संघर्षपूर्ण राजनीतिलाई आफ्नो आदर्श मान्ने केदारनाथ यादव
१७ माघ २०८१, बिहीबार १०:४९
–जीवछ यादव
सिरहा जिल्ला लक्ष्मीपुरपतारी गाउँपालिका महेशपुरका निवासी हुनुहुन्छ केदारनाथ यादव । तीन छोरा एक छोरीको पिता मध्यमवर्गीय परिवारमा जन्मिनु भएको केदारनाथ यादव १९ वर्षकै उमेरदेखि राजनीतिमा सक्रिय हुनुभएको छ । ७३ वर्षिय केदारनाथ अहिले पनि त्यही जोश र उमङ्गका साथ राजनीतिमा लाग्नुभएको छ ।
निरन्तर संघर्षको यात्रामा रहनु भएका केदारनाथ यादव बुबा असर्फीलाल यादव र आमा गुजुरवती देवी यादवको एक्लो छोरा भए पनि पञ्चायतकालमा प्रजातन्त्रको पक्षधर हुनु र मधेशवादको जगमा उभिएर विभेदमुक्त समाजको कुरा गर्नु चानचुने विषय थिएन । कुनैबेला स्वर्गीय गजेन्द्रनारायणका प्रिय पात्र केदारनाथ यादव मधेश आन्दोलनमा लहानमा मधेश आन्दोलनको बिगुल फुक्ने कृष्णबहादुर यादवको सारथी हुनुहुन्थ्यो । मधेश आन्दोलनमा सक्रिय रहरेर काम गर्नुभएको केदारनाथ यादव पछि डा.सिके राउतको स्वराज अभियानलाई साथ दिनुभएको थियो ।
यसबाट पुष्टि हुन्छ कि केदारनाथ यादव कस्तो क्रान्तकारी हुनुहुन्थ्यो । मधेशको हितमा जसले कुरा गर्नुहुन्थ्यो, जसले आन्दोलनको सुरुवात गर्नुहुन्थ्यो त्यसैको पछिपछि लागेर संघर्षमा लाग्ने केदारनाथ यादवले लामो समय सिके राउतको अभियानलाई साथ दिनुभएको थियो । जब राउत स्वराज अभियानलाई छाडेर मुलधारको राजनीतिमा आउनु भयो अनि उहाँ उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालको छाता समाउनु भयो ।
उहाँ प्रजातान्त्रिक आन्दोलनमा पटक पटक गिरफ्तारीमा पर्नु भएको थियो । उहाँ ३५ दिनसम्म प्रहरी हिरासतमा समेत रहनु भयो । मधेशमा झर्ने प्रजातन्त्रवादी र पछिल्लो चरणमा मधेशवादी नेताहरुको आश्रय दिइने नेताको रुपमा पनि उहाँको छाप रहेको छ ।
अध्यनसँगै राजनीति
भारतको मधुवनीमा उच्च शिक्षाका लागि जानु भएका केदारनाथ पढाई सकाएर फर्किनु हुन्छ भनि बुझाइ उहाँको आमा बुबाको थियो । तर केदारनाथ त्यहाँबाट क्रान्तकारी नेता भएर फर्किनुभयो । भारतको मधुवनीमा पढाइका साथै लोकतन्त्र, सामाजिक न्याय पढेर पनि आउनुभयो । भारत बिहारको मधुवनी जिल्ला खजौलीमा केदानाथ अध्ययनरत हुनुहुन्थ्यो । त्यहीको सुखी गाउँमा नेपालका नेताहरु प्रजातन्त्र प्राप्तीको लागि गतिविधि गर्नुहुन्थ्यो । त्यो कुरा केदारनाथ यादवको जानकारीमा थियो ।
२०३१ सालमा पूर्वाञ्चल तराइ काँग्रेसको बैठक बसेको थियो । त्यो बैठकमा भाग लिने अवसर उहाँले पनि पाउनु भएको थियो । त्यही बेला उहाँको चिनजान गजेन्द्रनारायण सिंहसँग भएको थियो । त्यसपछि लामो समय दुबै जना साथसाथै रहनुभयो । पछि उहाँ निरन्तर २०५५ सालसम्म उहाँको साथमा रहनुभयो । २०३६ सालको जनमत संग्रहमा भाग लिन भारतमा स्नातकसम्मको अध्यन गर्ने क्रममा नै उहाँले राजनीति प्रशिक्षण लिनु भएको थियो । गजेन्द्रनारायण सिंहको प्रिय पात्र केदारनाथ यादव २०३८ सालमा जिल्ला पञ्चायतको सदस्य र २०४०÷०४१ मा गजेन्द्रनारायण सिंहले स्थापना गर्नुभएको थियो सदभावना परिषद्को संस्थापक सदस्य र २०४७ मा गठन भएको नेपाल सदभावना पार्टीको उपाध्यक्ष बन्नुभएको थियो ।
प्रजातन्त्र आएपछि २०४८ सालको आम निर्वाचनमा सिरहा–२ बाट नेपाल सदभावना पार्टीबाट उम्मेदबार भएर दस हजार मत ल्याई तेस्रो स्थान हासिल गर्नु भएको थियो । गजेन्द्रनारायण सिंहको साथ अन्तिमसम्म नछाडेको भए विश्वासपात्रको नाताले मन्त्रीसम्म हुने अवसर जुट्थ्यो । राजनीतिमा धैर्यता ठूलो कुरा हो । यसमा चुकेको उहाँले पनि स्वीकार्नुभयो । स्नातकसम्म अध्ययन गर्नुभएको केदारनाथ सरकारी जागीर गरेको भए त्यतिबेला भारत र नेपाल दुबै देशमा त्यो अवसर प्राप्त गर्न सकिन्थ्यो ।
तर उहाँले जागिरको बारेमा कहिले सोच्नु भएन । आफ्नो जीवनको लक्ष्य राजनीतिलाई नै बनाउनुभयो । सधै प्रजातन्त्र, समाजवाद र मधेशवाद दिमागमा घुमिरहेकोले जीवन नै राजनीतिको सिद्धान्त र प्रयोगशाला बनिरह्यो भनि उहाँको बुझाई रहेको छ । राजनीतिमा पनि उहाँले केही नकेही गर्ने सोच राख्नुहुन्थ्यो ।
सद्भावन छाडेपछि
नेपाल सदभावना पार्टी छाडेपछि केदारनाथ यादव नेकपा एमाले प्रवेश गर्नु भएको थियो । माओवादीको सशस्त्र युद्धकालमा कुनैबेला माओवादीको तगारो त कुनैबेला शाही सेनाको दबाबमा आफू जसोतसो ज्यान जोगाएको अनुभव उहाँले सुनाउनुभयो । पछि उहाँले एमाले छाडेर स्वतन्त्र राजनीतिमा सक्रिय रहनु भयो । त्यति नै बेला मधेश आन्दोलन सुरु हुँदा उहाँ त्यसमा लाग्नु भएको थियो । २०६३ सालमा मधेश आन्दोलन लहानबाट सुरु हुँदा उहाँ आफ्नो गृहगाउँ महेशपुर छाडेर लहान –४ मा बस्न थाल्नु भएको थियो ।
अन्तरिम संविधानमा संघीयता छुटेपछि काठमाण्डौंको मण्डेलामा अन्तरिम संविधान जलाएर उपेन्द्र यादवले थालेको आन्दोलन लहानमा सुरु गर्न कृष्णबहादुर यादवले केदारनाथ यादवको साथ लिन उहाँको घरमा पुग्नु भएकोृ थियो । मधेशको विषयमा हुरुक्कै हुने केदारनाथ यादव लहानमा आन्दोलको बिगुल फुक्ने र कृष्णबाहादुर यादवलाई साथ दिइने उहाँ एक सशक्त र सबैले भरोसा गर्ने अभिभावकको भूमिका खेल्नुभयो । मधेश आन्दोलन महिनौ दिनसम्म चल्दा माघ ५ गते रमेश महतो सहादात प्राप्त गरेको दिन र माघ ७ गते विजय सहनी प्रमोद सदाय, मोहम्मद अनिस र बेचन यादव सहादात प्राप्त गरेको बेला घाइते आन्दोलनकारीहरुलाई उपचारदेखि आन्दोलनको दायरा बढाउन उहाँले खेल्नु भएको भूमिका ताजा इतिहास रहेको मधेश आन्दोलनका सहयात्रीहरु सुनाउनुहुन्छ ।
मधेश आन्दोलनको क्रममा रमेश महतोको बलिदानीपछि लासलाई सहरभरी परिक्रमा गराएर अहिलेको मुख्य चोकमा रहेको सहिदपार्क नजिक राखेर परिक्रमा गराउँदा गाउँगाँउबाट मधेशी जनताहरु जुट्दा मधेश विद्रोहको स्वरुप लिइएको अनुभव नेता यादवको छ । मधेशी जनताले आन्दोलनका लागि बलिदानी र गरेको योगदानलाई मधेशका नेताहरु टिकाउन नसेकेकोमा दुख लागेको उहाँको गुनासो छ । आफ्नै आँखा अगाडि प्रहरीको गोली लागेर ढलेका विजय सहनी र बेचन यादवको लास देखेपछि त्यो दिनको सम्झना अझै ताजा रहेको उहाँले बताउनुभयो । केदारनाथ यादवले मधेश आन्दोलनमा लहानमा भएको आन्दोलनको इतिहास उहाँको मुखबाट सुन्दा कुनैबेला आँखा रसाउने त कुनैबेला आक्रोस बढ्छ सुन्ने जोकोहिलाई ।
संविधानसभा चुनाव
मधेश आन्दोलनको आँखोदेखा हाल उहाँबाट सुन्दा लाग्छ आन्दोलनको फोटोकोपी नै हो । मधेश आन्दोलनमा लागेकाहरुलाई पाखा लगाइदै अन्य अनुहारहरुले उपेन्द्र यादवसँग नजिक भएर फुर्ति हाक्न थालेपछि केदारनाथ यादव उपेन्द्र यादवलाई छाडेर महन्थ ठाकुरसँग नजिक हुन पुग्नुभयो । पहिलो संविधानसभामा तत्कालिन तराइ मधेश लोकतान्त्रिक पार्टीबाट संविधानसभा सदस्यको उम्मेदबार बन्नुभएको थियो तर उहाँ पराजय हुनुभयो ।
उहाँ पराजय भए पनि राजनीतिमा निस्कृय हुनुभएन । राजनीतिमा सक्रिय केदार यादव जहिले जनताको साथमा रहनुभयो । सिरहाका लहानमा भएको मधेश आन्दोलनको अगुवा कृष्णबहादुर यादव समेत तमलोपामा प्रवेश गर्नु भएको थियो । त्यसले केदारनाथलाई झन सजिलो भएको थियो ।
स्वराजी अभियानको सारथी
डा.सिके राउत लहानमा आएर आफ्नो कार्यक्रम गर्न खोज्दा कसैले पनि साथ नदिइरहेको अवस्थामा उहाँलाई केदारनाथ यादवले साथ दिनुभएको थियो । सबैमाथि पहिलो भेटमा भरोसा गर्ने र दिलोज्यान लगाएर सहयोग गर्ने केदारनाथ यादवको चरित्रले गर्दा डा. सिके राउतको स्वराजी अभियानले पनि उहाँलाई तान्यो । उहाँ भन्नुहुन्छ, ‘स्वराजी अभियानमा लाग्दा लहानमा मात्रै होइन, सिरहा जिल्लाको दक्षिणी भेगमा गाउँगाउँ गएर सङगठन निर्माण कार्यमा उर्जा भरेको थिए ।’ त्यतिबेला सिके राउतले केदनाथलाई सिरहा जिल्लााको संयोजकको जिम्मेबारी समेत दिनुभएको थियो ।
जतिबेला स्वतन्त्र मधेश गठबन्धन राज्यको निगरानमिा थियो । त्यतिबेला उहाँ सिरहा जिल्लामा निकै सक्रिय हुनुहुन्थ्यो । तर सिके राउतले स्वराजका अभियान छाडेर मुलधारको राजनीति रोज्नुभयो । र जनमत पार्टी गठन गर्नुभयो । स्वराजी अभिायनको क्रममा नेता तथा कार्यकर्तालाई सिके राउतले ठूलो ठूलो सपना देखाउनु भएको थियो तर कुनै सपना पुरा गर्न नसक्नु भएको कारण आफूले उहाँको साथ छाडेको उहाँले बताउनुभयो ।
सिके राउतको साथ छाड्नु भएका केदारनाथ यादव मधेशी जनताको पक्षमा बोल्ने अभियान छोड्नु भएन । उहाँ आफै स्वीकार्नुहुन्छ, ‘राजनीतिमा लाग्नेहरु सोह्रै आना सत्य बोलिरह्यो भने राजनीतिमा टिक्न सक्दैनन् ।’ उहाँ घुमिफिरी जसपा नेपालमा प्रवेश गर्नुभयो । मधेशवादको नक्सा गजेन्द्र नारायण सिंहले कोर्नुभयो । त्यस नक्सालाई साकार गर्ने काम मधेश बिद्रोहबाट भयो । उपेन्द्र यादव मधेश आन्दोलनको बिगुल फुक्ने मसिहा भएकोले आफू फेरि उपेन्द्र यादवसँग हात मात्रै होइन, मन मिलाएर जसपा नेपालमा फर्केको उहाँले बताउनुभयो ।
उपेन्द्र यादवको साथ कहिले नछाड्ने उहाँ बताउनुहुन्छ । जनमत पार्टीमा हुँदा पार्टीका नेता कार्यकर्ताहरुले कार्यक्रममा अनावश्यक रुपमा चेकजाँच, आशङका राजनीति प्रशिक्षणको अभाव र अपरिपक्व व्यवहारबाट आजित भएर जनता समाजवादी पार्टी नेपालमा फर्किएको केदानाथ यादवले सुनाउनुभयो । उहाँ भन्नुहुन्छ, ‘राजनीतिमा इमानदार नेतालाई टिक्न समस्या रहेको उहाँको अनुभव छ । सत्यको जित हुन अहिले पनि कठिन छ । गणतन्त्र र संघियता त आयो तर अहिलेपनि मधेशी जनताप्रति हेर्ने शासकीय मनोवृतिमा कुनै परिवर्तन आएको छैन ।’
हारमा पनि जित
प्रजातन्त्र आएपछि तीन पटक उम्मेदबार हुनु भएको केदारनाथ यादव कहिले जित निकाल्न सक्नु भएन । हरेक चुनावी चर्चामा उहाँकै जीतको यत्रतत्र कुरा चल्छ तर चुनावी परिणाम आउँदा उहाँलाई हारको सामना गर्नु पथ्र्यो । केदारनाथ यादव भन्नुहुन्छ, ‘एकपटक लक्ष्मीपुर पतारी गाउँपालिकाको अध्यक्ष भएर राजनीतिमा इमान्दारी के ह्ुन्छ भने कुरा स्थापित गर्ने इच्छा छ ।’ २०७४ सालको स्थानीय चुनावमा गृह गाउँ रहेको महेशपुरमा सक्रिय भएर जनता समाजवादी पार्टीको उम्मेदबार भएर चुनावी मैदानमा उत्रिदा पाँच सय मतले हार व्योहोर्नु परेको अनुभाव उहाँले सुनाउनुभयो । उहाँ राजनीति जीवनको अन्तिम चुनाव लड्न २०८४ को तयारीमा जुटि रहनु भएको छ । जीत हार चुनावमा स्वभाविक भए पनि जनताको बिचमा इमान्दार प्रजातन्त्रवादी, समाजवादी र मधेशवादी विचारको पक्षमा सदा समर्पित नेताको रुपमा उहाँलाई सिरहा जिल्लामा मात्रै होइन, मधेश प्रदेशकै एक आदर्श नेताको रुपमा उहाँ स्थापित हुनुहुन्छ ।
खरो र सोझो स्वभाव
केदारनाथ यादवको सोझो स्वभावको कारण दल परिवर्तन गरिरहनु परेको उहाँको निकट रहेका सहयात्री समर्थकहरु सुनाउनुहुन्छ । उहाँलाई आदर गरेर केदारबाबुको नामले पनि जिल्लामा सम्मान गरिन्छ । यादव समुदायको बढी जनसंख्या रहेको सिरहा जिल्लामा उहाँ अन्य समुदायमा पनि त्यतिकै गहिरो छाप छोडनु भएको छ । मधेश प्रदेशका प्रदेशसभा सदस्य राजकुमार गुप्ता भन्नुहुन्छ, ‘मधेशवादको पक्षमा हामीलाई डोरयाउनु हुने केदारबाबु नै हुनुहुन्छ । उहाँको सत्यतथ्य राख्ने हाकाहाकी कुरा गर्ने मन नपरे त्यहाँ नटिक्ने उहाँको स्वभाव रहेको छ ।’
उहाँको सहयोगले एकपटक जिल्ला विकास समितिको सदस्य र अहिले प्रदेशसभाको सदस्य भएको बतादै राजकुमार गुप्ताले उहाँ चुनाव कहिले नजितेको कारण एकपटक लक्ष्मीपुर पतारीको अध्यक्ष बनाउने बताउनुभयो । उहाँको व्यक्तित्व, इमान्दारिता र सोझोपन अहिलेको पुस्ताको लागि मार्ग निर्देशन नै हो । उहाँको प्रेरणाबाट कति जना सांसददेखि मन्त्रीुसम्म बन्नुभयो तर कुनै चुनाव नजिते पनि जनताको चहेता बनेकोमा नै आफू खुशी रहेको बताउनुभयो ।
सदा जीवन उच्च विचार
पातलो जीउडाल धोती कुर्ता, पैजामा कुर्ता र गम्छा राख्न रुचाउनु हुने केदारनाथ यादवको सदा जीवन उच्च विचार भएको नेतामा गिनिनुहुन्छ । आहार विहार समान्य र चम्किने चरित्रले गर्दा केदारनाथ यादवलाई सबैले सम्मानपूर्वक केदारबाबु भनेर बोलाउने गरेका छन् । फरकधार भएका राजनीति दलका नेताहरुको बिचमा पनि उहाँ त्यतिकै लोकप्रिय हुनुहुन्छ । झुठो अश्वासन त कहिलेपनि कसैलाई दिनुहुन्न ।
सत्यतथ्य तर्क गरेकै कारण अहिलेको चुनावी प्रतिस्पर्धामा षडयन्त्र जालझेलको अगाडि पछि पर्नु भएको उहाँलाई अति नै नजिकबाट चिन्नुहुुने जयनारायण यादवको भनाइ छ । दयालु स्वभाव भएको कारणले मानवीय र सामाजिक समस्यामा सधैं जनताको बिचमा रहन मन पराउनु हुने केदारनाथ यादव समस्यामा परेका व्यक्तिलाई तपाई कुन दलको पक्ष विपक्ष नछुटाइ सधै सहयोगी भावना राख्नु भएको छ ।
तपाईको प्रतिक्रिया