काठमाडौं, जेठ १७ गते । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का राष्ट्रिय अध्यक्ष माननीय उपेन्द्र यादव आज मलेशिया प्रस्थान गर्नुभएको छ। उहाँ आगामी जेठ २० गतेसम्म मलेशियामा रहने कार्यक्रम छ।
यादवको यो भ्रमणको मुख्य उद्देश्य मलेशियामा रहेका नेपाली समुदायसँग प्रत्यक्ष संवाद गर्नु, उनीहरूका समस्याबारे जानकारी लिनु र जसपा नेपालका विदेशस्थित संगठनहरूको सुदृढीकरण गर्नु रहेको बताइएको छ।
कार्यक्रमलाई व्यवस्थित बनाउनका लागि जसपा नेपालका विदेश विभाग प्रमुख अर्जुन थापा र मधेस प्रदेशका प्रदेशसभा सदस्य राजु गुप्ता केही दिन अघि नै मलेशिया पुगिसकेका छन्। उनीहरूले अध्यक्ष यादवको भ्रमणलाई सफल बनाउन आवश्यक तयारीहरू गरिरहेका छन्।
मलेशियामा रहेका नेपालीहरूका लागि यो कार्यक्रम महत्त्वपूर्ण मानिएको छ, किनभने यसले विदेशमा श्रम गर्दै आएका नेपालीहरूको आवाज नेपालका नेतृत्व तहसम्म पुर्याउने अवसर दिन्छ। जसपाका अनुसार, पार्टीले प्रवासी नेपालीहरूको हकहित र अधिकारको सवालमा आगामी दिनहरूमा थप सक्रियता देखाउने योजना बनाएको छ ।


तपाईको प्रतिक्रिया