चर्चित पत्रिका फोब्र्सले सन् २०१६ मा सार्वजनिक गरेको विश्वका सबैभन्दा शक्तिशाली महिलाको नयाँ सूचीमा विद्यादेवी भण्डारीको नाम ५२ औँ स्थानमा परेको छ । फोब्र्सको शक्तिशाली सूचिमा नेपाली महिला पर्न सफल भएको यो पहिलो पटक थियो । विश्वकै शक्तिशाली महिलाको रुपमा आफ्नो नाम दर्ज गराई सक्नु भएको ६४ वर्षीय विद्यादेवी भण्डारी वास्तविक रुपमै राजनीतिमा आफ्नो शक्ति देखाउन आइपुग्नु भएको छ । उहाँ एमालेमा ‘कम ब्याक’ अर्थात फर्किनु भएको छ । र एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका लागी चुनौतीको विषय बनेको छ ।
असार १४ गते आयोजना गरिएको स्वर्गीय मदन भण्डारीको ७४ औं जन्मोत्सवमा आयोजित सभालाई सम्बोधन गर्नुहुँदै भण्डारीले आफू नेकपा एमालेको राजनीतिमा जोडिएको घोषणा गर्नुभयो । प्रधानमन्त्री समेत रहनु भएका एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा भएको सो कार्यक्रममा राजनीतिमा फर्केको कुरा राखेपछि हलमा तालीको गर्गाराहट गुञ्जिएको थियो । एमाले पार्टीबाट उहाँ यो देशको दुई पटक राष्ट्रपति बनिसक्नु भएको छ । नेपालको पहिलो महिला राष्ट्रपति बन्ने सौभाग्य उहाँले पाउनु भएको छ ।
पूर्व राष्ट्रपतिको हैसियतामा सरकारबाट प्राप्त सेवा सुविधा सरकारलाई फर्काएर सक्रिय राजनीति अँगाल्नु भएका उहाँले कार्यक्रममा राजनीतिमा आउनुको कारण कुनै विशेष चाहना नरहेको विश्वास दिलाउनु भएको थियो । तर उहाँले आफ्नो मन्तव्यमा जे भने पनि एमालेको अध्यक्ष भएर देशको कार्यकारी प्रधानमन्त्री बन्ने उहाँको आन्तरिक इच्छा रहेको उहाँ निकट नेताहरु बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु, अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु । अब मेरो कुनै ठुलो महत्वकांक्षा छैन ।’
उहाँको यो कुरालाई कसैले पत्याएका छैन । स्ट्रोङ डिसिजन गरेर वारपारको राजनीतिमा आउनु भएको हो । उहाँको भित्रि चाहना प्रकट नभएपछि दुई दुई कार्यकाल राष्ट्रपति रही सक्नु भएका व्यक्ति समान्य ढंलले राजनीतिमा फर्किनु भएको होइन, यो कुरा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलाीलाई राम्री थाह छ । यो कुराको संकेत विद्यादेवी भण्डारी चीन गएको बेला नै थाह पाउनु भएको छ । त्यही संकेत पाएर प्रधानमन्त्री अोली त्यही कार्यक्रममा भन्नुभयो, ‘मदन भण्डारीको ७४औं जन्मजयन्ती, यसलाई धेरैले विभिन्न आश गरेका छन् । यहाँ मैले बम पड्काउँछु, विद्या भण्डारीजीले बम पड्काउनुहुन्छ, भन्ने सपना देखेर बसेको छ, कुनै बम, बन्दुक, बारुद गोला केही पड्कनेवाला छैन । आश नगरे हुन्छ । नेकपा एमाले एक छ, एक हुन्छ, एकजुट भएर लाग्छ ।’
राष्ट्रसभा गृहमा जननेता मदन भण्डारीको शैलीमा आफ्नो मन्तव्य दिनुभएका विद्यादेवी भण्डारीले उहाँको नाम लिएर पटक पटक भावुक हुनुभएको थियो ।
मदन भण्डारीपछि सक्रिय राजनीति
एमालेका तत्कालीन महासचिव मदन भण्डारीको मृत्यु (२०५० जेठ ३)पछि विद्यादेवी भण्डारी राजनीतिमा सक्रिय हुनुभयो । मदन भण्डारीको निधनपछि रिक्त भएको काठमाडौं क्षेत्र नम्बर १ को उपनिर्वाचनमा विद्या भण्डारीले कांग्रेसका तत्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराउनु भएको थियो । त्यस्तै, २०५१ मा भएको मध्यावधि निर्वाचनमा उहाँले तत्कालीन सभामुख दमननाथ ढुंगानालाई हराउनु भएको थियो । चुनावी राजनीतिमा एकपछि अर्को फड्को मारेपछि विद्यादेवी भण्डारीमा धेरैले मदन भण्डारीको प्रतिरुप देख्न थालेका थिए ।
विद्यादेवी भण्डारी २०५४ मा नेपालगन्जमा भएको एमालेको छैटौं महाधिवेशनदेखि केन्द्रीय सदस्य बन्नुभयो । उहाँ लामो समय पार्टीको भ्रातृ संगठन अखिल नेपाल महिला संघको अध्यक्ष पदमा रहनु भयो ।
२०५४ मा वातावरण तथा जनसंख्या मन्त्री बन्नु भएका उहाँ २०६६ रक्षा मन्त्री पनि हुनुभएको थियो । पार्टी राजनीतिमा लामो समयदेखि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीनिकट रहेर काम गर्नुभएका विद्यादेवी भण्डारी समाकालीन नेपाली नेत्रीहरूमा सबैभन्दा शक्तिशाली मानिनु हुन्छ । र आज उहाँले आफ्नो शक्ति देखाउन लाग्नुभएको छ ।
२०६५ मा बुटवलमा भएको आठौं र काठमाडौंमा भएको नवौं महाधिवेशनबाट भण्डारी पार्टी उपाध्यक्षमा निर्वाचित हुनभयो । तर श्रीमान मदन भण्डारीको निधनपछि मात्रै राजनीतिमा उहाँ आउनु भएको कुरा पनि गलत हो जस्तो लाग्छ । विद्यादेवी भण्डारी विद्यार्थी राजनीतिदेखि नै मदन भण्डारीको पार्टीसँगको आबद्ध हुनुभएको थियो । २०३५ सालमा भोजपुर क्याम्पसमा अध्ययन गर्दा नेकपा मालेमा आवद्ध भएर उहाँले राजनीति सुरु गर्नुभएको थियो । मालेको विद्या भण्डारी र मदन भण्डारी बिच २०३९ सालमा विवाह भएको हो ।
विद्यादेवी भण्डारीज्यू लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति र नेपालको संविधान घोषणा भएपश्चात् निर्वाचित हुने पहिलो राष्ट्रपति हुनुहुन्छ । उहाँ मुलुकको सर्वोच्च पदमा निर्वाचित हुनुहुने पहिलो नेपाली महिला पनि हुनुहुन्छ । उहाँ २०७२ साल कार्तिक ११ गते, इस्वी सम्बत् २०१५ अक्टोबर २८ मा नेपालको व्यवस्थापिका–संसदबाट राष्ट्रप्रमुखमा निर्वाचित हुनुभयो । उहाँ राष्ट्रप्रमुखका रूपमा देशको नेतृत्व गर्ने विश्वकै छब्बीसौँ महिला हुनुहुन्छ । पहिलो कार्यकाल सफलता पूर्वक सम्पन्न गरी २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि नेपालको राष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो ।
विद्यार्थी जीवन र राजनीति
विद्यादेवी भण्डारीको जन्म २०१८ साल असार ५ गते नेपालको पूर्वी पहाडी जिल्ला भोजपुरको मानेभञ्ज्याङ गाउँमा भएको थियो । आमा मिथिला पाण्डे र बुबा स्व.रामबहादुर पाण्डेका पाँच छोराछोरीमा उहाँ जेष्ठ सन्तान हुनुहुन्छ । गाउँको एउटा सामान्य किसान परिवारमा जन्मेर सङ्घर्षका अनेकौं आरोह–अवरोहहरू पार गर्दै राष्ट्रपति जस्तो गरिमामय पदसम्म पुग्नुभयो । त्यो सबैका लागी प्रेरणाको स्रोत बनेको छ ।
विद्यादेवी भण्डारीले विद्यालय शिक्षा आफ्नै गाउँको बेहेरेश्वर प्राथमिक विद्यालय, पञ्चकन्या मिडिल स्कूल, भूल्के र विद्योदय व्यावसायिक माध्यमिक विद्यालय, भोजपुरमा हासिल गर्नुभयो । यसैगरी उच्च शिक्षा क्रमशः भोजपुर क्याम्पस, भोजपुर र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगरमा आर्जन गर्नुभयो । भोजपुर क्याम्पसमा अध्ययनरत रहँदाको समय उहाँको जीवनयात्राका महत्वपूर्ण मोडका रूपमा स्थापित भए । त्यस क्रममा उहाँले नेपाली समाजको दयनीय अवस्थाका मूलभूत कारणहरूलाई बुझ्ने अवसर पाउनुभयो र लोकतन्त्रबिना मुलुकको अग्रगति संभव छैन भन्ने निष्कर्षमा पुग्नुभयो । वामपन्थी–लोकतान्त्रिक गतिविधिहरूमा सहभागी हुने क्रममा उहाँको राजनीतिक दृष्टिकोण उन्नत बन्न पुग्यो । आम विद्यार्थीहरूका हकहितका विषयहरूका अतिरिक्त उहाँ निरङ्कुश राजतन्त्र र निर्दलीय पञ्चायती व्यवस्था विरोधी लोकतान्त्रिक आन्दोलनमा सक्रिय सहभागी हुनुभयो ।
यससँगै उहाँको जीवनको कठिन र जोखिमपूर्ण राजनीतिक यात्राको आरम्भ भयो । त्यस क्रममा उहाँ विद्यार्थीको हकहितको लागि समर्पित एक उदीयमान नेताका रूपमा स्थापित हुँदै आठ वर्षसम्म अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को पूर्वी क्षेत्र–सङ्गठनको नेतृत्वमा रहनु भयो । यसै अवधिमा उहाँ विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अत्यधिक मतसहित कोषाध्यक्ष पदमा निर्वाचित हुनुभयो ।
बैवाहिक जीवन र राजनीति
भोजपुरको विद्योदय माध्यमिक विद्यालयमा अध्ययन गर्ने क्रममै उहाँ नेपालको कम्युनिष्ट आन्दोलनप्रति आकर्षित हुनुभएको थियो । २०३५ सालमा नेपाल कम्युनिष्ट पार्टी (माले) को स्थापनालगत्तै त्यस पार्टीको युथलिगको कार्यकर्ताको रूपमा उहाँको सङ्गठित राजनीतिक जीवनको आरम्भ भयो र एक वर्षपछि उहाँले उक्त पार्टीको सदस्यता प्राप्त गर्नुभयो । यस सँगसँगै उहाँ वि.सं.२०३७ सालमा नेकपा (माले) निकट अखिल नेपाल महिला संघको सदस्य बन्नुभयो । महिला संघमा आवद्ध भएदेखि नै उहाँले नेपाली महिलाहरूले भोग्नुपरेका उत्पीडनका विरुद्ध निरन्तर आवाज उठाइरहनु भयो र महिला समानता र अधिकारको प्राप्तिको लागि निरन्तर संघर्षरत रहनुभयो ।
यसरी उहाँको राजनीतिक जीवन विद्यार्थी आन्दोलनको अग्रणी, महिला अधिकारको सक्रिय अभियन्ता र लोकतन्त्रका निम्ति संघर्षरत पार्टीको प्रतिवद्ध कार्यकर्ताका रूपमा तीनवटा आयाममा सँगसँगै अगाडि बढ्यो ।
२०३९ सालमा उहाँको शुभविवाह कम्युनिष्ट पार्टीका लोकप्रिय नेता मदन भण्डारीसँग भयो । तर नेता मदन भण्डारीको २०५० साल जेठ ३ गतेको एक रहस्यमय सडक दुर्घटनामा दुःखद निधन भएसँगै उहाँको दाम्पत्य जीवन एघार बर्षको छोटो समयमै समाप्त भयो । पतिको दुःखद अवसानपश्चात् नाबालक नै रहेका छोरीहरू उषाकिरण र निशा कुसुमको लालन–पालनको साथसाथै थप राजनीतिक जिम्मेवारी उहाँले लिनुभयो ।
२०५४ को माघमा सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) को छैठौं राष्ट्रिय महाधिवेशनबाट उहाँ पार्टीको केन्द्रीय कमिटी सदस्यमा निर्वाचित हुनुभयो । त्यसयता लगातार उहाँले पार्टीको नीतिनिर्माणको तहमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । २०५९ सालमा सम्पन्न सातौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा पुनः निर्वाचित हुँदै उहाँ २०६५ सालमा आयोजित आठौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय उपाध्यक्षमा निर्वाचित हुनुभयो । उहाँको लोकप्रियता, क्रियाशीलता र निष्ठाकै कारण २०७१ सालमा आयोजित नवौँ राष्ट्रिय महाधिवेशनमा उहाँ पुनः पार्टीको केन्द्रीय उपाध्यक्ष तथा स्थायी कमिटी सदस्यमा निर्वाचित हुनुभयो ।
संसदीय निर्वाचनमा पनि उहाँको परिचय लोकप्रिय र सफल नेताको रूपमा रहेको छ । संसदीय निर्वाचनमा उहाँको सहभागिता पति मदन भण्डारीको निधनपछि रिक्त पदका लागि गरिएको वि.सं. २०५० सालको उपनिर्वाचनसँगै सुरु भयो । सो उपनिर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं. १ बाट उहाँ प्रतिनिधिसभा सदस्यमा पहिलोपटक निर्वाचित हुनुभयो । २०५१ सालको मध्यावधि निर्वाचन र २०५६ सालको प्रतिनिधि सभा सदस्यको निर्वाचन समेत गरी उहाँ काठमाडौँका विभिन्न निर्वाचन क्षेत्रबाट तीन पटक लगातार प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभयो । २०५४ सालमा वातावरण तथा जनसंख्या मन्त्रीका रूपमा उहाँले भूमिका निर्वाह गर्नुभएको थियो ।
यसैगरी विद्यादेवी भण्डारीले २०५० देखि २०५४ सम्म नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट)को राष्ट्रिय कमिटि सदस्य तथा केन्द्रीय महिला मजदुर विभागको संयोजकको रूपमा श्रमिक आन्दोलनको नेतृत्वदायी भूमिका समेत निर्वाह गर्नुभएको थियो ।
महिला अधिकारका लागि निरन्तर संघर्षरत उहाँ २०५५ सालमा अखिल नेपाल महिला संघको अध्यक्षमा निर्वाचित हुनु भयो । त्यसयता लगातार तीन पटकसम्म उक्त संगठनको अध्यक्ष निर्वाचित भै उहाँले लैङ्गिक समानताका लागि अथक प्रयत्न गरि रहनु भयो । संसद सदस्यका हैसियतले संसदभित्र महिला हकअधिकार र समानताका लागि उहाँले लड्नु भएको लडाइँ सबैका लागि स्मरणीय रहेको छ । लैङ्गिक समानता, समान ज्याला, महिला शिक्षा र घरेलु हिंसाको उन्मूलनका लागि उहाँले संसद र सडकबाट विभिन्न आन्दोलन र अभियानहरूको नेतृत्व गर्नुभएको छ ।
संसदमा भूमिका
२०६२÷६३ को आन्दोलनपछि पुनःस्थापित प्रतिनिधिसभामा प्रस्तुत गरिएको राज्यका हरेक अङ्गमा न्यूनतम ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्नु पर्ने विशेष प्रस्तावको प्रस्तावक उहाँ नै हुनुहुन्थ्यो र संसदले उक्त प्रस्तावलाई सर्वसम्मत ढङ्गले पारित गर्दै सरकारलाई यसको कार्यान्वयनका लागि विशेष निर्देशन दिएको थियो । सोही प्रस्ताव अनुरूपको विधेयक तयार गर्ने प्रक्रियामा समेत उहाँको अहम् भूमिका रहेको थियो ।
२०७२ साल असोज ३ गते संविधानसभाबाट पारित नेपालको संविधानले महिलाको हक र अधिकारका विषयमा महत्वपूर्ण व्यवस्था गरेको छ र राजनीतिक प्रतिनिधित्व र सरकारी सेवामा महिलाको सहभागिता सुनिश्चित गरेको छ । यस व्यवस्थासँगै नेपाली महिलाहरूले युगान्तकारी संवैधानिक–कानूनी उपलब्धि हासिल गरेका हुन् र महिला सहभागिताका दृष्टिले नेपाल विश्वमा उदाहरणीय बन्नपुगेको छ । नेपाली महिलाहरूले प्राप्त गरेको यस सफलतामा वर्तमान राष्ट्रपतिको उल्लेखनीय योगदान रहेको यथार्थ नेपाली समाजमा स्थापित छ ।
ओलीलाई टक्कर
उहाँले २०६६ मा रक्षा मन्त्रीको जिम्मेवारी सम्हाल्नु भयो । चुनौतीपूर्ण र संवेदनशील रक्षा मन्त्रालयको पदभार सम्हाल्ने उहाँ नेपालकै पहिलो महिला हुनुहुन्छ । रक्षा मन्त्रीका हैसियतले त्यस अवधिमा उहाँले नेपाली सेनामा पूर्व माओवादी लडाकुहरूको समायोजन र राष्ट्रिय सुरक्षा नीतिको तर्जुमा गर्ने जस्ता महत्वपूर्ण दायित्व कुशलतापूर्वक सम्पादन गर्नुभयो । संविधानसभा सदस्य र संविधानसँग सम्बन्धित जटिल विवादहरूलाई निष्कर्षमा पु¥याउने महत्वपूर्ण वार्तामा सक्रिय सहभागीका हैसियतले नेपालको संविधानको निर्माणमा महत्वपूर्ण भूमिका खेल्नु हुने श्रीमती विद्यादेवी भण्डारी राष्ट्रपतिमा निर्वाचित हुनु अगाडिसम्म नेकपा (एमाले) का उपाध्यक्ष, अखिल नेपाल महिला संघका अध्यक्ष र व्यवस्थापिका–संसद सदस्यको जिम्मेवारीमा हुनुहुन्थ्यो ।
२०७२ कार्तिक १८ गते पहिलोपटक उहाँ राष्ट्रपति बन्नुभयो । नयाँ संविधानको व्यवस्था अनुसार दुई वर्ष मात्रै पहिलो कार्यकाल राष्ट्रपति बन्नुभएको भण्डारी २०७४ फागुन २९ गते दोस्रो कार्यकालका लागि पनि नेपालको राष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो । दुईपटक गरी सात वर्ष राष्ट्रपति पदमा रहनु भएको विद्यादेवी भण्डारीको अन्तिम कार्यकाल २०७९ फागुनमा सकिएको थियो । उहाँ राष्ट्रपतिबाट हटेपछि २०८० बैशाखमा आफ्नो मान्छे पठाएर एमाले पार्टीको सदस्यता नविकरण गराउनु भएको थियो । त्यहीबेलादेखि उहाँ एमालेमा कम ब्याक हुने चर्चा सुरु भएको थियो ।
एमालेको राजनीतिमा भण्डारीको पुनरागमनलाई पार्टीभित्रै आशङ्काको दृष्टिले हेरिएको छ । विद्यादेवी भण्डारी एमालेमा फर्किन लागेको चर्चा सुरु भएदेखि नै विभिन्न अड्कलवाजहिरु भइरहेको थियो । आगामी दुई वर्षभित्र पार्टीको महाधिवेशनमा अहिलेका अध्यक्ष ओलीलाई टक्कर दिने धेरैको अडकल छ । एमाले पार्टीमा विद्यादेवी भण्डारी ओली निकट रहेर नै काम गर्नुभयो । ओलीकै कारण उहाँ राष्ट्रपति बन्न पाउनुभयो । तर आज त्यही ओलीको विकल्पको रुपमा विद्यादेवी भण्डारीले आफूलाई उभ्याउनु भएको छ ।
(राष्ट्रपति कार्यालयको वेभसाइट, बीबीसी तथा अन्य सञ्चारमाध्यमको सहयोगमा तयार पारिउको हो)


तपाईको प्रतिक्रिया