नेपालको कृषि प्रणालीमा परिवर्तन ल्याउन सक्ने वैकल्पिक बालीको रूपमा भाङ्गको सम्भावनाबारे हालै प्रकाशित एक अध्ययनले महत्वपूर्ण जानकारी प्रस्तुत गरेको छ । सागर काफ्लेको नेतृत्वमा गरिएको यो अध्ययनले नेपालका १८ लाख हेक्टर जमिनमा भाङ्ग खेतीको सम्भाव्यता पहिचान गरेको छ ।
रिजनवल एण्ड सस्टनेवल इनर्जी रिभ्यु जर्नलमा प्रकाशित उक्त अध्ययनले भाङ्गको बहुउपयोगी गुण र यसको औद्योगिकीकरणबाट उच्च आय आर्जन गर्न सकिने सम्भावनालाई ध्यानमा राख्दै यसलाई वैकल्पिक बालीको रूपमा प्रस्ताव गरेको छ । पुर्वाञ्चल क्याम्पस, इञ्जिनियरिङ अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक सागर काफ्लेले भने, “हाम्रो अध्ययनले नेपालका १८ लाख हेक्टर जमिन, अर्थात् देशको १२ प्रतिशत भूभाग, भाङ्ग खेतीका लागि उपयुक्त रहेको देखाएको छ । भूगोल र अन्य मापदण्डलाई ध्यानमा राख्दा लगभग २.८ लाख हेक्टर जमिनमा मात्र भाङ्ग खेती गर्न सकिने सम्भावना छ ।
अध्ययनले भाङ्गको उत्पादन क्षमता, ऊर्जा उत्पादन र वातावरणीय फाइदासहित यसको विभिन्न उपयोगिताहरूको कुरा उठाएको छ । प्रति हेक्टर भाङ्ग खेतीको उत्पादन लागत तीन हजार १७७ अमेरिकी डलर रहेको र अनुमानित आम्दानी १० हजार ४५० डलर पुगेको छ । यस आधारमा सात हजार २७३ डलरको नाफा हुने आँकलन गरिएको छ । टेक्सास विश्वविद्यालयका अनुसन्धानकर्ता पुरुषोत्तम ज्ञवालीले भन्नुभयो, “नेपालमा भाङ्ग खेती अन्य देशको तुलनामा सस्तो पर्न सक्छ, जसले यसलाई एक लाभदायक वैकल्पिक बालीको रूपमा प्रस्तुत गर्न सक्छ ।”
अध्ययनले सबैभन्दा उपयुक्त क्षेत्रहरू पहाडी क्षेत्र (७१%) र तराई क्षेत्र (२८%) भएका छन्, जबकि हिमाली क्षेत्रमा केवल १% उपयुक्त जमिन देखिएको छ । प्रदेशगत रूपमा, कोशी प्रदेशमा सबैभन्दा बढी सम्भावना रहेको छ । कृषि इन्जिनियर बिबेक पौडेलका अनुसार माटो, जलवायु, भौगोलिक उचाइ र सडक सञ्जालको आधारमा भाङ्ग खेतीको सम्भाव्य क्षेत्रलाई उच्च, मध्यम र कम सम्भाव्यता वर्गीकरण गरिएको छ, र अधिकांश पहिचान गरिएका क्षेत्र मध्यम सम्भाव्यता भएका छन ्। अध्ययनले एक हेक्टर भाङ्ग खेतीबाट ४४.७ टन बायोमास, ३.६ टन रेसा र २.५ टन बीउ उत्पादन हुने देखाएको छ । यस आधारमा, सम्भाव्य क्षेत्रहरूबाट ८७ लाख टन बायोमास, सात लाख टन रेसा र पाँच लाख टन बीउ उत्पादन हुने संभावना रहेको छ ।
उत्पादन तथ्यांकका आधारमा अध्ययनले सम्भाव्य क्षेत्रहरूबाट कुल बायोमास क्षमता ८७ लाख टन, रेसा क्षमता सात लाख टन र बीउ क्षमता पाँच लाख टन पहिचान गरेकोछ”, युनिभर्सिटि अफ सास्काच्वन, क्यानडामा अध्ययनरत कृषि इन्जिनियर रुपेश आचार्यले बताउनुभयो । अबर्न विश्वविद्यालयका प्रा.डा.सुशील अधिकारीले भन्नुभयो, “भाङ्गको बायोमासबाट उत्पादित ४१ लाख टन ठोस इन्धन र १५ करोड लिटर जैविक डिजेल नेपालका वार्षिक ऊर्जा र डिजेल खपतको क्रमशः १० प्रतिशत र ८ प्रतिशत पूर्ति गर्न सक्षम हुनेछ । यसले आयातित कोइलाको स्थानमा स्वदेशी जैविक इन्धनको प्रयोगलाई प्रोत्साहन दिन सक्छ ।”
भाङ्ग खेतीले माटोको उर्वरता सुधार, जल संरक्षण र कार्बन शोषणमा पनि योगदान पुर्याउने देखिएको छ । नेब्रास्का विश्वविद्यालयका डिल्लीराम भट्टराईका अनुसार, “कम रसायनिक मलको प्रयोगले जैविक विविधता संरक्षणमा पनि मद्दत पुर्याउँछ ।” भाङ्ग खेती बहु–लाभकारी बाली भएकोले, यसले दिगो विकासका लक्ष्यहरू पूरा गर्न मद्दत गर्दछ। ग्रोनिंगेन विश्वविद्यालयका उप–प्राध्यापक डा. प्रजल प्रधानले भन्नुभयो, “भाङ्ग खेतीले किसानको आय बढाउँछ, जीवाश्म इन्धनको स्थानमा जैविक ऊर्जा प्रयोग बढाउँछ र जलवायु परिवर्तनको असर घटाउँछ । यसले नयाँ रोजगारका अवसर पनि सिर्जना गर्दछ ।”
यद्यपि, नेपालमा भाङ्ग खेती र व्यापारमा अझै प्रतिबन्ध लगाइएको छ । गाँजा र भाङ्ग दुवै एउटै प्रजातिका भए तापनि, भाङ्गमा टेट्राहाइड्रो कानाबिनो ०.३ प्रतिशत वा कम मात्र हुन्छ, जसका कारण यसलाई गाँजा भन्दा फरक मानिन्छ । विश्वव्यापी रूपमा भाङ्गको बजारमा वृद्धि भइरहेको छ र विभिन्न देशहरूले यसको आर्थिक र वातावरणीय फाइदाहरू मूल्यांकन गर्दै यससँग सम्बन्धित प्रतिबन्ध हटाइरहेका छन् । तर नेपालमा भने यससम्बन्धी कुनै कदम उठाइएको छैन । सन् २०२० मा नेपालमा गाँजा वैधानिकीकरणको लागि सार्वजनिक प्रस्तावहरू दर्ता भएका थिए, र सरकारको बजेटमा औषधिजन्य प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्न रकम विनियोजन गरिएको थियो । तथापि, गाँजा र भाङ्गको बीचको भिन्नता स्पष्ट नभएपछि यसलाई वैधानिक बनाउन ढिला भइरहेको छ ।
सामाजिक उद्यमी सौरभ ढकालका अनुसार भाङ्ग खेतीको कानुनीकरणमा ढिलाइ भइरहेको छ, तर नेपालका स्थानीय सरकारहरूले यस खेतीलाई प्रोत्साहन दिन महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।
स्रोतः हलोखबर
तपाईको प्रतिक्रिया