Khadya Bibhag

बगरखेती हाराभारा

महोत्तरीको गौशाला–८ मा रहेको सनी खोलाको बगर यतिखेर हराभरा छन् । कुष्माढीका स्थानीयले सनी खोलाको बगरलाई खेतीयोग्य जमिनमा परिणत गरी हरियाली बनाएका छन् । कुष्माढीका भूमिहीन किसानले मेहनत गरेर बगरखेतीमा उब्जनी गर्न थालेको तीन वर्ष भएको छ । १०१ बिघा जग्गामा अहिले थरिथरिका फलफूलका बोट छन् । सो फलफूल रोप्नका लागि युएनडिपीले सहयोग गरेको थियो ।
यहाँ आँप, लिची र कागतीसहित ११ हजार बोट हुर्कँदै छन् । बगैँचाभित्र तरकारी बाली लहलह छ । यो बगरमा कुष्माढीका २०१ भूमिहीन किसानको मेहनत झल्किरहेको छ । गौशाला नगरपालिकाले भूमिहीन किसानको परिवार सङ्ख्याका आधारमा चार कठ्ठादेखि १० कठ्ठासम्म जग्गा छुट्याइदिएपछि विसं २०७८ को अन्त्यतिर खनजोत थालिएको हो । युएनडिपी र सेभ द चिल्ड्रेनअन्तर्गत अन्तराष्ट्रिय गैरसरकारी संस्थाको समुन्नति कार्यक्रम, सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल र गौशाला नगरपालिकाको सहयोगमा किसानको हौसला बढेको छ ।
“अहिले बगरमा कतै गहुँ लहलह बढ्दैछ । कतै आलु धमाधम खनिँदै छन् । किसानले जैविक खेती गर्ने हुँदा यहाँ उत्पादित फसल उपभोक्ताको पहिलो रोजाइमा पर्दै आएको छ । आलु लिने धेरैजसो खेतमा आइपुग्नुहुन्छ”, किसान चन्द्रकला महराले भन्नुभयो । बगरखेती सुरु भएपछि जीविकोपार्जनको समस्या अन्त्य भएको उहाँको भनाइ छ । बगरखेतीमा कुष्माढीका मुसहर, चमार (राम)सहितका अत्यन्त गरिब दलित समुदाय र कोइरी, यादव र मगरसहितका जनजाति बसोबास गर्दै आएका छन् ।
यहाँका किसानलाई गौशाला नगरपालिकाले नदी उकासको चार किलोमिटर क्षेत्रभित्र विद्युतिकरण, दुई वटा डिपबोरिङ्ग र सिँचाइ प्रयोजनका जल भण्डारण गर्न छ वटा पोखरी निर्माण गरेको छ । साथै समुन्नति कार्यक्रमले मलका लागि गँड्यौला खेती गर्ने सीप प्रदान गरेको किसान कामेश्वर महतोले बताउनुभयो । सामुदायिक विकास तथा पैरवी मञ्च बर्दिबासले खेतीमा प्राविधिक र बीउबिजनको सहयोग गरेपछि किसान थप उत्साहित भएका उहाँको भनाइ छ ।
“हामीसँग आफ्नो भन्ने जग्गा थिएन, नगरपालिका र गैरसरकारी संस्थाको सहयोगले खेती गर्ने जग्गा पायौँ, अहिले अन्यत्र बनी (मजदुरी) गर्न जान परेको छैन”, महतोले भन्नुभयो, “हामी मजदुरलाई बगरखेतीले किसान बनायो ।” बगरखेती गर्न थालेपछि कहिल्यै धन सञ्चय नगर्ने समुदायको परिचय बनेपछि बचत गर्न थालेका छन् । “नदीउकास बगर पाएको पहिलो वर्ष ढुङ्गा, गेग¥यान खोस्रेर छेउ लाउँदै बित्यो, दोस्रो वर्षदेखि फसल लिन पाएका छौँ”, मुसहर समुदायकी ३५ वर्षीया कविता सदाले भन्नुभयो, “अहिले जीविकोपार्जन सहज भएको छ ।” पहिलेको बलौटे ढड्यान जग्गा नियमित खनजोत, सिँचाइ र जैविक मलले उर्वर बन्दै गएको उहाँले बताउनुभयो ।
उत्तरतिर वन क्षेत्रसँगै जोडिएको यो जग्गामा वन क्षेत्र, खोल्साखोल्सी र खोलाले बगाएर ल्याएको पाँगो माटोले रोपिएका फलका रुख दुई वर्षमा हुर्केका र बालीनाली पनि हलक्क बढ्ने गरेका गौशाला–८ का वडाध्यक्ष भोजबहादुर दर्लामीले बताउनुभयो । केही समय पहिलेसम्म गरिब रहेका यहाँका स्थानीय बगरखेतीले राम्रा किसान बनेका गौशालाका नगरप्रमुख डा दिपेन्द्र महतोले बताउनुभयो । बगरखेतीका लागि किसानलाई पालिकाले गरेको सहयोग खेर नगएको उहाँको भनाइ छ । “किसानलाई आगामी दिनमा पनि नगरको निरन्तर साथ र सहयोग रहनेछ”, उहाँले भन्नुभयो ।
सामुदायिक विकास तथा पैरवी मञ्चका अध्यक्ष नागदेव यादवले आफ्नो संस्थाबाट बगरखेतीका लागि किसानलाई साथ र सहयोग जारी रहने प्रतिबद्धता जनाउनुभयो । “सबैको सकारात्मक साथले बगरखेतीका किसानको हौसला बढेको छ । हाम्रो मेहनत सफल भएको छ, सबैको साथ रहिरहे हामी बगरमा उत्पादन वृद्धि गर्दै जानेछौँ”, कुष्माढीकी किसान विना पासवानले भन्नुभयो । अहिले सनी खोलाको बगरखेती अवलोकन गर्न टाढाटाढाका किसान समूह आउने गरेका छन् ।

तपाईको प्रतिक्रिया