Khadya Bibhag

मैथिली र्यापर जसले दिन्छ घरको मिठास

“एक मुठी चाउर दे घुरमी नचा दे….., ऐहेन छि हम सब…..” लगायत र्याप गीत गाएर चर्चामा आउनु भएका राहुलकुमार मण्डल मानियाको नामबाट चिनिनु भएको छ । तराई मधेशमा देखिएका बिकृति, विसगंतिलाई उहाँले आफ्नो र्यापमार्फत उजागर गर्दै आउनु भएको छ । उच्च मोडर्नका र्याप संगित भएपनि उहाँले आफ्नो हरेक गीतमा घरमो मिठास दिनु भएको हुन्छ । उहाँको र्याप सुन्दा लाग्छ, आफ्नै खेतबारी, घर आँगन र दरबज्जाको लोकभाका हो । मानियाले गाउनु भएको गीत लोकगीत होइन तर सुन्दा लाग्छ लोकभाका नै हो । उहाँले जनकपुरमा आफ्नै स्टुडियो खोलेर एक से एक हिट मैथिली र्यापहरु दिइरहनु भएको छ ।
मानिया अर्थात राहुललाई आफू र्यापर बन्छु वा गीत संगितमा लाग्छु भनेर लागेको थिएन । उहाँका बुवाले उहाँलाई डाक्टर बनाउन चाहनु भएका थियो । त्यही अनुसार उहाँमा लगानी प िनगरिरहनु भएको थियो तर गीत संगितमा रुची राख्ने मानिया कसरी मैथिलीका र्यापर उहाँलाई नै थाह छैन । बिराटनगरमा स्कूल पढ्ने क्रममा उहाँका साथी दीपेन्द्र मण्डलले मैथिलीमा गीत लेख्नु भएको थियो । त्यसलाई मानियाले फेला पार्नुभयो । त्यही गीतलाई मानियाले छाँटकाँट गर्नुभयो, थोरै मिलाउनुभयो र त्यसलाई दीपेन्द्रको अगाडि गुनगुनाउनुभयो ।
सुरुमा शब्दहरू पप गीतका लागि लेखिएको भए पनि मानियाले गाउँदै जाँदा गीतले ¥यापको रूप लियो । जनु दीपेन्द्रले लेख्नु भएको गीतभन्दा सुन्नमा निकै सुन्दर भयो । त्यसलाई रेकर्ड गराएर बजारमा ल्याउनुपर्छ भनि निर्णयमा मानिया र दीपेन्द्र पुग्नुभयो । उहाँहरुले रेकर्ड पनि गराउनुभयो । रेकर्ड गराएपछि झन सुन्दर भयो । त्यसको नाम डिजेबाला दिएर फेसबुकमा राख्नुभयो । त्यो गीतले निकै चर्चा भयो । सबैले त्यसको तारिफ गर्नुभयो । त्यसलाई मानियामा उत्साह थपियो ।
बुवाले नरुचाएपछि
उहाँले अब र्याप गीत नै लेख्नुपर्छ भनि त्यतातिर बढी ध्यान दिन थाल्नुभयो । एकपछि अर्को र्याप गीतले बजार तताउन थालेपछि उहाँले डाक्टर पढ्ने सपना त्याग्नु भएको थियो । उहाँले बुवालाई पनि डाक्टर पढ्छु भनि भन्नुभएको थियो तर त्यो वाचा पनि उहाँले त्याग्नुभयो । जुन कुरा उहाँको बुवालाई मन परेको थिएन । मानियाले डाक्टरी पढोस् यो गीतसीतबाट टाढै बसोस् भनि चाहनु भएको थियो तर मानियालाई मैथिली र्याप गीतको लत (आदत) बसि सकेको थियो त्यसलाई उहाँले त्याग्न सक्नु भएन । मैथिली र्याप गीत जतिको खुशी अरुमा उहाँले पाउनु भएन । त्यसपछि उहाँले निरन्तर मैथिली ¥याप गीतहरू नै लेख्न थाल्नु भयो । तर मानियाको कामले उहाँको बुवालाई चित्त बुझेको छैन ।
बुवालाई मनाउने प्रयास मानियाले राख्नु भएको छ । मानियाको तारिफ सुन्दा उहाँको बुवालाई पनि खुशी लाग्छ तर यो भविष्य होइन, यसले जीवन चल्दैन, यो क्षणिक रमाइलो मात्र हो भनि उहाँको बुवाले चित्त बुझाउन सक्नु भएको छैन । तर यो क्षेत्रमा पनि अगाडि बढ्न सकिन्छ र यसबाट पनि जीवनमा केही गर्न सकिन्छ भनेर अझै उत्कृष्ट बन्ने कोसिसमा मानिया लाग्नु भएको छ ।
मानियालाई थाह छ कि आमाबुवाले गरेको अपेक्षाभन्दा फरक पेसा रोजेको छु, आफूले गरेको कामबाट आमाबुबा खुशी हुनुहुन्न तैपनि यसैमा केही फरक देखाउने अठोट लिएर मानिया दिनरात त्यसमै लाग्नु भएको छ । नयाँ नयाँ आइडिया क्रिएशन गरेर दर्शक तथा संगित प्रेमीलाई फरक स्वाद दिने प्रयासमा हुनुहुन्छ ।
दाइको साथ
तर मानियाका बुबाले र्यापर बनेको मन नपराएपनि उहाँका दाइ अजय मण्डललाई साथ दिनुभएको छ । एसएलसी पास गरेपछि बीएससीएजी पढ्न भारत जाने तयारीमा हुनुहुन्थ्यो । जब कि मानियालाई जाने मन थिए । आफ्नै गाउँ ठाउँमा बसेर र्यापमै केही गर्ने उहाँको सोच थियो तर घरपरिवारका कारण बाध्य भएर जाने तयारी गरिरहनुभएको थियो । त्यतिबेला दाइ अजय मण्डलले मानियालाई भन्नुभयो, “तिमीलाई जान मन छैन भने नजाउ, आमाबुवासँग म कुरा गर्छु । तिमीलाई गीत संगितमा नै केही गर्ने मन छ भने गर म त्यसमा सहयोग गर्छु ।” डुब्ताका तिनका सहारा जस्तै मनियाका लागि ठूलो सहारा प्राप्त भएको थियो । मानिया भारत पढ्न जान छाडेर र्यापमै केही गर्ने सोचले जनकपुर बस्न थाल्नुभयो

काठमाडौँको यात्रा
उहाँको सम्पर्क अर्का मैथिली ¥यापर एके रेनसँग भयो । उहाँ दुवै जान मिलेर काम गर्न थाल्नुभयो । गीतहरु बाहिर ल्याउन थाल्नुभयो तर नतिजा देखाइ रहेको थिएन । मानियाले सोचेको जस्तो काम भइरहेको थिएन । उहाँ दुवै जना सल्लाह गरेर काठमाडौँ आउनुभयो । दुवै जना काठमाडौँमा कोठा भाडा लिएर बस्न थाल्नुभयो । त्यहीबाट दुवै जनाले मैथिली र्याप गीतहरु लेख्न थाल्नुभयो । काठमाडौ आएपछि उहाँहरुले पहिलो र्याप मैथिली गीतको रुपमा ‘मैथप’ निकाल्नुभयो । यो गीतले तहल्का पिट्यो । युट्युवमा लाखौ भ्युयर प्राप्त भयो । त्यसले मानियामा जोश भर्यो । उहाँलाई काम गर्ने हौसला प्रदान गर्यो ।
त्यसपछि उहाँहरुले ‘एन्टी लभ’ लेख्नुभयो । “मैथप” भन्दा बढी चर्चा यो गीतले पायो । युट्युवमा ५० लाख भन्दा बढीले यो गीत हेरेका थिए । त्यसपछि उहाँ पछाडि फर्केर हेर्नुपरेन । एकपछि अर्को चर्चित गीतहरु दिनुभयो । अर्को त्यस्तै तहल्का पिटने र्याप गीत निकम्मा ल्याउनुभयो । त्यसले मानियालाई झन उचाइमा पुर्यो । एक मुठी चाउर दे झन तहल्का पिट्यो । गाउँघरका केटा केटीले यो गीत र्यापमै गाउन थाले । विभिन्न स्टेज शोहरुमा गाउन थाले ।
डान्सका लागि यो गीतलाई प्रयोग गर्न थाले । उहाँको अर्को गीत ‘शिव जी’को विशेषगरी कोरसले टिकटकमा धेरै लोकप्रियता कमायो ।
टिकटकमा उहाँका गीतहरु निकै लोकप्रिय छन् । उहाँले आफ्ना गीत संगितलाई टिकटिकमा राखेर पनि दर्शकलाई मनोरञ्जन दिइ रहनुभएको छ । मानियाले मैथिली र्याप संगितमा नयाँ आयाम थपेका छन् र स्थानीय कलाकारहरुलको उत्थानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएको छ । उहाँको म्युजिक भिडियोहरुमा प्रायः दलित समुदायका स्थानीय मानिसहरुलाई फिचर गरिएको हुन्छ । जसले उहाँको समुदायप्रतिको प्रतिवद्धता दर्शाउछ । परिवार, साथीभाइ र आफन्तहरु समेत उहाँको भिडियोहरुमा सहभागी हुन्छन् । जसले उहाँको कामलाई थप व्यक्तिगत र सामुदायिक बनाउँछ ।
मैथिलीमा ¥याप गर्दा जे आनन्द हुन्छ त्यो अरुमा हुँदैन, मानिया भन्नुहुन्छ, “र्यापमा केही फरक दिनका लागि नै मैथिली र्याप रोजेको हुँ ।” मैथिली ¥यापमा अझ खारिनका लागि उहाँले प्रेरणा र मार्गदर्शनको खोजीमा भारत र नेपालका विभिन्न ग्रामिण क्षेत्रको अवलोकन र अध्ययन गर्नुभएको छ । त्यहाँका लोक संस्कृति, भाषा र रहन सहनको अध्ययन गर्नुभएको छ । उहाँले त्यसबाट धेरै कुरा थाह पाउनु भयो र बुझ्नुभयो । उहाँलाई मैथिली र्यापमा बजार छैन, यसको लगानी खेर जान्छ, यो क्षेत्रमा अगाडि बढ्न सक्दैन, त्यसको सट्टा नेपाल, अँग्रेजी भाषा रोज्न सुझाव नदिएको होइन, उहाँका दाई अजय मण्डल समेतले पनि त्यही सुझाव दिनुभएको थियो तर अरुभन्दा केही फरक दिनका लागि मैथिली भाषा भन्दा अरु कुनै भाषा हुन सक्दैन भनेर उहाँ त्यसलाई निरन्तरता दिनुभयो ।
पछिल्लो समय मैथिली ¥यापरको सङ्ख्या बढ्दै गएकाले मानियाले ¥याप सुरु गर्दाको समयभन्दा अहिलेको अवस्था बदलिएको छ । अहिले यसको पाठक र दर्शकको कमी छैन, मैथिली र्याप रुचाउनेको सँख्या पनि बढ्न थालेको मानियाको बुझाई छ । मैथिली र्याप तराई मधेशका दर्शकले मात्र होइन हिमाल, पहाड तथा अन्य देशमा पनि सुन्ने तथा हेर्ने गरेको मानियाले दावी गर्नुभएको छ । पछिल्लो समय उहाँलाई तराई मधेशभन्दा बढी पहाडी साथी भाइबाट तारिफ भइरहेको छ ।
साथी भाइको सहयोग
मानियाको कामको अर्को लोभलाग्दो पक्ष उहाँले आफ्नो म्युजिक भिडियोमा आफ्ना साथी भाइ तथा आफन्तलाई नै प्रयोग गर्नुहुन्छ । उहाँले कहिले काही आफ्ना परिवारका सदस्यलाई पनि प्रयोग गर्नुहुन्छ त्यसले गर्दा थप कलाकार खोज्ने झन्झट हुँदैन । अझ उहाँले दलित तथा पिछडिएको समुदायलाई आफ्नो म्युजिक भिडियोमा राखेका हुन्छन् । त्यसले नयाँ कलाकार उत्पादन तथा उत्थानमा सहयोग पुग्ने विश्वास उहाँले लिनुभएको छ । उहाँ भन्नुहुन्छ, “मेरो समुदायका मानिसहरू एकदम सहयोगी छन् र सधैं साथ दिन तयार हुन्छन् जसले मलाई म्युजिक भिडियोका लागि कलाकारहरू खोज्न सजिलो बनाएको छ ।” उहाँको म्युजिक भिडियोमा परिवार र साथीभाइदेखि आफन्तसम्म सबैलाई फिचर गरिएको छ ।

तपाईको प्रतिक्रिया