सिरहाको मिर्चैयामा आयुष चिया खाजा पसल चलाइ रहँदा भाग्यश्रीलाई राजनीतिको नाम सुन्दा दिक्क लाग्थ्यो । सप्तरीको सुरुङ्गा नगरपालिका–८, पिपराका भाग्यश्रीले कक्षा १२ सम्म पढ्नु भएको छ । उहाँको चिया पसलमा आउनेहरुले राजनीति कुरा गर्दा उहाँलाई झर्को लाग्थ्यो । तर भाग्यश्रीको भाग्यले यस्तो कोल्टो फेर्यो, राजनीतिसँगै सांसद बन्नुभयो । जुन राजनीतिबाट उहाँलाई घृणा लाग्थ्यो आज गाउँगाउँ त्यसैको वकालत गर्दै हिड्नु भएको छ । उहाँ जनमत पार्टीबाट मधेश प्रदेशका प्रदेश सभाका समानुपातिक सांसद हुनुहुन्छ ।
दुई वर्षअघिसम्म चियावाली भाग्यश्रीको नामले चिनिएका भाग्यश्री अहिले सांसद भाग्यश्रीले चिनिनु भएको छ । नत्र जनमतमा आवद्ध हुनुअघि राजनीतिसँग खासै चासो हुँदैन्थ्यो । अहिले उहाँले नै भन्न थाल्नु भएको छ, “समाजको परिवर्तन राजनीतिबाट मात्र सम्भव छ ।” चिया खाजा पसलमा आउने नेताहरु राजनीतिको कुरा गर्दा उहाँलाई झर्को लाग्थ्यो भने कहिले काहीं ध्यानपूर्वक सुन्नुहुन्थ्यो । आफ्नै पसलमा राजनीति कुरा सुन्दा सुन्दै धेरै कुरा थाह पाइसक्नु भएको थियो ।
श्रीमान निर्मल संगत र चिया पसलको गफले राजनीति अभियानमा कतिखेर लागि सकेको त्यो कुरा आफू पनि थाह नपाएको बताउनुहुन्छ भाग्यश्री । जनमत पार्टीका अध्यक्ष डा.सिके राउत स्वतन्त्र मधेश गठबन्धन चलाइ रहेकै बेलादेखि उहाँको श्रीमान निर्मल अभियानमा लागि सक्नुभएको थियो । सिके राउतका साथमा अभियानमा निस्कि सक्नु भएको थियो । सुरुमा यसरी कामधन्दा छाडेर अभियानमा निस्केको देख्दा श्रीमानप्रति भाग्यश्रीलाई रिस पनि उठ्थ्यो तर पछि श्रीमानको अभिायनलाई सघाउन थाल्नु भएको थियो । स्वतन्त्र मधेश गठबन्धनमा हुँदा भाग्यश्रीका श्रीमान थुप्रैपटक गिरफ्तारीमा पर्नुभएको थियो । महिनौसम्म घर आउनु हुन्थेन त्यसपछि सबै भाग्यश्रीले सम्हाल्नु हुन्थ्यो ।
प्रहरीले कहिले काही निर्मललाई खोज्दै उहाँको घरसम्म पुग्नु हुन्थ्यो । घरमा निर्मल नभेट्दा प्रहरीको जमकाभेट भाग्यश्रीसँग नै हुन्थ्यो । प्रहरीबाट पटक पटक अपमानित हुनुपथ्र्यो भाग्यश्रीलाई । पटक पटक प्रहरीसँग भाग्यश्रीलाई सामना गर्नुपथ्र्यो त्यसले गर्दा उहाँलाई पनि राजनीतिप्रति रुची बढाइ दियो । भाग्यश्री भन्नुहुन्छ, “श्रीमानलाई प्रहरीले पक्राउ गरेपछि पसलदेखि घरसम्म अनेक चर्चा हुन्थ्यो, विभिन्न टिका टिप्पणी हुन्थ्यो, त्यसको जवाफ दिँदा दिँदै म पनि कतिखेर राजनीति गर्न थाले थाहै पाइनन् ।”
यद्यपी उहाँले ‘थाहै नपाई’ भने पनि यस क्षेत्रमा उहाँ चिनिएकी अभियन्ता भइसक्नु भएको कुरा बजार तथा गाउँघरका अगुवाहरुले थाह पाइसकेका थिए । गाउँका अगुवाहरु भन्नुहुन्छ, “हामीलाई चिया खुवाउने सालिन, सोझी भाग्यश्री यसरी राजनीतिमा आउनुहुन्छ र राजनीति गर्नुहुन्छ भनि थाह थिएन तर उहाँ सिके राउतको पार्टीसँग जोडि सक्नु भएको कुरा हामीले थाह पाइसकेका थियौं ।”
सुरु सुरुमा राजनीति कुरा गर्दा उहाँ झर्को मान्नुहुन्थ्यो तर पछि त उहाँले हरेक कुरामा चासो लिन थाल्नु भएको थियो त्यतिबेला नै हामी गन्ध पाइसकेका थियौं कि भाग्यश्री सिके राउतको पार्टीमा लाग सक्नुभएको छ, आज सांसद भएर हिडि रहेको ती अगुवाले बताउनुभयो । भाग्यश्रीको कुरा सुन्दा उहाँको विचारहरु सुन्दा हामीलाई पनि लाग्थ्यो कि उहाँ राजनीतिमा जानुहुन्छ तर यति छिटो यति प्रगति गर्नुहुन्छ भनि थाह थिएन ।
हाटको चियापसलबाट मात्रै घर चलाउन सकस भएपछि २०७५ तिर निर्मल वैदेशिक रोजगारीमा साउदी अरेबिया पुग्नु भएको थियो । निर्मल वैदेशिक रोजागरीमा गएपछि भाग्यश्रीको काँधमा झन जिम्मवारी थिपिएको थियो । बालबच्चालाई सम्हाल्नुदेखि लिएर पसल सम्हाल्नु र राजनीति पनि उहाँको जिम्मेवारीमा आएको थियो । त्यतिबेला सिके राउत मुलधारमा आएर जनमत पार्टी बनाइ सक्नु भएको थियो । पहिलाभन्दा सहज भयो सिके राउतसँग काम गर्न । स्वतन्त्र मधेश गठबन्धन हुँदा जतिबेला पनि प्रहरीको नजरमा रहनुपथ्र्यो । सिके राउतको कही आन्दोलन भयो कि खोज्न आइहल्थ्यो । अब जनमत भएपछि त्यति गाह्रो नहुने देखेपछि भाग्यश्री पनि खुलेर लाग्नु भएको थियो ।
उहाँ श्रीमान निर्मल साउदीबाट नै जनमत पार्टीमा आवद्ध भइसक्नु भएको थियो । डा. सिके राउतको अभियानसँगै जोडिएर निर्मल साउदीमा गैरआवासीय मधेशी संघको अध्यक्ष बन्नुभएको थियो । झण्डै दुई वर्ष काम गरेर फर्किनु भएका निर्मलले आफ्नो टहरोबला चिया खाजा पसललाई विस्तार गर्नुभयो । आफ्नै जग्गा लिएर घर बनाउनुभयो ।
२०७९ को संसदीय चुनाव नजिक आइपुग्यो । जनमत पार्टी पहिलो पटक संसदीय राजनीतिमा चुनाव लड्ने सुरसार गर्न थाल्यो । हिजोसम्म एउटा चिया पसलमा बसेर अरूका राजनीतिका कुरा सुन्ने भाग्यश्री विस्तारै मधेशका हेपिएका र विपन्न मानिसका लागि राजनीति किन महत्वपूर्ण छ भन्ने बुझ्न थालिसक्नु भएको थियो र फिल्डमै गएर काम गर्न थाल्नु भएको थियो । गाउँ गाउँ टोलटोल गएर संगठन बनाउन थाल्नु भएको थियो ।
२०७९ को चुनावमा जनमत पार्टीले आदिवासी जनजातिको सूचीमा भाग्यश्रीको नाम राखेको थियो । महिलामा आदिवासी जनजातितर्फ भाग्यश्रीको नाम ७ नम्बरमा थियो । चुनावी नतिजा आयो । महिलातर्फ जनमतबाट सात जना सांसद बने । यसरी तराईको एउटा हाट बजारमा चिया बेच्ने महिला मधेश प्रदेशको सभासद् हुन पुग्नुभयो ।
प्रदेश सभामा उपस्थिति
दुई वर्षअघिसम्म उनी सिरहाको मिर्चैया नगरपालिका–१० मथिलेश्वर बजारमा मुरही, कचरी र तरकारी सहितको चिया खाजा पसल चलाउने भाग्यश्री अहिले मधेश प्रदेशको प्रदेश सभामा आफ्नो वजनदार भाषण दिनुहुन्छ । प्रदेश सभामा आफ्नो कुरा राख्नका लागि प्रतिक्षामा बस्नु हुने भाग्यश्री समाजको दैनिक जीवनसँग सम्बन्धित तथा जनजिविकासँग सम्बन्धित कुराहरु उठाउनुहुन्छ । ‘हाम्रो गाउँठाउँ, पालिका र क्षेत्रमा रहेका जनताका समस्या सदनमा उठाउँछु । समाधानको प्रयास गर्छु । विकासका लागि समाजमा छलफल गर्छु’, भाग्यश्रीले सुनाउनुभयो । समाज रूपान्तरण अहिले उहाँको मुख्य कार्यसूची हो ।
प्रदेश सभाको महिला बालबालिका समितिकी सदस्य जनमत पार्टीका यी सांसद अहिले प्रदेश सभामा महिला बालबालिका सम्बन्धी कानून र नीति बनाउने भूमिकामा हुनुहुन्छ । चर्को महिला हिंसा सामना गर्नुपर्ने समाज र विद्यालय जाने उमेरका धेरै केटाकेटी स्कूल बाहिर भएको परिवेशमा महिला बालबालिका समिति सदस्यका रूपमा भाग्यश्रीको काँधमा ठूलो जिम्मेवारी छ । जनमत पार्टीको संसदीय दलकी सचेतक समेत रहनु भएको छ ।
सांसद बनेपछि उनको दिनचर्या फेरिएको छ । अहिले उहाँ सदनमा कसरी बोल्ने भन्ने अघिल्लो दिन नै तयारी गर्नुहुन्छ । संसदमा भाग्यश्रीले उठाउने कुरा सरल हुन्छन् । उहाँले देशको चिन्ता गर्नुहुन्न । उहाँले पहिला आफ्नो समाज, गाउँ र टोल बन्नुपर्छ अनि मात्र देश बन्छ भन्नुहुन्छ । आफ्ना गाउँठाउँका जनताले भोगेका कुलो, पोखरीका समस्या, महिलाले न्याय नपाएका र तिनमा जोडिएका कानूनका विषयमा उहाँले संसदमा अवाज उठाउनु हुन्छ । सदनमा सधैं समय नपाए पनि, शून्य समय वा विशेष समयको सदुपयोग गर्दै आफ्नो धारणा राख्ने गरेको भाग्यश्रीले बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, ‘विशेष समय दल अनुसार बाँडिन्छ । त्यसैले कहिलेकाहीं मात्रै मलाई विशेष समय मिल्छ । तर म दुवै अवसरको उपयोग गर्ने प्रयास गर्छु ।’ उहाँको अनुभवमा प्रदेश सभामा उठाउने समाजका मुद्दाहरूमध्ये केही तुरुन्त समाधान हुन्छन् भने केहीलाई समय लाग्छ । गाउँका मुद्दाहरू बारम्बार उठाउने गरेको बताउँदै उहाँले सरकार सुन्छ या सुन्दैन, त्यो बेग्लै कुरा हो तर आफूले निरन्तर कुरा उठाइ रहने बताउनुभयो ।
शुरुमा भाग्यश्रीलाई नीति र कानूनका बारेमा सदनमा बोल्नु गाह्रो हुन्थ्यो । बोल्ने पालो आउँदा मुटु काम्थ्यो । बोल्ने पालो नआइ दिए हुन्थ्यो जस्तो लाग्थ्यो भाग्यश्रीलाई । तर विस्तारै उहाँ बोल्न जानेपछि कतिखेर पालो आउँछ कहिले पालो आउछ भनि कुरेर उहाँ बस्नुहुन्छ । आफ्नो क्षेत्र भ्रमणमा जाँदा जनताले सडक निर्माण, खानेपानी, सिंचाइ, मलखाद लगायत विकासका अपेक्षा सांसदलाई राख्छन् । तर, सदन नीति नियम बनाउने ठाउँ भएकाले जनतालाई यो बुझाउन भाग्यश्रीलाई कठिन भइरहेको छ । ‘जनताले भोट दिंदा विकासको अपेक्षा गर्छन्, तर यहाँ आएपछि हाम्रो मुख्य भूमिका नीति, नियम र कानून निर्माण गर्नु हो भन्ने थाहा भयो’, भाग्यश्रीले भन्नुभयो ।
भाग्यश्रीलाई सांसद भन्दा जनता बुझ्ने भइसकेको लाग्छ । ‘आजकल माननीय भन्दा जनता धेरै सचेत र जानकार छन् । हातहातमा मोबाइल र सामाजिक सञ्जालमा सबै कुरा हेर्छन्, बुझ्छन् । अब जनतालाई झुक्याउन गाह्रो छ’, उहाँ भन्नुहुन्छ । उहाँले प्रदेश सभामा पनि महिलामाथि विभेद हुने गरेको बताउनुभयो । दलहरूमा क्षमता अनुसार होइन, लिंग अनुसार पद दिने र हेप्ने गरेको भाग्यश्रीको बुझाइ छ । ‘महिलामाथि सदनमा पनि समानता छैन । कुनै महिला सांसदमा जति धेरै क्षमता भए पनि उनलाई महिला भएकै आधारमा सीमित जिम्मेवारी दिइन्छ । बुझ्नुस्, हेपेरै राखिने गरेको उहाँले गुनासो गर्नुभयो ।
चिया खाजा पसल
२०५४ देखि निर्मलका बुवा धनिकलाल मण्डल र आमा रामोदेवी चिया खाज पसल चलाउनु हुन्थ्यो । पसलमा चियासँगै मुरही, कचरी, चप र समोसा पाइन्थ्यो । सम्पत्तिको नाममा अरू केही नरहेको धनिकलालको परिवारको साँझ–बिहानको छाक टार्ने काम त्यही पसलले गथ्र्यो । धनिकलाल भन्नुहुन्छ, “माटो र खरको छाप्रोमा पसल चलाएर छोराछोरी हुर्काए । सम्पत्तिको नाममा त्यही एउटा छाप्रोमा रहेको पसल थियो, पसलबाट भएको आम्दानीले छोराछोरीलाई पढाए लेखाए र गुजारा गरे ।”
२०६६ मा धनिकलालका जेठो छोरा निर्मलले भाग्यश्रीसँग प्रेम विवाह गर्नुभएको थियो । त्यो अन्तरजातीय बिहे थियो । अन्तरजातीय बिहे भएको कारण निर्मलको घरमा खासै समस्या थिएन तर भाग्यश्रीका आमा बुवालाई स्विकार थिएन । पछि भाग्यश्रीका आमाले कुरा मानेपनि बुवाले बोलचाल समेत बन्द गरिसक्नु भएको थियो । भाग्यश्री सांसद भएपछि मात्र उहाँको बुवाले फोन गरेर बधाइ दिनु भएको थियो । भाग्यश्रीका लागि त्यो दिन खुशीको सीमा थिएन । सांसद भएको भन्दा पनि १३ वर्षपछि बुवाले फोन गरेकोमा उहाँ खुशी हुनु हुन्थ्यो ।
विवाह पछि पनि घर चल्ने आधार त्यही पसल नै थियो । भाग्यश्री पनि त्यही पसलमा सासु–ससुरालाई सघाउन थाल्नुभयो । सासु रामोदेवीको निधन भएपछि पसलको सम्पूर्ण जिम्मेवारी भाग्यश्रीका काँधमा आयो । घरपरिवारदेखि पसल सबै भाग्यश्रीले सम्हाल्नु पथ्र्यो । श्रीमान निर्मल राजनीतिमा भएको कारण पसलमा त्यति समय दिन पाउनु भएको थिएन ।
भाग्यश्री भन्नुहुन्छ, “म राजनीति गर्छु, सांसद बन्छु भन्ने सोच्न पनि नसक्ने परिवारबाट आएकी हुँ । मलाई समयले यो मौका दियो, यसलाई मैले समाजका लागि सदुपयोग गर्छु । मलाई पहिलादेखि नै समाजका लागि केही गर्नुपर्छ भनि लागेको थियो तर राजनीतिबाट नै गर्छु भनि लागेको थिएन तर भगवानले मलाई जुराई दियो यसलाई म समाजलाई सुम्पि दिएको छु ।”
तपाईको प्रतिक्रिया