२२ र्औ धान दिवसः आत्मनिर्भर हुन १० लाख मेट्रिक टन कम

‘धान बालीमा सघनताः खाद्यसुरक्षा र आत्मनिर्भरता’ मुलनाराका साथ असार १५ गते २२ औं धान दिवस तथा रोपाइँ महत्सव मनाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार नेपाल कृषि अनुसन्धान परिषद् बाट धानवालीका विभिन्न १४० भन्दा बढि जातहरु दर्ता भएका छन् ।
नेपालमा हाइब्रिड धानका जातहरुको पनि विकास भइरहेको छ र यसरी विकास भएका धानका जातहरुको बिउको उपलब्धता सुनिश्चित गर्न बिउ वृद्धिका कार्यक्रमहरु तीनै तहका सरकारमार्फत सञ्चालन भइरहेका छन् । चालु आर्थिक वर्ष २०८१÷०८२ मा बर्खे र चैते दुबै गरि कूल १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा धान खेती भई कूल ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन उत्पादन भएको र औषत उत्पादकत्व ४.१९ मेट्रिक टन प्रति हेक्टर रहेको थियो ।
गत आ.व. २०८०÷०८१ को तुलनामा १.२८ प्रतिशत कम क्षेत्रफलमा धान रोपाइँ भए पनि हालसम्मको उच्चतम औषत उत्पादकत्व हासिल हुँदा कूल उत्पादनमा पनि गत आ.व. भन्दा ४.०४ प्रतिशतले बढोत्तरी भएको अवस्था छ । मुलुकको लागि आवश्यक पर्ने करिव ७० लाख मे. टन धानमध्ये करिव १० लाख मे. टन धान उत्पादन अपुग रहेको छ । फलस्वरुप, चालु आ.व. को जेठ मसान्तसम्म करिब धान, धानको बिउ, चामल र कनिका गरि कूल सात लाख ५३ हजार मे.टन. धानजन्य वस्तु आयात भएको छ । त्यसले करिब ३८ अर्व ९४ करोड रुपैयाँ विदेशिएको छ ।
विशेषगरि चामलमा बढी निर्भरता, सोमध्ये पनि नेपालमा कम उत्पादन मसिना तथा बासनादार चामलमा उपभोक्ताको बढी रोजाइ, छिमेकी मुलुकले धान निर्यातले लिने नीतिगत व्यवस्था लगायतका कारण उत्पादन वृद्धि हुँदाहुँदै पनि धान÷चामलको आयात अपेक्षाकृत कम हुन नसकिरहेको अवस्था छ । असार १५ गतेसम्म रोपाइँ
कृषि मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार असार १५ सम्म देशभर २०.३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । मन्त्रालयका अनुसार देशभर १३ लाख ९१ हजार ३२१ हेक्टर जमिनमा बर्खे धान खेती हुने गरेकोमा हालसम्म जम्मा दुई लाख ८१ हजार ८०४ हेक्टर जमिनमा रोपाइँ सकिएको हो । गतवर्षको तुलनामा भने यसवर्ष हालसम्म १ प्रतिशत रोपाइँ कम भएको छ । गत वर्ष असार १६ सम्म २१.३ प्रतिशत धान रोपाइँ सकिएको थियो ।
प्रदेशगत हिसाबले सूदूरपश्चिम प्रदेशमा मात्रै हालसम्म ४९.२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ । गत वर्ष यस अवधिसम्म सूदूरपश्चिममा ५४.२ प्रतिशत धान रोपाइँ सकिएको थियो । सूदूरपश्चिममा कुल एक लाख ७६ हजार १५१ हेक्टर जमिनमा धान रोपाइँ हुने गरेकोमा हालसम्म ८६ हजार ६०१ हेक्टरमा रोपाइँ सकिएको हो ।
कर्णाली प्रदेशमा हालसम्म ३९.१ प्रतिशत धान रोपाइँ सकिएको छ । यस प्रदेशमा ४० हजार ८८४ हेक्टरु जमिनमा धान खेती गरिन्छ । त्यसमध्ये हालसम्म करिब १६ हजार हेक्टरमा रोपाइँ सकिएको छ । गत वर्षको यस अवधिसम्म भने यस प्रदेशमा हालसम्म करिब ४७ प्रतिशत रोपाइँ सकिएको थियो ।
लुम्बीनी प्रदेशमा हाल सम्म २४.३ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष यस अवधिसम्म लुम्बीनीमा २२.८ प्रतिशत धान रोपाइँ भएको थियो । यस प्रदेशमा कुल तीन लाख दुई हजार ८८९ हेक्टर जमिनमा धानखेती हुने गरेको छ । गण्डकी प्रदेशमा हालसम्म २८.२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ । गत वर्ष यस अवधिसम्म यस प्रदेशमा २१.९ प्रतिशत मात्रै धान रोपाइँ सकिएको थियो । यस प्रदेशमा कुल ९४ हजार १८२ हेक्टरमा धानखेती हुने गरेको छ ।
बागमती प्रदेशमा हालसम्म २०.५ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष यस अवधिसम्म यहाँ करीब साढे १९.६ प्रतिशत रोपाइँ भएको थियो । यस प्रदेशमा कुल एक लाख २० हजार ५४५ हेक्टर जमिनमा धानखेती हुने गरेको केन्द्रले जनाएको छ । मधेश प्रदेशमा हालसम्म सबैभन्दा कम ३.९ प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष यस अवधिसम्म यस प्रदेशमा ८.२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो । यस प्रदेशमा कुल तीन लाख ८० हजार २८३ हेक्टर जमिनमा धानखेती हुनेगरेको छ ।
कोशी प्रदेशमा हालसम्म १४.३ प्रतिशत धान रोपाइँ सकिएको छ । यस प्रदेशमा कुल २ लाख ७६ हजार ३८७ हेक्टर जमिनमा धानखेती हुने गरेको छ । यहाँ गतवर्ष यस अवधि सम्म १३.७ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले धानबालीको प्रवद्र्धन गर्न मन्त्रालयले उच्च प्राथमिकता दिएको बताउनुभएको छ । २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ का अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभयो, “नेपाली समाजमा परापूर्वकालदेखि नै धानको सांस्कृतिक, आर्थिक र सामाजिक महत्व रहँदै आएको छ ।’ वर्तमान परिवेशमा अधिकांश नेपालीको आधारभूत खाद्यान्न धान नै हो र नेपाली समाजमा यसलाई खाद्य सुरक्षाको मानक मानिएको उहाँले बताउनुभयो ।
विज्ञप्तिमा भनिएको छ “जलवायु परिवर्तनको प्रतिकूल असरलाई न्यूनीकरण गर्दै धानको उत्पादन तथा उत्पादकत्वलाई दिगो बनाउन र धान चामलमा आत्मनिर्भरता हाँसिल गर्न आजको दिनले सम्बन्धित सबैमा थप ऊर्जा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’
राष्ट्रिय धान दिवसको अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आधुनिकखेती प्रणालीमार्फत किसानको जीवनस्तर उकास्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । मुख्यमन्त्री सिंहले कृषिलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा लिँदै खाद्यान्नमा आत्मनिर्भरता हासिल गर्न प्रदेश सरकारले ‘मधेशले देशलाई खुवाउने’ दीर्घकालीन अभियान अघि बढाएको बताउनुभएको हो ।

तपाईको प्रतिक्रिया