Khadya Bibhag

गोदाममा मल छ, किसानले पाउँदैनन्

सिरहाको लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममा रासायनिक मल मौज्दात भए पनि किसानको खेतमा मल छैन । गहुँमा मल हाल्ने बेला किसानले मल पाइरहेका छैनन् । मल पर्याप्त छ तर त्यसको वितरण व्यवस्थित नहुँदा किसानको हातमा मल पुग्न सकेको छैन ।
कृषि सामग्री कम्पनी लिमिटेड लहानका शाखा प्रबन्धक दीपराज पौडेलले मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट स्थानीय तहलाई वितरण गर्ने मलको सँख्या एकीन नगर्दा रासायनिक मल वितरणमा ढिलाइ भएको बताउनुभयो । “प्रदेश सरकारबाट जग्गा क्षेत्रफलको अनुसार सम्बन्धित मन्त्रालयले स्थानीय तहलाई मल वितरण गर्ने रासायनिक मलको मात्रा लेखी पठाउनुपर्ने हुन्छ”, उहाँँले भन्नुभयो, “मन्त्रालयबाट पत्र आउन ढिला भएको कारण समस्या भएको हो ।’
पत्र प्राप्त हुनासाथ मल वितरणको प्रक्रिया अगाडि बढाउने बताउँदै उहाँले मलको अभाव नहुने दावी गर्नुभयो ।
लहानस्थित कृषि सामग्री कम्पनीले कोशी प्रदेशका खोटाङ, ओखलढुङ्गा, सोलु र मधेस प्रदेशको सिरहामा रासायनिक मल वितरणका लागि आएको छ । प्रबन्धक पौडेलका अनुसार कोशी प्रदेशले आफ्ना जिल्लामा पठाउनुपर्ने मलको सँख्या उल्लेख गरी पठाइसकिएकाले कोशी प्रदेशका ती जिल्लामा माघको पहिलो हप्ताभित्रै मल वितरण गरिसकिएको छ ।
प्रक्रियागत त्रुिटका कारण गहुँमा रासायनिक मल हाल्ने ‘पिक’ समय हुँदासमेत कृषकले मल पाएका छैनन् तर सामग्री कम्पनीको गोदाममा हाल पाँच सय मेट्रिक टन डिएपी र सात सय मेट्रिक टन युरिया मल मौज्दाद रहेको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया