Khadya Bibhag

सोमालियाका महिला बारे लेख्ने पत्रकार हिन्दा अब्दी

“पत्रकारिता मेरो लागि पेशा होइन, प्रतिरोधको स्वर हो । जब समाज मौन हुन्छ, म बोल्नैपर्छ भन्ने लाग्छ ।’’ सन् २०२४ मा विश्वका १०० महिलामा छानिएका सोमालियाका पत्रकार हिन्दा अब्दी मोहम्मदले भन्नुभएको कुरा हो यो । उहाँले भन्नुभएको छ, “जब तपाईं भन्नुहुन्छ– ‘म पत्रकार हुँ’, समाज तपाईंलाई सजिलै स्वीकार गर्दैन ।” हिन्दाले प्रेस स्वतन्त्रता र तटस्थ पत्रकारिताका लागि दीर्घता संघर्षको व्याख्या गर्नु भएको छ । जुन विश्व पत्रकारिताका लागि निकै जिवन्त र सजिव छ ।
जब पत्रकारले कलम छाडे
अफ्रिकाको युद्ध–विघटन, धार्मिक अतिवाद र असमानताको लामो छायाँमुनि एक महिला कलम समातेर उभिन्छिन् । उहाँ हुनुहुन्छ, ‘हिन्दा अब्दी मोहम्मद । सोमालियामा जन्मिएर अस्थिरता, हिंसा र महिला दमनको बिचमा हुर्किनु भएका हिन्दाले पत्रकारितालाई आफ्नो प्रतिकारको औजार बनाउनुभयो । एक युद्ध–पीडित देश जहाँ बम, बन्दुक र डरले दिनचर्या तोक्छ । जहाँ महिलाहरूको स्वर घण्टाघरको घन्टीभन्दा कम सुनिन्छ । त्यहीँ, सोमालियामा हिन्दाको जन्म भयो । उहाँका लागि कलम केवल लेखनको माध्यम थिएन, त्यो अस्तित्वको प्रमाण पनि थियो ।
संघीय गणतन्त्र सोमालिया अफ्रिकाको एक देश हो । यसको सिमानाको पश्चिममा इथियोपिया, उत्तर–पश्चिममा जिबुती, उत्तरमा एडेनको खाडी, पूर्वमा हिन्द महासागर र दक्षिण पश्चिममा केन्या पर्दछ । सोमालियामा अफ्रिकाको मुख्य भूमिमा सबैभन्दा लामो तटवर्ती इलाका रहेको छ । । मनसुनी हावा र अनियमित वर्षा हुने गरी वर्षेनी गर्मीको अवस्था विद्यमान छ । सोमालियाको अनुमानित जनसँख्या लगभग एक करोड ५० लाख रहेको छ, जसमध्ये २० लाख भन्दा बढी राजधानी र सबैभन्दा ठूलो सहर मोगादिसुमा बसोबास गर्छन् ।
जब देशका अधिकांश पत्रकार कलम छोड्न बाध्य थिए, हिन्दाले लेख्न थाल्नु भएको थियो । उहाँले यस्ता विषयहरुमा कलम चलाउन थाल्नुभयो जुन विषयमा जसलाई अरूले टेर्दैन्थे । उहाँले महिलाको पीडा, बालबालिकाको मौनता, यौनिकताको ट्याबु, र धार्मिक कट्टरताको आडमा हुने मानवीय अन्यायहरुको विषयमा कलम चलाउन थाल्नु भएको थियो ।
हिन्दा अब्दी मोहम्मद केवल पत्रकार होइनन् । उहाँ अस्थिर देशको अँध्यारोमा उज्यालो खोज्ने महिला पत्रकार हुनुहुन्छ । जहाँ समाज मौन छ, त्यहाँ उहाँ बोल्नु हुन्छ । जहाँ शब्दहरू दबाइन्छन्, त्यहाँ उहाँ लेख्नु हुन्छ ।
पुस्तकालयबाट शिक्षा
हिन्दाको बाल्यकाल केवल किताब र कपीसँग मात्र होइन, विस्फोटको आवाजसँग पनि जोडिएको छ । इथियोपियाको जिजिजÞा शहरमा जन्मनु भएका उहाँ सानो उमेरमै सोमालिल्याण्डको हरगैसा जानुभयो र त्यहाँ उहाँको बाल्यकाल बित्यो । त्यहाँ शिक्षाको अवसर त्यति थिएन । विद्यालय तथा अन्य आधारभूत कुराको उपलब्ध नहुँदा उहाँ गाउँको पुस्तकालयमा गएर पढ्न थाल्नुभएको थियो । प्रारम्भिक भनौ वा औपचारिक शिक्षा उहाँको त्यहीबाट सुरु भएको भन्दा फरक पर्दैन । लेख्न र पढ्न उहाँ त्यहीबाट सिक्नुभयो ।
बाल्यकालदेखि लेखनमा रुचि राख्ने हुनाले, लेख लेख्ने व्यक्तित्व उहाँले विकासमा ल्याउनुभयो । उहाँको प्रारम्भिक शैक्षिक यात्रा स्थानीय कलेजबाट पत्रकारिता डिप्लोमा सिकेर अगाडि बढाउनुभयो र त्यसपछि ‘न्यु जेनेरेशन विश्वविद्यालय’ बाट उहाँले अन्तर्राष्ट्रिय सम्बन्धमा डिग्री हासिल गर्नुभयो ।
उहाँले २० वर्षकै उमेरमा आफ्नो पहिलो पुस्तक ‘र्याड सोमाली’ लेख्नुभयो । त्यो पुस्तकले सोमाली समुदायको ऐतिहासिक पहिचान बारे बहस चलाएको थियो । उहाँले लेख्नु भएको पुस्तक आफ्नै खर्चमा प्रकाशन गर्नुभयो र त्यसलाई निशुल्क वितरण गर्नुभएको थियो । यो कदम उहाँको आत्मनिर्भरतालाई मात्र होइन, अभिव्यक्तिको साहसलाई पनि देखाउँछ । उहाँ भन्नुहुन्छ, “म पुस्तकहरू कार्यक्रमहरूमा लगेर बेचेँ, मानिसहरूले भने कि म पुस्तक लेख्न धेरै सानी थिएँ तर जब उनीहरूले यो पढे उनीहरूले मलाई यति राम्रो काम गरेकोमा प्रशंसा गरे ।’’
बिलानको सम्पादक
हिन्दा अब्दी मोहम्मद सन् २०२२ मा सोमालियाबाट महिलाहरुले सञ्चालन गरेको ‘बिलान मिडिया’ समाचार संस्थाको सम्पादक बन्नुभएको थियो । सोमालियको पहिलो सञ्चारमाध्यम थियो जसलाई महिलाहरुले सञ्चालन गरेका थिए । सोमाली भाषामा बिलानको अर्थ हुन्छ “स्पष्टता’’ । नाम जस्तै काम पनि स्पष्ट र प्रभावशाली थियो ।
बिलानको उद्देश्य पत्रकारहरूका लागि विश्वमा सबैभन्दा खतरा रहेका देशहरूमध्ये एक सोमालियामा विभिन्न सामाजिक मुद्दा उजागर गर्नु रहेको छ । जस्तो कि एचआईभी सङ्क्रमण भएपछि लुकेर बसिरहेकाहरू, दुव्र्यवहारमा परेका अनाथहरू र समुदायले त्यागेका ’एल्बिनो ’हरूका कथा । हिन्दाले नेतृत्व गरेको ६ जना महिला पत्रकारहरूको टोलीले समाजका त्यस्ता मुद्दाहरू उठाए, जसको बारेमा समाज बोल्न डराउछ । ती विषयहरु सहासिक रुपमा उहाँले उठाउनु भएको थियो ।
हिन्दाले यस्ता विषयहरु उठाउनुभयो जसले सोमालिया नै हलाई दियो । उहाँले समाजका एचआईभी÷एड्स, यौन हिंसा, गर्भपतन, बाल विवाह, मानसिक स्वास्थ्य, अपांगता र यौनिक अल्पसंख्यकहरुको विषयहरु उठाउन थाल्नुभयो । ‘बिलान मिडिया’ संयुक्त राष्ट्र संघ विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा सञ्चालन भएको हो । हिन्दाको टोलीले समाजवादी, राजनीतिक, मानवताको विषयहरू विविध दृष्टिकोणले जनमानस समक्ष ल्याउने काम गरिरहनु भएको छ ।
उहाँहरूले सुरक्षाको जोखिम उठाउँदै अल–शाबाबको प्रभाव रहेको क्षेत्रमा समेत भ्रमण गरेर रिपोर्टिङ गगर्नुभएको छ, जुन उहाँको धैर्य र प्रतिबद्धताको पर्याय हो ।
हिन्दाले यस साहासिक कार्यलाई केवल मिडिया होइन, महिला पत्रकारिताको आन्दोलन पनि हो भन्नुभयो । उहाँ भन्नुहुन्छ, “सामाजिक दृष्टिकोण तोड्न मिडिया नै प्रभावकारी अस्त्र हो ।” उहाँ अहिले आफ्नो दोस्रो पुस्तक लेख्द हुनुहुन्छ, जुन अनाथ वा त्यागिएपछि आमाबाबु बिना हुर्केका बालबालिकाहरूको जीवन कथाहरूमा आधारित छ ।
हिन्दामाथि बम प्रहार
सोमालिया महिला पत्रकारको लागि सजिलो देश होइन । कट्टर धार्मिक समूहहरू विशेषगरी अल–शबाबले पत्रकारितालाई “पश्चिमी षड्यन्त्र’’ ठान्छन् । हिन्दा र उहाँको टोलीले रिपोर्टिङ गर्दा सुरक्षा चुनौतीहरूको निकै सामना गर्नुपरेको थियो । अल शबाबबाट हिन्दा र उहाँका टिमलाई दिन दिनै धम्की आउँथ्यो । उहाँहरुलाई धम्की दिनु, निगरानी गर्नु, यहाँसम्म कि बम आक्रमण गर्ने प्रयास पनि गर्नुभयो ।
सोमालियामा पत्रकार हुनु आफैँमा खतरा हो । हिन्दा र उनको टोलीलाई धम्की, निगरानी, सामाजिक बहिष्कार, र यहाँसम्म कि ज्यानको डर पनि छ । एकपटक एक रिपोर्टरले यौन हिंसामा परेकी किशोरीको कथा सार्वजनिक गरेपछि आतङ्ककारी समूहबाट धम्की आएको थियो । कार्यालयमा बमसमेत राखिएको पाइयो । तर उनीहरू पछि हटेनन् । हिन्दा भन्नुहुन्छ, “डर सबैंसँगै हुन्छ । तर सत्य भन्न छाड्यौं भने झन ठूलो खतरा समाजलाई हुन्छ ।”
उहाँ धम्की र बम प्रहारबाट कहिले आत्तिनु भएन, आफ्नो अभियानबाट कहिले डगमगाउनु भएन । उहाँ भन्नुहुन्छ, “म समाजका डरहरू भन्दा बढी आफ्ना शब्दहरूको शक्ति प्रति विश्वस्त छु ।’’
सोमालियामा पत्रकारिताको काम निकै जोखिमपूर्ण छ । हालसम्म ५० भन्दा बढी पत्रकारहरूको मृत्यु भइसकेको छ । महिला पत्रकारहरूको लागि जोखिम अझ बढी छः गलतफहमी, धम्की, र सामाजिक पूर्वाग्रहको सामना उहाँहरूले दैनिक गर्नुपर्दछ । हिन्दाले पत्रकारितामा ल्याउन त्यहाँ युवतीहरूलाई प्रेरित गरिरहनु भएको छ । बढी भन्दा बढी महिलालाई कसरी यसमा सहभागी गराउन सकिन्छ भनि त्यसखालको जागरुकता फैलाइ रहनु भएको छ । उहाँले भन्नुहुन्छ, ‘‘पत्रकारिता केवल पेशा होइन, तर जागरुकता, नेतृत्व र सामाजिक परिवर्तनका माध्यम पनि हो ।’
सोमाली समाज एक गहिरो रूढिवादी संरचनामा आधारित छ । त्यहाँ महिलाहरू पत्रकारितामा आउनु गम्भीर सामाजिक निषेध जस्तै मानिन्छ । हिन्दा भन्नुहुन्छ, “मैले जब पत्रकार बन्न चाहें, मान्छेहरू हाँसे । उनीहरूले भने– यो पुरुषहरूको काम हो । तर मलाई थाह थियो, मैले लेखेँ भने कुनै अर्की किशोरीले पनि कलम समाउने साहस गर्नेछिन् ।”

हिन्दा एक ‘सशक्त महिला पत्रकार’ मात्र हुनुहुन्न समाजिक संरचनामा विश्वासको टक्कर पनि दिनुभएको छ । समाजमा रहेका कतिपय अन्धविश्वास र कुरुतीलाई हान्नु भएको छ । जसले सोमालियाली समाजलाई राम्रो बनाएको छ । हिन्दाको यात्राले बिलान‑टीमको निर्माण, पुरस्कार र जीवन्त कार्यशैलीले देखाउँछ कि “सत्य बोल्न डराउनुहुँदैन, पुरुष–प्रधान समाजबाट कतराउनु हुँदैन ।” सोमालियामा पत्रकारितालाई नयाँ अर्थ दिने काममा हिन्दाले अत्यन्त महत्वपूर्ण योगदान पु¥याउनु भएको छ ।
हिन्दाको समाजिक विषय
हिन्दाले सोमालियामा यस्ता विषयहरु उठान गरेर रिर्पोटिङ गर्नुभएको छ, त्यो सोमालियामा मात्र होइन विश्वमै उदाहरण बनेको छ । धेरै देशका महिला पत्रकारले हिन्दालाई आफ्नो प्रेरणा मान्छन् । उहाँले एक एचआईभी संक्रमित महिलाको कथा, जसलाई अस्पतालले छुन मानेको थिएन । त्यसको कथा उहाँले बाहिर ल्याएपछि सोमालियामा मात्र होइन विश्वमै चर्चाको विषय बनेको थियो ।
त्यस्तै, उहाँले द्वन्द्वका कारण विस्थापित महिलाहरूले झेल्नुपरेको लिंग आधारित हिंसाको बारेमा पनि थुप्रै रिर्पोटिङहरु गर्नुभएको छ । उहाँले सोमालियामा हुने बाल विवाहपछि मानसिक रोग भोग्न बाध्य किशोरीहरुको कथा र पिडाहरु बाहिर ल्याउनु भएको थियो । यस्ता कथाहरु उहाँ बाहिर ल्याउदा उहाँको प्रशंसा मात्र होइन आलोचना पनि धेरै भयो । विभिन्न समूहबाट ज्यान मार्नेसम्मको धम्की आयो ।
उहाँले सोमालियामा यौन शिक्षा नपाएर ज्यान गुमाएका किशोरहरूका रिपोर्टहरु पनि सार्वजनिक गर्नुभएको थियो । यी सबै विषयले सोमाली समाजमा गहिरो बहस जन्माएको थियो र अहिले पनि त्यसकै चर्चा हुन्छ । जसको नेतृत्व हिन्दा र उनको टोलीले गरिरहेका छन् ।
हिन्दाको काम आज सोमालियामा मात्र होइन, इथियोपिया, केन्या र दक्षिण सूदानसम्मका महिला पत्रकारका लागि प्रेरणाको स्रोत बनेको छ । उहाँ भन्नुहुन्छ, “हाम्रो समाजमा महिलाहरू रोएकै छन् । तर उनीहरूको रोदन शब्दमा परिणत भएको थिएन । बिलान त्यसैको सुरुवात हो ।”
भविष्यको सपना
हिन्दाको नयाँ सपना बिलान मिडियालाई देशका साना सहर र गाउँसम्म विस्तार गर्नु हो । उहाँ चाहनु हुन्छ कि हरेक क्षेत्र तथा शहरमा महिला पत्रकारको उपस्थिति होस् । त्यसका लागि उनले पत्रकारिता तालिम, इन्क्युबेसन कार्यक्रम र “कम्युनिटी रिपोर्टिङ“ प्लेटफर्म शुरू गरेकी छन् ।
उनको अर्को प्रोजेक्ट ‘साइलेन्ट मदर’ हो–अनाथ, युद्धपछिका महिलाहरूका कथामा आधारित उहाँको यो दोस्रो पुस्तक हो । उहाँ भन्नुहुन्छ, “जब हामी शान्ति खोज्छौं, हामीले तिनको आवाज सुन्नुपर्छ जसले बच्चा, पति, देश गुमाएका छन् ।”
आजको यो समय, जब पत्रकारिता बजारमुखी, सनसनीपूर्ण र पक्षपाती बन्दै गइरहेको छ, हिन्दाको कामले पत्रकारितालाई फेरी मानवीय बनाउने पाठ दिन्छ । कलम केवल समाचार लेख्नका लागि होइन, चेतनाको सन्देश दिन पनि हो भन्ने उहाँले सन्देश दिनुभएको छ ।

हिन्दाको कथा केवल एक पत्रकारको कथा होइन । त्यो शब्दको साहस, नारीको प्रतिरोध र परिवर्तनको दस्तावेज हो । आज पनि उहाँ सोमालियाको राजधानी मोगादिशुमा आफ्नी छोरीसँग बस्नुहुन्छ । उहाँको कलम चलिरहन्छ । समाज अझै बाँकी छ लेख्न । पीडा अझै बाँकी छ सुन्न । हिन्दालाई पढ्दा लाग्छ— “कलमले युद्ध जित्दैन, तर इतिहास लेख्छ । र कहिलेकाहीँ, त्यो इतिहास नै नयाँ युगको थालनी हुन्छ ।”
हिन्दा अब्दी मोहम्मद भन्नुहुन्छ, “जब समाज मौन हुन्छ, त्यसबेला लेख्नु भनेको अन्यायविरुद्धको पहिलो प्रतिकार हो । म लेख्न छोड्न सक्दिन, किनभने म जीवित छु ।’’ त्यति मात्र होइन, उहाँले एक अन्तरवार्तामा भन्नुभएको छ, “जुन बेला म आफूलाई कमजोर अनुभव गर्थें, कलम समाउँदै भन्थें—म बाँचेको छु ।”
हिन्दा केवल पत्रकार होइनन् । उहाँ अस्थिर देशको अँध्यारोमा उज्यालो खोज्ने महिला पत्रकार हुनुहुन्छ । जहाँ समाज मौन छ, त्यहाँ उनी बोल्नु हुन्छ । जहाँ शब्दहरू दबाइन्छन्, त्यहाँ उहाँ लेख्नुहुन्छ । आजको यो समय, जब पत्रकारिता बजारमुखी, सनसनीपूर्ण र पक्षपाती बन्दै गइरहेको छ, हिन्दाको कामले पत्रकारितालाई फेरी मानवीय बनाउने पाठ दिन्छ । कलम केवल समाचार लेख्नका लागि होइन, चेतनाको सन्देश दिन पनि हो भन्ने उहाँको सन्देश रहेको छ । उहाँको कथा नेपाली पत्रकारिता र पाठक समुदायका लागि एक प्रेरणा हो, ‘‘पत्रकारिता डर होइन, निर्णय हो । प्रतिरोध हो । र, परिवर्तनको प्रारम्भ पनि ।’’
स्रोतः विभिन्न सञ्चारमाध्यम

तपाईको प्रतिक्रिया