विवाहित महिलाहरूबीच आयोजना हुने राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘दी मिसेज नेसनल ग्राण्ड’ को तेस्रो संस्करणको उपाधि यस वर्ष लक्ष्मी देवीले जितेकी छिन् । क्रिजोना मिडिया ग्रुप प्रालिद्वारा हालै राजधानी काठमाडौँमा सम्पन्न प्रतियोगितामा १९ प्रतिस्पर्धीलाई पछि पार्दै लक्ष्मीले उपाधि हात पार्न सफल भएकी हुन् । प्रतियोगिताकी ब्रान्ड एम्बेसडर अनिता यादवका अनुसार लक्ष्मीले ‘मोस्ट फोटोजेनिक’ को उपाधिसमेत प्राप्त गरेकी छन् ।
त्यस्तै, प्रतियोगितामा जुनु कार्कीले ‘दी मिसेस नेसनल प्लाटिना’ तथा अनिता खड्काले ‘मिसेस नेसनल क्लासिक’ को उपाधि जिते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा सम्पन्न यस कार्यक्रमको निर्णायक मण्डलको नेतृत्व वरिष्ठ अभिनेत्री गौरी मल्लले गरेकी थिइन् ।
‘केही समय आफ्ना लागि’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रतियोगिताको उद्देश्य घर व्यवहार र पारिवारिक जिम्मेवारीमा सीमित भएर आफ्नो प्रतिभा देखाउन नपाएकी महिलालाई अवसर प्रदान गर्नु रहेको आयोजकले जनाएका छन् । ब्रान्ड एम्बेसडर यादवका अनुसार, ‘‘विवाहित महिलाहरूको इच्छा र चाहना मरेको हुँदैन ।
उनीहरूभित्र पनि केही गरेर देखाउने ठूलो हुटहुटी हुन्छ । त्यसका लागि यो प्लेटफर्म निर्माण गरिएको हो ।’’
तेस्रो संस्करणसम्म आइपुग्दा प्रतियोगिताप्रति वैवाहिक महिलाहरूको आकर्षण बढ्दो रहेको एम्बेस्डर अनिता यादवको भनाइ छ ।


तपाईको प्रतिक्रिया