Khadya Bibhag

भाइ अध्यक्ष रहेको पार्टीमा दाइ सर्वश्रेष्ठ

जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले आफ्नो दाइ डा.जयकान्त राउतलाई पार्टीको उपाध्यक्षमा मनोनित गर्नुभएको छ । पार्टीको स्थायी समितिको बैठकले जयकान्त राउतसहित पार्टीमा नयाँ प्रवेश गर्नुभएका दानबहादुर चौधरीलाई पनि उपाध्यक्षमा उहाँले मनोनित गर्नुभएको हो । दानबहादुर चौधरीलाई उपाध्यक्षमा मनोनित गर्दा जति चर्चा भएको छैन, त्यति चर्चा जयकान्त राउतलाई नियुक्त गर्दा भइरहेको छ ।

जयकान्त राउत कृषिका वरिष्ठ वैज्ञानिक हुनुहुन्छ । उहाँ कृषि अनुसन्धान परिषद् (नार्क) मा जागिरे हुनुहुन्थ्यो । उहाँलाई च्याउका जानकार अर्थात वैज्ञानिक मानिन्छ । यस्तो वैज्ञानिक जस्तो व्यक्तिलाई अध्यक्ष सिके राउतले जागिरबाट राजिनामा दिन लगाएर प्रतिनिधिसभा चुनावमा उम्मेवार बनाउनुभयो ।

सिके राउत आफू सप्तरी–२ बाट उम्मेदवारी दिनुभयो भने आफ्नो दाइ जयकान्त राउतलाई सप्तरी–१ बाट उम्मेदवारी दिन लगाउनुभयो । दाइ हार्नुभयो, सिके राउत आफू जित्नुभयो । जनमत पार्टीका एक जना पदाधिकारीले भन्नुभयो, ‘सिके राउतलाई आफू चुनाव जितेको जति खुशी थिएन त्यति दुखी दाइ जयकान्त चुनाव हारेकोमा दुखी हुनुहुन्थ्यो, यो कुरा उहाँले बैठकहरुमा पनि अभिव्यक्त गर्नुहुन्थ्यो, आफ्नो दाइलाई कसरी सेट गर्ने भनि २४ घण्टा दिमाग चलाउनु हुन्थ्यो, नहुँदै सरकारमा जाँदा सबभन्दा पहिले आफ्नो दाइलाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्ति दिलाउनुभयो ।’

स्वतन्त्र मधेश गठबन्धनबाट सिके राउतले छुट्टै मधेशका लागी आन्दोलन गरिरहँदा जयकान्त राउत जागिरमा हुनुहुन्थ्यो । भाइ सिकेले यसरी आन्दोलन नगरे हुन्थ्यो, बेकारमा प्रहरीको यातना भोगिरहेका छन् भन्दै पटक पटक भाइलाई सम्झाउनु हुन्थ्यो । तर सिके राउतले नै आफ्नो आन्दोलनमा सबभन्दा ठूलो योगदान दाइ जयकान्तको रहेको दाबी गर्दै आउनुभएको छ । पार्टीका नेताहरुलाई त्यसमा कन्भिन्स गर्ने कोशिस गरिरहनु भयो । अधिकाँश नेताहरु सिके राउतकै पक्षमा हुनुहुन्थ्यो भने केही नेताहरुले त्यसमा असहमति जनाउनुभयो ।

जो जो असहमति जनाउनुभयो अध्यक्ष सिके राउतले विस्तारै विस्तारै सबैलाई किनारा लगाउनुभयो । विभिन्न आरोप लगाएर पार्टीबाट नै निष्काशित गर्नुभयो । त्यसको पहिलो शिकार कैलाश महतो, दीपक साह, सुरेन्द्रनारायण यादव, रविन्द्र यादव, जासर यादवलगायत नेताहरु हुनुभयो । जो जो जयकान्त राउतको विरोध गर्नुभयो, ती सबैलाई साइड लगाइयो । अझै पनि कोही कसैले विरोध गरे भने उ पार्टीमा रहन सक्दैन भनि त्रासको कारण अहिले कसैले विरोध गरिरहेका छैनन् ।

राष्ट्रिय योजना आयोगका सदस्यबाट जयकान्त राउत हटेपछि सिके राउतमा छटपटी आएको थियो । त्यसपछि उहाँले पार्टीमा नै उहाँलाई स्पेश दिनुभयो । सिधै पार्टीको संगठन विभाग प्रमुख बनाउनुभयो । समान्यत पार्टीको महासचिवलाई संगठन विभागनको जिम्मेवारी दिने गरिन्छ । तर अध्यक्ष सिके राउतले आफ्नो दाइलाई संगठन विभागको प्रमुख मात्र दिनुभएन । मधेश सरकारको जिम्मेवारी उहाँलाई दिनुभयो । सरकार सञ्चालन तथा देखरेखका लागी जयकान्त राउतलाई जिम्मेवारी दिनुभयो ।

मधेश प्रदेशको राजधानी जनकपुरमा बसेर सरकारको लगाम आफ्नो हातमा लिनु र आफ्नो खुशी चलाउन थाल्नुभयो । त्यतिले नपुगेपछि पार्टीको विधानमा व्यवस्था नै नभएको संगठन राष्ट्रिय परिषद् गठन गरी जयकान्त राउतलाई अध्यक्ष बनाउनुभयो । पार्टीमा सो संगठनलाई शक्तिशाली मात्र बनाउनु भएन तराई मधेशका हरेक जिल्लामा प्रशिक्षण कार्यक्रम सोही संगठनबाट सञ्चालन गराउनुभयो र त्यसको प्रमुख प्रशिक्षक जयकान्त राउतलाई बनाउनुभयो । राष्ट्रिय परिषद्बाट आयोजना गरेको कार्यक्रममा पार्टीका कुनै पनि शीर्ष नेताहरु सहभागी भएको देखिएन ।

त्यतिले नपुगेपछि अध्यक्ष सिके राउतले उहाँलाई उपाध्यक्ष बनाउनुभयो । यो मनोनितले स्पष्ट भयो कि जनमत पार्टीको अबको अध्यक्ष जयकान्त राउत नै बन्नुहुन्छ । पार्टीमा जयकान्त राउतलाई सर्वशक्तिवान बनाएर अरु नेताहरुलाई अलग थलग राखेर दुई दाजु भाइ नै पार्टी चलाउने सोचमा सिके राउत पुगिसकेको पार्टीकै नेताहरु भन्ने गर्नुभएको छ । २०८४ को चुनावमा अवस्था हेरेर प्रत्यक्ष चुनाव जिताउनु हुन्छ नभए समानुपातिकबाट भए पनि जयकान्त राउतलाई सांसद बनाउने पुरा तयारी अध्यक्ष सिके राउतको रहेको पार्टीभित्र चर्चाको विषय बनेको छ ।

तपाईको प्रतिक्रिया