–विजेता चौधरी
सन् १९७४ को जुलाई १४ मा बिहार राज्यको वैशाली जिल्लाअन्तर्गतको वासुदेवपुर, चन्देलमा जन्मिनुभएकी आभासेतु सिंह यतिबेला मधेशी आयोगकी सदस्य हुनुहुन्छ । तर उहाँको परिचय यतिमा मात्रै सिमित छैन । उहाँ एक चर्चित कवि, साहित्यकार, अभियानी र प्रखर वक्ताको रूपमा स्थापित हुनुहुन्छ । उहाँका व्यक्तित्वको अनेक आयाम छन् ।
बुवा सहदेवप्रसाद सिंह र माता प्रमिलादेवी सिंहकी पुत्रीको रूपमा जन्मिनुभएकी आभाको नेपालसँगको साइनो भने विवाहपश्चातमात्र जोडिन पुग्यो । मैट्रिक(एसएलसी) दिएपछि नै उहाँको बिहे भयो । त्यतिबेला उहाँ १४ वर्ष ६ महिनाकी हुनुहुन्थ्यो । श्रीमान जंगबहादुर सिंह उदार र महिला स्वतन्त्रताको पक्षधर हुुनुहुन्थ्यो । विवाह हुँदा भने श्रीमान् श्रीमती दुवै विद्यार्थी हुनुहुन्थ्यो । सन् १९८९ मा बिहेलगत्तै आभा नेपालको सप्तरी जिल्ला बनिनियाँ हालको राजगढ आउनु भयो । यो नै नेपालमा उहाँको पहिलो आगमन थियो, त्यतिबेला उहाँले सोच्नु पनि भएको थिएन जीवनले यो मुकामसम्म ल्याइपुर्याउने छ । नेपालसँगको साइनो भने फुपूदिदीको कारण जोडिएको प्रसंग सुनाउँदै उहाँ भन्नुहुन्छ, “फुपूदिदी अहिले मेरो जेठानी पर्नुहुन्छ । उहाँले नै लमीको काम गर्दै आफ्नो देवरसँग मेरो विवाह गराउनु भएको थियो ।” यसरी भारतकी राजपूत चेली नेपालको सप्तरी आइपुग्नुभयो ।
जीवन साथीले इमान्दारितापूर्वक साथ दिएपछि जीवन सफल, सुन्दर र सहज हुन जान्छ । जीवनको गोरेटो जतिसुकै कष्टकर र अथाह भए पनि माया–प्रेम र सद्भावले राम्रैसँग काट्न सकिन्छ । आभासेतुको जीवनसाथी वास्तवमा त्यस्तै एक ‘केयरिगं’ श्रीमान्को रूपमा उहाँको जीवनमा आउनुभयो । जो उहाँको हरेक पाइलाको साझेदार हुनुहुन्छ । यस कथामा तपाईंले आभाका श्रीमान् जंगबहादुर सिंहलाई हरेक ठाउँमा पाउनुहुनेछ । यस मानेमा यो कथा सह–जीवनको कथा पनि हो ।
हक्की आभा
सानैदेखि हक्की स्वभावकी आभाले आफ्नो स्वभावकै कारणबिना दाइजो विवाह गर्न पाउनुभयो । यो आफैंमा एउटा सशक्त कथा हो । किनभने हामी त्यतिबेलाको समाजको कुरा गर्दैछौं जतिबेला बिहेमा दाइजो नलिनु पनि बेहुलामा कुनै न कुनै कमजोरीको कारण मानिन्थ्यो । खासमा अभासेतुकी मिल्ने साथीको बिहेमा परिवारले दाइजो दिन नसकेको कारण बिहेको दिन जन्ती नै आएन ।
टोल–समाजमा गाँइगुँई चल्यो, बेहुलीमै कुनै कमी होला आदि । र यसै क्रममा बेहुली अर्थात आभाकी मिल्ने साथीले झुण्डिएर आत्महत्या गरिन् । आभाले उनलाई झुण्डेको अवस्था देख्नुभयो र उहाँको किशोर मनमा बिहे राम्रो होइन, मसँग पनि यस्तै हुन्छ कि भन्ने चोट पर्यो । कारण उहाँको बिहेको कुरा पनि लगभग पक्का भइसकेको थियो । तर हक्की अभालाई बिहेको नामदेखि भय उत्पन्न भइसकेको थियो । त्यही भएर उहाँले आँट गरेर बुवालाई अहिले बिहे नगर्ने सुनाउनु भएको थियो ।
रोकियो आभाको बिहे
यतिबेला छोरीहरूहरूले बिहेको बारे बोल्ने चलन थिएन तर आभाको अबोध मनले त्यसो भनेपछि बुवाले पनि पुर्नविचार गर्नैपर्ने भयो । र यसरी केही समयका लागि बिहे राकियो । यद्यपि आफ्नै फुपूदिदीले देवको लागि मागेपछि चिनजानको घरमा छोरी जान्छे र दाइजोको कुनै माग पनि छैन भनेर केही समयपछि नै उहाँको विवाह भयो । आभा भन्नुहुन्छ, “केटाले दाइजो नमागेकै कारण मैले बिहेको लागि मानेको हुँ ।”
अन्जानमै पनि सामाजिक भेद्भावलाई ‘इग्नोर’ गर्ने आभा एकपटक एउटी दलित साथीसँग एउटै थालमा खाएको निहुमा आमाबाट भक्कु कुटिनुभएको सम्झिनुहुन्छ । पाइला–पाइलामा सामाजिक बेथिति र भेद्भावलाई उहाँले नकार्नुभयो । ती सबै कुराको बोध हुँदा र नहुँदा पनि उहाँमा कुनै परिवर्तन आएन संभवतः यही स्वभावकै कारण उहाँ समाजसँग झन बढी जोडिन पुग्नुभयो । नजिकिन पुग्नुभयो ।
जीवन साथीले इमान्दारितापूर्वक साथ दिएपछि जीवन सफल, सुन्दर र सहज हुन जान्छ । जीवनको गोरेटो जतिसुकै कष्टकर र अथाह भए पनि माया–प्रेम र सद्भावले राम्रैसँग काट्न सकिन्छ । आभासेतुको जीवनसाथी वास्तवमा त्यस्तै एक ‘केयरिगं’ श्रीमान्को रूपमा उहाँको जीवनमा आउनुभयो ।
बिहेपछिको सात वर्ष उहाँ पूर्ण गृहिणी भएर बस्नुभयो । एक त आफ्नै उमेर पनि सानै थियो र यही बीच उहाँले दुई छोरालाई जन्मदिनु भयो । छोराहरूको स्याहारसुसारमा समय व्यतित गर्दै बस्नुभयो । त्यसपछि उहाँले पुनः पढाई सुचारु गर्दै भारतको समस्तीपुरबाट हिन्दी भाषा–साहित्यमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभयो । प्रायः समय घरबसी स्वअध्ययन गरेर नै उहाँले शिक्षाको सपना साकार गर्नुभयो । अध्ययन पूरा गर्न भाइ र श्रीमान्ले सधैंं साथ र सहयोग पुर्यानुभयो ।
घुम्टोमा बिद्रोह
बिहेपछि सप्तरीको गाउँमा आउँदा केही समय यहाँको भूगोल र परिवारको अनुशासनले उहाँलाई समस्या महसुस हुन्थ्यो । सधैंका हक्की आभामा गलत कुरा अथवा सामाजिक–पारिवारिक बाध्यात्मक रीतितिथि पनि सहन नसक्ने र बोलि हाल्ने प्रवृत्तिले समस्या उत्पन्न हुन्थ्यो । घरमा धेरैकुरा सुन्नुपर्दा भने श्रीमान्को साथ र सहायोगले सजिलो हुँदै आएको उहाँ बताउनुहुन्छ । बिहेपछि उहाँले घुम्टो नलगाउने अडान लिनुभयो ।
तर त्यसको विरोध भयो, घरमा ससुराको अगाडि निस्किन नहुने जस्तो ‘टिपिकल’ समाज र परिवार थियो । तर उहाँले आँखै छोपिने गरि न घुम्टो ओढ्नुभयो न त ससुराको अगाडि जानबाट आफूलाई रोक्नुभयो । कामपर्दा कतिबेर कोठाभित्र थुनुवा जस्तो बसिरहने ? उहाँको प्रतिकार हुन्थ्यो । त्यसमाथि पढ्ने अठोटहरूले उहाँमा चेतनाको स्तरको छनक दिन्छ नै । आज पनि उहाँको बोलीमा त्यही दृढता झल्किन्छ । सम्भवतः राजपूत परिवारमा जन्मेर पनि उहाँमा सो दृढता आएको हुनसक्छ ।
साहित्यको पहिलो मञ्च
उहाँ भन्नुहुन्छ, ‘कक्षा ९ मा पढ्दा भारतकी महान साहित्यकार महादेवी वर्माको जीवनीबाट प्रभावित भएर म साहित्य रचना तिर आकर्षित भए । हामीले पढेअनुसार महादेवी वर्मा कुरूप हुनुहुन्थ्यो रे, जसककारण उहाँको श्रीमान्ले उहाँको त्याग गर्नुभएको थियो । तर आफ्नो साहित्यिक विद्वताको कारण सर्वचरिचित वर्माप्रति उहाँको श्रीमान् पनि झुक्न पुग्नुभयो र पुनः अपनाउन चाहे तर महादेवी वर्माले उहाँलाई अँगाल्नु भएन ।’
वर्माको सो कथाबाट प्रभावित आभालाई लाग्यो साहित्य रचना गर्नु धेरै महान काम रहेछ । र यसरी इतिहासमा आफ्नो नाम श्रद्धाका साथ लिउन भनेर उहाँ साहित्यतिर ढल्किनुभयो । केही न केही लेखिरहनुहुन्थ्यो, लेख्ने हुटहुटि पनि थियो नै तर त्यो साहित्य हो भनेर त्यतिबेलासम्म उहाँलाई थाहा थिएन । महादेवी वर्मालाई आफ्नो प्रेरणाको श्रोत मान्ने आभा भन्नुहुन्छ, “उहाँको जीवन कथाले मलाई साहित्यप्रति जिम्मेबार बनाएको हो ।” कक्षा ९ मा पढ्दा उहाँले एउटा हिन्दी कविता लेखेर ‘आज’ भन्ने पत्रिका पठाउनु भएको थियो जो त्यतिबेला छापिएको पनि थियो । यहीबाट साहित्यिक यात्राको शुरुवात भयो । त्यतिबेला उहाँ १३ वर्षकी हुनुहुन्थ्यो ।
मैथिली साहित्यसँगको लगावको कारण मैथिलीका चर्चित साहित्यकार कवि अजित आजादलाई श्रेय दिदैं उहाँ भन्नुहुन्छ, “म माइति जाँदा भारतको निर्मलीबाट रेल चढ्थेँ । त्यतिबेला निर्मलीमा मिथिला क्षेत्रका शिक्षकहरू ठुलो संख्यामा रेल चढेर विद्यालय जानुहुन्थ्यो । सोही क्रममा कवि अजित आजादसँग भेट भयो । उहाँले म के गर्छु भनेर सोध्नुभयो र यसरी सामान्य परिचयमा उहाँले हिन्दीमा मात्र होइन तपाईं मैथिली बोल्ने मान्छे मैथिलीमा पनि कलम चलाउनुपर्छ भनि सल्लाह दिनुभयो ।’
आभा मैथिली साहित्य पढ्नु भएको थिएन । तर अजित आजादले नै मैथिली साहित्यका पुस्तकहरु दिनुभएको थियो । पछि आजादका बहिनीले पनि आभाको ठेगानमा मैथिलीका विभिन्न पुस्तकहरू पठाउन थाल्नुभएको थियो । त्यसरी पुस्तकहरु पढ्दै अध्ययन गर्दागर्दै मैथिली साहित्यमा रुची राख्न थाल्नुभयो । आभा भन्नुहुन्छ, ‘यद्यपि म आज पनि हिन्दी र मैथिली दुवै भाषामा कविता लेख्छु ।’
मैथिली साहित्य परिषद् राजविराजकाले त्रिदिवसीय कार्यक्रम गरेको थियो । त्यसमा तात्कालिन् अध्यक्ष विष्णु मण्डलले आभालाई मौका दिनुभएको थियो । र आभाका लागि २०५८ सालको त्यो साहित्यिक मञ्च पहिलो थियो । उहाँले आफ्नो पहिलो कविता ‘घरेमे मन्दिर बनेबै’ भन्ने थियो । त्यसपछि उहाँले ‘सगर राति दीप जरय’ अन्तराट्रिय मैथिली मञ्चबाट थुप्रै पटक कथा पाठ गर्नुभएको थियो । आभाको हिन्दी कविता संग्रह प्रकाशित छ भने अन्य पान्डुलिपिहरू प्रकाशनको पर्खाइमा छन् । व्यस्त जीवनबाट समय निकालेर उहाँ साहित्यमा समर्पित हुन खोज्नु हुन्छ । यसका अतिरिक्त घुम्ने, खाने र पढ्ने सोख छ उहाँको ।
राजनीतिक साइनो
२०५६ साल तिरै उहाँ राजनीतिमा लाग्नुभएका आभासेतु सिंह तात्कालिन नेपाल सदभावना पार्टीका महिला मञ्चकी केन्द्रिय अध्यक्ष हुनुहुन्थ्यो । जसको मूल कारण पनि भाषा र साहित्य नै रहेको उहाँ बताउँनुहुन्छ । उहाँ भन्नुहुन्छ, “साहित्यमा आफ्नो पहिचान स्थापित गर्नका लागि म राजनीतिक मञ्चसम्म पुगेकी हुँ । सप्तरी–राजविराजमा हिन्दी साहित्यको वातावरण थिएन । एक दिन म एक्लै बसेर रोइरहेकी थिए, श्रीमान्ले देख्नु भएछ अनि कारण सोधेपछि मैले भने, ‘यहाँ मेरो भाषा पनि छैन, साहित्यको पनि कुनै पहिचान छैन… ।’
गजेन्द्रनारायण सिंहको सामु कविता
त्यसपछि उहाँको श्रीमानले भन्नुभएको थियो, ‘हिन्दी भाषाको वकालत गर्ने एउटा राजनीतिक दल पनि छ उसले कार्यक्रमहरू गरिरहन्छ, तिमी त्यसमा आफ्नो कविता प्रस्तुत गर्नु ।’ र यसरी श्रीमान्कै प्रयासमा सदभावनाको अनेक कार्यक्रममा उहाँले हिन्दी कविताहरू वाचन गर्नुभयो । कार्यक्रमको सन्दर्भ पहिले जानकारी गराइन्थ्यो र सोही विषयमाथि कविता वाचन गर्नुहुन्थ्यो उहाँ । उहाँको भाषणबाट सबै प्रभावित हुन्थे । दुई कविता वाचनपछि गजेन्द्रनारायण सिंहले प्रोत्साहित गर्दै भन्नुभएको थियोे, ‘बोलीमा राम्रो कमाण्ड भएको महिलाको खाँचो छ मधेशमा । तपाईं हाम्रो पार्टीसँग जोडिनुस् ।’
खासमा राजनीतिक मञ्चमा महिलाको अभाव नै थियो त्यसमाथि भाषण गर्दा बोल्दा राम्रो बोल्ने महिला थिएनन् । त्यही भएर नेता सिंहले आभालाई महिला मञ्चको अध्यक्ष बनाउनु भएको थियो । त्यसरी उहाँ राजनीतिसँगको यात्रा अगाडि बढ्यो । तर उहाँले सक्रिय राजनीति कहिले गनुृभएन
२०५८ सालमा गजेन्द्रनारायणको मृत्युपछि सदभावना पार्टी एक प्रकारले क्षतविक्षत भयो । त्यसपछि त्यो दलमा पहिलेको जस्तो अवस्था रहेन । यता मैथिली महिला परिषद्मा पनि भने जस्तो काम गर्न आभा सक्नुभएन । काम गर्ने कुनै मञ्च थिएन उहाँसँग त्यही भएर उहाँ निकै निराश हुनुभयो । यसपछि श्रीमानले भन्नुभयो, ‘तिमीलाई संस्था चाहियो नि ? आफ्नै नेतृत्वमा संस्था गठन गरेर काम गर्न सकिहाल्छौ, अनि श्रीमानको सल्लाह र सहयोगमा हामीले सेतु सामुदायिक विकास मञ्च नामको संस्था दर्ता गर्यौ ।
मैथिली साहित्य परिषद् राजविराजकाले त्रिदिवसीय कार्यक्रम गरेको थियो । त्यसमा तात्कालिन् अध्यक्ष विष्णु मण्डलले आभालाई मौका दिनुभएको थियो । र आभाका लागि २०५८ सालको त्यो साहित्यिक मञ्च पहिलो थियो ।
यो एनजिओ हो जो आज पनि काम गर्छ । सुरुमा अध्यक्षमा आभाको श्रीमान र उपाध्यक्षमा आभा आफै बसेर त्यो संस्थामार्फत महिला उत्थान, जनचेतना र अधिकारमाथि काम गर्न थाल्नुभयो ।
उहाँ भन्नुहुन्छ, ‘खास गेरेर दाइजो प्रथाको विरूद्धमा हामीले काम गर्यौं । एक्सनएडको सहयोग प्राप्त थियो । मधेशमा महिलाको सहभागितामा यस्तो प्रकारको संस्था औंलामा गन्न सकिन्थ्यो भने महिलासम्बन्धी समस्याको चाङ्ग थियो, यस्तोमा समाजिक रूपमा एउटा एक्टिभिस्टको रूपमा निकै काम गरेँ ।’ त्यसरी काम गर्दैजाँदा उहाँले मधेशको समस्याहरू बुझन र अनुभव गर्न सकेँ भने समाधानका प्रयासतिर उहाँ लाग्नुृभयो । त्यहीभएर पनि टोलसमाज र समुदायमा उहाँको पहिचान स्थापित भयो । यही संस्थामा काम गरेर उहाँ श्रीलंका, पाकिस्तान, अमेरिका अफ्रिका, भारत र नर्वोलगायतका देश पुग्नुभयो ।
राजनीति किन ?
उहाँको प्रमुख आधार क्षेत्र ने हो । तर एक समय यस्तो पनि आयो कि उहाँलाई लाग्यो कि राजनीतिक रूपमा कुनै एउटा दलको समर्थन गर्नैपर्छ । कारण थियो, एनजिओका लागि प्रोजेक्टहरू बिना कुनै पार्टीको समर्थनबिना पाइदैंन थियो । आभा प्रपोजल सर्टलिस्टमा परे पनि दोस्रो चरण र तेस्रो चरणमा पुगेर संस्थाले प्रोजेक्ट पाउदैन्थे ।
उहाँले थाह पाउनुभयो कि यी सबैमा राजनीति खेलहरु चल्छ । उहाँ भन्नुहुन्छ, ‘मेरै आँखा सामु एमाले, काग्रेस र माओवादीमा लागेका साथीहरु प्रोजेक्ट हात पार्नुहुन्थ्यो म हेर्याको हेर्यैं ।’ त्यसपछि उहाँलाई लाग्यो कि कुनै न कुनै राजनीतिक दल समाप्न ुपर्छ अनि उहाँ एमालेमा प्रवेश गर्नुभयो ।
मोहभंगको सिलसिला
मैथिली साहित्यिक गतिविधिहरूमा लागिरहेकै बेला आभाको मनमा आयो कि सप्तरी जिल्लाकी मैथिली साहित्यकामा लागेका महिलाहरुको एउटा छुट्टै समिति गठन गर्नुपर्छ । अनि उहाँले साहित्यमा लाग्नु भएको महिलाहरुलाई जोड् थाल्नुभयो । समिति पनि गठन भयो तर त्यहाँ मैथिल ब्रह्मण महिलाहरूले आभाको नेतृत्व स्वीकार गर्न आनाकानी गर्न थाल्नुभयो ।
महिला साहित्यकारहरुलाई जोड्नुपर्छ र एक ठाउँमा ल्याउनुपर्छ भनि उहाँको योजना थियो । त्यतिबेला आभाको उमेर २० वर्षका थियो । उमेरका कारण आभाले अध्यक्ष पाउनु हुँदैन भनि अनेक घमर्थन चल्यो । त्यसबाट दिक्क भएर आभाले अध्यक्ष पद पाउने इच्छा त्याग्नुभयो । तर साहित्य क्षेत्रमा हावी जातिवादले गर्दा आभाको साहित्यबाट मोहभङ्ग भयो । यद्यपि उहाँले लेख्न छाड्नु भएको थिएन । इमान्दारिता साथ भन्नुपर्दा साहित्यदेखि भाषामा पनि बाह्मणवाद निकै हावी भएको उहाँले थुप्रैपटक महसुस गर्नुभयो ।
भाषा, साहित्य वा कुनै पनि क्षेत्र कुनै जाति विशेषको पेवा होइन । संभवतः यही प्रवृत्तिका कारण उहाँ पुनः हिन्दी साहित्य तिर ढल्किनुभयो तर मैथिली रचना पनि यदाकदा गर्दै रहनु भयो । पुरुष यदि महिलाको पछाडि हिँड्यो उसको चरित्रको चर्चा हुँदैन तर कुनै महिला यदि कुनै पुरुषको नेतृत्व स्वीकार गर्नुभयो भने उहाँको चरित्रसँग जोडेर अनेक कुराहरु उठ्न थाल्नछन् भनि आभाका अनुभूती रहेको छ ।
राजनीतिप्रति मोह भङ
आभा भन्नुहुन्छ, ‘२०६३–०६४ को चुनावमा मलाई एमालेका प्याकुरेल दिवाकरले पार्टीमा सक्रिय भएर लाग्नु भन्नुभएको थियो, ‘तपाईं क्षमता भएको नेतृ हुनुहुन्छ, मधेशलाई र पार्टीलाई तपाईंको आवश्यकता छ । म एमाले निकट थिए तर सक्रिय कहिले भइनन्, चुनावमा भोट हाल्नुबाहेक अरु कुनै गतिविधिमा हुँदैन्थे । राजनीतिकदेखि मनैदेखि वितृष्णा जागेको थियो ।’
पार्टीका केही पुरुष नेताको व्यवहारले आभालाई निकै चित्त दुखेको थियो । त्यही बेलादेखि उहाँलाई सक्रिय राजनीतिक गर्न मन लागेको थिएन । उहाँ भन्नुहुन्छ, ‘राजनीतिमा लाग्ने महिलाप्रतिको दृष्टिकोण मधेशमा त्यसबेलासम्म ठीक थिएन ।
आभा आफ्नो अनुभव सुनाउदै अगाडि भन्नुभयो, ‘केही पुरुष राजनीति सहकर्मी यस्तो हुनुहुन्थ्यो की मेरो श्रीमान कतिबेला मसँग हुँदैनन् र बाहिर हुन्छन् त्यस्तो मौकामा मसँग भेट्न आउनु, कुरा गर्न खोज्नु हुन्थ्यो । उनीहरूको बस्ने तरिका, बोल्ने तरिका असभ्य हुन्थ्यो । बडिल्याग्वेजले पनि अगाडिका मान्छेले के खोजेका हुन् हामी बुझ्न सक्छौं । ती व्यवहारले गर्दा राजनीतिप्रति नै मेरो मोहभंग भयो ।’
त्यसपछि नै उहाँले आफ्नो नेतृत्वमा आफ्नै काम किन नगर्ने भन्ने सोच आयो अनि साइलेन्ट विद्रोह गर्दै प्रत्यक्ष राजनीति नगर्ने विचारमा पुग्नुभयो ।
मधेशी आयोग र मधेशको समस्या
आभालाई मधेशी आयोगसम्म आइपुग्न खासै संघर्ष गर्नुपरेन । किनभने सामाजिक स्थिति त्यस्तो थियो कि धेरै महिलाहरू बाहिर निस्केका थिएनन्, संविधानले ३३ प्रतिशत महिला सहभागिता भनेको छ भने ठाउँ नदिएर भयो त । कुनै पनि ठाउँमा त्यसै महिलाको सहभागिता गराउँदैनन् शिक्षा, सामाजिक योगदान, सक्रियरूपमा काम गर्न सक्ने, मधेश मामिला बुझेको मधेशी महिलाको आवश्यकता थियो । संघर्ष त तब हुन्थ्यो जब कोही प्रतिस्पर्धी हुन्थ्यो, त्यतिबेला कोही प्रतिस्पर्धी थिएन अनि उहाँ छानिनुभयो ।
महिला साहित्यकारहरुलाई जोड्नुपर्छ र एक ठाउँमा ल्याउनुपर्छ भनि उहाँको योजना थियो । त्यतिबेला आभाको उमेर २० वर्षका थियो । उमेरका कारण आभाले अध्यक्ष पाउनु हुँदैन भनि अनेक घमर्थन चल्यो ।







तपाईको प्रतिक्रिया