समयमा वर्षा नभएपछि मुख्यबाली धान लगाउन नपाएको भन्दै यहाँका किसानले चिन्ता व्यक्त गरेका छन् । असार तेस्रो साता लागिसक्दा पनि पानी नपरेपछि आकाशे पानीको भरमा खेती गर्ने तराई मधेशका किसान चिन्तित बनेका हुन् ।
“आव बुझाइय, धान रोप नई पायब, अखाड सेहो २२ भगेल, आव भरोसा टुइटगेल” (अब धान रोप्न पाइन्न क्या र ! असार पनि २२ भइसक्यो, अब आश टुट्यो) आकाशतिर फर्कँदै भङ्गाहा–४ थारुटोलकी रामसुनरदेवी चौधरीले भन्नुभयो, “इ कोन समय आयल, किछ नई बुझाइय”(यो कस्तो समय आयो, केही बुझ्न सकिएन ।)
धान लगाउन नपाएपछि यहाँका अधिकांशको एउटै चिन्ता छ, ‘अबको गुजारा कसरी चलाउने होला ?’ मुलुकका कतिपय भेगमा मध्य असारअघि रोपाइँ सकिएको खबर सुन्दा यहाँका किसान भने यो वर्ष रोपाइँ गर्न पाइन्छ वा पाइँदैन भन्नेमा चिन्तित छन् । ‘सुन्छौँ, कैयन ठाउँमा रोपाइँ भइसक्यो, तर आपूmले त एक गब पनि रोप्न पाइएको छैन, महोत्तरी भङ्गाहा–४ टोकाहाका राजकुमार दासले भन्नुभयो, ‘पानी पर्ने त कुनै लक्षण नै देखिँदैन ।’
लामो खडेरीले ब्याडको बीउ पनि पहेँलिएर सुक्दै गएपछि आपूmहरूलाई अब पर्ने पानीले पनि राहत दिने अवस्था नरहेको किसान बताउँछन् । “अब पानी परिहाले पनि बीउ अपूग हुन्छ, पहेँलिएको बीउ बौरिन समय लाग्छ”, बर्दिबास–९ पशुपतिनगरका रामचन्द्र थापा मगरले भन्नुभयो, “यो खेतीपाती भनेकै दुख्याहा कर्म रहेछ ।” धान रोप्न नपाएपछि किसानलाई असारमास चलिरहेको भन्न पनि मन छैन ।
“असार मासलाई घरमा मरेको मान्छेको शव छोपछाप गरेर रोपाइँमा निस्कने बेला भन्ने स्थापित भनाइ छ, तर हामी त आकाश ताकेर बसेका छाँैं”, बर्दिबास–६ कृष्णपुरका बलराम कार्कीले भन्नुभयो, “खेतमा पानी भए न असार लाग्ने हो, न पानी छ, न असारको काम ।” असार पनि घर्किँनै लाग्दासम्म रोपाइँको कुनै छाँट नदेखिएपछि के गर्ने भन्ने सोच्न नसकिएको उहाँले बताउनुभयो ।
पानी नपरेर समयमा खेती लगाउन नपाएको चिन्ताले अहिले यहाँका किसान दोधारमा छन् । असार गइसक्दा पनि पानी नपर्दा यहाँका कतिपय किसानले धानको गबो सम्म लगाउन पाएका छैनन् । मधेशमा सामान्यतया जेठ तेस्रो साताभित्र ब्याड राखीसक्ने, असार तेस्रो साताभित्र शाही रोप (बीउ रोप) सक्ने र साउन तेस्रो साताभित्र खरुअन (कलम, पहिलेको बीउ रोपो गाँजिएपछि त्यो उखेलेर रोपिने) धानबाली लगाउने तालिका रहँदै आएको छ । यसपालि अधिकांशले लाग्दो असारको छिटफुटे वर्षामा बीउ राखेका हुन् ।
मधेस प्रदेश कृषि मन्त्रालयको तथ्यांकअनुसार देशमा धानको कुल आवश्यकता ६० लाख ४२ हजार ३४१ मेट्रिकटन छन् भने आयातको परिमाण ५ लाख ५५ हजार ८३९ मेट्रिक टन रहेका छन् । मधेस प्रदेशमा धानको कुल उत्पादन २७ लाख ७७ हजार ६८३ मेट्रिकटन छ । यस्तो अवस्थामा आयात प्रतिस्थापन गर्न मधेस प्रदेशले थप १८९,०६०.८८ हेक्टर क्षेत्रफलमा धान खेती विस्तार गर्न सक्यो भने मात्रै देशको धान उत्पादनको आवश्यकता परिपूर्ति हुन सक्दछ ।
त्यसैगरी, देशमा मकै बालीको कुल आवश्यकता ३४ लाख ११ हजार ७०७ (मेट्रिकटन छ भने आयातको परिमाण ४ लाख ३५ हजार २१७ मेट्रिकटन छ । मकैको कुल उत्पादनमध्ये मधेस प्रदेशको उत्पादन एक लाख ९० हजार ८१६ मेट्रिकटन छ यस्तो अवस्थामा अयात प्रतिस्थापन गर्न मधेस प्रदेशले थप ८७ हजार ४३ हेक्टर खेती विस्तार गरे मात्रै देशको आवश्यकता पूर्ति हुन सक्दछ । गहुँको कुल आवश्यकता देशमा २७ लाख ५२ हजार ९०१ मेट्रिक टन छ, जसमध्ये आयातको परिमाण छ लाख ५४ हजार ४३९ मेट्रिकटन रहेको छ । मधेसमा मकै उत्पादन छ लाख ७४ हजार ३८२ मेट्रिकटन हुन्छ ।
“यसपाली पानी नपरेकाले सिँचाइ अभावले समयमा धानको ब्याड राख्न नसकेपछि अहिलेसम्म रोपाइँ भएको छैन”, महोत्तरीका कृषि कार्यालय प्रमुख एवं वरिष्ठ कृषि अधिकृत देवानन्द यादवले भन्नुभयो, “यसपालि धान रोपाइँ पछि पर्ने छाँट छ ।” मुस्किलले महोत्तरी जिल्लामा पूग÷नपूग तीन–चार प्रतिशत मात्र रोपाइँ भएको उहाँले जानकारी दिनुभयो ।
तीनै तहका सरकारका नीति तथा कार्यक्रम र बजेटमा कृषिको चर्चा भए पनि उपलब्धिमूलक रूपमा कार्यान्वयन नभएको किसानको गुनासो छ । वास्तविक किसानले पाउने सहुलियत वास्तविक किसानसम्म नपुगेपछि निराशा बढेको महोत्तरी भङ्गाहा–६ का राजकिशोर यादवले बताउनुभयो । सही समयमा पानी नपर्नुका प्राकृतिक कारण भए पनि अधिकांश मानव सिर्जित रहेका वातावरण तथा चुरे विज्ञ डा विजयकुमार सिंहले बताउनुभयो ।


तपाईको प्रतिक्रिया