Khadya Bibhag

सिके र रेशमबिच खटपट

एकताकै लागी तयार रहेको जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच एकताका लागि भइरहेका प्रयासहरू पछिल्लो समय खटपटमा परिणत भएको छ । रूपन्देही–३ मा आसन्न उपनिर्वाचनलाई लिएर दुबै नेताबीच संवादविहीनता र गम्भीर अविश्वासको वातावरण बनेको छ । सत्ता र सन्देश दुवैको लडाइँ सतहमा देखिन थालेको छ । अवस्था यस्तो भयो कि दुवै जना एउटा मोर्चामा बस्न नसकिने स्थितिमा पुग्नु भएको छ ।

दुबै पार्टीबीच संगठनात्मक एकताको चर्चा सशक्त रूपमा भइरहेको बेला डा. राउतले रेशम चौधरीलाई ‘गिरफ्तारी गराउने डिजाइन’ मा संलग्न भएको आरोप पनि रेशम चौधरीले लगाउनु भएको उहाँ निकट नेताहरु बताउनु हुन्छ । संघीय लोकतान्त्रिक मोर्चाका एक नेताले सहारा टाइम्ससँग भन्नुभयो, रेशम चौधरीजीले त नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको ‘डिजाइन’ अन्तर्गत जनमत पार्टीका अध्यक्ष सिके राउतले आफूलाई कानुनी फन्दामा पार्न भूमिका खेल्नु भएको भनिरहनु भएको छ, त्यो कति सही कति गलत हो त्यो कुरा उहाँहरुलाई नै थाह होला ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले मार्चाका नेताहरुसँग भन्नुभयो, “सिकेजीले हामीलाई एक पटक होइन, पाँच पटकसम्म धोका दिनुभयो । अब उहाँसँग सहकार्य हुँदैन, उहाँ मोर्चामा रहनु भयो हामी बस्दैनौं ।” यति गम्भीर टिप्पणीले मोर्चाभित्रको सम्बन्धमा चर्को दरार पैदा भएको स्पष्ट बुझ्न सकिन्छ, मोर्चाका नेताले भन्नुभयो, ‘रेशमजी र सिकेजीको कारण मोर्चा विभाजन हुने हो कि अशंका उत्पन्न भएको छ ।’

उपनिर्वाचन बन्यो फुटको कारण
संघीय लोकतान्त्रिक मोर्चाले रूपन्देही–३ मा नागरिक उन्मुक्ति पार्टीबाट साझा उम्मेदवार बनाउने निर्णयमा लगभग सहमति बनाइसकेको थियो । तर जनमत पार्टीले त्यस क्षेत्रमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेपछि विवाद सतहमा आएको हो ।

मोर्चाको बैठक असार १२ गते रेशम चौधरीकै अध्यक्षतामा नारायणहिटी राजदरबारको उत्तरी ढोकाको लाजिम्पाटस्थित बाबा होटेलमा बसेको थियो । सो बैठकमा मोर्चाका अधिकांश दलहरूले रुपन्देही–३ का लागी नागरिक उन्मुक्तिलाई टिकट दिनुपर्ने प्रस्तावमा सहमति जनाएका थिए । त्यो दिनको बैठकमा सहभागी हुनुभएका जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले पनि सबै दलको बिचमा सहमति भइसकेको छ भने ‘आजै टुंग्याउँदा हुन्छ’ भन्नुभएको थियो । तर मोर्चाका नेताहरूको सामूहिक समझदारीमा अर्को बैठकबाट अन्तिम निर्णय गर्ने सहमति भयो ।

तर असार १५ गते संरक्षक रेशम चौधरीको अध्यक्षतामा पुनः त्यही ठाउँमा बसेको बैठकमा जनमत पार्टीका नेताहरू निर्धारित समयमा उपस्थित हुनुभएन । ११ बजे बस्ने भनिएको बैठकमा उहाँहरू ४ बजे मात्र उपस्थित हुनुभयो । उहाँहरु आउनुअघि बैठकमा मोर्चाका नेताहरुले रुपन्देही–३ मा नागरिक उन्मुक्ति पार्टीलाई उम्मेदवार उठाउन दिने सहमति गर्नुभएको थियो । तर त्यो निर्णयमाथि बैठकमा उपस्थित जनमत पार्टीका नेताद्वय शरत र अब्दुलले आफूहरू रूपन्देहीमा आफ्नै उम्मेदवार उठाउने धारणा राखेर बैठकबाट निस्किनु भएको थियो । जनमत पार्टीका अध्यक्ष सिके राउतले संघीय लोकतान्त्रिक मोर्चा संविधान संशोधनमा दबाव दिनका लागी बनेको थियो, कसैलाई चुनाव जिताउन वा नेता बनाउनका लागी होइन, सँगै चुनाव लड्ने मोर्चाको उद्देश्य होइन भन्दै रुपन्देही–३ मा हुने निर्वाचनमा संयुक्त उम्मेदारी दिने सहमतिमा उहाँले असहमति जनाउनुभयो ।

जब कि मोर्चामा रहेका दलहरुमध्ये सबभन्दा कम मत रुपेन्देहीमा जनमत पार्टीको नै आएका छ । मोर्चामा रहेका जसपा नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र लोसपा नेपालमध्ये सबभन्दा बढी समानुपातिक मत नागरिक उन्मुक्ति पार्टीले छ हजार १०, जसपा नेपालको पाँच हजार २९१ र लोसपा नेपालको पाँच हजार ५३ र जनमत पार्टीले तीन हजार ७३२ मत पाएको छ । यसरी विगतको मत हेर्दा नागरिक उन्मुक्ति पार्टीले दावी गर्नु स्वभावित रहेको एक नेताले बताउनुभयो ।

यस घटनाले रेशम चौधरी चकित बन्नुभयो । बैठकमा सहभागी मोर्चाका एक नेताका अनुसार रेशम चौधरीले भन्नुभयो, “यही जनमत पार्टी आफूसँग एकताका लागि खुसामत गर्दैथियो । सिके राउतजीले एकताको कुरा गर्न घरमै आउनुभयो, विदेश हुँदा मलाई फोन गरेर छिट्टै आउनुपर्यो एकताको कुरा टुग्यांउनु पर्यो भन्नु भएको थियो । तर आज यस्तो व्यवहार देखाउनु भयो ।”

सिके र रेशमः पाँचपटकको ‘धोका’
रेशम चौधरीले आरोप लगाउनु भएको छ कि सिके राउतले विगतमा पाँचपटक सहकार्यको प्रस्ताव गरेर पनि त्यसलाई तोड्नुभयो । उपराष्ट्रपतिको चुनाव होस् वा बाराको उपनिर्वाचन—प्रत्येक पटक सहकार्यको वाचा गरेर अन्ततः एकल निर्णय लिएको गुनासो रेशम चौधरीको थियो । मोर्चाका नेताहरुसँग रेशम चौधरीले भन्नुभयो, “जनमत र नागरिक उन्मुक्ति पार्टीबिच कार्यगत एकताको पटक पटक सहमति भएको थियो, सम्झौतापत्रमा हस्ताक्षर नै भएको थियो तर त्यो एक हप्ता पनि टिक्न दिनु भएन । एकताको मिति नजिकिँदै गर्दा मलाई गिरफ्तारीको नाटक भयो । उहाँलाई थाहा थियो तर केही बोलेनन् । फेसबुकमा लेख्नुभयो तर प्रत्यक्षतः केही जानकारी गराउनुभएन ।”

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबिच एकताको कुरा चलिरहँदा सिके राउतले आफ्नो फेसबुकमा यो एकता रोक्नका लागी ठुलो षड्यन्त्र भइरहेको छ, रेशम चौधरीलाई गिरफ्तारी र आफूलाई ज्यान मार्नेसम्मको धम्की आएको भनि लेख्नुभएको थियो । र उहाँले लेख्नुभएको कुरा सही सावित भयो । सिके राउतमाथि ज्यान मार्ने हमला त भएन तर रेशम चौधरी गिरफ्तारीमा पर्नुभयो । यही कुरामा रेशम चौधरीको आशंका छ कि यदि सिके राउतलाई यी सब कुरा थाह थियो भने पार्टीमा किन गम्भीर रुपमा छलफलमा राख्नुभएन । यसले उहाँमाथि आशंकाको सूइ जान्छ ।

ओली–सिके समीकरण
यो विवादको अर्को कोण प्रधानमन्त्री ओली र डा. राउतबीचको सम्बन्ध पनि हो । नागरिक उन्मुक्तिका नेताहरूको भनाइमा, सिके राउत अहिले ओलीका सबै आदेश मान्न तयार अवस्थामा हुनुहुन्छ । मधेश प्रदेश सरकार टिकाउन कांग्रेसको दाबीलाई बेवास्ता गर्दै प्रधानमन्त्री ओलीले जनमत पार्टीलाई साथ दिइरहनु भएको छ । जनमत पार्टीका एक नेताले भन्नुभयो, “सिके राउतजी अहिले प्रधानमन्त्री केपी शर्मा ओलीका सबैभन्दा विश्वासपात्र मधेशवादी नेता बन्न पुग्नु भएको छ । बाँकी दलहरूसँग ओलीको सम्बन्ध चिसिएको छ ।”

सामान्यतया मधेशमा एकता र साझा मोर्चा निर्माणको सन्देश स्वागतयोग्य मानिन्छ । तर जनमत र उन्मुक्तिबीचको पछिल्लो कटुता, अविश्वास र राजनीतिक व्यवहारले मोर्चाको भावी सहकार्यमा गम्भीर प्रश्न खडा गरेको छ । अहिले जनमत पार्टीले मोर्चाभित्र रहन्छ कि बहिर्गमन गर्छ, त्यसले आगामी राजनीतिक समीकरणमा ठूलो प्रभाव पार्ने देखिन्छ । एक नेताको टिप्पणीले यो द्वन्द्वको सार उजागर गर्छः “जहाँ विश्वासमा चोट पुग्छ, त्यहाँ संगठनिक एकता होइन, विभाजनको बीउ उम्रन्छ ।”

Photo-AI

तपाईको प्रतिक्रिया