Khadya Bibhag

सांसद खरिद बिक्रिको आशंका

काठमाडौँ चैत १ गते
सरकारले ल्याएको भूमि सम्बन्धी अध्यादेशमा मधेश केन्द्रीत दलहरु एक ठाउँमा देखिएको छैन । तराई मधेश केन्द्रीत दलहरुले त्यसमाथि फरक फरक धारणा राखि रहेका छन् । साझा मुद्दा र साझा एजेण्डामा एक साथ उभिने भन्दै तराई मधेशका दलहरुले मोर्चाबन्दी नै गरेका छन् तर ती दलहरुले एउटा मुद्दामा एउटा विचार बनाउन सकेका छैनन् ।
अशोक राइ नेतृत्वको जनता समाजवादी पार्टी, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, ह्रदयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशिल पार्टी, बृषेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीको विचार अध्यादेशको बारेमा अलग अलग रहेको छ ।
राष्ट्रिय सभामा तीन सिट रहेको जसपा नेपाल अध्यादेश पास गराउनमा निर्णायक रहेको छ । अध्यादेश बारे यी दलको धारणा स्पष्ट रुपमा आए पनि अरु दलले गोलमटोल धारणा दिइरहेका छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि सम्बन्धी अध्यादेश फिर्ता नलिए अरु पाँच वटा अध्यादेशमा पनि समर्थन नजनाउने भनि सकेका छन् । भूमि सम्बन्धी अध्यादेशमा असहमति जनाउदै आएको जसपा नेपाल त्यसलाई फिर्ता लिन सरकारलाई आग्रह गरेको छ ।
जसपा नेपालले भूमि सम्बन्धी अध्यादेशको बारेमा बृहत अन्तरक्रिया कार्यक्रमका आयोजना गरेर सबै कुरा स्पष्ट पारिसकेका छन् । महन्थ ठाकुर नेतृत्वको लोसपा नेपाल र डा.सिके राउत नेतृत्वको जनमुक्ति पार्टीले भूमि सम्बन्धी अध्यादेशलाई संशोधन गर्न भनेका छन् । सत्ताधारी ती दुई दलले अन्य पाँच वटा अध्यादेशमा समर्थन छ र भूमि सम्बन्धी अध्यादेशलाई संशोधन गर्न भनेका छन् । यद्यपी ती दुईटा दलले अध्यादेशलाई समर्थन गरे पनि नगरे पनि सरकारलाई कुनै फरक पर्दैन ।
सरकारमा रहेका अर्का दल अशोक राइ नेतृत्वको जसपाले अध्यादेश ठिक छ तर त्यसको दुरुपयोग नहोस् भनेको छ । सुकुम्बासी पहाडको होस् या तराईको सबैले एक पटक जग्गा पाउनुपर्छ भनि जसपाको भनाइ रहेको छ । सो पार्टीका महासचिव इस्तियाक राइले आफ्नो पार्टी अध्यादेशको पक्षमा रहेको र यसको दुरुपयोग नहोस् भनि सचेत गराएको बताउनुभयो ।
संसदमा नरहेका दल तमलोपा, राष्ट्रिय मुक्ति पार्टी नेपाल र जनता प्रगतिशिल पार्टीले भूमि सम्बन्धी अध्यादेशको विरोध गरेका छन् । जनता प्रगतिशिल पार्टी नेपालका अध्यक्ष ह्रदयश त्रिपाठीले भूमि सम्बन्धी अध्यादेशको विरोध गर्दै जसपा नेपाल र लोसपा नेपालले लिएको अडानको समर्थन गर्नुभएको छ ।
जसपा नेपालको आरोप
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अध्यादेश पास गराउनका लागि सरकारले सांसद खरिद बिक्रिमा लागेको आशंका व्यक्त गर्नुभएको छ । अध्यादेश पास गराउन काँग्रेस र एमाले गठबन्धलाई एक जना सांसदको आवश्यकता छ । अध्यक्ष यादवका पार्टीबाट राष्ट्रिय सभामा तीन जना सांसद रहनु भएको छ । त्यसमध्ये एक जनाले पनि सत्ता गठबन्धन दललाई समर्थन जनाइ दियो भने अध्यादेश पास हुन्छ । सत्ताधारी दलले माधव कुमार नेतृत्वको नेकपा (एस) र जसपा नेपालका सांसदलाई पनि प्रलोभन दिइरहेको बताइएको छ ।
काँग्रेस–एमाले गठबन्धनको बैठकले अध्यादेशमा सहमति जुटाउन मधेश केन्द्रीत दल खासगरि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालसँग कुराकानी गर्ने निर्णय गरेको छ । तर त्यो निर्णय गर्ने बेला जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अध्यादेश पास गराउन सत्ताधारी दलहरुले बिचौलिया लगाएर सांसद खरिद बिक्रिमा लागेको आरोप लगाउनु भएको छ । अध्यादेश बारेमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष यादवले सत्ताधारी दलका नेताहरुले बिचौलिया लगाएर आफ्ना पार्टीका सांसद खरिद गर्ने प्रयास गरिरहेको आरोप लगाउनुभयो ।
त्यसक्रममा उहाँले भन्नुभयो, “भूमि सम्बन्धी अध्यादेश आत्मघाती हो, तैपनि पास गराउन सत्ताधारी दल लागि परेको छन्, बिचौलियाहरु सांसद खरिद बिक्रिमा लागेका छन् यदि सांसद खरिद बिक्रि गरी अध्यादेश पारित भयो भने हामी आन्दोलनमा जान्छौं ।” अध्यादेशहरु प्रतिनिधिसभामा काँगेस–एमालेकै मतले पास हुन्छ तर राष्ट्रिय सभामा जसपा नेपाल निर्णायक जसको तीन जना सांसद छ । राष्ट्रियसभाबाट अध्यादेश पास गराउन तत्कालिन एक जना सांसदको आवश्यकता छ । त्यसका लागि प्रयास भइरहेको छ ।
एक जना सांसद जसरी पनि जोहो गर्न सकिन्छ भनेर काँग्रेस–एमालेका नेताहरु लागेका छन् । त्यसका लागि हरेक कुरा परिचालन गरेको आरोप अध्यक्ष यादवको छ । सांसदलाई पनि विभिन्न खालको प्रलोभनहरु दिइरहेका छन् । त्यही कुराको संकेत पाएर जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सांसद खरिद बिक्रिको कुरा ल्याउनु भएको छ । जसपा नेपालबाट राष्ट्रिय सभाका सदस्य रहेका मृगेन्द्रकु्मार सिंह यादवले सत्ताधारी दलले अध्यादेश पास गराउन जुनसुकै कदम चाल्न सक्ने अवस्था रहेको बताउनुभयो ।
सत्ताधारी दलका नेताहरु जसपा नेपालका सांसदहरुसँग सम्पर्क गर्ने प्रयासमा लागेको बताउँदै उहाँले त्यो प्रयास सफल नहुने बताउनुभयो । काँग्रेस पार्टीका नेता चिनकाजी श्रेष्ठले पनि एउटा अध्यादेश पास गराउनका लागि काँग्रेस–एमाले त्यो हदसम्म जाला जस्तो आफूलाई नलागेको दावी गर्नुभयो । अध्यादेश सहमतिमै पास गराउने हो, त्यसका लागि दलका नेताहरुले छलफल गरिरहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया