–सुनैनाकुमारी यादव
आन्दोलन भनेको जहिले पनि राज्य अर्थात सरकारको विरुद्धमा हुन्छ । र जो सरकारको अंग हुन्छन् वा सरकारमै सहभागी भएका हुन्छन् त्यसले कुनै पनि हालतमा आन्दोलन गर्न सक्दैनन् । यदि कसैले सरकारमा रहेर वा सरकारलाई समर्थन गरेर आन्दोलन गर्छु वा आन्दोलन गरिरहेको छु भन्छन् भने बुझ्नुपर्छ त्यसले जनतलाई ढाँटी रहेका छन् । सत्ताधारी दल कहिले पनि आन्दोलनकारी हुनसक्दैन ।
मधेश केन्द्रित दलहरुले मोर्चा बनाएका छन् । यद्यपी अध्यादेशको प्रकरणका कारण अहिले मौन छ । त्यसलाई दलहरुले आठ दलीय मोर्चा नाम दिएका छन् । त्यसमा जनता समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल र जनता प्रगतिशिल पार्टी रहेका छन् । तर ती आठ दलमध्ये पाँच वटा दल त सत्ताधारी दल नै हुन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन दिएको छ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी संघ र प्रदेश दुवै सरकारमा सहभागी छन् । अशोक राइ नेतृत्वको जनता समाजवादी पार्टी संघ सरकारमा मात्र सहभागी छ भने डा.सिके राउत नेतृत्वको जनमत पार्टी मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको छ ।
सरकारले ल्याएको अध्यादेशलाई जसपा र लोसपा नेपालले विरोध गरेपनि सरकारको बारेमा केही बोलेका छैनन् । त्यो एक प्रकारको राजनीतिक बेइमानी हो ।
यी सत्ताधारी पाँच दल सम्मलित मोर्चाले सरकारको विरुद्धमा आन्दोलन गर्नें तयारी गरिरहेको छ । यो जतिको हाँस्यास्पद कुरा अरु के हुनसक्छ । मोर्चाले कार्यविधि तथा अचारसहिंता बनाउने तयारीमा लागेको छ । मोर्चाको कार्यविधिमा पहिलो शर्त मोर्चामा रहेका सबै दल सरकारभन्दा बाहिर रहनुपर्छ भनि राख्नुपर्छ । नत्र सरकारमा पनि रहने र आन्दोलन पनि गर्ने त्यो सम्भव नै छैन । भूमि सम्बन्धी अध्यादेशको विरुद्धमा जसपा नेपाल र लोसपा नेपाल एकसाथ उभिएका छन् भने अन्य दलहरु हालसम्म आफ्नो धारणा सार्वजनिक गरेका छैनन् । सरकारले ल्याएको अध्यादेशलाई जसपा र लोसपा नेपालले विरोध गरेपनि सरकारको बारेमा केही बोलेका छैनन् । त्यो एक प्रकारको राजनीतिक बेइमानी हो । सरकारमा रहने, समर्थन कायम राख्ने तर त्यही सरकारको विरुद्धमा उभिने कार्य शोभनीय हुँदैन ।
जसपा नेपाल सरकारलाई समर्थन दिएको छ तर त्यही सरकारको विरोध गरिरहेको छ अर्थात आफूले जुन सरकारलाई समर्थन गरेको छ त्यही सरकारको विरोध गर्नु भनेको आफूले आफैलाई विरोध गरे जस्तै हो । त्यस्तै लोसपा नेपाल संघ र प्रदेश दुवै सरकारमा सहभागी छ । तर सरकारले ल्याएको अध्यादेशलाई विज्ञप्ति निकालेर विरोध गरेको छ । जबकि लोसपा नेपालका मन्त्री शरतसिंह भण्डार िसदस्य रहेको मन्त्रिपरिषद्बाट नै त्यो अध्यादेश जारी भएको हो । मन्त्रिपरिषद्बाट पास हुने बेला केही पनि नबोल्ने र अहिले पास नहुने अवस्था देखेपछि त्यसको विरोध गर्ने भनेको राजनीतिक बेइमानी हो । लोसपाका मन्त्रीलाई सरकारमा रहन कुनै अधिकार छैन । सरकारमा रहने र त्यही सरकारको आलोचना गर्ने कदापी राजनीतिक संस्कार होइन ।
आठ दलीय मोर्चाले पनि आन्दोलन गर्ने चेतावनी दिइरहेको छ । त्यसो भए के जनमत पार्टीबाट मधेश प्रदेशको मुख्यमन्त्री बन्नुभएका सतिश सिंह हातमा मसाल लिएर सडकमा आन्दोलन गर्न सक्नुहुन्छ ? जसपा नेपालबाट दुई जना मन्त्री बन्नुभएका प्रदीप यादव र नवलकिशोर साह झण्डाबाला गाडीबाट ओर्लेर माइतीघर मण्डलामा भाषण दिनसक्नु हुन्छ ? लोसपा नेपालबाट मन्त्री बन्नुभएका शरतसिंह भण्डारी सिंहदरवारको अगाडि उभिएर सरकारको विरुद्धमा नारा लगाउन सक्नुहुन्छ ? नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी जो संघीय सरकारमा राज्यमन्त्री हुनुहुन्छ उहाँ आन्दोलनका लागि सडकमा आउनसक्नु हुन्छ ? आउन सक्नु हुन्न । किनभने विगतमा पनि यी दल तथा दलका नेताहरुको हविगत जनताले हेरिसकेका छन् ।
ती मधेशवादी दलका नेताहरुले आफूहरु सरकार, सदन र सडक तीन वटै मोर्चाबाट सरकारसँग लडाई लड्ने भन्नुभएको थियो । अहिले पनि सरकारमा रहेका दलका नेताहरु त्यो कुरा भन्नुहुन्छ । जुन सम्भव नै छैन ।
तपाईको प्रतिक्रिया