Khadya Bibhag

मधेश आन्दोलनः १८ वर्ष अघिको लहान

लहान भन्ने बित्तिकै हरेकको मनमा आन्दोलनको सम्झाना आउछ । लगातार झण्डै एक वर्षसम्म चलेको मधेश आन्दोलनको सुरुवाता सिरहाको लहानबाट २०६३ माघ ५ गतेदेखि भएको थियो । माघ २ गते काठमाडौँबाट सुरु भएको सो आन्दोलन माघ ५ गते लहानबाट विद्रोहको रुप लिएको थियो । सरकारले २०६३ माघ १ गते नेपालको अन्तरिम संविधान २०६३ जारी गरेको थियो । उक्त संविधानको विरोध गर्दै तत्कालिन मधेसी जनअधिकार फोरमले माघ २ गते अन्तरिम संविधान जलाएर आन्दोलनको घोषणा गरेको थियो । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना हुनुपर्ने, संविधानसभाको लागि समानुपातिक निर्वाचन प्रणाली लागु हुनुपर्ने लगायतका मागहरू राख्दै फोरमका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा काठमाडौंमा माघ २ गते अन्तरिम संविधान २०६३ जलाइयो । तत्काल उपेन्द्र यादवसहित पक्राउ परेका मधेसी नेताहरूलाई सार्वजनिक अपराधको मुद्दा लगाई सरकारले १० दिने हिरासतमा राख्यो । अन्तरिम संविधानको विरोध गरेर फोरमले माघ २ गते मधेस बन्दको कार्यक्रम पनि राखेको थियो ।
काठमाडौंमा माघ २ गते अन्तरिम संविधान जलाएर प्रदर्शनी गर्नेमध्ये २८ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा तत्कालिन फोरमका अध्यक्ष उपेन्द्र यादव, अवधेश कुमार सिंह, राजकिशोर सिंह, अमरेश नारायण झा, रामेश्वर राय यादव, निलम बर्मा सहित १४ जनालाई सार्वजनिक अपराधको ऐन अन्तर्गत मुद्दा चलायो । पक्राउ परेका नेता छुटाउनका लागि दबाब दिन माघ ३ गते सिरहाको लहानमा दिउँसो केही घण्टा चक्का जाम भएको थियो । माघ ५ गते लहानमा चक्का जाम गरेर बसेका फोरमका नेता तथा कार्यकर्ताको पूर्ववाट चितवनको एक कार्यक्रममा सहभागि हुन गएका माओवादीहरूको एउटा समुहसंग विवाद हुँदा माओवादीका तर्फवाट चलेको गोलीले आन्दोलनमा सहभागि विद्यार्थी रमेश महतोको हत्या भएको थियो । त्यसपछि सिरहाको लहानबाट भएको मधेस आन्दोलनले विद्रोहको रूप लिएको थियो ।
त्यस्तै, संविधान जलाउँदा पक्राउ परेकाहरुलाई रिहाइको माग गर्दै सिरहामा कार्यरत १० वटा संघसंस्थाहरूले विज्ञप्ती जारी गरेका थिए । मानव अधिकारवादी संघसंस्थाहरूले देश अहिले संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेका कारण लोकतान्त्रिक सरकारले विरोधका आवाजलाई सकारात्मक रूपमा लिई संयमताका साथ अघि बढ्न र मधेशी समुदायको समस्या प्रति गम्भीर हुन समेत आग्रह गरिएको थियो । सो विज्ञप्तीमा यस किसिमको सरकारको कार्यवाहीले जातिय रूपमा साम्प्रदायिक भडकाव उत्पन्न हुने खतरा भएको हुदाँ समस्यालाई वार्ता र सहमतिद्वारा समाधान खोज्न नेपाल सरकार र आन्दोलित पक्ष फोरमलाई समेत आग्रह गरिएको थियो ।
सिरहा लहानका संघसंस्थाको आवाजलाई सरकारले सुनेन । स्थानीय स्थिति बुझेका मानवअधिकारकर्मी, संचारकर्मीहरूले जे सोचिरहेका थिए आखिर त्यही भयो । सरकारले उता काठमाडौंमा मधेसी नेताहरूलाई छोडेन यता मधेसीहरू विस्तारै जुट्दै गए । लहानमा आन्दोलन गरिरहेका फोरमका तत्कालिन केन्द्रिय सदस्य कृष्ण बहादुर यादवका अनुसार आन्दोलनका लागि कार्यकर्ताहरूको आवश्यकता थियो । जसको लागि लहानका राप्रपा नेपालका नेता तथा पूर्व मेयर प्रकाश केसीले मधेस आन्दोलनमा सहयोग गर्न आफ्ना पक्षका केही मधेसीमूलका कार्यकर्ताहरू परिचालन गरि दिनुभएको थियो ।
केही मधेसी मूलका राजतन्त्र विरोधी व्यक्तिहरूले प्रकाश केसीलाई राजा ज्ञानेन्द्रको शासन कालमा मेयर भएको विरुद्धमा लहानको राजमार्गमा कालोमोसो लगाएर घुमाएका थिए । उक्त घटनाको बदलाको भाव राखिरहेका केसीले माओवादी विरुद्ध मधेसी शक्तिलाई सहयोग गरेको पनि आरोप लागेको थियो । लहानमा आन्दोलनको नेतृत्व गरिरहेका कृष्ण बहादुर यादवले एक आफ्नो अन्तर्वार्तामा भनेका थिए, ‘प्रकाश केसीले आफ्नो कार्यकर्ता दिएर हामीलाई सहयोग नगरेको भए आन्दोलन हाक्न समस्या पर्ने थियो ।’ मधेस आन्दोलनमा मधेसीहरूको मात्र सहयोग थिएन । लहानमा रहेका पहाडी समुदायले पनि मधेसीको आन्दोलनको पक्षमा एक्यवद्धता जनाउँदै जुलुश प्रदर्शनी गरेका थिए ।
आन्दोलन प्रति सरकारको उदासिनता भएकोले प्रतिवाद गरेर बस्नु भन्दा मधेसीहरूले जतिसुकै अपशब्दहरू प्रयोग गरेको सुनिए पनि पहाडीहरू संगठित रूपमा मधेसीको आन्दोलनको पक्षमा उभिएको कुरा पत्रकार विजय मिश्रले आफ्नो एउटा रिर्पोर्टमा उल्लेख गरेका छन् । अन्यत्र पहाडीहरूले प्रतिकार जुलुश निकाल्नु तर लहानमा मधेसीको समर्थनमा जुलुश निकाल्नुको पछाडी स्थानीयता प्रतिको लगाव थियो ।
लगातारको मधेस आन्दोलनले उग्रबन्दै गएको अवस्थामा मधेसीहरूलाई पहाडी विरोधी नभई सरकार विरोधी मात्र बन्न तर्फ आकर्षित गर्न पहाडीहरूले जुलुश निकालेर मधेसीहरूलाई साथ दिएका हुन सक्छन् । लहानमा २०६३ माघ ५ गते चक्काजाम भइरहेको बखत माओवादी नेता राम कार्की सहित उहाँका कार्यकर्ताहरूको गाडीलाई फोरमका कार्यकर्ताहरूले रोकेका थिए । बाटो खोलाउने र बन्द गर्ने विषयमा दुबैपक्ष बीच विवाद भइरहेको बेला माओवादी कार्यकर्ता सियाराम ठाकुरले चलाएको गोली लागि विद्यार्थी नेता रमेशकुमार महतोको मृत्यु भएको थियो ।
आक्रोशित फोरमका कार्यकर्ताहरूले लहानमा रोकेर राखिएका १२ वटा भन्दा बढी सवारी साधनहरूमा आगजनी गरे । लामो दूरीका ५ सय भन्दा बढी यात्रुहरू ६ दिनसम्म लहानमा अलपत्र परे । माघ ६ गते दिउँसो मृतक रमेशकुमार महतोको शव सहित बजार परिक्रमा गरिए पनि राजमार्गमा शव सहित धर्नामा बसेका प्रदर्शनकारीमाथि राती करिव साढे ९ बजेतिर दुई दर्जन जति मोटर साइकल, एउटा जीप र दुई वटा ट्रकमा आएका माओवादीहरूले हस्तक्षेप गरि शव खोसेर लगे । लाश लाने माओवादीका नेता मातृका यादवले मृतकको परिवारकै सहमतिमा मृतकका दाजु र दुई जना छिमेकी सहित शव लिएर गएको त्यतिबेला प्रतिकृया दिनुभएको थियो ।
माघ ६ गते फोरम सम्वद्ध प्रदर्शनकारीहरू मृतक रमेश कुमार महतोको शव लहानस्थित लोकतान्त्रिक चौकमा पाल टाँगेर धर्नामा बसेका थिए । उनीहरूले आन्दोलनका लागि १७ सदस्यीय समिति निर्माण गरी केही मागहरू सार्वजनिक गरेका थिए । लाश राखिएको चौकलाई ‘वीर शहिद रमेश चोक’ नामाकरण गर्दै पीडित परिवारलाई २५ लाख क्षतिपुर्ति, चोकमा रमेशको सालीक निर्माण, पीडित परिवारको एक जनालाई सरकारी सेवामा रोजगारी दिनुपर्ने, घटनाका दोषीलाई आजिवन कारावासको सजाय, गृहमन्त्रीको राजीनामा सहित प्रधानमन्त्रीले मधेशी समुदाय समक्ष सार्वजनिक रूपमा माफी माग्नु पर्ने माघहरू आन्दोलनकारीहरूले राखेका थिए ।
माग पुरा नभएसम्म शवको दाह संस्कार नगर्ने भनेर सडक अवरुद्ध गर्दै बसेका थिए । लहानवाट रमेश महतोको लाश लिएर जाने क्रममा लाशसंगै बसिरहेकाहरूलाई कुटपिट गरि जेठो दाइ रामकृष्ण महतो, पत्रकार बद्रिनारायण यादव सहित ३ जनालाई मओवादीहरूले सँगै लगेका थिए । माओवादीले लाश लुट्नु अघि स्थानीय प्रशासन, सात राजनीतिक पार्टीका स्थानीय प्रतिनिधिहरूसंग दिनभरी बार्ता गरी समस्या समाधानका लागि प्रयासहरू गरेको थियो ।
कुनै निकास नआएपछि घरपरिवारलाई लाश जिम्मा लगाउने वा उनीहरूकै उपस्थितिमा लाश जलाउन पाइएमा विस्तारै आक्रोश कम हुने माओवादी नेता मातृका यादवले सोचे र सोही अनुसार लाश लगेर सिरहा जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने घुर्मी खोलामा माओवादीको सुरक्षामा जलाउनु भएको थियो । यो घटनाले झनै प्रतिउत्पादक काम गरेको थियो । गोली पनि हान्ने लास पनि लुटेर लगे भन्ने जानकारी गाउँका मानिसहरूले पाएपछि सबै आक्रोशित हुनु स्वभाविक थियो । त्यसपछि आन्दोलन सुरक्षा निकायको नियन्त्रणभन्दा बाहिर गयो ।
एकै दिन चार जना सहिद
प्रहरी माओवादीसँग मिले भनेर आन्दोलनकारीले लहानको प्रहरी चौकीमा आक्रमण गर्ने प्रयास गरेका थिए । प्रहरीले आत्मसुरक्षा गर्ने क्रममा चलाएको गोली लागि सोठियाइन–९ मिर्जापुरका १७ वर्षिय प्रमोद सदाय र लहान –४ का २२ वर्षिय विजय कुमार सहनीको तत्काल मत्यु भएको थियो भने २२ जनालाई सैनिकको हेलिकप्टरबाट उपचारका लागि काठमाडौं लगिएको थियो । उपचारकै क्रममा माघ ९ गते काठमाडौंमा ढोढना–५ का वेचन यादव र महेशवारीका मो.मोजाद्दिन (अनिस राइन) को मृत्यृ भएको थियो । एकै दिन चार जना सहिद भएपछि बजारमा आन्दोलन दैनिक रूपमा चल्ने, खाना खाए पछि दिउसो जुलुशले नगर परिक्रमा गर्ने, कोणसभा गर्ने गरिन्थ्यो । कहिले पहाडी समुदायले, कहिले कर्मचारी र विभिन्न पेशागत संघसंस्थाहरूले मधेसी आन्दोलन प्रति एक्यबद्धता जनाउँदै जुलुसहरू निकाल्ने गरेका थिए ।
शुरुमा जुन किसिमको हिंसात्मक गतिविधि बढेको थियो । तर पछिसम्म आन्दोलन चलिरहे पनि त्यो अनुसारको हिंसात्मक घटनाहरू भएनन् । मधेस आन्दोलनमा ऐक्यबद्धता जनाउदै पहाडेमूलका मधेसवासीहरूले माघ २० गते विहान ८ वजे लहानमा वृहत्त प्रर्दशन गरेका थिए । संघीय राज्यको घोषणा गर, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र घोषणा गर, प्रधानमन्त्रीको सम्बोधन धोका हो, मान्छे मार्न पाईदैन, हत्यारा प्रशासन चाहिदैन, गृहमन्त्री राजिनामा दे, मधेसको माग पुरा गर लगायतका नारासहित लोकतान्त्रिक चौकबाट निस्किएको विरोध जुलुस गणेश चौकमा पुगेर नगरपरिक्रमा गरिएको थियो ।
गिरिजाप्रसाद कोइरालाको सम्बोधन
तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले माघ २४ गते अवेर राती राष्ट्रको नाममा गरेको दोस्रो सम्बोधन सकारात्मक भए पनि मधेशको मागलाई पूर्णरूपमा समेट्न नसकेको ठहर गर्दै लहानका पेशाकर्मी, बुद्धिजीवि तथा नागरिक समाजले माघ २५ गते विहान पुनः दवाव सृजनाका लागि जुलुश प्रर्दशन गरेका थिए । कोणसभामा बोल्दै डा.महादेव साहले प्रधानमन्त्रीको सम्बोधनको विश्लेषण गर्दै जातीय आधारमा निर्वाचन क्षेत्र निर्धारण र समानुपातिक निर्बाचन प्रणालीको माग पुरा गर्न सरकारले नचाहेको आरोप लगाउदै मधेशको आन्दोलन शान्तिपूर्ण रूपमा जारी राख्नु पर्ने अडान राखेका थिए । लहानमा आन्दोलन जारी रहेपनि मधेसी जनअधिकार फोरमले आन्दोलन स्थगित गर्ने निर्णय गरेपछि बिस्तारै लहानको आन्दोलन पनि सेलाउँदै गयो ।
आन्दोलनले मधेसमा धेरै क्षति भयो । लहान र वरपर महतो थरका मानिसको बाहुल्यता छ । प्रथम सहिद महतो थरका भएकाले महतोहरू बढी सक्रिय भए जसले लहानमा आन्दोलन चर्किन सक्यो । तर, ठीक त्यस्तै लहानमा थारु समुदायको पनि बाहुल्यता छ । तराईलाई मधेस भन्न नरुचाउने थारुहरूले तत्कालिन मधेशी जनअधिकार फोरमले बन्दको आह्वान फिर्ता लिए पनि लहानमा थारु कल्याणकारी सभा लहानले माघ २६ गते सिरहा बन्दको आव्हान गरेको थियो ।
सभाका जिल्ला सभापति चन्द्रकिशोर चौधरीले जारी गरेको विज्ञप्तीमा थारु कल्याणकारीणी सभाको मूल माग जातिय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधीको सुनिश्चितता, जातीय संस्कृती, भाषा भेषभुषाको आधारमा समानुपातिक संघीय प्रदेशको विभजन,जातीय स्वायतता, आत्म निर्णयको अधिकार र थरुहट प्रदेशको घोषणालाई अन्तरीम संविधानमा संशोधन गरी समावेश गर्नु पर्ने माग राखि बन्दको आयोजना गरिएको जनाइएको थियो ।
तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मधेस आन्दोलनको लागि गरेको पहिलो सम्बोधनमा मधेस शब्द नपरेकोमा मधेसीहरू झनै उग्र भएका थिए । तर दोस्रो सम्बोधनमा मधेस शब्द परेपछि फोरम शान्त भए पनि थारुहरू मधेस हैन थरुहट क्षेत्रको माग गर्दै मधेस आन्दोलन सेलाउन नपाउँदै आन्दोलनमा उत्रिएका थिए । थारुहरूको सक्रियताले मधेसको समस्या समाधान गर्न सरकारले तत्कालिन मधेसी जनअधिकार फोरमसँग मात्र बार्ता गरेर नपुग्ने अवस्था देखियो । जसको प्रभाव स्वरूप मधेसमा थारुहरू द्रुत रूपमा संगठित भए र थारुहट क्षेत्रका लागि पटक पटक आन्दोलन गरिरहे ।
२०६४ भदौ १३ मा मधेसी जनअधिकार फोरम र नेपाल सरकारबीच जनकपुरमा २२ बुँदे संझौता भएपछि २०६३ साल माघ २ गतेदेखि शुरु भएको मधेस आन्दोलन पूर्णत रोकिएको थियो । तर संझौता धोखा हो भनेर मधेसी जनअधिकार फोरमबाट भाग्यनाथ गुप्ता अलग हुनुभएको थियो । थारुहरूको आन्दोलन बढ्दै गएपछि तत्कालिन फोरमका किशोर विश्वास पनि उपेन्द्र यादवसंगै राजनीति गर्न सक्नु भएन । फोरमभित्र नै फुटको राजनीति शुरु भएको थियो ।
गैरसरकारी संस्था जस्तो रहेको मधेसी जनअधिकार फोरम पछि राजनीतिक पार्टीको रूपमा स्थापित हुन सफल भयो । र मधेसमा नयाँ अनुहारका मानिसहरू राजनीतिमा ह्वात्तै प्रवेश गरे । फोरमको संगठन गाउँ तहसम्म विस्तार भयो ।
रामरिझन यादवले मार्टिन चौतारीको एउटा कार्यक्रममा भन्नुभएको थियो, ‘पहिलो, नेकपा (माओवादी) कार्यकर्ता सियाराम ठाकुरले विद्यार्थी रमेशकुमार महतोको हत्या नगरेको भए मधेसी आन्दोलनले यत्तिको उचाई प्राप्त गर्ने थिएन । केही दिनपछि आन्दोलन सेलाएर जान्थ्यो । दोस्रो महतोको हत्या पश्चात एकपछि अर्को घटना घटदै गयो । घटनाक्रमको विकास र निरन्तरताको कारण आन्दोलनले नियमितता प्राप्त गर्न सक्यो । रमेशकुमार महतोको हत्या विरुद्ध चर्केको आक्रोश प्रारम्भमा नेकपा माओवादी विरुद्ध केन्दित भए पनि अन्तत ः त्यो मधेसी विद्रोहमा परिणत भयो ।’
मधेस विद्रोहका कारणले मधेस र मधेसीको पहिचान र राज्यको सबै क्षेत्रमा समावेशीको कुरा उठेको छ । मधेस र मधेसीको सशक्तीकरण गर्ने अवसर प्राप्त भएको छ । मधेसका केही बुद्धिजीवीहरू मधेसी पार्टीले आन्दोलनमा जुन माग राखेका थिए । त्यसलाई सरकारले समयमा सम्बोधन नगरेकोले उग्र रूप लिएको भन्ने विश्लेषण गर्दछन् । मधेसी जनविद्रोह २०६२÷६३ सालको युगान्तकारी जनआन्दोलनकै परिपूरक रह्यो ।
मधेस जनविद्रोह हुनुको मुल कारण मधेसको वस्तुवादी परिस्थिति नै हो जसलाई राज्यले कहिल्यै उचित रूपमा सम्बोधन गर्ने प्रयास गरेको थिएन । मधेसीको पहिचानको प्रश्नलाई गौण बनाएर राख्ने दुश्प्रयास भयो र देशभित्रै आन्तरिक उपनिवेशको अभ्यास गर्दै मधेसीसँग विदेशी सरह व्यवहार गरियो । पहिले नेपालमा पहाडे राष्ट्रवाद र मधेसी राष्ट्र थियो । तर मधेस आन्दोलनले नेपालको राष्ट्रियता, अखण्डता तथा सार्वभौमसत्तालाई सम्मान गर्दैै मधेसीहरूले राष्ट्रको मूल प्रवाहमा समानुपातिक ढंगवाट प्रवाहित हुनका लागि राजनीतिक आधार तयार गर्न सफल भए ।
मधेस आन्दोलनको मूल्याङ्कन गर्दै मधेस विश्लेषक तुलनारायण साहले भन्नुभएको छ, ‘सियारामको गोली, गिरिजाप्रसादको मौनता र प्रचण्डको बोलीमा मधेशको भावना सम्बोधन हुन नसक्दा विराटनगर देखि वीरगञ्जसम्म आन्दोलनको आगो झोसियो ।’

तपाईको प्रतिक्रिया