अशोक राइ नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल बिच एकता हुने भएको छ । तर यो एकतालाई धेरैले आश्चर्यको रुपमा लिएको छ । जसपाका अध्यक्ष अशोक राइ वामपन्थी विचारका नेता हुनुहुन्छ भने राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो प्रजातान्त्रिक विचारधाराका नेता हुनुहुन्छ । उत्तर र दक्षिण फरक ध्रुव जस्तै यी दुवै जनाको फरक फरक विचार हो तर उहाँहरु बिच कार्यगत एकता मात्र होइन, एकता नै हुने भएको छ । केही दिनपहिले दुई पार्टीबिच एकता उन्मुख कार्यगत एकता भएको छ । २०४६ को जनाआन्दोलनपछि स्वर्गीय गजेन्द्रनारायण सिंह अध्यक्ष रहेको नेपाल सद्भावना पार्टीबाट आफ्नो राजनीति यात्रा सुरु गर्नुभएको अध्यक्ष महतो त्यसपछि कहिले विश्राम लिनु भएन ।
बहुदलीय प्रजातान्त्रिक विचारधाराबाट राजनीति सुरु गर्नुभएका उहाँ लामो संघर्षपछि यहाँसम्म आइपुग्नुभएको छ । बहुल राष्ट्रिय राज्यको स्थापना गर्ने लक्ष्यसहित राष्ट्रिय मुक्ति पार्टी नेपाल गठन गर्नुभएको छ । ‘विचारसहितको विकल्प, विकल्पसहितको विद्रोह’ लाइनबाट आफ्नो राजनीति यात्रा सुरु गर्नुभएका अध्यक्ष महतोले जसपाका अध्यक्ष राइसँग गरेको एकता उन्मुख कार्यगत एकता कति भरपर्दो र टिकाउ हुनेमा विभिन्न आशंका भइरहेका छन् । २०३३ सालमा विधिवत कम्युनिष्ट राजनीतिमा लाग्नु भएका अशोक राइ एमालेमा उपाध्यक्षसम्म हुनुभयो । पटक पटक चुनाव जित्नुभएका उहाँ मन्त्री समेत सो पार्टीबाट हुनुहभएको थियो ।
पहिचानको मुद्दामा एमालेसँग कुरा नमिलेपछि २०६९ मा एमालेबाट विद्रोह गर्नुभएको उहाँ २०७० को दोस्रो संविधान सभा चुनावपछि उपेन्द्र यादव नेतृत्वको तत्कालिन मधेशी जनअधिकार फोरमसँग एकता गरेर संघीय समाजवादी फोरम नेपाल बनाउनु भएको थियो । २०८१ बैशाखमा उपेन्द्र यादवको साथ छाडेर जनता समाजवादी पार्टी गठन गर्नुभएको छ । पार्टी गठन गरेको दुई वर्ष नपुग्ने राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीसँग एकता गर्न लाग्नु भएको छ ।
वामपन्थी स्कूलिङका अशोक राइले कम्युनिष्ट पार्टी छाडेपनि वामपन्थी विचार नछाडेको धेरैको बुझाई छ । अशोक राइलाई नजिकबाट चिनेका राजनीतिक विश्लेषक एवं प्रध्यापक भोगेन्द्र झाले राजनीति रुपमा अशोक राइले कम्युनिष्ट विचार छाडेपनि उहाँले वामपन्थ विचार छाड्नु भएको छैन त्यो कुरा उहाँको क्रियाकलाप र व्यवहारबाट प्रष्ट बुझ्न सकिने बताउनुभयो । अहिले पनि अशोक राइ कम्युनिष्ट विचारधारामा हिडि रहनु भएको छ, उहाँ बाचुन्जेल त्यो विचार त्याग्नु हुन्न किनभने उहाँलाई राजनीतिमा चिनाएको कमयुनिष्ट विचारले नै हो, उहाँले भन्नुभयो ।
तर राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष डा.राजिव झाले अशोक राइले वामपन्थी विचार त्यागेको दावी गर्नुभयो । वामपन्थी विचार त्यागेर नै उपेन्द्र यादव नेतृत्वको पार्टीसँग एकता गर्नुभएको थियो । उहाँले बामपन्थी विचार त्यागेको कारण आफूहरुसँग कार्यगत एकता भएको उपाध्यक्ष झाले बताउनुभयो । त्यसो भए राजेन्द्र महतो र अशोक राइको केमेस्ट्री कहाँ गएर मिलेको छ त ? पुनः राजनीतिक विश्लेषक झा भन्नुहुन्छ, ‘अशोक राइ बामपन्थी विचारको भएपनि उहाँ पहिचान पक्षधर हुनुहुन्छ, एमालेमा पहिचानको कुरा उठाउने एक मात्र नेता उहाँ नै हुनुहुन्थ्यो त्यही भएर सो पार्टीमा जहिले पनि उहाँ संघर्ष नै गरिरहनु भयो अहिले आएर त्यही पहिचानको कुरा राजेन्द्र महतोजीसँग मिलेको कारण एकता सम्भव भएको हो ।’
अशोक राइ पनि पहिचान पक्षधर र राजेन्द्र महतो पनि पहिचान पक्षधर भएको कारण एकताको मिलन बिन्दु रहेको बताउँदै विश्लेषक झाले यो बाहिर देखिने कुरा हो तर भित्रि कुरा दुवै नेतालाई राजनीतिक अस्तित्वको संकट उत्पन्न भएको कारण मिल्न बाध्य भएको दाबी गर्नुभयो । जसपाका उपाध्यक्ष परशुराम बस्नेतले समाजवादी यात्राका लागि कार्यगत एकता भएको बताउनुभयो । दुवै जना संघीयता, लोकतन्त्र र समाजवादी आन्दोलनका लागि अगाडि बढ्नु भएको कारण दुवै जनाको मिलन भएको बताउँदै उहाँले विगतमा को कुन स्कूलिङबाट आए त्यो बेग्लै कुरा हो, तर क्रम अनुसार विचारमा पनि परिवर्तन हुने गरेको बताउदै यो कार्यगत एकतामा को वामपन्थी, को डेमोक्रेटिक त्यो नहेरी अधिकार, पहिचानका लागि एक ठाउँमा आएको बताउनुभयो ।
स्वदेशवाद र बहुल राष्ट्रिय राज्य निर्माणका लागि दुवै जना सघर्ष गर्दै आएका कारण एकताका लागि सम्भव भएको बताउदै उपाध्यक्ष झाले विगतमा अशोक राइ वामपन्थी थिए तर अहिले उहाँले पनि बहुल राष्ट्रिय निर्माणका लागि संघर्ष गर्दै आएको कारण मिलन भएको बताउनुभयो ।
सङघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै बहुजातीय÷बहुलराष्ट्रिय राज्य सुहाउँदो समाजवादको नेपाली बाटो तय गर्ने र समाजवादी लोकतान्त्रिक राजनैतिक शक्तिको पहलमा समाजको रुपान्तरणको कार्य अगाडि बढाउने सहमति गरी दुवै पार्टीको बिचमा कार्यगत भएको हो ।
सहभागितामुलक समावेशी लोकतन्त्रसहितको सामाजिक, आर्थिक तथा राजनीतिक प्रणालीको विकास गर्ने र त्यसको माध्यमवाट नेपालको आर्थिक विकास, सुशासन, सामाजिक आर्थिक न्याय, समृद्धि र समतामुलक समाजको सुनिश्चित गर्नुको साथै सङघीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायसहितको राज्य व्यवस्था स्थापना गर्न सरकार, संसद र सडक तीन वटै क्षेत्रमा क्रियाशील हुने भन्दै दुवै पार्टीको मिलन भएको हो ।
तपाईको प्रतिक्रिया