन्न राज्यको भ्रमण गर्दै झारखण्ड हुँदै उहाँ नेपाल पस्नु भएको थियो ।
यसपटक पनि उहाँ पुस २१ गते अचानक भारत पस्नुभयो । भारतको उत्तर प्रदेशको लखनउ पुगेर त्यहाँका समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवसँग भेटेर नेपाल फर्किनु भएको छ । सो अवसरमा जसपा नेपालका अध्यक्ष यादवले अखिलेश यादवलाई जनकपुर आउन निम्तो दिनुभएको छ ।
उहाँ त्यतिबेला भारत भ्रमणमा जानुभयो जतिबेला सरकारको विरुद्धमा मधेशवादी दलले मधेशी मोर्चा बनाउने गृहकार्यमा लागेका छन् ।
पार्टीको कार्यक्रमलाई लिएर जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव बाँके पुग्नुभएको थियो । बाँकेको नेपालगञ्जबाट काम सकाएर जनकपुर फर्किनुको सट्टा उहाँ भारतको उत्तर प्रदेश छिर्नुभयो । उहाँका पार्टीका नेताहरु भन्नुहुन्छ, ‘नेपालगञ्जबाट जनकपुर आउन बाटोका कारण समय लाग्ने भएकाले उहाँ भारत हुँदै जनकपुर आउनु भएको हो । भारत हुँदै जनकपुर आउने क्रममा बाटोमा परेको कारण उहाँले त्यहाँका नेता अखिलेश यादवलाई भेट्नु भएको हो ।’
मधेश आन्दोलनको क्रममा उत्तर प्रदेशको गोरखपुर पटक पटक पुगेर मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटनु भएका अध्यक्ष यादव यसपटक समाजवादी पार्टीका अध्यक्ष अखिलेशसँग भेटेर फर्किनु भएको छ ।
भनिन्छ, ‘योगी आदित्यनाथसँग उपेन्द्र यादवको सम्बन्ध अहिले बिग्रेको छ । उनी पुस २१ गते लखनउ पुगेर समाजवादी पार्टी नेपालका अध्यक्ष अखिलेश यादवलगायतका नेताहरुसँग भेटघाट गरी पुस २३ गते साँझ नेपाल आइपुग्नु भएको हो ।
अध्यक्ष यादवले त्यहाँ भेटघाटमा राजतन्त्र हटाउनमा भारतका समाजवादीको ठुलो हात रहेको बताउँदै नेपालका आन्दोलनकारीका लागि भारत आश्रय स्थल थियो त्यसमा भारतको ठुलो सहयोग रहेको धारणा राख्नुभएको थियो । दुवै नेताले भारतलाई एसियाको समाजवादीहरूको केन्द्र बनाउने कुरामा सहमत भएको समाजवादी पार्टीले जनाएको छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सन् १९४२ मा भारत छोडो आन्दोलनका क्रममा डा.राम मनोहर लोहियाले उषा मेहतासँग मिलेर नेपालमा आजाद रेडियो स्थापना गरेको स्मरण गराउनु भएको थियो ।
जयप्रकाश नारायण र डा.राम मनोहर लोहिया हनुमान नगर जेल भत्काएर मुक्त भएको कुरा पनि सो क्रममा उहाँले राख्नुभएको थियो । जसपा अध्यक्ष उपेन्द्र यादवले १५ वर्षपछि आफू लखनउ आएको बताउनु भएको थियो । लखनउमा निकै परिवर्तन भएको देखाएको बताउँदै उहाँले जनेश्वर मिश्र पार्क, प्लाजा मल, एकना स्टेडियम, लखनऊ–आग्रा एक्सप्रेस वे, मेट्रो रेल आदि समाजवादी सरकारको नेतृत्वमा बनेको र यहाँको विकासमा निकै सुधार भएको कुरा उहाँले राख्नुभएको थियो ।
भेटघाटमा समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले भारत र नेपालको समाजवादी वैचारिक एकतामा जोड दिँदै समाजवादीको दृष्टिकोण नै विकासको रहेको बताउनु भएको थियो । विकासको विकल्प पुँजीवाद कदापि हुन नसक्ने बताउँदै उहाँले एसियाको भूराजनीतिक भूगोलमा आएको परिवर्तनका कारण भारतले चीनको खतराको सामना गरिरहेको बताउनुभयो । भारतले ग्वालियर–इटावादेखि लिपुलेकसम्म, जनकपुरदेखि अयोध्या र सिद्धार्थनगरदेखि झाँसीसम्म राजमार्ग निर्माण भएपछि नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने धारणा उहाँको थियो ।
समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले खुला सिमाना र नेपाल बिचको व्यापार बढाउन भारतले पनि जोड दिएको धारणा राख्नुभएको थियो । पर्यटन क्षेत्रमा सहकार्य बढाउदै गरिबी र बेरोजगारीको समस्या समाधान गर्न नेपाल र भारत दुवै मिलेर काम गर्नुपर्ने उहाँको जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया